२७ औं पोखरा सडक महोत्सव पुस १३ देखि, स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन हुने
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आइतबार (आज) इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । ‘हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्द्धन क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ’ उनले भने । विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे । पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ । यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ । महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।
गोरखा ब्रुअरी र खालिसीसीबीच बोतल व्यवस्थापन सहकार्य
काठमाडौं । गोरखा ब्रुअरी कार्ल्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई समेट्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ । ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यस अभियानले जिम्मेवार स्रोत व्यवस्थापन (रिसोर्स म्यानेजमेन्ट)लाई व्यवहारमा उतार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत खालिसीसीले बार तथा रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाका बोतललाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसबाट व्यवसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली विकास हुने अपेक्षा गरिएको छ । यो मोडेलले व्यवसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापनलाई सरल बनाउने र पुनःप्रयोग गर्न सकिने शिशा ल्यान्डफिलमा पुग्ने मात्रा उल्लेखनीय रूपमा घटाउने कम्पनीको विश्वास छ । गोरखा ब्रुअरीले खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै व्यवस्थित पुनःप्रयोग समाधानमार्फत आफ्ना दिगोपनसम्बन्धी लक्ष्यलाई थप मजबुत बनाउँदै सफा तथा हरियो नेपाल निर्माणमा योगदान पुर्याइरहेको जनाएको छ ।
हामी विश्वव्यापी प्रतिस्पर्धामा अब्बल बन्नेछौं : अक्षय गोल्याण
काठमाडौं । गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्याणले यस्तो बताएका हुन् । ‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल सावित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिविम्बित हुनेछ ।’ मंसिर २४ गते गोल्याण ग्रुपले वार्षिकोत्सव समारोहमा ३७ वर्षीय अक्षयलाई अध्यक्ष चयन भएको घोषणा गरेको थियो । अध्यक्ष चयनपछि आइतबार त्यहाँ कार्यरत कर्मचारीले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । कर्मचारीलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष गोल्याणले सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाको रुपमा स्थापित गोल्याण ग्रुपलाई थप उचाइमा पुर्याउन आफ्नो प्रयास रहने बताए । संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण र उपाध्यक्ष वासुदेव गोल्याणको प्रेरणा र मार्गनिर्देशलाई सधैं शिरोपर गर्ने उल्लेख गर्दै उनले भने, ‘तपाईँहरूले मप्रति दर्शाउनुभएको विश्वास र माया, संस्थाप्रतिको समर्पण र कामप्रतिको कडा संघर्षले मलाई अझ उत्साही बनाएको छ ।’ ‘विश्वको उत्कृष्ट १०’ मध्येमा पर्ने स्पेनको इएसएडीइ यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका अक्षय ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक थिए । संस्थापक अध्यक्ष पवन गोल्याणले अध्यक्षको जिम्मेवारी सुम्पिएसँगै अब अक्षयको काँधमा कार्यकारी भूमिकासहित ग्रुपको समग्र नेतृत्व आइपुगेको छ । ६५ वर्ष लामो विरासत बोकेको गोल्याण ग्रुपलाई अब तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले हाँक्नेछन् । हजुरबुवा सोहनलाल गोल्याणले सुरु गरेको व्यवसाय बुवा पवन गोल्याण हुँदै अक्षयमा आइपुगेको हो । गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । करिब १० हजार कर्मचारी कार्यरत गोल्याण ग्रुपले ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ । ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नयाँ पुस्ताको नेतृत्वमा ग्रुपको विकास र विकास हुने विश्वास गरिएको छ ।
२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २५९४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको १८ करोड, शिवम् सिमेन्टको ७ करोड ८९ लाख, श्रीनगर एग्रीटेको ७ करोड ७० लाख र बुटवल पावर इनर्जीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्तको १० प्रतिशत र एसवाइ प्यानलको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् । आइतबारको कारोबारमा १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठक सोमबार (भोलि) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ । बैठकमा कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनमा शोक व्यक्त गर्न बोलाइएको पौडेलले जानकारी दिए । बैठकमा वर्तमान राजनीतिक परिस्थितिसम्बन्धी छलफल, आगामी महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुनसक्ने एक नेताले जानकारी दिए ।
विधान संशोधन प्रस्तावप्रति सुरेन्द्र पाण्डेले जनाए असहमति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विधान संशोधनसम्बन्धी पछिल्लो प्रस्तावप्रति असहमति जनाएका छन् । उनले विधानहरू अस्थायी जस्तो गरी आवश्यकताअनुसार घटाउने-बढाउने प्रवृत्ति मनपरि भएको टिप्पणी गरे । ‘हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔं भन्ने अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔं भन्ने ? यो सरासर मनपरि होइन भने के हो?,’ पाण्डेले भने । अहिले आएर दायाँ–बायाँ गरिए विधान अधिवेशनको औचित्य नै समाप्त हुने उनको भनाइ छ। उनले मनपरीतन्त्रको विरोध जारी रहने स्पष्ट पार्दै पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य रहेको जोड दिए ।
एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतबार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए । उनकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताए । उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसाथ गर्दै अगाडि जाने र उपाध्यक्ष मात्रै राखेका छौँ पाँच जना । वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन । पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदैछौं ।’ उनले महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि शुरु हुने समेत जानकारी दिए । उनले केन्द्रिय कमिटीको अन्तिम बैठकले सबै सदस्यहरुलाई धन्यावाद समेत व्यक्त गरेको जानकारी गराए ।
राजधानीमै छैन पर्यटक बसको बसपार्क, सोह्रखुट्टे सडकमै पार्किङ
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् । विगत तीन दशकदेखि काठमाडौंको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौंदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् । सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् । 'सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ', उनी भन्छन् । राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउँछन् । कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । हाल काठमाडौंबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् । टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । रासस