विकासन्युज

२ करोड बढी बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आइतबार जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ ।  खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा दुई करोड छ लाख आठ हजार ३८३ रुपैयाँ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय, अनारमनीमा जाहेरी दिएका थिए । पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए । झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्दाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका- २ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका- ८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए । अदालतको आदेश बमोजिम एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र ७५ हजार रुपैयाँ धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ । झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो । यसैगरी, शिवसताक्षी नगरपालिका- ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए । अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

सेयर बजारका बादशाह बफेटले सीईओ पद छाड्दै, ग्रेग एबेल बन्दै उत्तराधिकारी

काठमाडौं । सेयर बजारका बादसाहका रूपमा परिचित वारेन बफेटले पदबाट सन्यास लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट सन्न्यास लिने र ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीको रूपमा सिफारिस गर्ने घोषणा उनले गरेका हुन्। ९४ वर्षीय बफेटले शनिबार बर्कशायर हाथवेको वार्षिक बैठकमा भने, 'भोलि हामी बोर्ड बैठक गर्दैछौं । मलाई लाग्छ, अब समय आएको छ कि ग्रेग एबेलले कम्पनीको  सीईओको जिम्मेवारी सम्हाल्नुपर्छ ।’ सन् २०२१ मा एबेललाई सीईओको उत्तराधिकारीको रूपमा घोषणा गरिए पनि यसपटकको औपचारिक घोषणा हजारौं सेयरधनीहरूका लागि अप्रत्याशित थियो । ६ दशक लामो यात्राको उत्कर्षमा बिदाइ सन् १९६५ मा एक असफल कपडा कारखाना किन्दै सुरु भएको बफेटको बर्कशायर यात्राले उनलाई ‘ओमाहाको भविष्यवक्ता’ बनायो । अहिले बर्कशायर हाथवे विश्वकै सबैभन्दा ठूला समूहहरूमध्ये एक बनेको छ, जसको बजार मूल्य झन्डै १.२ ट्रिलियन अमेरिकी डलर पुगेको छ । बफेटले स्पष्ट पारे, 'म अझै वरिपरि रहनेछु, तर कम्पनीको सञ्चालन र पूँजी व्यवस्थापनको अन्तिम निर्णय ग्रेगकै हुनेछ ।’ बफेटको विश्वास- ग्रेग एबेल अझ सक्षम ६२ वर्षीय एबेल हाल बर्कशायरका बीमा बाहेकका व्यवसायहरूको उपाध्यक्ष हुन् । बफेटले भने, 'ग्रेगको व्यवस्थापन शैली मेरोभन्दा प्रभावकारी छ । अहिले एबेलले निकै मेहनत गरिरहेका छन् ।’ बफेटले आफ्नो सम्पूर्ण सेयर होल्डिङमा राख्ने घोषणा गर्दै भने, 'यो आर्थिक निर्णय हो। मलाई लाग्छ, ग्रेगको नेतृत्वमा बर्कशायर अझै राम्रो प्रदर्शन गर्नेछ ।’ कम्पनी संस्कारको निरन्तरताको संकेत  हाल बफेट बर्कशायरका अध्यक्षसमेत हुन् । अबको भूमिका कस्तो हुने भन्नेबारे आइतबाको बोर्ड बैठकमा छलफल हुनेछ । यसअघि बफेटले संकेत दिएका थिए कि आफ्नो मृत्युपछि उनका छोरा हाउइ बफेट गैर-कार्यकारी अध्यक्ष बन्नेछन् । शनिबारको घोषणा र एबेलको नाममा गरिएको सरप्राइज घोषणापछि ४० हजार सेयरधनीहरू उभिएर बफेटलाई सम्मानित गर्दै ताली बजाए । बर्कशायर निर्देशक रोन ओल्सनले टिप्पणी गरे, 'म यो घोषणाबाट अचम्ममा परें, तर यो प्रेरणादायी छ । अब म वारेनलाई ग्रेगका लागि चार्ली मंगरको भूमिकामा देख्न चाहन्छु ।’ नयाँ नेतृत्व, पुरानै दर्शन  ग्रेग एबेलले भने, 'हामीले पूँजी विनियोजनमा बफेटले अपनाएको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिनेछौं । बर्कशायरको लगानी शैली परिवर्तन हुने छैन ।’ अब ६ दशक लामो नेतृत्वको अन्त्य भई बर्कशायर हाथवेमा नयाँ अध्याय सुरु हुनेछ।

नागढुङ्गा-नौबिसे सडक ४ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । नौबिसे-नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।  त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ ।  काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र  नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा-मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ । साना तथा मझौला सवारीसाधनले सीतापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम

काठमाडौं । गए रातिदेखिको वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक-जगाति सडकमा आवत जावत गर्न समस्या  भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।  भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ । सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रे लगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली-नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला माल वाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।  गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्ल नै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्र गतिमा काम हुन नसक्दा समस्या आएको छ ।

आइएमई लाइफको नाफा १०.४९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत बढेर ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चैतसम्म कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, सञ्चित नाफा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ । 

४ बैंकले ७० प्रतिशत लगानी गरेको २१.३ मेगावाटको ठूलो खोला आयोजनाको परीक्षण सुरु

काठमाडौं । म्याग्दीको रघु गङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत् गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत् गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत् गृहमा टर्बाइन लगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेन स्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेन स्टक टनेल रहेको छ । गैर आवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो । 

८.४९ प्रतिशत बढ्यो हिमालयन लाइफको नाफा, ७३.७७ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोष

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चैतसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ३१ करोड २४ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको चैतमा कम्पनीले पुनर्बीमा कमिसनमा ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९९ करोड ८१ लाख खर्च गरेको थियो ।  चैतसम्म कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ कुल आम्दानी गरेर १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेर १६ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।  समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ८.२९ प्रतिशत बढेर ४७ करोड ८ लाख र जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।  तर, यस अवधिमा कम्पनीको सञ्चित नाफा घटेर १ अर्ब ९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको सञ्चित नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ । 

वर्षाले नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक यात्रा गर्न आग्रह

काठमाडौं । गए रातीदेखि निरन्तर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गए रातीदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे ।  सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातीदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारी साधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।  कान्ति लोकपथ सडक अवरुद्ध  त्यसैगरी, गए रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए । प्रहरीले  यात्रीलाई हेटौंडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।