विकासन्युज

मासु पसलको नियमित अनुगमन आवश्यक: आपूर्तिमन्त्री गणेशमान पुन

काठमाडौं, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतको टोलीले आज गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको बधशालामा बेच्न लागिएको मासुमा किरा भेटेपछि सबै मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका हुन्। मन्त्री पुनले अनुगमनपछि सञ्चारकर्मीसँग भने, “ उपभोक्तालाई असर पुग्ने कुनै पनि सामग्री बिक्री वितरण गर्ने अधिकार कसैलाई छैन, यदी त्यसो गरेमा कानुनअनुसार कडा कारबाही हुन्छ ।” उक्त बधशालामा अव्यवस्थित रुपमा मासु काट्ने स्थान र मासु काट्दा निस्कने फोहोर यत्रतत्र छरिएर राखिएको हुँदा मासु पसललाई सिलबन्दी गरिने तयारी गरिएको छ । तत्काल सिलबन्दी गर्दा उक्त बधशालामा रहेको मासु र मासुबाट निस्कने फोहोरले स्थानीयवासीलाई थप असर पुग्ने हुँदा सञ्चालकलाई सफा गर्ने समय दिएको छ । सफा गरेपछि आज साँझसम्ममा उक्त मासु पसल सिलबन्दी गर्ने विभागका शाखा अधिकृत लालबहादुर बुढाथोकीले बताए । अनुगमन टोलीले आजनै कालिमाटीको माछा पसल र टेकुमा रहेको केही मासु पसलको पनि अनुगमन गरेको छ । उक्त सथानमा भने खासै समस्या देखिएन । झन्डै चार दिनदेखि आपूर्ति व्यवस्था विभागसहितको टोलीले नियमित रुपमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पहिलो दिन तरकारी, दोस्रो दिन पानी, तेस्रो दिन क्लिनिक र आज चौँथो दिन मासुको स्थलगत गनुगमन गरेको हो । रासस

क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित

क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा, अगस्त २७ र २८ मा हुँदै

अमेरिका, २४ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापकोटा तथा सदस्यहरूमा नवराज गुरुङ, रतनकुमार झा, खगेन्द्र जिसी, कृष्ण पोखरेल र तिलक श्रेष्ठ रहेको नौ सदस्यीय आयोजक समिति र अन्य २० कमिटीसमेत बनाइएको छ । अगस्त २७ र २८ मा हुने उक्त सम्मेलन ‘एनआरएनए भिजन ट्वेन्टी एण्ड वियोण्ड’ भन्ने नाराका साथ हुन गइरहेको सहसंयोजक तथा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले राससलाई बताए । सन् २०१० मा टेक्सास राज्यको हिउज्टनमा क्षेत्रीय सम्मेलन गरेको संस्थाले अमेरिकी एनआरएन सशक्त भएर आएको हुँदा यसलाई महत्व दिनका लागि पुनः अमेरिकामा नै गर्न अवसर दिएको अध्यक्ष डा पौडेलले बताए । संस्था स्थापना भएदेखि हालसम्म आउँदा नेपाल र प्रवासमा रहेका नेपालीको अवस्थामा समेत परिवर्तन आएको हुँदा नयाँ ढङ्गबाट एनआरएनएलाई लैजाने तयारी भइरहेको छ । विश्वभरका ७३ एनआरएनबाट प्रतिनिधित्व रहने सम्मेलनमा पाँच सयभन्दा बढी प्रतिनिधि आउने आयोजकले जानकारी दिएका छन् । रासस

लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध

बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए । उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” रासस

असारमा तरकारीको भाउ आकाशियो, मुग्लिन सडकलाई दोष

काठमाडौं, २४ असार । असार महिना लागेपछि सिजनमै फल्ने तरकारीको मुल्य आकाशिएको छ । तरकारीको सिजनका रुपमा हेरिएको असार महिनामा पनि तरकारीको मुल्य बढ्नुलाई मुग्लिनको पहिरोलाई दोष दिइएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठले मुग्लिनमा पहिरो गएको र उपत्यका प्रवेश गर्ने कृषि सडकहरु समेत जिर्ण बनेकाले तरकारीको मुल्य बढेको बताए । जेठ २६ गतेदेखि असार २४ गतेको अवधीमा चलनचल्तीका तरकारीहरुको मुल्य १० देखि ९२ प्रतिशतसम्मले बढेको देखिन्छ । ठुलो गोल भेडाको मुल्य प्रति किलो ६५ रुपैंयाँबाट बढेर ८५ रुपैंयाँ पुगेको छ । जेठ २६गतेको भन्दा यो मुल्य ३० दशमलब ७७ प्रतिशतले बढि हो । सानो गोलभेडाको मुल्य पनि १५ दशमलब ३८ प्रतिशतले बढेको छ । जेठ २६ गते प्रति किलो ६५ रुपैंयामा बिक्रि भैरहेको सानो गोल भेडाको मुल्य २४ असारमा ७५ रुपैंयाँ पुगेको छ । गाँजरको मुल्य झन ९२ दशमलब ३१ प्रतिशतले बढेको छ । अघिल्लो महिना ६५ रुपैंयामा खुद्रा कारोबार भएको गाँजर असार २४ गते आईपुग्दा १२५ रुपैंयाँ पुगेको हो । बन्दाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । जेठ अन्तिम साता ४५ रुपैंयाँमा एक किलो किन्न पाइने बन्दाको मुल्य असार अन्तिम साता आइपुग्दा ५५ रुपैंयाँ पुगेको छ । बोडीको मुल्य १० प्रतिशतले बढेको देखिन्छ । अघिल्लो महिना ५० रुपैंयाँ रहेको बोडीको मुल्य अहिले ५५ रुपैंयाँ पुगेको छ । घिउ सिमि पनि ३६ दशमलब ३६ प्रतिशतले महंगीएको छ । ५५ रुपैंयाँमा एक किलो आउने घिउ सीमी अहिले ७५ रुपैंयाँ पुगेको छ । तितो करेला पनि २२ दशमलब २२ प्रतिशतले नै महंगीएको छ । अघिल्लो महिना ४५ रुपैंयामा एक किलो किन्न पाइने तितो करेलाको मुल्य अहिले ५५ रुपैंयाँ पगेको छ । त्यसो त लौकाको मुल्य पनि २२ दशमलब २२ प्रतिशतले नै बढेको छ । ५५ रुपैंयाँ प्रति किलो पर्ने लौका अहिले ५५ रुपैंयाँ पुगेको छ । तर राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनले भने मुग्लिनको पहिरोलाई दोष दिएर काठमाडौंमा तरकारीको मुल्य बढाइएको आरोप लगाए । राजधानीमा तरकारी पठाउने धादिङ र काभ्रेको सम्पर्क सञ्जालमा कुनै असर नपरेको बताउँदै उनले मुग्लिन सडकलाई दोष दिएर व्यापारीले कालोबजारी गरेको आरोप लगाए । मन्त्रीको बजार अनुगमन तरकारीको फोहरमा केन्द्रित नभएर मुल्य नियन्त्रणमा लक्षित हुनुपर्नेमा पनि उनले जोड दिए ।

बाफियामा उपसमितिलाई विश्वास गर्दा धोका भयो, अव सच्याउछौंः सभापति ज्वाला

काठमाडौं, २४ असार । ब्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले उपसमितिलाई विश्वास गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा कमजोरी भएको बताएका छन् । समितिले गठन गरेको उपसमितिले ल्याएको प्रस्तावका केही विषय संसोधन भएपनि विषय बस्तु नै संसोधन नगर्दा बाफियामा कमजोरी देखिएर संसदवाट पुन समितिमै फर्कनु पर्ने अवस्था आएको सभापति ज्वालाको भनाइ छ । ‘समितिले विश्वास गरेर उपसमिति बनाइसकेपछि उसका सवै विषय बस्तु (कन्टेन्ट) सच्याउने भन्ने पनि भएन, केही संसोधन भएपनि फेरि विवाद देखियो, सरकारले पनि फिर्ता गर्नुपर्ने आवश्यकता देखेर फिर्ता भएपछि हामी पूर्ण समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं,’ सभापति ज्वालाले भने । बाफिया सम्बन्धमा बजेट अधिवेशन सकिएपछि मात्रै छलफल गर्ने सभापति ज्वालाले जानकारी दिए । सो विद्ययेक पुन समितिमै फिर्ता गर्नुको औचित्य सरकारले पुष्टी गरेपछि मात्रै संसोधनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । ‘किन फिर्ता भयो भनेर सरकारले प्रष्ट पार्नुपर्यो, यसपछि मात्रै थप छलफल अगाडि बढ्छ,’ ज्वालाले भने ।

औषधिको नाममा लागुऔषध बिक्री गर्ने फार्मेसी र क्लिनिकमा शिलबन्दी, ८०% बढी मूल्यमा बिक्री

काठमाडौँ, २३ असार । काठमाडौंको धापासीमा रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको पाईएको छ । साथै सो फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम राखेर विल काट्ने गरेको पाईएको छ । ग्रान्डी अस्पतालको नजिकै रहेको उक्त फार्मेसीलाई औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विहीबार संयुक्त रुपमा गरेको स्थलगत अनुगमनका क्रममा शिलबन्दी गरेको हो । दस वर्षदेखि नियम विपरित सञ्चालन गर्दै आएको माछापोखरीस्थित बालाजु फार्मेसीको अनुगमन गरिदैँ । तस्बिरःशर्मिला पाठक सोही टोलीले बालाजु र धापासीमा नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरुमा शिलबन्दी गरेको हो । माछापोखरीस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ले विगत दश वर्षदेखि नवीकरण नगरी सञ्चालित हुँदै आएको, ८० प्रतिशत बढी पैसा लिई उपभोक्तालाई औषधि बिक्री वितरण गरेको र अनधिकृत ढङ्गले दशभन्दा बढी चिकित्सकको नाम टाँस गरी सञ्चालन हुँदै आएको पाइएकाले अनुगमन टोलीले उक्त क्लिनिकालाई शिलबन्दी गरेको हो । यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्सेरे, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ । क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केही कमजोरी भएको स्वीकार गरेपनि उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गर्दै उहाँले एक दर्जन चिकित्सकको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम हटाउन नभ्याइएको बताए । अनुमगनकै क्रममा धापासीमा रहेको ‘आराधना हेल्थ केयर सेन्टर प्रालि’ मा पनि शिलबन्दी गरेको छ । आराधना हेल्थ केयरले औषधि व्यवस्था विभागमा स्वीकृत गरेर सञ्चालन गर्नुपर्नेमा तत्कालीन गोङ्गबुमा गाविसबाट स्वीकृत गरी सञ्चालन गरेको र औषधिको बढी मूल्य लिएको पाइएकाले शिलबन्दी गरेको हो । फार्मेसी सञ्चालनका लागि औषधि व्यवस्था विभाग र क्लिनिकको लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट स्वीकृति लिनुपर्ने कानूनी प्रवधान छ । अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित शिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थिति हुनको लागि निर्देशन दिएको छ । कागजातको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी गराए । नियमित अनुगमनका क्रममा नियम विपरित सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकमा शिलबन्दी गरेपछि स्थानीयवासीले सरकार रहेको अनुभूति भएको बताएका छन् । अनुगमनका क्रममा भेला भएका स्थानीयवासी विनोद खड्काले लामो समयदेखि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका क्लिनिक बन्द गराएकोमा खुसी लागेको बताए । उनले गलत काम गर्नेमाथि कारबाही भएकाले बल्ल आफूलाई मुलुकमा सरकार रहेको अनुभूति भएको उल्लेख गरे । rss