विकासन्युज

मनास्लु विकास बैंकको ९ लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, ४ असार । मनास्लु विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ९ करोड १७ लाख ६४ हजार ७ सय मुल्य बराबरको ९ लाख १७ हजार ६ सय ४७ कित्ता हकप्रद सेयर जारी गरेको हो । एक सय रुपैंयाँ सो मात्राको हकप्रद सेयरका लागि बैंकले साउन २३ गतेदेखि भदौं ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । मनास्लुको चुक्ता पुँजी १८ करोड ३५ लाख रहेको छ ।  मनास्लुले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

लक्ष्मी लघुवित्तको नाफा ३७८ प्रतिशतले बढ्यो, फस्र्ट माइक्रो फाइनान्सको पनि १५० प्रतिशत वृद्धि

काठमाडौं, ४ असार । लक्ष्मी लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफा ३७८ दशमलब ५५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमा कम्पनीले कमाएको नाफा भन्दा ३७८ दशमलब ५५ प्रतिशतले बढि हो । अघिल्लो आवमा लक्ष्मी लघुवित्तले जम्मा एक करोड ६४ लाख ९६ हजार रुपैंयाँ मात्रै नाफा कमाएको थियो । ११ करोड चुक्ता पुँजी रहेको कम्पनीले खराब कर्जा शुन्य दशमलब ३० प्रतिशत रहेको छ भने प्रति सेयर नेटवर्थ १६४ रुपैंयाँ ४४ पैसा रहेको छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स कम्पनीको नाफा पनि १५० प्रतिशतले बढेको छ । कम्पनीले आर्थिक वर्ष वर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३ करोड ६१ लख १७ हजारबाट वृद्धि गरेर ५ करोड ४४ लाख ६८ हजार नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्म कम्पनीले कमाएको भन्दा नाफा भन्दा १५० दशमलब ८० प्रतिशतले बढि हो । २३ करोड चुक्ता पुँजी रहेको फस्ट माइक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १३४ रुपैंयाँ १५ पैसा रहेको छ ।

फोरजी सञ्चालनका लागि बाटो खुल्यो, सेवा प्रदायकले समय मागे, अक्टोवरदेखि सञ्चालन

काठमाडौं ४ साउन। दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी वाँडफाँड तथा मूल्य सम्वन्धि नीति २०७३ संसोधन सहित पारित भएको छ। अघिल्लो नीति लागु नहुँदै नयाँ नीति आएको हो। फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि १८ सय मेगाहर्जको व्याण्ड र थ्रिजीका लागि नौ सय मेगाहर्जको व्याण्डलाई प्रविधि तटस्थता गरेर सञ्चालन गर्नेगरी संसोधन सहित पारित गरेको हो। करिव पाँच महिनाको छलफल पछि नीति पारित गरेको जानकारी सञ्चार मन्त्रालयले दिएको छ । समितिले दुरसञ्चार सेवाका लागि पहिचान गरिएका सवै फ्रिक्वेन्सी व्याण्डहरुमा प्रविधि तटस्थताको नीति अवलम्वन गर्ने जनाएको छ। समितिले ग्रामिण दुरसञ्चार कोषको प्रयोग गरी देशभरी अप्टिकल फाइवरको नेटवर्क निर्माण तथा विस्तार गर्न तीनवटा प्याकेज बनाएर कार्य थालनी गर्ने भएको छ।   अहिले बजारमा फोरजीको दौडमा टेलिकम, एनसेल र स्मार्ट टेलिकम रहेको प्राधिकरणले जनाएको छ। अरु कम्पनीहरुले फोरजीका लागि खासै चासो नगरेको जनाएको छ। दुरसञ्चार प्राधिकरणले फोरजीसेवाका लागि बाटो खुल्ला गरेसँगै सरोकारवाला निकायसँग छलफल गरेको बताएको छ। प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाएको थियो तर टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले जानकारी दिए। ‘टेलिकम र एनसेलले फोरजीका लागि आवश्यक सामाग्री आयात गर्नका लागि समय माग गरेका कारण फोरजी सेवा सञ्चालनका लागि ढिला भएको हो’ झाले भने ‘आगामि अक्टोवरदेखि नेपालमा फोरजी सेवा सुरु हुन्छ।’    प्राधिकरणको नयाँ नीतिमा दुरसञ्चार बजारको प्रतिस्पर्धी क्षमता हेरेर मर्जरमा जान सक्नेछन्। अरु देशको प्रयोग हेर्दा पनि नेपालजस्तो देशमा धेरै टेलिकम अपरेटरहरु रहन नसक्ने प्राधिकरणको ठहर रहेको छ। सञ्चारमन्त्री शेरधन राईले पनि नेपालमा धेरैमा तीनवटा अपरेटरको सम्भावना रहेको बताए। प्राधिकरणले बजारअनुकुल उपयुक्त आकारमा ल्याउन मर्जर र एक्विजिसन सम्वनुधि छ्ट्टै कानुनी व्यवस्था गर्ने जनाएको छ।

राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सेवा सम्झौता

काठमाडौं, ३ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई ठूला सरकारी निकाय बीचको संझौताले कर्मचारीको वचत बानी विकासमा थप सघाउ पुग्ने अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षमा बैंकले पुनस्थापना गर्ने ३० वटा शाखा कार्यालयको सेवाबाट कोषका बचतकर्ता र सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले यो सम्झौताले नागरिक लगानी कोषका ५ लाख ७० हजार बचतकर्ता लाभान्वित हुने बताएका छन् । यस नयाँ सम्झौता अनुसार नागरिक लगानी कोषको बैंकका विभिन्न शाखामा रहेका अनेकौं खाताहरु बन्द गरि स्किम अनुसारको ६ वटा केन्द्रिकृत खाताहरु मात्र संचालन गरिने बैंकले जनाएको छ ।

अब सबै कर्मचारीसँग करार सम्झौता, पहुँचका भरमा सरुवा नहुने

काठमाडौं, ३ साउन । सरकारले सबै कर्मचारीसँग कार्य सम्पादन करार सम्झौता गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम एंव बजेट कार्यान्वयनका लागि भन्दै आर्थिक वर्षको सुरुमै सबै कर्मचारीसँग करार सम्झौता गर्न लागिएको हो । अब सबै मन्त्रालयहरुले आफ्ना मातहतका कर्मचारीसँग कार्य सम्पादन करार गरेर मात्रै कार्य क्षेत्रमा खटाउने छन् । सोही कार्य सम्पादन करार सम्झौतालाई कर्मचारीको बढुवा लगायतका वृत्ति विकासमा समेत मुल्यंकनको आधार बनाईनेछ । कर्मचारीले आफुले प्राप्त गरेको जिम्मेवारी पुरा नगरेको आरोप लागेपछि सरकारले कार्य सम्पादन सम्झौता अनिवार्य गरेको हो । त्यस्तै, सरकारले एक आर्थिक वर्षभित्र कुनै पनि कर्मचारीको सरुवा नगर्ने निर्णय समेत गरेको छ । कुनै पनि कार्यालयमा खटिएका कर्मचारीको चाँडो चाँडो हुने सरुवाले काम प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले एक आर्थिक वर्षसम्म सरुवा नगर्ने निर्णय गरेको हो । यसले विकासे आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहयोग गर्नेछ । पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने–‘कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउने निर्णय साह्रै राम्रो छ, यस्तो निर्णय धेरै पहिले हुनुपथ्र्याे ।’ उनले आफ्ना कार्यकालमै कार्यसम्पादन करार सम्झौता र एक आर्थिक वर्षभित्र सरुवा नगर्ने नीति कार्यान्वयन गर्न खोजेपनि सफलता प्राप्त नगरेको पनि बताए । उनले अब कर्मचारीहरुको काम प्रति जिम्मेवारीपन बढ्ने र मन्त्री तथा पहुँचवालाको दबावमा सरुवा हुने प्रवृत्तिको अन्त्य हुने अपेक्षा समेत व्यक्त गरे । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षमा सोमबार बसेको सरकारका सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म विकासे आयोजनाका प्रमुखहरुको सरुवा नगर्ने निर्णय गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले दियो सुरक्षा बचत खाता बीमाको एक लाख रुपैयाँ

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकले बचत खाता धनी स्वर्गीय जसोदा देवी कानु वानीयाको जीवन बीमा बापतको एक लाख रुपैयाँ इन्स्योरेन्स उपलब्ध गराएको छ । बैंकले बैंकमा खाता खोल्ने ग्राहकहरुका लागि १ लाख रुपैयाँको निशुल्क जीवन बीमा वा २ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गराउदै आएको छ । सोही व्यवस्था अनुरुप बचत खाता धनी जसोदा देवी कानु वानियाको कानूनी वारिस, इन्स्योरेन्स गर्ने व्यवस्था अनुसार गणेश कानु बानीयालाई एक लाख रुपैयाँ दिएको छ । बैंकले नेपाल लाईफ इन्स्योरेन्ससँग मिलेर “सुरक्षा बचत खाता” धनीहरुका लागि निशुल्क जीवन बीमा वा दुर्घटना मृत्यु बीमाको सुविधा उपलब्ध गराई आई रहेको छ । यो सुबिधा हाललाई १८ देखि ६० बर्षका सम्पूर्ण नेपाली नागरिकहरुका लागी उपलब्ध रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अग्नि इन्कर्पाेरेटेड अन्तर्गत महिन्द्राको नयाँ शोरुम लगनखेलमा

काठमाडौं, ३ साउन । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ललितपुरको लगनखेलमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुका माझ सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले सोमबार उक्त स्थानमा सो शोरुमको सुरुवात गरेको हो । कम्पनीले टियूभी र इन्ट्री–लेभल एस्यूभी गाडी, केयूभी१००को विक्री वितरण पनि उक्त लगनखेल शोरुम मार्फत गराउने भएको छ । महिन्द्राका शोरुम मार्फत सेवाग्राही समक्ष आफ्ना सेवाहरुको पहुँच सफलता पूर्वक बढाउँदै जाने लक्ष्य लिइको छ । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ । यस शोरुमले ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स अनि उत्कृष्ट सेवा प्रस्तुत गर्नेमा कम्पनी विश्वस्त रहको विज्ञप्तिमा उल्लेख छ ।

लघुवित्तका लगानीकर्तालाई फेरी झट्का, गुमाउने १० कम्पनीमध्ये ८ वटा लघुवित्त मात्रै

काठमाडौं, ३ साउन । लघुवित्त कम्पनीका लगानीकर्ताले गुमाउने क्रम सोमबार पनि निरन्तर बनेको छ । बजार ४० दशमलब ८३ अंकले बढेर एक अर्ब ९५ करोडको कारोबार हुँदा पनि लघुवित्त कम्पनीहरुको सेयर मुल्यमा भने निरन्तर गिरावट नै आयो । सोमबार गुमाउने टप १० कम्पनीमध्ये ८ वटा माइक्रोफाइनान्स मात्रै रहेका छन् । सबै भन्दा धेरै नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रति सेयर २७० रुपैयाँ गुमाएका छन् । नेरुडेको सेयर मुल्य घटेर २४३० रुपैंयामा आईपुगेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि प्रतिकित्ता ३३५ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य घटेर ३०२० रुपैंयाँमा आइपुगेको छ । नेपाल ग्रामिण विकास बैंकको लगानीकर्ताले प्रति कित्ता ७० रुपैंयाँ गुमाउँदा कम्पनीको सेयर मुल्य १०१० मा झरेको छ । त्यस्तै, आइएलएफसीओ माइक्रोफाइनान्सको मुल्य १४५ रुपैंयाँ घटेको छ । यसको सेयर मुल्य १३५० रुपैयाँमा आइपुगेको छ । मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले पनि प्रति कित्ता १४५ रुपैयाँ घाटा खाएका छन् । यो कम्पनीको सेयर मुल्य २४२० मा सिमित भएको छ । विजय लघुवित्त कम्पनीको सेयर मुल्य १५०० रुपैंयामा आइपुग्दा लगानी कर्ताले ८४ रुपैंयाँ गुमाउन पुगेका छन् । साना किसान विकास बैंकका लगानीकर्ताले पनि प्रति कित्ता ११८ रुपैयाँ गुमाउनु परेको छ । यो कम्पनीको सेयर मुल्य २१३२ मा सिमित भएको छ । त्यस बाहेक रुरल माइक्रोफाइनान्सको सेयर मुल्य ५० रुपैंयाँले घटेको । यो कम्पनीको सेयरको मुल्य १२०० मा झरेको हो । यस बाहेक सोमबार जलविद्युत लगानी तथा विकास कम्पनी र युनाइटेड फाइनान्स पनि उच्च दरमा गुमाउने कम्पनीको सूचिमा परे । जलविद्युत कम्पनीको सेयर मुल्य २१ रुपैंयाले घटेर ४५५ रुपैयाँ कायम भएको छ भने युनाइटेड फाइनान्सको मुल्य पनि ११६ रुपैयाँले घटेर ४१२ रुपैयाँमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाउने हल्ला चलेपछि सेयर मुल्य आकाशिएको थियो । तर केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीको स्प्रेड दर ७ प्रतिशत तोकि दिएपछि बजार ओरालो लाग्न थालेको हो ।