विकासन्युज

फास्ट ट्र्याकको ४५ प्रतिशत प्रगति, सुरुङ, पुल र कालोपत्रे धमाधम निर्माण

नारायण न्यौपाने काठमाडौं । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता प्राप्त काठमाडौं-तराईर मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३  रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक-थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ । सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप दुई जोडी सुरुङ ब्रेक-थ्रु हुने गरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौंमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ । द्रूतमार्गअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौंको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये  ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरू एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइ मात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ ।  द्रुतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो द्रुतमार्ग हो । फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । द्रुतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौंबाट मध्यतराई पुग्न सकिने छ ।  द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकोहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपान्तरणकारी आयोजनाका रूपमा द्रूतमार्गलाई हेरिएको छ । यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरुप धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूपमा अघि बढाउन निर्देशन दिइन् ।  सुरुआती चरणमा द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रीपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डीपीआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो । अन्तर्राष्ट्रियस्तरको द्रुतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ । रासस

मुस्ताङमा तापक्रम माइनस २० डिग्री, आयात-निर्यात पूर्ण रूपमा ठप्प

काठमाडौं । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयात-निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ-२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा जीवन देवकोटाका अनुसार जोमसोम-कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरला नाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ । चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ-२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँच पास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी-कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायब सुब्बा देवकोटाको भनाइ छ । हिमपातअघि कोरला नाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी-कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताए । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उहाँको अनुमान छ । कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र-३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए । छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी) का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरला नाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् । हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशु चौपाया र पशु गोठालालाई पनि समस्या परेको छ । 

अमेरिकामा नेपालीहरूलाई विधिसम्मत काम गर्न दूतावासको अपिल

काठमाडौं । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न अमेरिकास्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ ।  दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा वा सहायता माथि निर्भर भए/गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रीन कार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ ।’ विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीहरू मध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ । विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकले गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा/सहायतामाथि निर्भर नहुन/नगराउन हार्दिक दूतावासले अनुरोध गरेको छ । दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने  ‘बी १’, ‘बी २’  भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ । पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ । 

आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।  प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपरान्ह कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।  धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।  त्यस अवसरमा उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए । नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको जनाउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेकोसमेत उल्लेख गरे ।  उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको बताए । ‘गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौं । निजीक्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेका छौं,’ उनले भने । ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बताए ।  ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ,’ उनले भने ।   

धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्सले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । २५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्समा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो । क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ । कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्कासहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो । निःशुल्क सर्भिसिङका साथै इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत–सम्भार, महत्त्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए । एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।  

महँगा सवारीमा हिँडेर लुटपाट, गोली प्रहारपछि पर्दाफास

काठमाडौं । बिहानै ५/६ बजे र राति १२ बजेपछि काठमाडौंका सडकहरूमा देखिने तीन/चार जनाको मोटरसाइकल टोली सामान्य यात्रु थिएनन् । न उनीहरू कुनै काम विशेषले मोटरसाइलमा हुइँकिँदै थिए नत कुनै सत्कर्मका लागि त्यति बिहान र अबेर राति सडकमा निस्किँदै थिए ।  उनीहरू त थिए—लुटपाटका लागि संगठित गिरोह । मर्निङ वाकमा निस्कने नागरिकदेखि सुनका सिक्री लगाएर हिँड्ने यात्रुसम्म उनीहरूको निशानामा पर्थे । यही गिरोहलाई काठमाडौं जिल्ला प्रहरी परिसरले गएराति मुलपानीबाट गोली हानेर पक्राउ गर्यो ।  गएराति लुटपाट गर्ने समूहलाई मूलपानीबाट गोली हानेर विनय तामाङसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापाले प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएको जानकारी दिए । उनका अनुसार तीव्र गतिमा चलाएर आएको मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई हानेर घाइते बनाएका थिए । तामाङलाई नियन्त्रणमा लिने क्रममा उनको तिघ्रामा गोली लागेको थियो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापा । लुटेराको समूहहरू विशेष गरी मोटरसाइकलमा हिँड्ने गरेको परिसरका प्रहरी प्रमुख थापाले बताए । ‘लुटेराहरू एउटा मोटरसाइकलमा ३–३ जना गरेर हिँड्ने गरेका थिए । १२ बजेदेखि बिहान ४ बजेसम्म उनीहरू सक्रिय थिए,’ उनले भने, ‘बिहानीको समयमा मर्निङ वाकमा हिँड्नेलाई उनीहरू लक्षित गरेर लुटपाट गर्ने गरेका थिए ।’ लुटेरा समूहको नाइके विनय रहेको थापाले जानकारी दिए । गोली लागेकालाई अस्पतालमा राखेर उपचार भइरहेको उनले बताए । ‘उनीहरू दिनभर टयाक्सी चलाउने र ९ बजेपछि एक ठाउँमा भेला हुने गरेको खुलेको छ,’ थापाले घटना सुनाउँदै भने, ‘उनीहरू ट्याक्सी र निजी कारमा गएर पनि लुटपाट गर्ने गरेका थिए ।’ तामाङ जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज प्रहरी वृत्तबाट फरार थिए । उनले लुटेरा समूहको निर्माण गरेका थिए । दैनिक जसो को–को कहाँ गएर सक्रिय हुने भनेर उनैले टिम परिचालन गर्ने गरेका थिए । लुटेराहरूको पहिलो टार्गेट बाटामा हिँड्नेहरूले लगाएका सिक्री र टप लुटपाट गर्ने हुने गरेको थापाले जानकारी दिए । लुटपाट गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक क्रियाकलाप रहेको उनले सुनाए । तामाको समूहहरू मोटरसाइकलमा लुटपाट गर्न जाँदा नम्बर प्लेटमा हिलो छयापेर जाने गरेका थिए । लुटेरामा संलग्नहरू काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका रहेका छन् । २३ वर्षीय विनय तामाङ चोरी र डाँकाको अभियोगमा मुद्दा खेपिरहेका थिए ।  २४ वर्षीय आयन माझीले लुटपाटमा चालकको रूपमा काम गर्ने गरेका थिए । उनी अन्य लुटपाट गर्नेहरूलाई ओसारपसार गर्ने कार्यमा संलग्न थिए । उनीमाथि पनि भक्तपुरमा डाँका चोरी मुद्दा चलिसकेको थियो । २३ वर्षीय मनिष रसाईली पनि लुटपाटमा मोटरसाइकलको चालक रूपमा थिए । उनले चोरेर ल्याएको सुनलाई गालेर बिक्री गर्ने गरेका थिए । २३ वर्षीय सविन माझी टयाक्सी र लुटपाट गर्दा मोटरसाइकल चालकको रूपमा थिए । २९ वर्षीय पेमा तामाङ मोटरसाइकलमा पछाडि बस्ने गरेका थिए । उनले लुटपाट गर्दा अरूको मुख थुन्ने गरेका थिए । २० वर्षीय सलोन तामाङ् र २२ वर्षीय विशाल तामाङ मोटरसाइकलमा पछाडि बसेर मुख थुनेर लुटपाट गर्न र १८ वर्षीय राजीव भण्डारी संलग्न थिए ।   २८ वर्षीय विदुर विश्वकर्मा भने लुटपाट गरेको सुन किन्ने गरेका थिए । २९ वर्षीय फुर्वा तामाङ पनि मोटरसाइकल चलाउने गर्थे । हालसम्म काठमाडौंको विभिन्न प्रहरी वृत्तमा २७ जना प्रहरीको सम्पर्कमा आएका आइसकेका छन् । बिहीबार मात्र प्रहरी परिसरमा ४ वटा उजुरी परेको परिसरका प्रहरी प्रमुख थापाले जानकारी दिए । लुटेराको समूहले बौद्ध, स्वयम्भू, गौशाला, सानो ठिमी, कोटेश्वर, कपन र बुढानीलकण्ठलगायतको स्थानमा लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।