होर्मुज सङ्कटले विश्व बजारमा हलचल, युद्ध ४ हप्तासम्म लम्बिन सक्ने
काठमाडौं । इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्ने बित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । ईस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको हमलापछि ब्रेन्ट क्रुड सुरुवाती कारोबारमा झन्डै १४ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडियेट करिब १२ प्रतिशतले उक्लिएको थियो । विश्व समुद्री तेल आपूर्तिको करिब २० प्रतिशत बग्ने होर्मुज जलडमरूमध्ये प्रभावकारी रूपमा अवरुद्ध भएको, केही जहाजमा आक्रमण भएको र बीमा लागत आकासिएको खबरले आपूर्ति अवरोधको डर झन् बढाएको हो । पछि केही लाभ घटे पनि कच्चा तेल नौ प्रतिशतभन्दा बढी माथि नै रह्यो भने युरोपेली ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढ्यो । टोकियो, हङकङ, सिङ्गापुर, मुम्बई, बैङ्कक, वेलिङ्गटन र ताइपेईका सेयर बजारहरू राताम्मे देखिए । लन्डन झन्डै एक प्रतिशत घट्दा फ्रान्कफर्ट र पेरिसमा दुई प्रतिशतभन्दा बढी गिरावट आयो । साङ्घाई भने सामान्य सुधारमा रह्यो र सिड्नी स्थिरजस्तै देखियो । अमेरिकी मुद्रा प्रारम्भमा कमजोर बने पनि पछि सुरक्षित लगानीतर्फको आकर्षणका कारण डलर र सुन दुवै बढेका छन्, जसमा सुन झन्डै दुई प्रतिशतले उक्लिएको छ । क्षेत्रीय उडान रद्द हुन थालेपछि एयरलाइन्स कम्पनीहरूको सेयरमा तीव्र गिरावट आयो । हङकङको क्याथे प्यासिफिक चार प्रतिशत, सिड्नीमा सूचीकृत क्वान्टास ५.४ प्रतिशत, सिङ्गापुर एयरलाइन्स ४.८ प्रतिशतले घटे । जापानका एएनए र जेएएल पनि ५ प्रतिशतभन्दा बढी ओरालो लागे । यसको विपरीत ऊर्जा कम्पनीहरू भने उक्लिए । अस्ट्रेलियाका वुडसाइड एनर्जी र सान्तोस ६ प्रतिशतभन्दा बढीले बढे, पेट्रोचाइना करिब ४ प्रतिशत माथि पुग्यो र जापानको इन्पेक्सले पनि उल्लेख्य वृद्धि गर्यो । इरानले औपचारिक रूपमा जलडमरूमध्य बन्द नगरे पनि रिभोलुसनरी गाड्र्सले जहाजलाई सावधानी अपनाउन चेतावनी दिएको छ । ओमान र युएईको तट नजिक २ जहाज ठोक्किएको र एउटा तेल ट्याङ्करमा प्रहार भई डुबेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख ढुवानी कम्पनीहरूले आफ्ना जहाजहरूको मार्ग परिवर्तन गरिसकेको पुष्टि गरेका छन् । विश्लेषक अमेना बक्रका अनुसार अवस्था लम्बिए कच्चा तेलको मूल्य ९० डलर नाघ्न सक्छ र रणनीतिक भण्डारले पनि पूरै कमी धान्न नसक्ने जोखिम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गर्दै युद्ध ४ हप्तासम्म लम्बिन सक्ने बताए । तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेका छन् । इरान समर्थित हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा पनि आक्रमण भएको खबरले द्वन्द्व थप फैलिन सक्ने चिन्ता बढाएको छ । स्याक्सो मार्केटका चारु चनानाका अनुसार ऊर्जा मूल्य उच्च रहिरहे मुद्रास्फीति फेरि चर्किन सक्छ र अमेरिकी फेडरल रिजर्भलाई ब्याजदर कटौतीमा सतर्क बनाउनेछ । क्लेप्लरकी विश्लेषक मिसेल ब्रोहार्डले उच्च तेल मूल्यलाई ट्रम्प प्रशासनको ‘एचकिलिस हिल’ को संज्ञा दिँदै अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा मूल्यवृद्धिले राजनीतिक दबाब बढाउन सक्ने बताए । कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ । पेरिसस्थित आइइएसइजी स्कुल अफ म्यानेजमेन्टका अर्थशास्त्री एरिक डोरका अनुसार तनाव छोटो अवधिमा सीमित रहे ठूलो असर नपर्न सक्छ, तर लामो समय कायम रहेमा बढ्दो ऊर्जा र ढुवानी लागतले विश्व आर्थिक वृद्धिमा मन्दीको छायाँ पार्न सक्छ ।
भारत-क्यानडा व्यापार ५० अर्ब डलर लक्ष्य
काठमाडौं । भारत र क्यानडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावनाहरू खुला गर्ने प्राथमिकता तय गरिएको बताए । उनका अनुसार व्यापक आर्थिक साझेदारी सम्झौतालाई निकट भविष्यमा अन्तिम रूप दिने निर्णय भएको छ । उक्त सम्झौताले दुवै देशमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्री मोदीले क्यानडाली पेन्सन कोषहरूले भारतमा करिब १ खर्ब डलर लगानी गरेको उल्लेख गर्दै यसलाई भारतको आर्थिक विकासप्रति क्यानडाको भरोसाको सङ्केत रहेको बताए । दुवै देशका प्रधानमन्त्रीहरूले व्यापारिक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको र त्यसबाट आर्थिक सहकार्यको स्पष्ट मार्गचित्र तयार हुने बताइएको छ । प्रधानमन्त्री कार्नीको यो भारतको पहिलो आधिकारिक भ्रमण हो । उनी २७ फेब्रुअरीमा भारत आइपुगेका थिए । मुम्बई भ्रमणपछि राष्ट्रिय राजधानीमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको हो । हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा व्यापार, लगानी र रणनीतिक सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ । दुवै नेताको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षरसमेत भएका छन् । प्रधानमन्त्री मोदीले गत वर्ष क्यानडामा सम्पन्न जी-७ शिखर सम्मेलनका क्रममा भएको भेटलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा र विश्वास थपिएको उल्लेख गरे । भारत र क्यानडाले लोकतान्त्रिक मूल्यमान्यता, विविधता र मानव कल्याणप्रतिको साझा दृष्टिकोणमा आधारित सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । विदेशमन्त्री एस जय शङ्करले पनि क्यानडाका प्रधानमन्त्रीसँग भेट गरी अग्रगामी साझेदारी निर्माणप्रति प्रतिबद्धता व्यक्त गरे । हालको भ्रमणलाई भारत–क्यानाडा सम्बन्ध सामान्यीकरण र रणनीतिक-आर्थिक सहकार्य विस्तारतर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । प्रधानमन्त्री कार्नी आजै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी
काठमाडौं । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । ‘इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने । चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन ।’ इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ । इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।
भन्सार छलीका सामान बरामद, फार्म सञ्चालक समेत नियन्त्रणमा
काठमाडौं । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ८ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी ८ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली गरी ल्याइ लुकाइ छिपाइ राखिएको ७७२ थान लेडिज कुर्तासुरुवाल सेट बरामद गरिएको छ । उक्त कपडाको अन्दाजी मूल्य ७ लाख १२ हजार रुपैयाँ रहेको छ । घटनामा संलग्न फार्म सञ्चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको उनले जानकारी दिए । यस्तै, रोहिणी गाउँपालिका-१ झोलुङ्गे पुल नजिक बेवारिसे अवस्थामा रहेका २ मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद पेय पदार्थ तथा चकलेटको अन्दाजी मूल्य ७८ हजार ६०० रुपैयाँ तथा मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ गरी कुल १ लाख २८ हजार ६०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले बताए । बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
गण्डकीकामा निर्वाचन सुरक्षा कडा, ७ हजार बढी प्रहरी परिचालन
गण्डकीमा निर्वाचन सुरक्षा चुस्त काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए । ‘शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ । निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ,’ उनले भने । सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनको भनाइ छ । मतदानको दिन नजिकिदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेले बताए । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ । जिल्ला कमाण्ड पोष्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ । सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ,’ संयोजक घिमिरेले भने । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिए । एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ७ हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उनले उल्लेख गरे । ‘मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्व तयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ,’ प्रवउ कार्कीले भने । उनका अनुसार निर्वाचनका बेला शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशङ्का गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उनको भनाइ छ । नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना बमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ । निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ । १८ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र रहेका छन् ।
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, सबै मतदानस्थलमा खटाइए
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए । उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका ९ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेश भरि १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रमा पुगेका हुन् । मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिश चन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजना अनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ ।
६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने, मौन अवधिमा के-के गर्न पाइँदैन ?
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ । निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ-आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ । मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ । भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सु-सूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचरण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
चुनावमा इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण गर्दा दुर्घटना हुन सक्छ : आयल निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधारणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिम समेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनाव भरि नियमित हुने जानकारी दिए । उनले भने, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’ उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुन सक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराए । सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।