विकासन्युज

दुर्घटना बढ्दा मात्रै चर्चा सवारी परीक्षण केन्द्रको चर्चा, भेहिकल फिटनेस टेस्ट सेन्टर ६ वर्षदेखि अलपत्र

काठमाडौं ५, कात्तिक । मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको शिकार बनेको छ । दुर्घटना बढ्दा सबैको चासो हुने गरे पनि यसको सञ्चालनमा कसैको चासो देखिंदैन । निर्माण सकिएको ६ वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन सकेको छैन । सञ्चालनको जिम्मेवारी लिएको यातायात व्यवस्था विभागले सञ्चालन निर्देशिका बनाउन नसक्दा २०६८ मै निर्माण भएको केन्द्र सञ्चालनमा आउन नसकेको हो समाचार शुक्रबारको कारोबार दैनिकमा छापिएको छ । मेसिन, विद्युत्लगायत सबै संरचना तयारी हालतमा रहे पनि त्यहाँ आवश्यक कर्मचारी, इलेक्ट्रो मेकानिकल प्रविधिको उपलब्धता नहुँदा समस्या आएको हो । विभागले २०७१ पुसमा सवारी परीक्षण केन्द्र रहेको टेकुमा नै कार्यालय स्थापना गरिको काम अघि बढाएको थियो । कार्यालयले विभागलाई पटक–पटक कार्यविधि तथा अन्य आवश्यक प्रविधि र दक्ष कर्मचारी आए सञ्चालन गर्ने सक्ने भनी पत्र पठाएको जनाएको छ । सरकारले आव २०६६र०६७ मा बजेट विनियोजन गरी सवारी परीक्षण केन्द्र निर्माण सुरु गरेको थियो । रोपवेको भवनमा निर्माण गरिएको सेन्टरमा विद्युत् जडान भइसकेकाले निर्देशन र कार्यविधि आउने हो भने सवारी परीक्षण कार्यालय आफ्नो काम गर्न तयारी हालतमा रहेको कार्यालयले जनाएको छ । परीक्षण केन्द्र सञ्चालनका लागि सवारीको ब्रेक फोर्स कति हुनुपर्ने, एक्सएल लोड कति हुने, टायरको स्लिम कति हुने जस्ता प्रविधिक कुरा स्पस्ट रूपमा मापदण्ड बनाउनु पर्ने हुन्छ । विभागले यसबारे निर्देशिका नबनाउँदा काम अघि बढाउन नसकिएको हो । सरकार सवारी परीक्षण केन्द्र सञ्चालनका लागि तयार रहेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । “तर परीक्षण केन्द्र सञ्चालनका लागि मेकानिकल र कम्प्युटरको पार्टसहितको इलेक्ट्रोमेकानिकल सफ्टवेर बनाउनु पर्नेछ, त्यो हाल बनिरहेको छ,” उनले भने, “त्यससँगै कार्यालयलाई आवश्यक प्राविधिक कर्मचारी पनि आवश्यक पर्छ त्यो पनि माग गरेका छौं ।”

कार्कीलाई जोगाउन कूटनीतिक संयन्त्र सक्रिय, रअको सक्रियता बढ्यो

काठाडौं ५, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाएको समाचार कान्तिपुरमा छापिएको छ । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् । उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो । यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् ।

माथिल्लो तामाकोसी २०७५ असारसम्ममा, लोडशेडिङको समस्यामा राहत हुने

काठमाडौं ५, कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ । डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो । भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ । भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो । कारोबार दैनिकबाट।

यो हो स्मार्टफोन प्रयोग गर्ने स्मार्ट तरिका, जोगाउनुस मेरुदण्डको समस्या

काठमाडौं, ४ कार्तिक। स्मार्टफोन जसरी दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ, त्यसैगरी यसले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको छ । तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कि, स्मार्टफोन प्रयोगगर्दा ढाडको समस्या हुनसक्छ भनेर ? स्मार्टफोनको प्रयोगले ढाड तथा घाँटी दुख्ने समस्या देखिएको छ भने सचेत हुनुहोस् यसले तपाइँको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ । यसो हुनुको मुख्य कारण हो- पोस्चर अर्थात तपाइँको आसन । विशेषगरी स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक सामानको निरन्तरको प्रयोगका क्रममा एउटा मानिसमा दिनमा कम्तीमा चार घण्टा यस्ता अप्राकृतिक तथा खराब आसनमा आˆनो समय खर्चिरहेका हुन्छन् । यसबाट बच्न तथा बचाउन स्मार्ट फोनको प्रयोग गर्दा कसरी बस्ने भन्नेबारे बिज्ञहरुले पत्ता लगाएका सुझाव तपाइँलाई उपयोगी हुनसक्छ । १. आसन (३० डिग्री, भार-१८ केजी ) २. आसन (६० डिग्री, भार- २७ केजी) यो मुद्राको आसनमा स्मार्टफोन चलाउँदा तपाईको शरीरले आˆनो सम्पूर्ण भार मेरुदण्डमा पर्न जान्छ जसले फोक्सो लगायत हाम्रो शरीरको महत्वपूर्ण भागलाई असर पार्ने गर्छ । तपाइँको आसनअनुसार मेरुदण्डमा २७ केजीसम्मको भार पर्न जान्छ । विभिन्न अनुसन्धानले एउटा व्यक्तिको शरीरीक मुद्राले उसको भावनात्मक अवस्थाबारे थाहा पाउन सकिन्छ भनेर देखाइसकेको छ । उदाहरणको लागि  हामी डिप्रेशनलाई लिन सक्छौ । विशेषगरी डिप्रेशनको शिकार भएका व्यक्तिहरुको बसाई हेरेर नै हामी उसका मनको अवस्था थाहा पाउन सक्छौ । पहिले-पहिले वृद्धवृद्धामात्र यस्ता समस्याबाट ग्रस्त हुने मान्यता रहेको थियो । तर, पछिल्लो समय यो समस्या युवाहरुमा बढी देखिन थालेको छ । यस्ता समस्या भएका व्यक्तिमा घाँटी तन्कने, जिउँ कुपि्रने तथा काँध झुक्ने समस्या हुने गर्दछ । जबकी सही मुद्राको आसनले तनाव कम गर्ने मात्र नभएर तपाईका कार्य क्षमताको वृद्धि गर्न समेत  ठूलो भुमिका खेल्छ । कुनै पनि उपकरणको प्रयोग गर्दा घाँटीलाई निहुराउनुको साटो आखाँलाई तल झार्नुस् । त्यस्तै, स्कि्रनलाई माथि उचालेर उपकरणको प्रयोग गर्नुहोस् । यसले तपाइँको मेरुदण्डमा जम्मा पाँच केजीको भार पर्न जान्छ । आसन (० डिग्री, भार- ५ केजी) ढाडको समस्या कम गर्ने पाँच साधारण तरीकाः १. समय-समयमा मांशपेसीलाई तन्काउँदै , टाउकोलाई दायाँ बायाँ घुमाउने २. बेलाबेलामा कुमको वरपर, घाँटीको छेउछाउ तथा काँधको दायाँबाया मालिस गर्ने ३.  केही बेर उभिने, हात, खुट्टालाई तन्काउने र ढाडलाई दायाँबायाँ झुकाउने । यो प्रकृयाले घण्टौदेखि एउटा मुद्रामा बसेको मांशपेशीलाई केही हदसम्म भएपनि आराम दिने गर्छ । ४. यदी तपाई १० मिनेट भन्दा बढी समयसम्म निरन्तर फोनमा हुनुहुन्छ भने चिउडोलाई घाँटीतर्फ निहुराउनुस् र कुमलाई थोरै केहीबेर घुमाउनुहोस् । १० सेकेन्डका लागि थामेर यो प्रकृयालाई केहीबेरसम्म दोहोर्‍याउनुहोस् । ५.प्रत्येक पटक स्मार्ट फोनको प्रयोग गर्दा, याद गर्नुस्  सही मुद्राको आसनले भविष्यमा तपाईलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट बचाउन सक्छ ।

अब फेसबुक मेसेन्जरमा आएको मेसेज अरुले पढ्न नसक्ने

 काठमाडौं, ४ कात्तिक। फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ । यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ । सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ । तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न सक्ने छैन । मेसेन्जरले तपाईंले मेसेज पठाउन लाग्नु भएको प्रयोगकर्ताले नयाँ भर्सनको मेसेन्जर चलाएकेा छ कि छैन भन्ने जानकारी भने दिने छैन । यसकालागि तपाईंले आफ्ना साथीलाई फोन गरेर नयाँ भर्सन चलाए नचलाएको बारे जानकारी लिन जरुरी छ । तपाईले पठाएको मेसेज आफै डिलिट हुने अवश्य छैन । यसकालागि  मेसेन्जरमा एक टाइमल अप्सन देखिनेछ जसलाई तपाइले क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईले उक्त मेसेज कति समयपछि हराउने वा डिलेट हुने तपाईंले निश्चित गर्नुपर्ने छ । तपाईले पठाएको मेसेजा वा तपाईलाई आएको मेसेज तपाईको स्क्रीनमा ‘तपाईंलाई म्यासेज प्राप्त भएको छ’ शिर्षकमा देखा पर्ने छ । नयाँ मेसेजिङ युवा पुस्ताले बढी प्रयोग गर्ने विश्वास लिइएको छ ।

सिभिल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ४ कात्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् । साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्फत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनीसँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको छ । सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । टि–२४ नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने बैंकले जनाएको छ ।

हामीनिटको प्रदर्शनी तथा बिक्री मेला भोलिदेखि शुरु

काठमाडौं, ४ कात्तिक । जोरपाटी स्थित हामीनिटले ऊनी पश्मिना, कटन तथा बिभिन्न प्रकारका कलेक्सनहरुको बृहत प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । यहि कात्तिक ५, ६ र ७ गते तीन दिन सम्म उक्त मेलाको आयोजना गर्न लागेको छ । पिस ब्याङ्कवेटको हल जोरपाटी एभरेष्ट बैंकको पछाडीे हामीनिटले महिला तथा पुरुषहरुका लागि ऊलन कपडाहरु, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल लगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बृहत प्रदर्शनी तथा बिक्री मेला गर्न लागेको हो । हामीनिट ब्राण्डले नजिकिदै गरेको जाडो यामलाई मध्येनजर गरि आम नेपालीका माझमा आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताइन् । मेलामा २०० रुपैयाँ देखि २००० रुपैयाँ सम्मका कपडाहरु विशेष छुट गरि प्रदर्शनीमा राख्न लागिएको उनले बताइन् । हामीनिटका के.एल.टावर चुच्चेपाटी र जोरपाटी टेलिकम पछाडी गरि दुईवटा आउटलेट संचालनमा छन् । साथै छिट्टै नै शान्ता प्लाजा ज्ञानेश्वर र बौद्ध मार्ट, बौद्धमा पनि आउटलेट संचालन गर्ने बुढाथोकीले जानकारी गराएकी छन् ।

नेपालको आर्थिक विकासमा सहयोग गर्ने -अमेरिकी राजदूत एलैना बि टेप्लिज

काठमाडौं, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजले बिहिबार उद्योग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माण पछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए । सो अवसरमा उनले लगानीकर्तालाई आश्वस्त बनाउन मन्त्रालयले नीतिगत सुधार र उद्योगमैत्री वातावरण बनाउन लागि परेको मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिए । उद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यावसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी दिए । भेटका अवसरमा उनले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरेको उल्लेख गरे । त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले बताए । औद्योगिक वातावरणका लागि आवश्यक नीतिहरुको तर्जुमापछि आगामी मार्च महिनामा उद्योग मन्त्रालयले विदेशी लगानीकर्ता सम्मेलन गर्ने तयारी गरिएको भन्दै त्यसमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गरेका थिए । भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकको साथै वैदेशीक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव उनको थियो । नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको बताए ।