विकासन्युज

प्रभु इन्स्योरेन्सको ९.१५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.४६७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

बानेश्वरमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरले स्कुटर चालकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मंगलबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनालगत्तै स्कुटर चालकलाई सिभिल अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको भट्टराईले बताए । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।   

रास्वपा सभापति लामिछानेको फेसबुक पेज ह्याक

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार (आज) बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाउनका लागि पटक–पटक ह्याक गर्ने प्रयास भएको जानकारी दिइएको हो ।  उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई यो फेसबुक पेज मेटाद्वारा ’लक’ गरिएको सचिवालयले जानकारी दिएको छ । ‘पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र हाम्रो नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन्,’ सचिवालयले भनेको छ । सचिवालयले भनेको छ, ‘यदि उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्नुहोला ।’  फेसबुकको सुरक्षा प्रक्रिया अनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ । आधिकारिक जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन पनि सचिवालयले जानकारी दिएको छ ।    

निर्वाचन आयोगले कडाइ गर्दै, आचारसंहिता कार्यान्वयनमा विशेष निगरानी गरिने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा थप कडाइ गरेको छ । आयोगले देशभर खटिएका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष सतर्कता अपनाउन स्पष्ट निर्देशन दिएको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनको निष्पक्षता र स्वच्छता सुनिश्चित गर्न मंगलबारदेखि नै विशेष कडाइ सुरु भएको छ । मतदान हुनुअघि ४८ घण्टाको अवधिलाई संवेदनशील समय मानिँदै यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय तथा सम्बन्धित सबै पक्षले आचारसंहितामा तोकिएका नियमहरूको पूर्ण पालना गर्नुपर्ने न्यौपानेले बताए । फरक–फरक जिम्मेवारीसहित अधिकृत खटाइयो निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ । उनीहरूलाई आफ्नो कार्यक्षेत्रभित्र हुने गतिविधिहरूको सूक्ष्म निगरानी गर्दै आचारसंहिता उल्लङ्घन हुन नदिन सक्रिय भूमिका निर्वाह गर्न भनिएको न्यौपानेले बताए । निर्वाचन आचारसंहिता, २०७२ को दफा १७ मा उल्लेख भएअनुसार मतदानको अघिल्लो ४८ घण्टा र मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण लागू हुने न्यौपानेले जानकारी दिए । यस अवधिमा प्रचार–प्रसार, मतदातालाई प्रभावित पार्ने गतिविधि, सार्वजनिक सभा तथा जुलुस प्रदर्शनजस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको छ । आयोगले उक्त प्रावधानको अक्षरशः कार्यान्वयन गराउन जिल्ला स्तरमा अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको छ। कुनै पनि प्रकारको उल्लङ्घन देखिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ । कानुनी कारबाहीको चेतावनी निर्वाचन आचारसंहिता तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ विपरीत गतिविधि भएको पाइएमा सोही ऐनअनुसार कारबाही गरिने स्पष्ट पारिएको सहप्रवक्ता न्यौपानेले बताए । उनका अनुसार आवश्यक परे जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ । आयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न अपिल समेत गरेको न्यौपानेले बताए ।

मटरकोसा किलोको ४० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ८० र भन्टा डल्लो प्रतिकिलो रु ८५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १७०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १५०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ९५, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २२०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु ११०, छ्यापी हरियो प्रतिकिलो रु १४०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम सीमानाका बन्द गरिएको जनाएको छ । नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।     

यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावास भवनमाथि दुई वटा ड्रोन प्रहार गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख गरिएको छ । मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । आक्रमण हुनुअघि नै भवन खाली गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । साउदी अरेबियास्थित अमेरिकी नियोगले रियाद, जेद्दा र धहरानमा बसोबास गर्नेहरूलाई घरमै सुरक्षित रहन आग्रह गरेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला उक्त आक्रमण भएको हो । शनिबार इजरायल) र अमेरिकाले इरानमाथि आक्रमण गरेको र त्यसक्रममा इरानका सर्वोच्च धार्मिक नेता खामेनी मारिएको दाबी गरिएको छ । त्यसपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अड्डा तथा इजरायलतर्फ लक्षित आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपासबाट धुवाँ उठेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई त्यहाँ नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो । इरानले बदलास्वरूप मध्यपूर्वका खाडी मुलुकहरूमा निरन्तर आक्रमण जारी राखेको बताइएको छ । एजेन्सी