विकासन्युज

सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ ।  गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुनेगरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्नेगरी कार्य गर्न निर्देशन दिए । बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न भएको छ । कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेशन्स कर्मचारी, विभागीय प्रमुख, कार्यकारी उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित प्रशिक्षकहरू मनोजकुमार भट्टराई (बैंकिङ तथा बीमा विशेषज्ञ) र पदमप्रसाद सोडारी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक उपस्थित थिए । कार्यक्रममा एएमएलरसीएफटीसम्बन्धी विस्तृत तालिम उपनिर्देशक पदमप्रसाद सोडारीले दिएका थिए भने सर्भिस एक्सिलेन्सी सम्बन्धी तालिम बैंकिङ तथा बीमा विशेषज्ञ मनोज कुमार भट्टराईले दिएका थिए । साथै विभागीय प्रमुखहरूसँगको प्यानल अन्तरक्रियामा ब्रान्च अपरेशन्ससँग सम्बन्धित विभिन्न विषयमा सत्रहरू सञ्चालन गरिएको थियो ।  सहभागीहरूले आफ्नो दैनिक कार्यमा भोगेका चुनौती र उठेका प्रश्नहरू प्यानल मार्फत सम्बोधन गराएका थिए ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रकाश विक्रम खत्रीले सूर्यज्योति लाइफको शाखा कार्यालयमा काम गर्ने ब्रान्च अपरेशन्स कर्मचारीहरू नै कम्पनीका वास्तविक सर्भिस एम्बास्डर भएको बताए । सूर्यज्योति लाइफ, नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो । हाल चुक्ता पूँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ६१७ करोड, लगानी ५ हजार १२० करोड र नेटवर्थ ६१८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले १ लाख ७ हजार अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख, र देशभरिका १७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध रु। ५० लाखसम्मको आर्थिक सुरक्षा पनि प्रदान गर्दै आएको छ ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।  मंगलबार (आज) न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले विकासन्युजलाई जानकारी दिए । प्रसाईंलाई गत फागुन ४ गते भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै प्रसाईं पक्राउ परेका हुन् । त्यसविरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए ।  उनी पटकपटक पक्राउ पर्दै आएका छन् ।

महासंघ चुनाव : अर्को समूहबाट वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी, यस्तो बन्यो प्यानल

काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । आगामी चैत २८ र २९ गते हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ । वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पदाधिकारीका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । अर्को समूह भने वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुंग्याउने आन्तरिक गृहकार्यमा व्यस्त रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उक्त समूहबाट वस्तुगत उपाध्यक्षमा शिव घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलराज पाण्डे तथा जिल्ला-नगर उपाध्यक्षमा कृष्ण शर्मा र दिल सुन्दर श्रेष्ठको नाम चर्चामा रहेको छ । अर्को समूहले चैतको पहिलो साता औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको जनाएको छ । तर सो समूहले पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुंग्याउन सकेको छैन । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान जिल्ला-नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले रुचि देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्षका रूपमा प्रतिस्पर्धामा उत्रिने सम्भावना रहेको छ । यो समूहलाई हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठको साथ रहेको छ ।  ५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ

७ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १ खर्ब ११ अर्बमाथि, कसको व्यापार कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । मंगलबार (आज) नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ महिनामा १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख १३ हजार बीमालेख जारी गरेर १ खर्ब ११ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा चालु आवको सात महिनामा बीमा कम्पनीहरूको व्यापार १६.४३ प्रतिशतले वृद्धि भएको छ ।  माघसम्ममा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सो अवधिमा २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा नेपाल लाइफले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले गत आवको माघसम्ममा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ७ महिनामा ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । माघसम्ममा हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ ,सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत, सिटिजन लाइफको १८.९५ प्रतिशत, सानिमा रिलायन्सको १२.२९ प्रशित, आईएमई लाइफको ३३ प्रतिशत, मेट लाइफको. ९.९५, रिलायबल नेपालको २४.९३ प्रतिशत, प्रभु महालक्ष्मीकोे १३.८६ प्रतिशत र सन नेपाल लाइफको ४.६२ प्रतिशतले व्यापार वृद्धि भएको छ । 

साम्बाले भनिन्– सहयोग रकम दुवै खातामा नहाल्नू, मलाई उपचारमा पुग्ने रकम उठ्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी अर्थात साम्बाको खातामा २४ घण्टामै डेढ करोड रुपैयाँ उठिसकेको छ । उनले सामाजिक सञ्जालमार्फत नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी हुन् । ‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।  साम्बाले आवश्यक पर्ने रकम उठिसकेकाले अब सहयोगको आवश्यकता नपर्ने पनि उल्लेख गरेकी छन् । ‘आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु, उनले भनेकी छन् । त्यस्तै, उनले कतारमा रहेका विभिन्न व्यक्ति र संस्थाले पनि सहयोगको वाचा गरेको बताएकी छन् ।  साम्बाले पुन: नेपालको जर्सी लगाएर मैदानमा उत्रिने प्रतिबद्धता पनि जनाएकी छिन् ।

सरकारले जेनजी परिषद गठन गर्ने

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरूको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।  त्यसैगरी, सरकारले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।  सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको  बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ ।   साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश  दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।      मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ ।      बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।