भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावतीमा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ । उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिकतथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवा ग्राहीहरुलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्डको काम अहिलेसम्मकै सुस्त, ठेकेदारको लापरबाही
चितवन। ठेकेदारको चरम लापरबाहीका कारण नारायणगढ मुग्लिङ सडक खण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ र कहिले बन्ने हो त्यो निश्चित छैन । तर, यहीँ बाटो भएर दैनिक दस हजार भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा दिनानुदिन स्थानीयको ज्यान जाँदा समेत सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा मुग्लिङ ( नारायणगढ सडक खण्डको काम अलपत्र बनेको हो । सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले बजेट नपाउँदा सडक निर्माणको काम अलपत्र भएको बताए । बिकास न्युज सित कुराकानी गर्दै आयोजनाका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनमा भएको खर्च आफूले नपाएको दुखेसो गरेका हुन् । उनले भने, नियमित रूपमा ८ घण्टा काम गर्न नपाउँदा ढिलाई भएको छ । विद्युत पोल, खानेपानीका पाइपलाइन जस्ता संरचना सम्बन्धित निकायले समयमै नसार्दा निर्माण कार्यमा अवरोध भएको दुखेसो समेत श्रेष्ठले सुनाएका थिए । उता, आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले भने, नारायणगढ मुग्लिङ सडकको विभिन्न २९ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरिएको र विज्ञहरुलाई खटाएर गरेको भौगोलिक अनुसन्धानबाट उक्त सडक खण्डको करिब सात किलोमिटर क्षेत्रफल पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । पहाड फोर्न कामहरु लगभग पुरा भएको उल्लेख गर्दै खनाल भन्छन् , ठेक्का नम्बर २ र ठेक्का नम्बर ३ मा गरि करिब छ सय मिटर पहाड फोर्न बाँकी रहेको छ । ठेक्का नम्बर ३ मा करिब चार सय मिटर सडक खण्डमा क्यान्टिलिभर पुल निर्माण गर्ने तयारी भएको भएपनि २ नम्बरमा भने पहाड फोरिनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माणाधीन मुग्लिङ सडकखण्ड सबैभन्दा बढी जोखिमयुक्त क्षेत्रका रुपमा रहेकोमा सबै पक्षलाई संवेदनशील रहन आग्रह गरेका छन् । “ठूला एक्साभेटर तथा रोलर लगाएर पहाडका भित्ता फोरिएका छन्”, उनले भने, “कटिङ छड्के नभई ठाडो छ, जसले गर्दा जोखिम बढेको छ ।“विपद् जोखिमको मूल्यांकन गरी तयारी अवस्थामा बसौं”, उनले भने, “जेठ १५ गतेभित्र स्ट्रक्चरल काम सक्ने भनिएको थियो , सुरक्षाका उपाय अपनाइने भनेर निर्णय गरिएको थियो”, उनले भने, “ती निर्णय कार्यान्वयन भएनन् , वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था छ ।” बिका न्युज सित कुराकानी गर्दै प्रजिअ भट्ट भन्छन् -‘ समितिले विपद्मा आवश्यक सामग्रीको व्यवस्थापन गर्न स्थानीय प्रहरी चौकीको समन्वयमा काम गर्न सुझाव दिएको छ ।’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडातहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन अनुरोध गरे । “स्थानीय समिति विगतमा पनि थिए, तर निष्क्रिय रहे”, उनले निर्वाचित जनप्रतिनिधि लाई लक्षित गर्दै भने, “अब सक्रिय पार्ने जिम्मा तपाईंहरुको काँधमा छ, विपद् व्यवस्थापनमा लागिपरौं ।” उनले विपद् व्यवस्थापन गर्न विगतमा बनाइएका संरचनालाई चलायमान गराउन भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । पहाड फोर्दा पटक पटक पहिरो गएर ठूलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यस बारेमा ठेकेदार कम्पनी सचेत हुनुपर्ने समेत प्रजिअ भट्टले बताए । आगामी डिसेम्बर महिनासम्ममा सक्नुपर्ने काम अहिलेसम्म करिब ५२ प्रतिशत मात्रै सकिएको छ । म्याद थपे अनुसार निर्माण कम्पनीले अहिलेसम्म ६८ प्रतिशत काम सक्नुपर्ने हो । तर, बजेट अपुग भएको , भुकम्प गएको र नाकाबन्दी भएको भन्ने जस्ता बहाना बनाई काम प्रभावित बनाएको हो । आयोजनाले पटक पटक गरि दुई पटकसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने म्याद थप गरिसकेको छ ।
होण्डाको नयाँ डिआईओ स्कुटर नेपाली बजारमा, विभिन्न पाँच रङ्गहरुमा पाइने
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नेपालमा सर्वाधिक बिक्री हुने डिआइओ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्राएको छ । २०१७को डिआईओमा नयाँ एलइडी हेड ल्याम्प, इक्विलाइजर टेक्नोलोजीका साथ कोम्बी ब्रेक सिष्टम, बढी माइलेजको लागि एचइटी(होण्डा इको टेक्नोलोजि)इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स् रहेको छ । आजको यूवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै डिआईओ २०१७मा मोबाइल चार्जिङ सकेट, बिएस–आईभी इमिसन र एएचओ(अटोमेटिक हेडल्याम्प अन) जस्ता विशेषतामा अझ उत्कृष्ट रुपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ । यस डिआइओ ५ उत्कृष्ट रङ्गहरु जस्तै, भाइब्रेन्ट ओरेञ्ज, पिरल स्र्पोटस् एल्लो, स्र्पोटस् रेड, क्यान्डि ज्याजी बिल्यु र म्याटि एक्सिस् ग्रे मेटालिकमा उपलब्ध रहेको छ ।
एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतमलाई नियुक्त गरेको छ । नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसिसि बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले शुक्रबार देखि जिम्मेवारी समेत सम्हालेका छन् । भर्खरै समस्याबाट अगाडि बढ्दै आएको कम्पनीले उनको व्यवस्थापकिय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाईमा पुर्याउने योगदानको अपेक्षा गरेको छ ।
राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा नयाँ सिइओ,योग्यता नपुगेका सञ्चालकलाई पद त्याग्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि कुमारी बैंकमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको खुलासा भएको छ । महाकाली विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्ससँग मर्जरपछिको एकिकृत कारोबार समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कुमारी बैंकमा सिइओ नियुक्त राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नु परेको खुलासा गरेका हुन् । ‘हामीले तुरुन्तै सीईओ नियुक्त गर्नुस् भनेर निर्देशन पत्र पठाएको एक हप्तामा नयाँ सिईओ नियुक्ती भयो’, एकिकृत कारोबार आरम्भ कार्यक्रममा गभर्नर डा. नेपालले ‘हप्ता दिन भित्र पनि सीईओ नियुक्त नभएको भए अर्को पत्र काट्न राष्ट्र बैंकको तयारी थियो ।’ कुमारी बैंकमा विगत २ वर्षअघि देखि सीईओ पद रिक्त रहेको थियो । राजीव गिरीले सो अवधीमा कामु सीईओ रुपमा कार्यभार सम्हालेका थिए । बैंक सञ्चालक समितिले जेठ २२ गते सुरेन्द्र भण्डारीलाई सीईओ नियुक्त गरेको थियो । भण्डारीले साउन १ देखि कुमारी बैंकमा जिम्मेवारी समाल्दैछन् । स्रोतका अनुसार केन्द्रीय बैंकका उच्च अधिकारीहरुले कुमारी बैंकका सञ्चालकलाई नाम तोकेर ‘यो व्यक्तिलाई’ नयाँ सीईओ नियुक्त गर्न निर्देशन दिएका थिए । तर लिखित रुपमा भने तुरुन्त सिइओ नियुक्त गर्नु मात्रै भनेको थियो । कसको नाम तोकिएको थियो भन्ने स्रोतले खुलाउन चाहेन । गभर्नर नेपालको भनाई कुमारी बैंकप्रति आक्रामक थियो । बैंकमा अध्यक्ष सन्तोष लामाप्रति संकेत गर्दै साधारण लेखपढ जानेको र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति बैंकका अध्यक्ष वा सञ्चालन बस्न नपाउने बताए । ‘पहिला साधारण लेखपढ मात्रै जानेका र निर्णयमा ल्याप्चे लगाउने व्यक्ति पनि बैंक सञ्चालक हुन सक्थे । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालक तथा अध्यक्षको योग्यता र अनुभव तोकेको छ । ऐनको पूर्ण पालना गर्न हामीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिईसकेका छौं ।’ ‘कुन कुन बैंकका सञ्चालकहरुको योग्यता र अनुभव के छ भन्ने कुरा राष्ट्र बैंकको जानकारीमा आएको छ’ गभर्नरले भने–‘योग्यता र अनुभव नभएका व्यक्तिले अब बैंक छोड्नु पर्छ ।’ उनले कुल ७४४ वटा स्थानीय तह मध्ये २४० वटामा मात्रै बैंक पुगेको बताउँदै बाँकी ५०४ स्थानीय तहमा पनि तत्कालै बैंकका शाखाहरु स्थापना गराउने काम अघि बढाएको पनि जानकारी दिए । धेरै ठाउँमा बैंकहरुले जान चाहेको बताउँदै उनले बैंकले जान नचाहेको स्थानीय तहमा पनि बाध्यात्मक नीति बनाएर शाखा विस्तार गर्ने बताए । केन्द्रिय बैंकका प्रवक्ता नारायण पौडेलले असार मसान्तसम्म चुक्ता पुँजी नपुर्याउने बैंकलाई नयाँ निक्षेप संकलन, कर्जा लगानी र शाखा विस्तारमा रोक लगाउने बताए । उनले पुँजी वृद्धि गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई बोनस बाढ्न पनि रोक लगाउने स्पष्ट पारेका थिए ।
नेप्सेमा सामान्य अंकको गिरावट, साताभर एक अर्ब ८५ करोडको सेयर कारोबार
काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.९१ अंकले घटेर अन्तिम दिन १५६३.८१ अंकमा पुगेको छ । नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । साताभर बजारमा एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अछिल्लो साताभन्दा ३७ दशमलब ३६ अंकले ओरालो लागेको छ । गत साता बजारमा दुई अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक १७ अंकले आरालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक क्रमशः २४ र १७ अंकले उकालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.०९ अंकले घटेर ३३१.६६ अंकमा आईपुगेको छ । यस साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ६७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
लक्ष्यभन्दा एक महिनाअघि नै तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न
म्याग्दी । म्याग्दीका मङ्गला गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ताको इच्छाशक्ति, सक्रियता, एकता र सम्बन्धित निकायबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग प्राप्त भयो भने लक्ष्यअघि नै आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । यसरी लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको उक्त आयोजनामा मङ्गला गाउँपालिका-४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेत छन् । उक्त तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए । घरमै धारा भएपछि समयको बचत र पानीको मितव्ययी प्रयोग भएको बरञ्जा दहकी नन्दा सापकोटाले बताए । रासस
पोखरा आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बन्ने, ध्वनी प्रदूषणबाट मुक्त
पोखरा । पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ । महानगर कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले यस नगरपालिकालाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए । ट्राफिक कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको बताए । “महानगरलाई कुरुप बनाउने सडकमा रहेका विद्युत्, टेलिफोन र विभिन्न केबुलका पोल र तारलाई क्रमिकरुपमा व्यवस्थित गरिने छ, उनले भने, “पहिलोचरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक र लेकसाइडबाट काम थाल्ने सोच बनाएका छौं ।” उनका अनुसार राजमार्गबाहेक महानगरभित्र रहेको २७ किलोमिटर पक्की सडक यही असार महिनाभित्र मर्मत गरिने छ भने सहरका विभिन्न चोकमा रहेका आइल्यान्डलाई निकट भविष्यमा पाँच फिटको बनाएर सडकलाई फराकिलो बनाइने योजना छ । सहरमा पशुचौपाया छाडा छोड्ने प्रवृत्तिले समस्या आएकाले यसको तत्काल नियन्त्रणका लागि पहल गरिने उनले बताए । स्थानीय निकायलाई दिएको अधिकार भित्र रहेर भौतिक संरचना तयार पार्ने र महानगरलाई स्मार्ट सिटी घोषणा गर्ने चर्चा गँर्दै उनले यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । श्रमजीवी पत्रकारका हक हितका लागि पनि महानगरका तर्फबाट केही सहयोग गर्ने सोच बनाइएको पनि नगरप्रमुख जिसीको भनाइ थियो । रासस