आज पहाडी र हिमाली भू-भागमा मौसम सफा, तराईमा हुस्सु
काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कांग्रेस विशेष महाधिवेशनको पक्षमा २ हजार ६६२ प्रतिनिधि, कुन प्रदेशबाट कति ?
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज ८ वटा ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।
नाडा निर्वाचन विवाद अदालतमा, नवनिर्वाचित कार्यसमितिको पदस्थापन रोकियो
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को हालै सम्पन्न ४९औं साधारण सभा तथा निर्वाचन विवाद उच्च अदालतमा पुगेको छ । निर्वाचन प्रक्रिया धाँधली भएको र विधानविपरीत अध्यक्षको चुनाव गराइएको भन्दै परेको मुद्दामा पाटन उच्च अदालतले पुस २५ गतेका लागि निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो । असन्तुष्ट पक्षका सुनिल रिजालका अनुसार नाडाको परम्परा र विधानको मर्मअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनुपर्नेमा सो प्रावधानलाई मिचेर सिधै अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको थियो । ‘सुरुमा हाम्रो मुख्य मुद्दा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाइएन भन्ने थियो । त्यसपछि कानुन विपरीत साधारण सभा र निर्वाचन गरियो । सोही मुद्दाअन्तर्गत अदालतले यो फैसला गरेको हो,’ उनले भने । वरिष्ठ उपाध्यक्षको पदका लागि हुनुपर्ने चुनावलाई अध्यक्ष पदको चुनावमा परिणत गर्नु स्वतः गैरकानुनी रहेको असन्तुष्ट पक्षको दाबी छ । निर्वाचन प्रक्रियामा गम्भीर धाँधली भएको र सर्वसम्मतको नाममा सिन्डिकेट खडा गरिएको आरोप समेत लगाइएको छ । उम्मेदवारी दर्ताका क्रममा ढोका बन्द गरेर अन्य प्रतिस्पर्धीलाई प्रवेश नदिइएको, र उम्मेदवार बन्न चाहने कार्यसमितिका सदस्यलाई प्रवेश रोकिएको समेत असन्तुष्ट पक्षको आरोप छ । ‘उम्मेदवारी दिने दिन ढोका थुनेर अरूलाई छिर्नै दिइएन । एउटा ढोका त हामी आफैले ठेलेर छिर्यौं, तर अर्को ढोकाबाट छिर्न दिइएन,’ एक सदस्यले भने । उम्मेदवारी दर्ताका क्रममा राष्ट्रिय परिचयपत्रलाई मान्यता नदिइ अनिवार्य रूपमा नागरिकता मागिएको र कतिपय व्यवसायीसँग उनीहरूको व्यवसायको आधिकारिक परिचयपत्र मागेर उम्मेदवार बन्नबाट वञ्चित गराइएको पनि निवेदक पक्षको आरोप हो । असन्तुष्ट पक्षका अनुसार अदालतले सम्पूर्ण कागजात अध्ययन गरेपछि मात्रै अन्तिम निर्णय दिनेछ । ‘अदालतको आदेश निर्वाचनको परिणाम मात्र रोक्नु भन्ने हो, अन्तिम फैसला होइन । साधारण सभा र निर्वाचन प्रक्रियामा त्रुटि छ कि छैन भनेर अदालतले सबै कागजपत्र मागेको छ । यदि प्रक्रियामा गल्ती भेटिएमा त्यसपछि मात्रै अदालतले थप निर्णय गर्नेछ,’ उनले भने । विवादित साधारण सभा र त्यसपछि गराइएको निर्वाचन दुवै विषयलाई समेटेर एउटै रिट निवेदन दायर गरिएको थियो । अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै दुवै विषयसँग सम्बन्धित कागजात मागेको हो । ‘हाम्रो रिट एउटै हो, जसमा साधारण सभादेखि निर्वाचनसम्मका सबै विषय समेटिएका छन्,’ ती सदस्यले भने । निवेदक पक्षले मतदाता नामावलीमा नक्कली सदस्य र प्रबन्धकहरू खडा गरी मतदान गरिएको दाबी समेत गरेको छ । ‘यदि नामावलीमा भएका व्यक्तिहरूलाई बोलाएर छानबिन गर्ने हो भने ९० प्रतिशत नक्कली मतदाता भेटिन्छन् । त्यसपछि उनीहरू जालसाजीको मुद्दामा फस्नेछन्,’ ती सदस्यले भने । यद्यपि निर्वाचित पक्षले गल्ती स्वीकार गरी सहमतिका लागि प्रस्ताव गरेमा सहकार्य गर्न सकिने सम्भावना पनि रहेको असन्तुष्ट पक्षले बताएका छन् । अदालतले निर्वाचित पक्षलाई गत ४७औं वार्षिक साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण कागजात, मतदाता नामावली, निर्वाचन कार्यतालिका, निर्णयपुस्तिका लगायतका प्रमाणहरू पेश गर्न आदेश दिएको छ । निर्वाचित पक्षले अबको एक/दुई दिनभित्र कागजात बुझाउने तयारी गरिरहेको छ । हाल पदस्थापन रोकिएको र अदालतले कागजात अध्ययन गर्ने प्रक्रियामा रहेकाले नाडाको नयाँ नेतृत्वको भविष्य अदालती प्रक्रिया र दुई पक्षबीचको सम्भावित सहमतिमा निर्भर देखिएको छ । नाडाको ४७औं साधारण सभामा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने सहमति भएको थियो । तर तत्कालीन समयमा सीडीओ कार्यालयले कार्यान्वयन नगरेपछि असन्तुष्ट पक्षले अदालत पुगेको थियो ।
कांग्रेस दास र लाशहरूको पार्टी होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्ररेस कुनै दास र लाशको पार्टी नभएको बताएका छन् । थापाले नेपाली कांग्रेसमा अब कुनै तानाशाही नचल्ने दाबीसमेत गरे । उनले भने, ‘अब नेपाली कांग्रेसमा कोही ठूलो–सानो हुँदैन । मञ्चमा बस्ने र भुइँमा बस्ने बीचमा फरक व्यवहार हुँदैन ।’ थापाले नव युवापुस्ता व्यक्तिगत रूपमा आफूहरूसँग नरिसाएको बताए । ‘नव युवापुस्ता हाम्रो कार्यशैलीसँग रिसाएको हो,’ थापाले दाबी गर्दै भने । भाद्र २३ र २४ पछि कांग्रेस सुधारिनुपर्छ भन्नेहरू आज भृकुटीमण्डपमा आएको र सुधारिन नचाहनेहरू बाहिर रहेको मत उनको छ । अर्को प्रसंगमा थापाले पार्टीभित्र नेपोबेवी हावी भएको बताए । अब नेपाली कांग्रेस त्यो चरणबाट मुक्त हुनुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र भोलि बिहान ८ बजे
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार (भोलि) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले बन्दसत्र भोलि बिहान ८ बजेबाट प्रारम्भ हुने जानकारी दिए । उनले बन्दसत्रमा सहभागी प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन अनुरोधसमेत गरेका छन् । महाधिवेशनस्थलमै हुने बन्दसत्रमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे छलफल हुने जनाइएको छ । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद र बहस जारी रहेका बेला सुरु हुन लागेको बन्दसत्रलाई महत्त्वपूर्ण मानिएको छ । बन्दसत्रका निर्णयहरूले पार्टीको आगामी रणनीति र आन्तरिक राजनीतिमा निर्णायक प्रभाव पार्ने नेताहरूको अपेक्षा छ ।
हामी कांग्रेस पनि बदल्छौं, देश पनि बदल्छौं : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशको बिग्रिएको मौसमलाई सफा गर्नुपर्ने बेला आएको दाबी गरेका छन् । आइतबार (आज) विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब देशको आकाश धुम्मिन नदिने बताए । ‘विशेष महाधिवेशन कांग्रेसलाई बलियो बनाउने होइन, प्रधान मुद्दा देशलाई बलियो बनाउने हो,’ उनले भने । शर्माले अब कांग्रेस जलेका भवन जोड्ने र बिग्रिएका मन जोड्ने काममा लाग्ने प्रणसमेत गरे । उनले नेतृत्वको एउटा मिसन हुनुपर्ने बताएका छन् । उनका अनुसार उचाइ प्राप्त गरेपछि सम्मानजनक बर्हिगमन पनि गर्नुपर्छ । शर्माले अबको कांग्रेसको मूलमन्त्र सद्भाव, सुशासन र समुन्नति भएको बताए । उनले काठमाडौंबाट जिल्ला फर्किँदा आफ्नो गाउँ र ठाउँमा सद्भाव बोकेर जान कार्यकर्तालाई आग्रहसमेत गरे । शर्माले सभापति शेरबहादुर देउवालाई आफूले सम्मानजनक बहिर्गमन गर्न आग्रह गरेको भएपनि उनले नसुनेकोमा दुखेसोसमेत पोखे । शर्माले देउवाले आफ्नो सुझाव मानेको भए यस्तो अवस्था नआउने पनि दावी गरे ।
पहिले निद्राबाट उठ्नूहोस्, जागृत बन्नूहोस् : महेश आचार्य
काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपाली कांग्रेसका नेताहरूलाई उठ्न र जागृत हुन आग्रह गरेका छन् । कांग्रेसको काँधमा अहिले ठूलो जिम्मेवारी आएको दाबी पनि आचार्यको छ । सुतेको कांग्रेसले देश बनाउन नसकेको अवस्थामा अब नवीन कांग्रेस बनाउन सबै जाग्नुपर्ने उनको आग्रह रहेको छ । ‘अब कांग्रेस न हिजोको जस्तो हुनेछ न त आजको जस्तो हुनेछ । अब नेपाली कांग्रेस नदीजस्तो सलल बग्ने हुनुपर्छ,’ आचार्यले भने । पूर्वअर्थमन्त्रीसमेत रहेका आचार्यले सूचना प्रविधिको माध्यमबाट देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।