प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै, के-के गरे चिनमा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए । त्यसैगरी, प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।
आज देशभर साधारणतया बदली रहने, कोशी, तराई र वाग्मतीमा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
कजारिया टायल्सको नयाँ शोरुम जोरपाटीमा
काठमाडौं । कजारिया टायल्सले काठमाडौंको जोरपाटीमा नयाँ शोरुमा खोलेको छ । कजारियाले जीएनएस ट्रेडर्सको सहकार्यमा शोरुम सञ्चालन गरी काठमाडौंमा आफ्नो उपस्थिति झन् मजबुत बनाएको हो । नेपाली कांग्रेसका सांसद सन्तोष चासिलेले शोरुम उद्घाटन गरे । उद्घाटन समारोहमा रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाललगायतको उपस्थिति रहेको थियो । कम्पनीले देशभरका ४५ भन्दा बढी शोरुम र एक सय बढी डिलरमार्फत उच्च गुणस्तरका टायल बेच्दै आएको छ।
टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा
धनगढी । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ । सिपद्री ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गरेको हो । उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी खरिद गर्न सक्नेछन् । त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन् । सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आजै टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियो ।
स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेण्ट
काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्यनारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिषनारायण जोशीले हस्ताक्षर गरे । दुग्ध तथा दुग्ध जन्य पदार्थजस्तै दही, घ्यू, चकलेट र पनिर लगायतका अन्य उत्पादन र प्याकेजिङ गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो । स्वदेशी उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर बनाउने र उपभोक्ताहरूका लागि ुगोठदेखि भान्सासम्मु भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो कम्पनी स्थापित भएको हो ।
सिटीपे फोनेपे नेटवर्कमा आबद्ध, १.७ मिलियनभन्दा बढी आउटलेटमा भुक्तानी गर्न सक्ने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो प्रणालीमा आबद्ध गराएको छ । १०औँ डिजिटल वालेटको रूपमा सिटीपे फोनपेमा आबद्ध भएको हो । सिटीपेको आबद्धताले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानीको वातावरण निर्माणमा बलियो भूमिका निर्वाह गर्ने फोनपेले जनाएको छ । फोनपेमा आबद्ध भएसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले अन्तर सञ्चालित क्यूआर नेटवर्क प्रयोग गरी कारोबार गर्न सक्ने छन् । कम्पनीका अनुसार देशभर १.७ मिलियनभन्दा बढी व्यापारिक आउटलेटहरूमा भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ । हाल फोनेपे नेटवर्कमा ६० भन्दा बढी बैंक र वित्तीय संस्था र वालेट कम्पनीहरूलाई आबद्ध गराएको छ । जसले लाखौं प्रयोगकर्तालाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा दिइरहेको छ । सिटीपेलाई स्वागत गर्दै फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवद्र्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाउने फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारले जानकारी दिए । ‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु एक महत्वपूर्ण कदम हो । प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ । हाम्रो उद्देश्य केवल वालेट र बैंकलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो,’ उनले भने । सिटीपेका सीईओ बिनय रेग्मी फोनपेसँगको साझेदारीले प्रविधिबारे मात्रै नभई लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बताउँछन् । सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउने उनको भनाइ छ । फोनपेसँगको आबद्धताले देशभर ग्राहकलाई सहज, भर पर्दो भुक्तानी सुनिश्चित गर्ने उनले बताए । सिटीपेले आफ्ना ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ तारिखदेखि नोभेम्बर २ तारिखसम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन् । अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुइवटा सामसुङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन् । यससँगै, सिटीपेले ५ सय रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनेपे एक भुक्तानी प्रणाली सञ्चालक हो, जसले आफ्नो अन्तर सञ्चालित नेटवर्क र मोबाइल प्लेटफर्ममार्फत बैंक बीचको व्यक्ति-देखि-व्यक्ति र व्यक्ति-देखि-व्यापारी लेनदेनलाई सहज बनाउँदै आएको छ । फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो मोबाइल भुक्तानी नेटवर्क कम्पनी हो । सिटीपे नेपालमा एक नवीन डिजिटल वालेट एप हो, जसले व्यक्तिहरू र एजेन्टहरूका लागि वित्तीय सेवाहरूको व्यापक श्रृंखला प्रदान गर्दछ । नेपालमा सिटीपेको मूल्य प्रस्ताव डिजिटल लेनदेनलाई सरल, छिटो र सुरक्षित बनाउनु हो भने रेमिट्यान्सलाई स्थानीय डिजिटल व्यापारसँग जोड्नु हो । नेपालमा ठूलो आप्रवासी कामदार जनसंख्या भएकाले यस क्षेत्रको उच्च माग छ । कम्पनी पूर्ण रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको स्वामित्वमा छ, जुन नेपालको अग्रणी रेमिट्यान्स कम्पनी हो ।
औषधीमा २०० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को विभिन्न वस्तुमा ट्यारिफ लगाइरहेका छन् । यसपटक उनले सबैका लागि आवश्यक पर्ने वस्तु औषधीमा भारी कर लगाउने सोच बनाएका छन् । एपीको रिपोर्टअनुसार केही औषधीमा २०० प्रतिशतसम्म कर लगाउने तयारी भइरहेको छ । ट्रम्प चाहन्छन् कि अटो र स्टिलजस्तै औषधीमा पनि कर लगाइयोस् । यदि यस्तो भयो भने यो दशकौंदेखि चलिरहेको नीतिविपरीत हुनेछ, जसअनुसार धेरै औषधी बिना कर अमेरिकामा भित्रिन्थे । विज्ञहरूका अनुसार यसले औषधीको मूल्य बढाउने मात्र होइन, आपूर्ति प्रणालीमै समस्या ल्याउन सक्छ । साथै औषधी अभाव हुने खतरा पनि बढ्नेछ । ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाउन सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको धारा २३२ को उल्लेख गरेका छन् । उनको भनाइमा कोरोना महामारीका बेला औषधी कमी र भण्डारणको समस्या देखिएको थियो। त्यसैले अब घरेलु उत्पादन बढाउनु जरुरी छ । हालै अमेरिका–युरोप व्यापार सम्झौतामा केही युरोपेली सामानमा १५ प्रतिशत कर लगाइएको छ, जसमा औषधी पनि पर्छ । प्रशासनले अन्य मुलुकबाट आउने औषधीमा अझ बढी कर लगाउने धम्की दिएको छ । यदि ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाए भने यसको प्रत्यक्ष असर अमेरिकामा औषधी खरिद गर्ने उपभोक्तामाथि पर्छ । आईएनजीका डिडरिक स्टाडिगले गत महिना भनेका थिए—सबैभन्दा ठूलो भार उपभोक्तामै पर्छ । उनीहरूले फार्मेसीबाट औषधी किन्दा प्रत्यक्ष र बीमा प्रिमियममार्फत अप्रत्यक्ष महँगो भुक्तान गर्नुपर्ने हुन्छ । विज्ञहरूका अनुसार कम आम्दानी भएका र वृद्ध बिरामीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । स्टाडिगको भनाइमा यदि २५ प्रतिशतमात्र कर लागे पनि अमेरिकामा औषधीको मूल्य १० देखि १४ प्रतिशतसम्म बढ्न सक्छ, किनभने स्टक सकिन जान्छ । यो निश्चित आम्दानीमा निर्भर हुने मानिसका लागि ठूलो रकम हुनेछ । अमेरिकामा प्रायः जेनेरिक औषधी बढी बिक्छन् । खुद्रा ९रिटेल० र मेल–अर्डर फार्मेसीमा बिक्री हुने करिब ९२ प्रतिशत औषधी जेनेरिक हुन्छन् । जेनेरिक औषधी उत्पादन गर्ने कम्पनीहरूले थोरै नाफामा काम गर्ने भएकाले उनीहरूले बढी कर तिर्न सक्दैनन् । विश्लेषकहरूको भनाइमा कतिपय कम्पनीहरूले कर तिर्नुभन्दा अमेरिकी बजारै छोड्न सक्छन् । भारत जेनेरिक औषधीको ठूलो आपूर्तिकर्ता हो। अमेरिकी सरकारले भारतका औषधी कम्पनीलाई कर छुट दिएको छ किनभने भारतबाट आउने औषधी सस्तो हुन्छ । बसाव क्यापिटलका सह–संस्थापक सन्दीप पाण्डेका अनुसार अमेरिकामा आयात हुने औषधीमा भारतको हिस्सा करिब ६ प्रतिशत छ । अमेरिकी नीतिनिर्माताहरूलाई थाहा छ कि उनीहरूको प्रणाली भारतीय आपूर्तिमा निर्भर छ । केही वर्षअघि भारतको एउटा कारखानामा उत्पादन रोकिँदा अमेरिकामा किमोथेरापी औषधीको अभाव भएको थियो । अमेरिकाले विगत केही दशकदेखि औषधि आयातमा न्यून वा शून्य कर राख्दै आएको थियो । कारण स्पष्ट थियो—औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिने संवेदनशील विषय भएकाले यसको विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुसार अब त्यो नीतिमा ठूलो परिवर्तन देखिँदैछ । ट्रम्प बारम्बार भन्छन्— अमेरिका विदेशी आपूर्तिमा अत्यधिक निर्भर हुन हुँदैन । विदेशी उत्पादनले घरेलु उद्योगलाई कमजोर बनाउँछ । चीन, युरोप वा भारतजस्ता मुलुकका सस्ता सामानले अमेरिकी रोजगारलाई क्षति पुर्याइरहेका छन् । यही तर्कमा उनले स्टिल, एल्युमिनियम र अटोमोबाइलमा २५ देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाइसकेका छन् । अब भने औषधीलाई पनि त्यसै सूचीमा राख्ने तयारी गरिएको छ ।
लक्षित वर्गका २०४ विपन्नलाई निःशुल्क उपचार, महानगरको खर्च करिब ७४ लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेबारिसेले स्वास्थ्य सेवा लिएका छन् । सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया गराएका छन् । हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नसा, पित्तथैलीको पत्थरी, मिर्गौलामा पत्थरी, हाडजोर्नी तथा कान-नाक-घाँटीसम्बन्धी समस्या भएका बिरामीले शल्यक्रिया गराएका हुन् । त्यसपछि जटिल मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम र दीर्घ कलेजोसम्बन्धी रोगको उपचार गराएका छन् । यस्तै, ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नसा तथा स्नायु, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाबसम्बन्धी सेवाहरू लिएका छन्। निःशुल्क उपचार सेवा दिने अस्पतालमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले उपचार पाएका छन् । त्यस्तै, काठमाडौं मेडिकल कलेजबाट १९ जना, काठमाडौं मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना र पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएका छन्। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले उपचार सेवा पाएका छन् । त्यस्तै, गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जनाले निःशुल्क उपचार सुविधा लिएका छन् । यो उपचार सेवाको लागत करिब ७४ लाख १६ हजार रुपैयाँ बराबर पुगेको छ । उक्त कार्यक्रम २०८० फागुन १ गतेदेखि सुरु गरिएको हो । लक्षित वर्गलाई निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्था पहिले कार्यान्वयनमा थिएन । काठमाडौं महानगरले २०८० सालमा ‘लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि’ जारी गरी अनलाइन प्रणालीमार्फत सेवा प्रारम्भ गरेको हो । सेवाको सहजीकरणका लागि महानगरको स्वास्थ्य विभागमा फोकल पर्सन तोकिएको छ । हाल निजी क्षेत्रका ५३ वटा अस्पतालका ३८० शय्या महानगरको प्रणालीमा आवद्ध भई निःशुल्क उपचार सुविधा उपलब्ध गराइरहेका छन् ।