सभामुख र शिर्ष नेताविच १ बजे छलफल, संसद २ बजेसम्मको लागि स्थगित
काठमाडौं, ६ साउन । ब्यवस्थापिका संसदको बैठक २ बजेसम्मको लागि स्थगित भएको छ । आज ११ बजेको लागि बोलाइएको बैठक सहमति गर्नको लागि भन्दै केही समय स्थागित गरिएको हो । ब्यवस्थापिका संसदको आजको बैठकमा सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसुची थियो । तर सरकारको नेतृत्व गरेको नेकपा एमाललेले पहिला नै कार्यसुचीमा रहेको आर्थिक बिधयेकका आश्रित विधयक पारित गर्नुपर्ने भन्ने अडान लिएपछि विवाद चर्किएको थियो । बैठक स्थगित भएको मौखिक जानकारी संसद सचिवालयले भर्खरै दिएको हो । आज १ बजेट नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेता र सभामुखविच छलफल हुने भएपछि बैठक स्थगित गरिएको हो ।
बुटवल पावर कम्पनीको १ लाख ८८ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० मात्र
काठमाडौं, ६ साउन । बुटवल पावर कम्पनी लिमिटेडको १ लाख ८८ हजार २३० कित्ता सेयर लिलाममा राखेको छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता करिब ९०० रुपैयाँमा बजारमा किनबेच भईरहेको छ । तर कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा लिलामी गर्न लागेको छ । सेयर आवेदकमध्ये बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न साउन २१ देखि २६ गतेभित्र एनएनबि क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र आवेदन गर्न कम्पनीले आह्वान गरेको छ ।
मातृभूमि विकास बैंकको नाफा ८७ लाख २९ हजार, १२ प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ६ साउन । मातृभूमि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ८७ लाख २९ हजार रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ३३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६५ लाख ५८ हजार रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १२ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ५ करोड ५६ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ४७ करोड ४५ लाख रुपैयाँ र लगानी ३१ करोड ६ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.२१ प्रतिशत मात्र रहेको छ ।
विपद व्यवस्थापनका लागि एनआरएनए र नेपाली सेनाले सहकार्य गर्ने
काठमाडौं, ६ साउन । गैर आवासिय नेपाली संघ(एनआरएन) र नेपाली सेनाले विपद व्यवस्थापनमा सहकार्य गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका ठूला विपदसंग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्ने सम्झौता भएको हो समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाले हस्ताक्षर गरेका हुन् । बुधबार काठमाण्डौमा हस्ताक्षर भयो । सो कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो । समझदारीपत्र अनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्यावश्यक मानवीय सामाग्री आदान प्रदान गरिनेछ ।
सेटलमेन्ट ग्यारेण्टी फण्ड अन्तिम चरणमा, सेयर राफसाफको जोखिम कम हुने
काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर राफसाफमा वृद्धि हुँदै गएको जोखिम कम गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाल धितो पत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेटलमेन्ट ग्यारेण्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो । ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड सञ्चालन कार्यबिधीको मस्यौदा अन्तिम चरणमा पुगिसकेको छ, कति रकमको कोष बनाउने र कसले कति लगानी गर्ने भन्नेबारे अन्तिम चरणको छलफल भैरहेको छ’, नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजसँग भने । धितो पत्र बोर्डले ‘हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागीसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्डको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।’ निर्देशन दिएको थियो । ‘सेटलमेन्ट ग्यारेन्टी फण्डले राफसाफको जोखिमलाई कम गर्छ, जति सकेको चाँडो फण्ड कार्यान्वयनमा आउनु पर्छ’, सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने । के हो सेटलमेन्ट ग्यारेन्टी फण्ड ? बजारमा सेयर करोबार भएको तीन दिन भित्र खरिद कर्ताले पैसा तिरिसक्नु पर्ने व्यवस्था छ । त्यसको चौथो दिन ब्रोकर कम्पनीले नेप्सेलाई पैसा बुझाउँछ । तर कहिले काँही खरिद कर्ताले तेश्रो दिनसम्म पनि पैसा बुझाउँदैनन् । तर ब्रोकरले भने चौथो दिन भित्र पैसा बुझाउनै पर्ने हुन्छ । यस्तो अवस्थामा समग्र सेयर बजार नै जोखिममा जान्छ । यसकै लागि सेटलमेन्ट ग्यारेन्टी फण्डको अवधारणा अघि सारिएको हो । खरिद कर्ताले तेश्रो दिनसम्म पैसा बुझाउन सकेन भने ब्रोकरले सेटलमेन्ट ग्यारेण्टी फण्डबाट रकम सापटी लिएर नेप्सेलाई बुझाउँछ । जब खरिद कर्ताले रकम बुझाउँछ तब उसँग केहि रकम जरिवाना गराएर कोषको रकम फिर्ता गरिन्छ । सेयर बजारको राफसाफमा हुने जोखिमलाई न्युन गर्न धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले यस्तो फण्ड ल्याउन लागेको हो । कत्रो बन्छ फण्ड ? कस्को हिस्सा कति ? फण्डमा नेप्सेले केहि रकम राख्ने र केहि ब्रोकर कम्पनीबाट उठाउने मोटामोटी सहमति बनेको छ । तर ठ्याक्कै कसले कति रकम योगदान गर्ने भन्ने निचोड निस्केको छैन् । ‘नेप्से र ब्रोकरले मिलेर लगानी गर्ने भन्ने निष्कर्ष छ तर कसले कति रकम योगदान गर्न भन्ने एकिन भएको छैन्’ नेप्सेका सहप्रवक्ता पराजुलीले भने । अहिलेसम्म भने सेटलमेन्टमा देखिँदै आएको जोखिम ब्रोकर कम्पनी स्वंयले व्यहोर्दै आएका छन् । हाल नेप्सेले प्रत्येक ब्रोकर कम्पनीसँग पाँच लाख रुपैंयाँ धरौटीका रुपमा असुल्दै आएको छ ।
भारतीय नाकाबन्दीको प्रभाव – चिनियाँ पर्यटक बढ्दै, भारतीय अाैसत अबस्थामा
काठमाडौं, ५ साउन। नेपालमा अाैद्यवगिक क्षेत्रमा समेत लगानीमा भारतलाई पछि पार्न लागेको चीनले पर्यटकको संङ्ख्यामा पनि उछिन्दै छ। विगत केहि बर्षदेखिको तथ्याङ्क हेर्ने हो भने भारतीयको तुलनामा चिनियाँ पर्यटकको नेपाल अागमन धेरै राम्रो देखिएको छ। भारतले लगाएको नाकावन्दीपछि भारतका भन्दा चिनियाँ पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल घुम्न अाएका छन्। अधिल्लो बर्ष सन् २०१५ मा चिनियाँ र भारतीय पर्यटक झन्डै बराबरीको संख्यामा भित्रिएको पर्यटन विभागकले जनाएको छ। यो वर्ष ७४ हजार ७ सय ७७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने भारतीय पर्यटकको संख्या योभन्दा १०७ मात्रैले बढी अर्थात् ७४ हजार ८८४ छ । वैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा समग्र पर्यटक आगमन ३२ प्रतिशतले घटेको थियो । यो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा चिनियाँ पर्यटकको संङ्ख्या बर्षेनि धेरै प्रतिशतले बृद्धि भइरहेको छ। सन् २०११ को नेपाल पर्यटन वर्षमा १ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिएको थियो । सोही कार्यक्रमले निरन्तरता पाइरहेकाले पनि चिनियाँ पर्यटकको आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन व्यावसायि र सरकारको ध्यान छिमेकी मुलुकमै केन्द्रित भएकाले चीन र भारत नै पर्यटनको मुख्य बजार भएको उनीहरुको बुझाइ रहेको छ। चिनियाँ नागरिक विश्वभर घुम्नेमा सबैभन्दा अग्रस्थानमा रहेकाले यसबाट नेपालले फाइदा लिन सकेमा अर्थतन्त्रमै राम्रो प्रभाव पर्ने सक्छ ।
भूकम्प र नाकावन्दीले थलिएको पर्यटन क्षेत्र तङ्ग्रिदै, अागमन बढ्यो
काठमाडौं, ५ साउन। गत वर्षदेखि विविध कारणले सुस्ताएको नेपाली पर्यटन विस्तारै तङ्ग्रिँदै गएको छ । अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१६ को पहिलो ५ महिनामा २ लाख ३५ हजार ७२४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको यही अवधिमा २ लाख ५९ हजार ६१२ पर्यटक नेपाल आएका थिए । गत वर्षको अप्रिल २५ मा भूकम्प गएपछि मे महिना पूरै प्रभावित भएको थियो । भूकम्पलगत्तै सुरु भएको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले सन् २०१५ नेपाली पर्यटनका लागि निरासाजनक बन्यो । गएको वर्ष पर्यटक आगमन एक तिहाईले घटेको अध्यागमन विभागले जनाएको छ । नयाँ वर्षको सुरुवातसँगै पर्यटनमा आशाको किरण देखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । सामान्य अवस्था रहेको २०१५ को जनवरीमा ३८ हजार ६१६ पर्यटक नेपाल भित्रिएका थिए । नाकाबन्दीबाट भर्खरै छुटकारा पाएको २०१६ को जनवरीमा ३३ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । फेबु्रअरीमा ४४ हजार, मार्चमा ५७ हजार र अप्रिलमा ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् । २०१५ को फेब्रुअरी, मार्च र अप्रिलमा यो संख्या क्रमशः ५८ हजार, ७९ हजार र ६५ हजार थियो । गत वर्षको मेमा १७ हजार ५६९ पर्यटकमात्र नेपाल प्रवेश गरेका थिए । यो वर्षको मेमा भने ४५ हजार २९८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा भारतीय पर्यटकको आगमन बढेको तथ्यांकले देखाउँछ । सन् २०१५ को पहिलो ५ महिनामा ३४ हजार २०७ भारतीय पर्यटक भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४८ हजार ५१२ पर्यटक भित्रिएका छन् । भूकम्पपछिको राहत वितरणमा धेरै भारतीय नेपाल आएका थिए । गत वर्षको पहिलो ५ महिनामा ४५ हजार ६४३ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएकोमा यो वर्ष यो संख्या घटेर २७ हजार २१२ मा झरेको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । महिना सन् २०१५ सन् २०१६ जनवरी ३८६१६ ३३३६२ फेबु्रअरी ५८५२३ ४४८१० मार्च ७९१८७ ५७८७४ अप्रिल ६५७२९ ५४३८० मे १७५६९ ४५२९८ श्रोत अध्यागमन विभाग
आपुर्ति मन्त्रालयले रोक्यो ग्यास बुलेट खरिद प्रक्रिया
काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो । निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य सम्पन्न नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयले निगमलाई निर्देशन दिएको हो ।