रास्वपाको महामन्त्री पदमा आठजनाको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाको नाम उम्मेदवार सूचीमा कायम भएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महामन्त्री पदमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएपछि पार्टीले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढाएको छ । यस चरणमा महामन्त्री पदका लागि आठ जना चुनावी मैदानमा उत्रिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार महामन्त्री पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन पराजुलीको नाम कायम रहेको छ ।
सुनको मूल्य तोलामा दुई लाख ७९ हजार १०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रुपैयाँ निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
डा. शेखरसँग दाहाल-नेपालको भेटवार्ता, के भयो छलफल ?
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक र सहसंयोजक नेपालले शुक्रबार (आज) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवासमा भेटवार्ता गरेका छन् । भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विचार आदानप्रदान भएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । कोइराला निवासमा भएको उक्त भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रमुख दलका शीर्ष नेताबीच भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ । यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन । यसअघि कोइरालालाई कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि भेटेका थिए ।
प्रतिनिधिसभा बैठक भोलिका लागि सर्यो
काठमाडौं । शुक्रबार (आज) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । यसअघि हिजो तय गरिएको बैठक आजलाई सारिएको थियो । सभामुख डीपी अर्यालले आज अपरान्ह १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्नेगरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनले गर्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । रास्वपाका सांसदहरू चितवनमा जारी महाधिवेशनमा सहभागी हुनाले बैठक सरिरहेको हो ।
अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’बाट चार अङ्क बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो । त्यस्तै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । सोही समूहमा रहेको टर्की ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित भएको थियो । यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो ।
रास्वपाको महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका उम्मेदवारहरूको प्रारम्भिक सूची शुक्रबार सार्वजनिक गरेको हो । पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेपछि अब पार्टीको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढेको हो । उम्मेदवारी दाबी, छानबिन र फिर्ताको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरी मतदान गराइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्धारित कार्यतालिकाअनुसार अगाडि बढाइएको छ । उनले उम्मेदवारमाथिको दाबी–विरोध टुंग्याएर अन्तिम सूची सार्वजनिक गरेपछि मतदान सुरु हुने जानकारी दिए । महिलातर्फको उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यसअघि उक्त पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । सबैभन्दा धेरै प्रतिस्पर्धा भने महामन्त्री पदमा देखिएको छ । एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य गरी १० जनाले उम्मेदवारी दिएका छन् । महामन्त्री पदका उम्मेदवार खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपनि आयोगको लिस्टबाट उनको नाम हटिसकेको छैन । खुला सह–महामन्त्रीका दुई पदका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त प्रतिस्पर्धामा छन् । यस्तै, महिलातर्फको सह–महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् । यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेकाले अब महाधिवेशनको ध्यान बाँकी पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, छानबिन तथा दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न गरेपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्दै बन्दसत्रमा मतदान गराउने तयारी गरेको जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट रास्वपाले आफ्नो नयाँ केन्द्रीय पदाधिकारी टोलीलाई पूर्णता दिनेछ ।
नेपालमै पहिलोपटक विराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालन
काठमाडौं । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लक्ष्य राख्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको स्कुल अफ नर्सिङको उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् । कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ । साथै, आधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत निर्माण गरिएका छन् । विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीमा उपचार गर्नुअघि आवश्यक उपचार प्रक्रिया र सीपको अभ्यास गर्न सक्नेछन् । त्यसैगरी, क्लिनिकल स्किल्स ट्रेनिङ, नर्सिङ प्रक्रिया, क्रिटिकल केयर सिमुलेसन, समुदाय स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्नेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा अस्पतालको सेवा गुणस्तरसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा गिरी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ । गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ ।