किबी खेतीबाट ८० लाख बढी आम्दानी, मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँसम्म
काठमाडौं । व्यावसायिक किबी खेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । गुल्मीको सत्यवती गाउँपालिका-८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ । जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ । यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्षेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ । गुल्मीका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ । सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए । भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषक अन्तर्गत पर्छन् । उनले लगाएका सबै १५० बोटले फल दिन थालेको छ । गत वर्षको तुलनामा यस पटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताए । उनको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उनको अनुभव छ । भार्सेका कृषक ५ किबी समूह गठन गरेर व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूला पोखरी समूह पर्दछ । भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन् । किबीका बिरुवाले रोपेको तीन वर्षबाट फल दिन सुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो । किबीले एउटै बोटबाट ६० किलोदेखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबी खेती भार्सेका कृषकका लागि यतिबेला प्रमुख आम्दानीको स्रोत बनेको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानि नोक्सानी गर्दैनन् । जिल्लामा १ हजार २०० मिटरदेखि २ हजार मिटर उचाइसम्म किबी खेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालिका लगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ । किबी फल एक स्वस्थ र स्वादिष्ठ फल मानिन्छ । किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रुपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।
मुस्ताङको तापक्रम माइनस २० डिग्री, कर्मचारीले छाडे जिल्ला, विकास निर्माण ठप्प
काठमाडौं । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँद यामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँच वटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक खण्ड अन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुस अगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए । राष्ट्रिय गौरवको कोरला सडक खण्ड अन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडक अन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी-छुसाङ) ९.८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी-छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब ५ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुस अगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो । यसैगरी, कोरला सडक अन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौं सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए । सव-इञ्जिनियर जोशीका अनुसार घरपझोङ-२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहु वर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सव-डिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्य अन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । ‘हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वयं प्रभावित हुन्छन् ।’ चिसोका कारण घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।
ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौंको तीन पिप्लेमा जोडिनेछ । तीन पिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेंसी, नुवाकोटको ककनी र काठमाडौँको तारकेश्वरको तीन पिप्लेसम्म निर्माण हुने हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयन गर्दा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क-कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । प्राधिकरणले आज धुनीबेँसी नगरपालिका-१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ ।
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए, जसपाका मात्रै २१ जना
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैंले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिम सूची सार्वजनिक हुँदा केही सङ्ख्या थप हुनसक्ने आयोगले प्रष्ट पारेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।
न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार जरिवाना, १८ फर्ममा विभागको निरीक्षण
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने स्थानमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसमध्ये एकलाई नगद जरिवाना गरेको विभागले अन्य १७ वटालाई भने सुधारात्मक निर्देशन दिएको थियो । विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै सुधारको अभियान अगाडि बढाएको छ । कालाबजारी नियन्त्रण, वातावरण संरक्षण एवं अन्य सुधारात्मक कारबाही गर्दै आएको थियो ।
चेम्बरको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरेको छ । चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्यू एशोसिएसन नेपाललगायतका संस्थाको सहकार्यमा उक्त पुस्तिका सार्वजनिक गरिएको हो । पुस्तिकामा भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटिएको छ । पुस्तिक सार्वजनिक समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए ।
साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एटाे वान जित्ने अवसर
काठमाडौं । आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो अनुप्रयोग प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत ठुलो पुरस्कार स्वरूप एकजना भाग्यशाली विजेताले बीवाईडी एटाे १ विद्युतीय गाडी प्राप्त गर्नेछन् । त्यस्तै, मासिक रूपमा दुईजना विजेताले याडिया ओविन विद्युतीय स्कुटर जित्नेछन् भने साप्ताहिक भाग्य ड्रमार्फत १२ जना भाग्यशाली विजेताले आइफोन १७ प्राप्त गर्नेछन् । टिक्मोमार्फत सञ्चालन हुने यस उत्सव योजनामा कुल १५ जना सहभागी उपहार पाउनेछन् । सबै विजेताको छनोट पारदर्शी डिजिटल भाग्य ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ । साउदी अरबमा वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र विश्वसनीय रूपमा नेपालमा रहेका आफ्ना परिवारजनसम्म पठाउँदै आएका छन् । डिजिटल प्रविधिको तीव्र विकाससँगै पैसा पठाउने प्रक्रिया अझ सहज र सरल बनेको आइएमईले जनाएको छ ।
ईभी पूर्वाधारमा अब्बल टाटा मोटर्स : लाइफटाइम निःशुल्क चार्जिङदेखि ब्याट्री डाइग्नोस्टिक सेवा
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धन र ग्राहक सुविधालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना ग्राहकहरूका लागि विभिन्न सुविधाहरू दिँदै आएको छ । गाडी खरिद गर्ने ग्राहकहरूलाई लाइफटाइम निःशुल्क चार्जिङ सुविधा प्रदान गरिरहेको छ, जुन गाडीको वारेन्टी अवधिभर लागू हुने कम्पनीले जनाएकाे छ । यसका साथै सिप्रदीले नेपालमै पहिलो पटक अत्याधुनिक ब्याट्री डाइग्नोस्टिक र मर्मत सेवा पनि विस्तार गरेको छ । सिप्रदीले आयोजना गर्ने विभिन्न एक्सचेन्ज क्याम्पहरू, नाडा अटो शोजस्ता विशेष कार्यक्रमहरू वा अन्य अफरहरूका बेला ईभी खरिद गर्ने ग्राहकहरूले यो लाइफटाइम फ्री चार्जिङ सुविधाको लाभ उठाउन सक्छन् । यो सुविधा सिप्रदीको आफ्नै डिसी फास्ट चार्जर नेटवर्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल देशभर टाटा मोर्टसका १८५ भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् जसले ग्राहकहरूलाई देशभर चार्जिङको सुविधा पुर्याइरहेको छ । ईभी ग्राहकहरूको प्रमुख चिन्तामध्ये एक ब्याट्री मर्मत र प्रतिस्थापनको खर्चलाई मध्यनजर गर्दै कम्पनीले ब्याट्री डाइग्नोस्टिक एण्ड रिस्टोरेसन फेसिलिटी पनि सिप्रदी बाघडोल सञ्चालनमा ल्याएको हो । यो सुविधा नेपालमै एउटा मात्र रहेको कम्पनीको दाबी छ । यस अन्तर्गत यदि ब्याट्रीमा कुनै समस्या आएमा पुरै ब्याट्री फेर्नुपर्ने महँगो बाध्यता हट्नेछ । ब्याट्रीको मोडुअलमात्र परिवर्तन गर्न सकिन्छ । जुन मोडुअल वा सेल काम गरेको छैन, त्यहीमात्र फेर्ने सुविधा भएकाले खर्च अत्यन्तै न्यून हुन जान्छ । सेल परिवर्तन गर्नुपर्ने अवस्था आउनुअघि नै टाटाले नेपालमा त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिसकेको छ । नेपालमा ईभी बिक्री थाल्नुअघि नै ब्याट्री रिपेरिङ युनिट तयार भइसकेकाले यसमा ईभी प्रयोगकर्ता निश्चिन्त हुन सक्छन् । सिप्रदीले ईभी ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न देशभर २१ वटा सर्भिस सेन्टर रहेको छ जसमा १७ वटा ईभी डेडिकेटेड सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको छ । यी सेन्टरहरूमा तालिमप्राप्त प्राविधिकहरूद्वारा सेवा प्रदान गरिन्छ । कम्पनीले स्पेयर पार्ट्सको उपलब्धता पनि राम्रो रहेको जनाएको छ, जसले मर्मतसम्भारमा ग्राहकहरूलाई सहजता प्रदान गर्नेछ । यी सुविधाहरूले ईभी ग्राहकहरूलाई थप प्रोत्साहन मिल्ने र वातावरणमैत्री सवारीसाधन प्रयोगलाई बढावा दिने विश्वास कम्पनीको छ ।