विकासन्युज

नेपथ्यको कन्सर्टसँगै ‘पल्सर डेयर भेन्चर’को दोस्रो संस्करण समापन

काठमाडौं, २५ पुस । बजाजले नेपथ्यको कन्सर्टसहित बजाज पल्सर डेयर भेन्चरको दोस्रो संस्करण समापन गरेको छ । समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा, बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो । यस पटक पाँच जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । पाँच जना राइडरहरुमा सपना गुरुङ, राम बिक्रम थापा, राम भण्डारी, बिक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए । सहभागीहरु मध्ये बिजेता राम बिक्रम थापाले १० लाखका साथमा पल्सर एनएस, उपविजेता बिक्रम केसीले ५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो बिजेता सुदिप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । चर्चित ब्याण्ड नेपथ्यले विभिन्न उमेर समूहका लगभग १५ हजार दर्शहहरुको उपस्थितीमा स्टेज तताएको थियो । १० वटा एल्बमका साथमा यसका गायक अमृत गुरुङले एक्लै सन् १९९० को दशकमै चर्चित छेक्यो छेक्यो.. गीतदेखि जोमसोमै बजारमा लगायत, रेशम सहित सन् २०१५ को पछिल्लो एब्बम रामा रामा सम्मका गीत गाएका थिए । समापन समारोहको अवसर पारेर बजाजले पल्सरको ‘नाता विश्वासको’ नामक आफ्नो ब्राण्डको नीति झल्काउने नयाँ कर्पोरेट भिडियो पनि सार्वजनिक गरेको थियो । यसमा विभिन्न संस्कृति तथा भूभागका मानिसहरु सम्म पुगेर विभिन्न स्थानको संस्कृति झल्काउनुका साथै एड्रियन प्रधानले गाएको र जेम्स प्रधानले कम्पोस गरेको विशेष गीत ‘उकाली ओरालीहरुमा’ को भिडियो पनि समावेश गरिएको छ । पाँच मिनेटको भिडियोमा नेपालका विभिन्न भूभागहरुको झलक र बजाजले कसरी हरेकको जीवनलाई छोएको छ भन्ने कुरा समेत देखाइएको छ । गोल्छा अर्गनाइजेसन आबद्ध बहुराष्ट्रिय ब्राण्ड बजाजले आयोजना गरेको, पल्सर डेयर भेन्चर नेपालमा आयोजना भएको पहिलो रोमान्चक बाईक रियालिटी शो हो । डेयर भेन्चर निडर र साहसी १० जना बाइकरहरुकालागि आनन्द र अनुभव लिने अवसरको रुपमा  आएको कम्पनीले जनाएको छ । पल्सर डेयर भेन्चरका सहभागीहरुले विभिन्न चरणका तालिमहरु लिँदै र आफ्नो साहसिकता प्रस्तुत गर्दै आएका हुन् । समापन समारोहमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई सोलुखुम्बुको ताक्सिण्डुसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । नेपालको इतिहासमा नै पहिलो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो दोस्रोले पनि हजारौं दर्शकहरुको साथ र सहयोग प्राप्त गर्न सफल भयो ।’

कृषिको विकासका माध्यमबाट देशको आर्थिक समृद्धिः महामन्त्री कोइराला

पोखरा, २४ पुस । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कृषिको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने विषय काँग्रेसको प्राथमिकताको विषय भएको बताएका छन् । नेपाल किसान सङ्घ कास्कीको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले काँग्रेसले स्थापनाकालदेखि नै कृषिको विकासलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । सरकारमा पार्टीको नेतृत्व रहेका अवस्थामा कृषिको लागि उल्लेख्य बजेट छुट्याउने गरेको उनको भनाइ थियो । बिपी कोइरालाले आफ्नो छोटो समयमा सरकारको नेतृत्व गर्दा कृषिको दीर्घकालीन विकासका विभिन्न योजना अघि सारेको बताउँदै उनले त्यसपछिका काँग्रेस नेतृत्वका सरकारले पनि कृषि क्षेत्रको विकासलाई सधैँ आफ्नो प्राथमिकतामा राख्दै आएको बताए । आधुनिकीकरणका माध्यमबाट व्यावसायिक कृषिमा जोड दिँदै युवालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नु अपरिहार्य भएकोमा कोइरालाले जोड दिएका छन् । संविधानको कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेअनुसारका तीन तहको निर्वाचन गराउनु काँग्रेसको दायित्व भएको तथा विद्यमान समस्याको समाधान गर्दै देशलाई दिगो शान्ति र विकासका मार्गमा लैजान पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देलले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कृषिको आधुनिकीकरण र विकासका लागि ल्याएको २० वर्षे कृषि रणनीति कार्यान्वयनमा जोड दिए । नेपाल किसान सङ्घका केन्द्रीय सदस्यद्वय गणेश तिमल्सिना र अमृत श्रेष्ठले नेपाली कृषकका पीडा व्यथालाई सम्बोधन गर्नु सरकार तथा नेपाली काँग्रेसको दायित्व भएको बताए। कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य वसन्ती घिमिरे, नेपाल किसान सङ्घ कास्कीका सभापति भेषराज पराजुली, नेपाल किसान सङ्घ कास्कीका पूर्वसभापति हीरामणि सुवेदी, सीता देवकोटा, ढकनाथ कँडेललगायतले कृषि क्षेत्रको सबलतामा नै काँग्रेस बलियो बन्न सक्ने कुरालाई पार्टीले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका थिए ।  । रासस

अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौंमा, २० देशको सहभागिता

काठमाडौं, २५ पुस । ‘जैविक विविधता जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, कृषि विकास मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय तथा त्रिवि वनस्पति शास्त्र केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालयलगायतको आयोजनामा यही पुस २६ गतेदेखि २८ गतेसम्म हुन लागेको उक्त सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तानलगायत २० देशको सहभागिता हुनेछ । यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आयोजक समितिद्वारा जैविक विविधता जलवायु परिवर्तनको असर, मिचाह प्रजातिअन्तर्गतका विभिन्न वनमारा तथा वातावरणीय र पर्वतीय समस्याका बारेमा छलफल गरिने जानकारी दिइएको छ । समितिका सचिव प्रा डा मोहन सिवाकोटीले सम्मेलनमा अन्तर्राष्ट्रिय तहमा खोज अनुसन्धान गरिएका करिब ३०० कार्यपत्र प्रस्तुत गरिने जानकारी दिएका छन् । कार्यक्रममा करिब २०० नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस

आशा लघुवित्तको २ दिने अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं, २५ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुलाई २ दिने अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशाला गोष्ठीमा उपस्थित शाखा प्रबन्धकहरुलाई शाखा व्यवस्थापन, कर्जा ब्यवस्थापन तथा स्वःक्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका विभागिय प्रमुख जीवन खनालले दिएका थिए । त्यस्तै, कार्य संचालन जोखिम ब्यवस्थापनका बारेमा नि. कार्यकारी प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा लघुवित्त विशेषज्ञ, आई. टि.,मनि ट्रान्सफर र इन्सुरेन्सका प्रतिनिधिहरुले प्रशिक्षण दिएका थिए । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमबाट घरदैलोमा लघुवित्त सेवा पुर्याउने जनाएको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डेले शाखा प्रबन्धकहरुलाई संस्थागत सुशासनको वारेमा, कार्य गर्न प्रेरित साथै कार्यक्रमको समापन गर्नु भयो । संस्थाले देश भरि छिटै ७ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको जानकारी संस्थाका विभागिय प्रमुख खनालले जानकारी दिएका छन् ।

उल्टियो सेयर बजार ट्रेन, मर्जपछि खुलेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य घट्यो, क्रेता खोई ?

काठमाडौं, २५ पुस । गणितमा २ जोड २ बराबर ४ हुन्छ । तर मर्जमा २ प्लस २ बराबर ५ हुन्छ भनिन्छ । त्यो भनेको मर्जपछि कम्पनीको पुँजी र व्यापार जोड्ने मात्र होइन, मर्जले कम्पनीमा सिनर्जी इफेक्ट दिन्छ, नयाँ उर्जा दिन्छ । विगतमा यस्तो विचारलाई सेयर बजारले पनि समर्थन गरेको देखिन्थ्यो । मर्जपछि खुलेको बैंकको सेयर कारोबारमा शुरुका दिनमा दैनिक १० प्रतिशत वृद्धि देखिन्थ्यो । तर यतिबेला यस्तो दिन गए । समग्र सेयर बजारमा मन्दीसँगै मर्जपछि खुलेको सेयर किन्ने मान्छे नै नआएको पनि देखियो । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज भई बनेको महालक्ष्मी विकास बैंकको सेयर सोमबार खुल्यो । कारोबार खुलेको डेढ घण्टामा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घट्यो । मर्ज प्रक्रिया शुरु हुनुपूर्व करिव १० महिनाअघि मालिका विकास बैंकको सेयर मूल्य ३५० रुपैयाँ भन्दा माथि थियो । महालक्ष्मी फाइनान्सको प्रतिकित्ता ३१५ मा र सिद्धार्थ फाइनान्सको सेयर प्रतिकित्ता २३० रुपैयाँमा कारोबार भएको थियो ।

सेती फाइनान्सले ९ प्रतिशत बोनस सेयर दिने, ५९४ को सेयर २२१ मा झर्यो

काठमाडौं, २५ पुस । सेती फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । पुस २२ गते कम्पनीको सञ्चालक समितिले ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको निर्णयमा नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको समर्थनपछि सेयरधनीले सो लाभांश पाउनेछन् । हाल यस फाइनान्सको सेयर पुँजी १५ करोड ८६ लाख रुपैयाँ छ । कम्पनीको सेयर आईतबार प्रतिकित्ता २२१ रुपैयाँमा कारोबार भएको छ । चार महिनाअघि यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको थियो ।

होटल रेस्टुराँको १० प्रतिशत सेवा शुल्कमा विवाद, मजदुरले मागे सत् प्रतिशत, हानद्वारा खारेजको चेतावनी

काठमाडौं २५, पुस । होटल तथा रेस्टुराँमा ग्राहकको सेवा गरेवापत मजदुरले पाउँने १० प्रतिशतको सेवा शुल्कमा विवाद सुरू भएको छ । २०६३ सालदेखि सुरू भएको सबै होटल तथा रेस्टुराँमा ग्राहकले मेनुमा भएको मूल्यको अतिरिक्त १० प्रतिशत सेवा शुल्क तिर्दै आएका छन् । यो १० प्रतिशतको शुल्कमा मजदुरले ६८ प्रतिशत पाउँछन । बाँकी ३२ प्रतिशमा ३० प्रतिशत सम्बन्धित होटलले र बाँकी दुई प्रतिशत रकम होटल संघ नेपाल (हान)ले लिँदै आएका छन् । हानको सदस्यता नलिएका होटल तथ रेस्टुरेन्टले भने ३२ प्रतिशत सबै आफैंले आम्दानीको रूपमा प्रयोग गर्दै आएका छन् । पर्यटन क्षेत्रका मजदुरले यो शुल्क लागू हुुँदा १० वर्ष अगाडि हानसँग गरेको सहमति अनुसार हरेक ३÷३ वर्षमा यो आवश्यक परिमार्जन गर्ने, छलफल गर्ने समस्याको समाधान गर्ने र कमी कमजोरी सुधार गर्ने उल्लेख छ । सोही व्यवस्था अनुसार मजदुरले १० वर्षपछि केही होटलले तथा रेस्टुराँले सेवा शुल्ककको दुरुपयोग गरेको मजदुरको भनाइ छ । मजदुरलाई तिनुपर्ने शुल्क नदिएको र धेरैजसो होटल तथा रेष्टुरन्टले आफ्नै आम्दानी मानेकोले सबै रकम मजदुरले नै पाउनुपर्ने माग गरेको एमाले समर्थित नेपाल स्वातन्त्र होटल तथा मजदुर युनियनका केन्द्रीय अध्यक्ष सूर्यबहादुर कुँवरले बताए । पर्यटन क्षेत्रमा हाल ९० प्रतिशतले लागू गरेका छन् उनका अनुसार मजदुरको नाममा लिइने सर्भिस चार्जमा व्यवस्थापनको मनोमानी हुन थाल्यो । हामी मजुदरले पाउँनुपर्ने रकम व्यवस्थापकले चलाउने गरेकोले पनि शत् प्रतिशत मजदुरले नै पाउनुपर्ने अडान राखिएको हो ।  होटल तथा रेष्टुरेन्टका चियरमेन टु डोरमेनसम्म ६८ प्रतिशत सेवा शुल्क बाड्दै आएकोले पनि यो शुल्क लागू भएका क्षेत्रमा निकै राम्रो प्रभाव छ । पछिल्लो समय चिया पसल, मःम पसलदेखि सामान्य रेष्टुरेन्टसम्मले यो शुल्क लिने गरेका छन् । अधिकांंकले मजदुरको नाममा लिएको शुल्क व्यवस्थापक आफैंले लिने गरेकोले पनि शत् प्रतिशत मजदुरलाई नै हुनुपर्ने माग सम्पूर्ण पर्यटन मजदुरले राखेको कुवँरको भनाइ छ । यो शुल्क पर्यटन क्षेत्रमा हाल ९० प्रतिशतले लागू गरेका छन् । यही शुल्कका कारण मजदुरले पाउनुपर्ने न्यनुतम नौ हजार सात सय रुपैयाँको तलबसमेत व्यवस्थापनले नदिएको आरोप मजदुरको छ । व्यवस्थापनले सर्भिस चार्ज आउँछ भनेर कतिपय होटल तथा रेस्टुराँले तलव नै कम दिने गरेको पनि मजदुरको आरोप छ । सर्भिस चार्जका कारण लाखौ मजदुर लाभान्बित भने भएका छन् । सामान्य होटलले चार पाँचजार यस्तो शुल्कवापत मजदुरले पाउँछन भने सबैभन्दा बढी पाँचतारे होटल ह्यात रिजेन्सीका मजदुरले पाउँछ । ह्यातमा मजदुर कम भएकोले प्रति मजदुर २० हजारसम्म यस्तो शुल्क पाउने गरेको मजदुर युनियनकै भनाइ छ । शुल्क नै खारेजी गर्ने हानको धम्की मजदुरको नाममा लिइने सेवा शुलक २ प्रतिशत हानले लिने र ३० प्रतिशत सम्वन्धि होटलले लिने गरेको भएपनि मजदुरले शत प्रतिशतको माग गरेपछि हानले भने यो शुल्क नै खारेज गर्ने धम्कि दिएको छ । ग्राहकलाई सर्भिस चार्ट लागेपछि ग्राहकको सेवा र होटलको स्तर मेन्टेन गर्ने विषयमा प्रतिवद्ध हुनुको साटो हानले उल्टै शुल्क खारेज गर्ने धम्कि दिएका छन् । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुरले गत साता हानमा यो शुल्क मजदुरलाई दिन ७ दिने अल्टिमेट दिएका थिए । सोही विषयमा भएको मदजुरसँगको छलफलमा हानले शुल्क खारेजीको चेतावनी दिएको हो । हानले विज्ञप्ती नै जारी गरेर महाभूकम्प, नाकाबन्दी र भारतीय ५ सय एक हजारको नोटबन्दीको प्रतिवबन्धले पर्यटन उद्योग नै धरासायी भएको भन्दै यस्तो शुल्कमा कुनै बलजफस्ती गर्न नहुने बताएको छ । सन् २००६ डिसेम्बरमा ५ वटा ट्रेड युनियन र होटल संघ नेपालबीच भएको २० बुँदे सम्झौता ट्रेड युनियनका तर्फबाट बलपूर्वक पालना नभएको तथा सेवा सुल्कबाट ग्रहकहरुले बलजफ्ती १० प्रतिशत सेवा सुल्क तिर्न बाध्य पारिएको गुनासो आएको हानको भनाइ छ । हानका अनुसार सो सेवा शुल्कको प्रावधान नै हटाउन पर्ने तर्क पेश गरेका छन । मजदुरले भने आन्दोलनको आँधीबेरी सिर्जना गरेर भएपनि आफ्नो अधिकार सुनिश्चित गर्ने चेनावती दिएका छन् ।

कोल्डस्टोरमा शतप्रतिशत व्याज अनुदान, कोल्डस्टोर राख्न आफ्नै जमिन वा १५ वर्षसम्म भाडामा लिएको कागज हुनुपर्ने

काठमाडौं २५, पुस । सरकारले शीतभण्डार (कोल्डस्टोर) र खाद्यान्न भण्डारणस्थल निर्माणका लागि शतप्रतिशत ब्याज अनुदान उपलब्ध गराउने भएको छ। कृषि उपजको भण्डारण सुविधा नहुँदा कृषकको उत्पादनको मुल्य नपाएको भन्दै कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन गर्न यस सम्बन्धी प्रक्रिया अघि बढाइएको हो। कृषि विकास मन्त्रालयले सरोकारवाला निकायसँगको समन्वयमा तयार गरेको शीतघर तथा खाद्यान्य भण्८रण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान मापदण्ड २०७३ मन्त्रिपरिषदले पारित गरेसँगै अनुदानको ढोका खुलेको हो। मापदण्डअनुसार आलु, तरकारी तथा फलफूलका लागि न्युनतम ५ सयदेखि अधिकतम ४ हजार टन क्षमताको शीतभण्डार निर्माणका लागि शतप्रतिशत ब्याज अनुदान पाइनेछ। यसका लागि कम्तिमा १ हजार २ सयदेखि ७ हजार वर्गमिटर जमिन आवश्यक पर्ने व्यवस्था मापदण्डमा उल्लेख छ। प्याजका लागि भेन्टिलेटर भण्डारण घर, खाद्यान्न भण्डारण घर र बीउ भण्डारण घर निर्माणका लागि समेत यसै मापदण्ड अनुसार हुनेछ। कृषि विकास मन्त्रालयको पहलमा शीतभण्डार तथा खाद्यान्न भण्डारण घर निर्माणका लागि अनुदानको मापदण्ड तयार गरे पनि लागू गर्न सकेको थिएन। “अघिल्लो कार्यविधिमा सरकारी स्वामित्वका वित्तीय संस्थाबाट मात्र ऋण लिन पाउने व्यवस्था थियो,” कृषि विभाग अन्तर्गतको कृषि इन्जिनियरिङ निर्देशनालयका निर्देशक मधुसुदनसिंह बस्न्यातले भने, “मन्त्रिपरिषद्ले पारित गरेको नयाँ कार्यविधिले सबै वाणिज्य बैंकबाट ऋण लिन पाउने व्यवस्था गरेको छ, यसले अब लगानी गर्न चाहनेलाई थप सहज बनेको छ।” उनले कृषक तथा कृषि उद्यमीलाई सरकारले गरेको सहुलियतको व्यवस्थाबाट लाभ लिन आह्वान गरे। शीतभण्डार निर्माण गर्ने सहकारी वा निजी कम्पनी छनौट तथा अनुगमनको जिम्मेवारीसमेत निर्देशनालयको छ। मापदण्डमा लगानीको सीमा तोकिएको छैन तर तोकिएको क्षमता र जमिनको दायरामा मात्र लगानी गर्नुपर्ने प्रावधान छ। मासु तथा अन्य पशुजन्य उपजका लागि न्युनतम १० टनदेखि सय टन भण्डारण क्षमताको २ सय वर्गमिटरदेखि अधिकतम १ हजार ५ सय वर्गमिटरको जमिन हुनुपर्ने व्यवस्था छ। खाद्यान्न, तरकारी वा मासुजन्य उपजको शीतभण्डार तथा भण्डारण घर निर्माणका लागि जमिन आफ्नै वा न्युनतम १५ वर्षका लागि भाडामा लिएको कागजात हुनुपर्ने व्यवस्था छ। कारोबार दैनिकबाट ।