ट्रम्पको जितले मस्कलाई मालामाल, एकैदिन बढ्यो २६.५ बिलियन डलर सम्पत्ति
काठमाडौं । डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी अमेरिकाको ४७ औं राष्ट्रपति बनेका हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले खुलेर ट्रम्पको समर्थन गरेका थिए । चुनावी प्रचारप्रसारका क्रममा उनले ट्रम्प क्याम्पलाई ११९ मिलियन डलर पनि सहयाेग गरेका थिए । बुधबार अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउनेबित्तिकै मस्कको कम्पनी टेस्लाको सेयर १४.७५ प्रतिशतले बढेको थियो । यसले मस्कको कुल सम्पत्ति २६.५ बिलियन डलरले बढ्यो । अर्थात् मस्कले एकै दिनमा आफ्नो लगानीको २२ हजार ५४४ प्रतिशत प्रतिफल पाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति अहिले २९० अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति ६१.३ बिलियन डलरले बढेको छ । मस्कसँग टेस्लाको ४११ मिलियन सेयर छ । बुधबार कम्पनीको सेयर १४.७५ प्रतिशतले वृद्धि भएकाे थियाे । योसँगै सेयर मूल्य दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । टेस्ला ९२६.१९ बिलियन डलरको मार्केट क्यापका साथ विश्वको १० औं सबैभन्दा मूल्यवान कम्पनी हो । मस्कले ट्रम्पको र्यालीमा जसरी प्रचार गरे त्यसले उनलाई सरकारमा पनि स्थान दिन सक्ने अनुमान गरिएको छ । उनलाई अर्थमन्त्री बनाइने अनुमान पनि छ । एक र्यालीमा उनले अमेरिकी बजेटमा दुई ट्रिलियन डलर बचत गर्न सक्ने बताएका थिए । शीर्ष १० मा को-को ? अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ पनि बुधबार ७.१४ बिलियन डलरले बढेको छ । उनी २२८ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । फेसबुकका सीईओ मार्क जुकरबर्ग (२०२ बिलियन डलर) तेस्रो स्थानमा, ल्यारी एलिसन (१९३ बिलियन डलर) चौथो स्थानमा र बर्नार्ड अर्नाल्ट (१७३ बिलियन डलर) पाँचौं स्थानमा छन् । यस सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५९ बिलियन डलर) छैटौं, ल्यारी पेज (१५८ बिलियन डलर) सातौं, सर्गे ब्रिन (१४९ बिलियन डलर) आठौं, वारेन बफेट (१४८ बिलियन डलर) नवौं र स्टिभ बाल्मर (१४६ बिलियन डलर) दशौं स्थानमा छन् अम्बानी-अदानीको अवस्था मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ पनि बुधबार बढेको छ । रिलायन्सका अध्यक्षको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेसँगै उनी फेरि १०० बिलियन डलरको क्लबमा सामेल भए । अडानी समूहका अध्यक्षको कुल सम्पत्ति ३ अर्ब ६२ करोड डलरले बढेर ९७.२ अर्ब डलर पुगेको छ । विश्वका धनी व्यक्तिको सूचीमा अम्बानी १७औं र अडानी १८औं स्थानमा छन् । अहिले दुवैको नेटवर्थमा तीन अर्ब डलरभन्दा कमको अन्तर छ । यस वर्ष अम्बानीको कुल सम्पत्ति ४.०१ बिलियन डलरले बढेको छ भने अडानीले १२.९ बिलियन डलर कमाएका छन् । एसियाली धनीहरूको सूचीमा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् । (एजेन्सीको सहयाेगमा)
छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी
जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए ।
निर्माण व्यवसायीले पाए ५ अर्ब रकम भुक्तानी, साढे ३ अर्ब पाउन बाँकी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा । काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताएका छन् । सचिव शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मन्त्रालयअन्तर्गत ८ अर्ब ७१ करोडमा ५ अर्ब ५ करोड भुक्तानी गरेको बताएका हुन् । उनले अर्थमन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकामान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको बताए । उनले ८ अर्ब रकम भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । उनले अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको बताए । सचिव शर्माले कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले चाँडै बाँकी भुक्तानी हुने विश्वास रहेको बताए । उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीहरूलाई ६० प्रतिशत रकम भुक्तानी गरिसकेकाे छ । रकम अपुग भएकाले ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयबाट त्यो रकम निकासा हुनुपर्ने छ । विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न सकेनौं । कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेका छौं । अर्थ मन्त्रालयले व्यवस्थापन गर्दै छ । सम्भवतः चाँडै बाँकी भुक्तानी हुन्छ ।’ सचिव शर्माले मन्त्रालयअन्तर्गतको रकम रकमान्तर गर्न अर्थ मन्त्रालयको स्वीकृत नपर्ने सम्बन्धमा केन्द्रीय लेखा प्रणाली आयव्याय प्रणाली बिग्रने गरीको स्वतन्त्रता मन्त्रालयहरुले खोज्नु नहुने बताए । उनले मन्त्रालय अन्तर्गतका शिर्षकबाट समस्या फुकाउनसक्ने अधिकार दिनुपर्ने पनि बताए ।
यु-१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले एक सय छ रनको अन्तरले कुवेतलाई हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान परिवर्तन
काठमाडौं । नेपाल वायुसेवा निगमको उडानको समय तालिका परिवर्तन भएको छ । कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै उडानको समय परिवर्तन भएकाे जानकारी दिएको हो । कम्पनीका अनुसार भाेलि (शुक्रबार)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सम्भारको कार्य हुने भएकाले विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहने छ । निगमले जारी गरेको सूचनाअनुसार काठमाडौंबाट राति ११ः५० मा हुने जापानको नारिता उडान भोलिबाट राति ९ बजेर १५ मिनेटमै हुने भएको छ । नारिताबाट फर्कदा पनि बिहान ११ः २५ मा आइपुग्ने जहाज अब ९ः२५ मै आइपुग्ने भएको छ । काठमाडौंबाट दोहा उडान भोलिबाट साढे नाैमै हुनेछ । यसअघि राति ११ बजे उडान हुने भनिएकाे थियाे । दोहाबाट काठमाडौं आउने उडान पनि बिहान ३ः २५ नभई अब २ बजे आउने छ । काठमाडौंबाट दुबई उडान अहिले राति ११ः१५ मा हुँदै आएकोमा अब ९ः३५ मै हुनेछ । यसैगरी, दुबई-काठमाडौं उडान ४ः१० बजे हुँदै आएको उडान भने यथावत नै छ ।
एकैदिन ४ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन तोलाकाे एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा, १२०० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने
काठमाडौं । चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीस्थित त्रिशुली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ सात बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजनाअन्तर्गतकै त्रिशुली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशुली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । नेपाल विद्युत प्राधिकरण उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेकाले त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् जुनसुकै बेला जोड्न सकिने बताए । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । दशैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको थियो । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको थियो । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरिएको छ । हेलिकोप्टरबाटसमेत निर्माण सामाग्री ढुवानी गरी टावर निर्माण गरिएको थियो । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामाग्री मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढी-पहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले प्रतिकूल मौसमजस्ता कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ¬)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो । प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशुली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशुली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज () २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।
नेपाल पुनर्बीमाले ३ महिनाभित्र रेटिङ पाउने अध्यक्ष ढुङ्गानाको दाबी
काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाभित्र रेटिङ पाउने कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले दावी गरेका छन् । कम्पनीको ११औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले कम्पनीले ३ महिनाभित्र रेटिङ पाउने जानकारी दिएका हुन् । पुनर्बीमा कम्पनीले रेटिङ गर्न ढिला गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले ११ वर्षसम्म पनि रेटिङ नगराएको भन्दै आक्रोश व्यक्त गरेका थिए । स्थापनाको २ वर्षमा नै हिमालयन रिइन्स्योरेन्सले रेटिङ गराएको थियो । तर, ११ वर्षसम्म नेपाल पुनर्बीमाले रेटिङ गराउन नसकेपछि प्राधिकरणका अध्यक्षले आक्रोश पोखेका हुन् । यस्तै, कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले पनि यसमा रेटिङ नभएको भन्दै टिका टिप्पणी गर्ने गरेका थिए । अध्यक्ष ढुङ्गानाका अनुसार सिङ्गापुरको रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्रक्रिया सुरु भइसकेको छ । अबको तीन महिनामा रेटिङ भइसक्ने उनको दाबी छ । उनले भने, ‘एएम बेस्ट, सिङ्गापुरबाट रेटिङ लिएर विश्व बजारमा छिर्ने छौं । रेटिङको काम फाइनल चरणमा पुगेको छ । ३ महिनाभित्र रेटिङ गरिसक्छौं ।’ तर, कम्पनीका यसअघिका अध्यक्ष ईश्वर अर्यालले पनि कम्पनीको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै केही महिनामा नै रेटिङ पाउँछौं भनेर दाबी गरेका थिए । अर्थ मन्त्रालयका तत्कालीन सहसचिवसमेत रहेका अर्यालले यस्तो दाबी गरेको ५ महिना भइसकेको छ । उनले हिमालयन रिकोभन्दा राम्रो रेटिङ आउने पनि दाबी गरेका थिए । हिमालयन रिले एएम बेस्ट, सिङ्गापुरबाट बी प्लस रेटिङ पाएको थियो । अर्यालले अवकास पाइसकेका छन् भने ढुङ्गाना अध्यक्षमा नियुक्त भएका छन् । केही दिनअघि अध्यक्ष बनेका ढुङ्गानाले पनि फेरि ३ महिनामा रेटिङ गछौं भनेर दाबी गरेका हुन् । उनले रेटिङ लिएर विश्व बजारमा छिर्न जनशक्ति व्यवस्थापन, सिस्टमको विकास, मार्केटिङको काम अगाडि बढाएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।