आइसिएफसी फाइनान्सको अध्यक्षमा अग्रवाल र विज्ञ सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो । कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।
टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी टाटालाई
भारत, ९ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत चार वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा कुनै प्रतिक्रिया नदिएको तर कम्पनीको बोर्डको बैठकले सोमबार टाटालाई जिम्मेवारी तोकेको बताएको छ । कम्पनीले यसका विभागीय कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत राखेको छ । रासस/पीटीआई
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडों, ९ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । मंगलबार नेप्से परिसूचक १७ दशमलब ८९ अंकले घटेर १७५१ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको ७ लाख ६४ हजार कित्ता सेयर ७१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सिभिल बैंकका लगानीकर्ताले ९.८० प्रतिशत र सिनर्जी फाइनान्सका लगानीकर्ताले ९.७० प्रतिशत कमाएका छन् । सिभिल बैंकको सेयर कारोबार आज बाट नै खुलेको हो । सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टर्ड बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक र माच्छापुच्छ«े बैंकको क्रमशः ५ र ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा कारोबार भएका ७ समूहहरु मध्ये अन्य समूह स्थिर रहेको छ भने बाँकी समूहकको परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३३ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र विकास बैंक समूह क्रमशः ३५, १९ र १७ अंकले ओरालो लागेका छन् । फाइनान्स र हाइड्रोपावर समूहको परिसूचक भने सामान्य अंकले घटेका छन् ।
४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्दै, अधिकांश विकास बैंक र फाइनान्स कम्पनी वाणिज्य बैंकमा गाभिदै
काठमाडौं, ९ कात्तिक । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्जभई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा ४१ वटा मात्र भएको छ । राष्ट्र बैंकका सहायक प्रबक्ता राजेन्द्र पण्डितले दिएको जानकारी अनुसार हाल ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज तथा एक्विजिशन प्रक्रियामा रहेका छन् । त्यसमा १८ वटा विकास बैंक तथा फाइनान्स कम्पनी ८ वटा वाणिज्य बैंकमा मर्ज हुँदैछन् । प्राइम कमर्सियल बैकले बिराटलक्ष्मी विकास बैक र कन्ट्री डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । दुई विकास बैंक प्राप्तिपति बैंकको नाम प्राइम कमर्सियल बैंक नै रहने छ । ग्लोबल आईएमई बैकले प्यासिफिक डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । त्यस्तै बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विषयमा दुई पक्षबीच सम्झौता भएको छ । उक्त प्रक्रिया राष्ट्र बैंकमा पुगे रिलायबल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निश्काशन सम्बन्धमा विवाद उत्पान्न भएको छ । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई यसअघि साधारणसभाले पारित गरेअनुसार हकप्रद सेयर जारी गरेर मात्र मर्ज मर्ज तथा प्राप्तिको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । कुमारी बैकले काष्ठमण्डप डेभलपमेण्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गर्दैछ । यसअघि काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया अगाडि बढेको थियो । काष्ठमण्डप डेभलपमेण्ट बैंकले महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्ति गर्ने प्रक्रिया रोकेर सबैलाई कुमारी बैंकमा गाभिने नयाँ प्रक्रियामा राष्ट्र बैंकले सहमति दिएको काष्ठमाडप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । नेपाल इन्भेष्टमेण्ट बैकले एस डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । सेन्चुरी कमर्सियल बैकमा दुई विकास बैंक गाभिदै छन् । यस बैंकले इन्नोभेटिभ डेभलपमेण्ट बैक र अरनिको डेभलपमेण्ट बैकलाई प्राप्ति गर्दैछ । आईएलएफसीलाई एक्वाएर गरेपछि हालै एकिकृत कारोबार गरेको सिभिल बैकले थप दुई वटा फाइनान्सलाई प्राप्ति गर्दैछ । सिभिल बैंकमा युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फइनान्सलाई विलय हुँदैछन् । सनराइज बैकले एनआइडिसि क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्दैछ । यसअघि सनराईज बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यस्तै, लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्दैछ । सानिमा विकास बैंकले बाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दैछ । एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज हुँदैछन् । यो मर्ज प्रक्रिया लगभग पुरा भईसकेको छ । उनीहरु एकिकृत कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति कुरेर बसेको छन् । नेपाल राष्ट्र बैंकका अनुसार ८ वटा विकास बैंक मर्ज भई चार वटा बन्दैछन् । त्यसमा टुरिजम् डेभलपमेण्ट बैकले कालिञ्चोक डेभलपमेण्ट बैक र मातृभूमी विकास बैकलाई प्राप्ति गर्दैछ । प्राप्तिपछि टुरिजम डेभलममेन्ट बैंक बन्दैछ । सहयोगी विकास बैक र सहारा विकास बैकबीच मर्ज भई सहयोगी विकास बैंक बन्ने प्रक्रिया जारी छ । त्यस्तै फेवा विकास बैक र गण्डकी विकास बैक गाभिएर फेवा विकास बैंक बन्दैछन् । ओम डेभलपमेण्ट बैक र मनास्लु डेभलपमेण्ट बैक मर्ज भई ओम डेभलपमेन्ट बैंक बन्दैछन् । त्यस्तै ६ वटा फाइनान्स कम्पनी मर्ज भई ३ वटा फाइनान्स कम्पनी बन्दै छन् । सेन्ट्रल फाईनान्स र भक्तपुर फाइनान्स गाभिएर सेन्ट्रोल फाइनान्स बन्दैछ । त्यस्तै इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र एभरेष्ट फाइनान्स कम्पनी मर्ज भई श्री फाइनान्स कम्पनी बन्दैछ । प्रोग्रेसिभ फाइनान्सले वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लाई प्राप्ति गर्दैछ । वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा वित्त कम्पनी, ४२ वटा, माइक्रो फाइनान्स छन् । आर्थिक वर्ष २०६९/७० सम्म २ सय १४ ओटा बैंक तथा वित्तीय संस्था रहेकोमा अहिले १ सय ७३ मा सीमित भएका छन् । प्रक्रियामा रहेको मर्जर टुंगिदा बैंक तथा वित्तीय संस्थाको संख्या १४६ मा सीमित हुने राष्ट्र बैंकले जनाएको छ । गाभिनेमा पनि विकास बैंक र फाइनान्स कम्पनी बढी छन् । माइक्रो फाइनान्सको संख्या भने डब्बल वृद्धि भएको छ ।
दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ
उदयपु, ९ कात्तिक । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः रु १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेको छ । सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्छन् – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।” तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः १२ लाख रुपैयाँ लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ । तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले रु १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् । रासस
सडकको गुणस्तरबारे अनुसन्धान गर्न सतर्कता केन्द्रलाई निर्देशन
काठमाडौं, ९ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले सडक पुर्वाधारको गुणस्तरबारे अनुसन्धान गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सडकको गुणस्तर अभिवृद्धिका लागि सतर्कता केन्द्रले प्रभावकारी काम नगरेको निष्कर्ष समेत निकालेको छ–सडक लगायत भौतिक पूर्वाधारको क्षेत्रमा भएका अनियमितताहरु सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले आजसम्म परिणाममुखी काम गर्न सकेको देखिंदैन ।’ विकास समितिले भनेको छ । ‘कमी कमजोरीलाई सुधार गर्न योगदान दिन सक्ने राष्ट्रिय सतर्कता केन्द्रको सक्रियता आवश्यक देखिन्छ । तसर्थ समिति भौतिक पूर्वाधारको क्षेत्रमा कृयाशील हुन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ । सतर्कता केन्द्रले सडक गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी भूमिका नखेलेको भन्दै सांसदहरुले आलोचना समेत गरेका थिए । केन्द्रका सचिव रामानन्द प्रसाद यादवले केन्द्रले यसै बर्षभित्र अन्तराष्ट्रियस्तरको प्राबिधीक केन्द्र(ल्याब) सञ्चालनमा ल्याएर गुणस्तर चेकजाँच गर्ने बताए । उनले केहि सडकहरुको गुणस्तर अध्ययन गरेर प्रधानमन्त्री कार्यालयमा पठाईसकेको समेत जानकारी गराएका थिए । समिति बैठकले राजधानीमा अत्याधिक सवारी साधनको चाप हुने क्षेत्रहरुमा फ्लाईओभर निर्माणको कामलाई पनि तदाकरुकताका साथ अघि बढाउन निर्देशन दिएको छ । समितिले सडक विभागका लागि आवश्यक पर्ने प्राबिधिक जनशक्ति ६ महिनाभित्र करार वा स्थायी नियुक्तीको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सडक निर्माणका क्रममा प्रयोग हुने बिटुमिनको गुणस्तर मापदण्ड तयार गर्न र सो अनुसार मात्रै आयातको व्यवस्था गर्न पनि समितिले भनेको छ ।
एनएमबी बैंकले २० प्रतिशत लाभांश दिने, पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने
काठमाडौं, ९ कात्तिक । एनएमबी बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको ३२२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रत्तिकित्ता सेयर करिब ७७४ रुपैयाँमा कारोबार भइरहेको छ ।
असोज मसान्तसम्ममा ४१ अर्व राजस्व संकलन, लक्ष्य भन्दा १०३ प्रतिशत बढी
काठमाडौं, ९ कात्तिक । आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य ४० अर्व २८ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेकोमा ४१ अर्व ३७ करोड २८ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ । उक्त रकम संकलनमा लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ । शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १७ अर्व १६ करोड ७२ लाख ३३ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर १४ अर्व ५७ करोड १ लाख ८७ हजार रुपैयाँ र अन्तःशुल्क तर्फ ९ अर्व २२ करोड ४३ हजार रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११० प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०२ प्रतिशत र अन्तशुल्क तर्फ ९३ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ र २४ करोड १६ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९६ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३८ प्रतिशत र मूल्य अभिवृद्धि कर वृद्धिदर १२३ प्रतिशत रहेको छ । त्यस्तै, अन्तशुल्कको वृद्धिदर १६८ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२९ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३३ प्रतिशत रहेको छ ।