बूढीगण्डकी प्रभावितलाई स्थानीयबासीलाई दिने मुआब्जा तीन गुणा वृद्धि गर्नुपर्छः डा भट्टराई
गोरखा, २० कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बूढीगण्डकी प्रभावित गोरखा र धादिङका स्थानीयवासीलाई उचित मुआब्जा दिएर आयोजनाको काम तीव्ररुपमा अघि बढाउनुपर्ने बताएका छन् । गोरखाको दर्बुङ गाविसस्थित दर्बुङफाँटमा शनिबार आयोजित कार्यक्रममा भट्टराईले मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जामा केही बढाएर प्रभावित गाविसवासीलाई खुसी बनाउँदै आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका विभिन्न १४ र धादिङका १३ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । प्रभावित क्षेत्रका जनतालाई दोब्बर, तेब्बर मुआब्जा दिनुपर्ने भन्दै उनले भने “जसरी पनि बूढीगण्डकी आयोजना समयमै बनाउनुपर्छ ।” बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने नाउँमा गरिब, पीडित जनतालाई थोरै मुआब्जा वितरण गर्न नहुने बताउए । “आयोजना बनेपछि तीन करोड जनता खुसी हुन्छन्”– उनले भने, “तीन करोड जनता खुसी हुने नाउँमा ५० हजार प्रभावितलाई बेवास्ता नगरौँ ।” रासस
सामसङ ब्राण्डलाई अर्काे धक्का, २८ लाख वासिङ मेसिन बजारबाट फिर्ता
काठमाडौं, २० कात्तिक । ग्यालेक्सी नोट ७ पछि सामसङका वासिङ मेसिनमा गम्भिर समस्या देखिएको छ । वासिङ मेसिनमा प्रयोग गरिएको लिड नामक धातुले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने देखिएपछि सामसङले २८ लाख वासिङ मेसिन फिर्ता गरेको छ । सामसङले अमेरिकाबाट मात्रै ३४ मोडलका २८ लाख धान वासिङ मेसिन फिर्ता गरेको हो । अमेरिकी कञ्जुमर प्रडक्ट सेफ्टी कमिसनले वासिङ मेसिनमा प्रयोग गरिएको लिडका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर देखा परेको बताउँदै फिर्ता पठाएको हो । वासिङ मेसिनका कारण स्वास्थ्यमा समस्या आएको ७३३ वटा रिपोर्ट कम्पनीमै दर्ता भएको छ । यी वासिङ मेसिनहरु सन २०११ सालदेखि अमेरिकी बजारमा पठाइएका उत्पादन हुन् । ती समानको मूल्य औषतमा ४५० देखि १५०० डलरसम्म पर्छन् । गत सेप्टेम्बरमा मात्रै सामसङले २५ लाख ग्यालेक्सी नोट ७ स्मार्ट फोन बजारबाट फिर्ता लिएको थियो । तात्ने र पड्कने समस्या देखिएपछि कम्पनीले फोन पिर्ता लिएको थियो । नोट ७ पछि वासिङ मेसिनमा देखिएको समस्याले दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङको बजार थप ओरालो लाग्ने अनुमान गरिएको छ ।
साहसिक पर्यटनप्रतिको आकर्षण बढ्यो, नेपाल भित्रने पर्यटक मध्ये ६० प्रतिशतको रोजाइ साहसिक पर्यटनमा
काठमाडौं २०, कात्तिक । नेपालमा आउने साहसिक पर्यटप्रतिको आकर्षण बढ्न थालेको छ । नेपालमा आउने विदेशी पर्यटको पहिलो रोजाइ नेपालका विभिन्न क्षेत्रमा गरिने साहसिक पर्यटकीय गन्तव्य हुन थालेका छन् । २०७२ बैशाखको भूकम्पअगाडिकै अवस्थामा नेपालमा साहसिक पर्यटन पुग्न थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार सन् २०१६ मा नेपालमा आउने विदेशी पर्यटकको संख्या ८ लाख पुग्ने अनुमान गरिएको छ । यो संख्या मध्ये अधिकांश पर्यटको रोजाइ नेपालमा साहसिक पर्यटकीय गतिविधि नै गर्ने रहेको उल्लेख छ । पर्यटन विभागको तथ्यांक अनुसार सन् नेपालमा अहिले साहिसक पर्यटनको लागि वेमौषम भएपनि पर्यटकीय आकर्षण देखिएको छ । पदायत्रा र सगरमाथा आरोहण जाने सिजन नभएपनि अन्नपूर्ण, मनास्लुलगायतका ८ हजार मिटर भन्दा साना हिमाल आरोहणको समय हो । यो समयमा देखिएको पर्यटनकीय आकर्षणले पनि नेपालमा साहसिक पर्यटकीय गतिविधि बढाएको छ । विभागका अनुसार सगरमाथा बाहेक अटम सिजानमा सन् २०१४ मा १३८९ जना, सन् २०१५ मा १०५५ जना पर्यटकले विगभागबाट साहसिक पर्यटकको अनुमति लिएका छन् । यस्तो अनुमति सन् २०१६ मा १४ सय जना पुग्ने भएका छन् । विभागबाट एक हजार जानेले साहसिक पर्यटनको अनुमति लिइसकेका र चार सय जना अनुमतिको चरणमा रहेको पनि विभागका प्रवक्ता ढाकालको भनाइ छ । नेपाल सुरक्षित रहेको सन्देश प्रवाह हुन थालेको, अन्तर्राष्ट्रिय संचार माध्यम तथा ट्राभल पोर्टलले गर्ने नेपालको प्रचारले पनि साहसिक पर्यटनको गतिविधि बढेको ढकालको दाबी छ । उनका अनुसार पर्यटकको तथ्यांक सेप्टेम्बरसम्ममा ५ लाख ८६ हजार रहेको र सन् २०१६ मा आठ लाख पुग्ने अनुमान गरिएको छ । नेपालको विगतको पर्यटकीय अवस्था हेर्दा साहसिक पर्यटकको रोजाइ ६० प्रतिशत रहेको पनि विभागले जानकारी दिएको छ । नेपालमा आउने विदेशी पर्यटकको पहिलो रोजाइ सगरमाथा, अन्नपूर्ण र लाङटाङको पदयात्रा, हिमाल आरोहण हुने गरेको छ । त्यसपछि नेपालमा रहेको विभिन्न पर्यटकीय गतिविधि बन्जि, प्याराग्लाइडिङ, हाइकिङ, राफ्टिङ, स्की, माउन्टेन फ्लाईट, जंगल सफारी, कायाकीङ, क्यानोनिङसहितका गतिविधि हुने गरेका छन् । यी गतिविधि गर्न पर्यटक नेपाल आउने गरेको उल्लेख्य छन । नेपालमा पछिल्लो समय साहसिक पर्यटनकीय सेवाका पर्यटकीय संस्था पनि बढिरहेका छन् । हाल नेपालमा २९ सय वटा ट्राभल एजेन्सी, २१ सय वटा ट्रेकिङ एजेन्सी, ११ हजार ट्रेकिङ गाइड, ३६ सय ट्राभल गाइड, ६५ वटा राफ्टिङ एजेन्सी, ४५ वटा टुरिष्ट भेइकल एजेन्सी, ७० वटा प्यराग्लाइडिङका एजेन्सी मन्त्रालयमा दर्ता भएका छन् । दर्ता विना संचालन भएका अन्य साहिसक पर्यटकीय गतिविधि पनि उल्लेख्य रहेको विभागको बुझाई छ । नेपालमा आउने विदेशी पर्यटक मध्ये सबैभन्दा खर्चालु नै साहसिक पर्यटक हुने गरेको नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइ छ । उनका अनुसार अन्य सबै पर्यटकीय गतिविधिमा गर्ने खर्च एकै वर्षको पर्वतारोहण गतिविधिमा हुने खर्च भएको दाबी पनि शेर्पाको छ । पर्वतारोहण सबैभन्दा साहसिक पर्यटन हो भने यसैका लागि नेपाल आउने पर्यटको संख्या पनि हरेक वर्ष बढ्दै गएको पर्वतारोहण संघको बुझाई छ । साहसिक पर्यटमा नेपालीसमेत उत्साहित नेपालका साहसिक पर्यटकीय गन्तव्य विदेशी पर्यटकका लागि परिचित भएपनि पछिल्लो सयम आन्तरिक पर्यटक (नेपाली)को रूची बढ्न थालेको छ । ट्राभल, ट्रेकिङ तथा टूर एजेन्सीसँग साहसिक पर्यटकीय गन्तव्यमा जाने नेपाली पर्यटकले चासो देखाउँने गरेको ट्रेकिङ् एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को भनाइ छ । घुमघाममा रमाउने नेपालीको जमानत र छुट्टीको समयमा पदयात्रा जाने विद्यार्थीवर्गले साहसिक पर्यटनलाई रुचाउँन थालेका छन् । मनोरञ्जनात्मक गतिविधिकै लागि कर्पाेरेट हाउसमा काम गर्नेदेखि सामान्य व्यक्तिका लागि पनि साहसिक पर्यटकीय क्षेत्र तिनको रोजाई हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । आन्तरिक पर्यटकले एक दिने हाइकिङदेखि दुई–तीन दिनसम्मको पदयात्रा, हवाई खेलकूदलगायतका गतिविधिका साथमा बञ्जी र राफ्टिङ रुचाउँने गरेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स नेपालका अध्यक्ष यमबहादुर खड्काको भनाइ छ । बञ्जी, राफ्टिङलगयातका गतिविधिमा रमाइलो हुने र एक दिनको प्याकेज लिन सकिने भएकोले पनि यसतर्फ आन्तरिक नेपाली बढेको बताइएको छ । ‘नेपालमा एजेन्सीमार्फत पदयात्रामा जाने नेपाली कम भएपनि समूह बनाएर जाने क्रम भने बढ्न थालेको छ । एजेन्सीको प्रयोग नगरेपनि तिनले गाइड र सवारी साधन भने प्रयोग गर्ने गरेका छन् । नेपालीको समूह बढ्दै जादाँ तिनले एजेन्सीको प्रयोग गर्नेमा ढुक्क हुन सकिने पनि टानको भनाइ छ । हिमाली क्षेत्रमा पदयात्रामा जानु साहसिक कार्य भएकोले यसप्रति नेपालीको आकर्षण बढ्दै गएको बताइएको छ । नेपाल भ्रमण वर्ष, पर्यटन वर्ष र घुमफिर वर्षले नेपालीप्रतिको उत्साह बढाएको नेपाल पर्यटन बोर्डको भनाइ छ । बोर्डका संचार संयोजक सुधन सुवेदीका अनुसार आन्तरिक पर्यटकको बजार बढ्नुमा सूचनाको पहुँच बढ्नु नै हो । नेपाली पर्यटक भन्ने टे«न्डको विकास नै भर्खर हुन थालेकोले छ । त्यसमा पनि साहसिक पर्यटकीय गतिविधि गर्ने र माउने क्रम बढेपनि तथ्यांकमा भने भन्न नसकिने अवस्था नरहेको बोर्डको बुझाई छ ।
गरिमा विकास बैंकको नाफा साढे ४ करोड
काठमाडौं, २० कात्तिक । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ करोड ६८ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २ करोड ९१ लाख नाफा कमाएको थियो । एक अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड रहेको छ । बैंकले सो तीन महिनामा १२ अर्ब निक्षेप संकलन गरेर १० अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैंयाँ ३३ पैसा छ भने प्रति सेयर नेटवर्थ १४६ दशमलब ८९ पैसा रहेको छ ।
उडान गर्नै लाग्दा श्रीको हेलिकोप्टर माटोको ठिक्कोमा ठोक्कियो, घटना सामान्य भएको विमानस्थल कार्यालयको भनाइ
काठमाडौं २०, कात्तिक । काठमाडौं विमानस्थलमा उडान गर्नै लाग्दाश्रीको हेलिकोप्टर माटोको ठिक्कोमा ठोक्किएको छ । एक फिट अग्लो माटोको ठिक्कोमा पछाडिको पंखाले छोएको श्री एयरको हेलिकोप्टर आवश्यक मर्मतपछि तुरुन्तै उडान पनि सुरु भएको छ । सामान्य घटना भएको मर्मत भएर उडेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए उनका अनुसार श्री को एसए ३५० बी३ ई नामक ६ सिट क्षमताको हेलिकोप्टर विना यात्रु उडान गर्नै लाग्दा प्रोटेक्टर (पंखालाई अड्याउनका लागि राखिएको) माटोको सामान्य ढिस्कोमा ठोकिएको थियो । घटना समान्य भएकोले पनि यो वायुसेवाले आवश्यक मर्मत गरेर उडान सुरु गरेको उनले बताए । काठमाडौंबाट जिरी उड्ने क्रममा श्री एयरको हेलिकोप्टको पछाडिएको प्रोटेक्टर सामान्य रुपमा ठोकिएको हो । सामान्य चेक अप पछि उक्त हेलिकोप्टर गन्तव्यतर्फ गएको पनि ठाकुरले बताए । यात्रु नै नभएको हेलिकोप्टर उडान गर्ने लाग्दा पंखाले माटोमा छोएको सामान्य घटना भएकोले सामान्य मर्मतबाटे उडान गर्न सकेको श्री एयरलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।
भूकम्पले घर भत्किए पनि तीन लाख पाउने सूचिमा पर्नु भएन ? मुद्दा हाल्नुहाेस्, न्याय पाउनुहुनेछ
काठमाडौं, २० कात्तिक । भूकम्पले घर भत्किए पनि घर बनाउन नगद अनुदान पाउनेको सूचिमा पर्नु भएको छैन भने चिन्ता नगर्नुस । तपाइँलाई न्याय दिन भन्दै उच्च अदालतका न्यायधिसको नेतृत्वमा पुनरावेदन समिति बनेको छ । पाटन उच्च अदालत(तत्कालिन पुनरावेदन अदालत पाटन)का न्यायधिस किशोर शिलवालको अध्यक्षतामा तीन सदस्यिय पुनरावेदन समिति गठन भएको छ । समितिका अन्य सदस्यहरुमा योगेश्वर कृष्ण पराजुली र भिष्मराज कडरिया रहेका छन् । समितिले पुनर्निर्माणका सवालमा परेका उजुरी तथा गुनासोहरुको अन्तिम टुंगो लगाउनेछ । यदि कसैलाई आफु लाभग्राही सूचिमा किन नपरेको भन्ने चित्त नबुझेमा समितिमा उजुरी गर्न सकिन्छ । ‘पुनर्निर्माणमा नबुझेका कुनै पनि व्यक्ति र घट्नाका बारेमा समितिमा उजुरी दिन सकिनेछ, समितिको निर्णय नै अन्तिम टुंगो लाग्छ’, पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने । त्यस्तै, गैर पीडितले पीडितका रुपमा नगद अनुदान वा अन्य सहयोग लिएको फेला परेमा त्यस्ता उजुरी पनि पुनरावेदन समितिमा दिन सकिन्छ । त्यसका अलवा, पुनर्निर्माण सम्बिन्धी कुनै पनि काम तथा कारवाही चित्त नबुझे पनि उजुरी हाल्न सकिनेछ । धरहरा, रानी पोखरी, बसन्तपुर दरबार वा अन्य कुनै पनि पुरातात्विक सम्पदाको निर्माणमा चित्त बुझेन भनेपनि समितिमा उजुरी दिन सकिने व्यवस्था रहेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुर्निर्माण सम्बन्धी ऐन, २०७२ अनुसार पुनरावेदन समिति गठन गरिएको हो । पुनरावेदन समितिले पुनरावेदन अदालत( उच्च अदालत)कै सरह अधिकार प्राप्त गरेको छ । यो समितिले गरेको फैसलालाई नै अन्तिम फैसला मानिने ऐनमा उल्लेख गरिएको छ । समितिको कार्यावधी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन भएको एक बर्षपछिसम्म रहनेछ । समितिले प्राधिकरणले गरेका कुनै पनि कामलाई रोक्न वा उल्टाउन सक्ने अधिकार राख्दछ ।
भारतीय राष्ट्रपति बुद्ध एयरबाट माउन्टेन फ्लाईटमा, गौरीशंकर र सगरमाथा हेरेर भारत फर्किएर
काठमाडौं २०, कात्तिक । बुद्ध एयरको जहाजमार्फत भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गौरीशंकर र सगरमाथा हिमश्रृंखलाको अवलोकन गरेका छन् । बुद्धले माउन्टे फ्लाइटसहितको सुविधा दिएर काठमाडौंबाट जनकपुर र जनकपुबार पोखरा हुँदै काठमाडौं ल्याएको छ । उपलब्ध वायुसेवाका विकल्पमध्ये भारतीय राष्ट्रपति मुखर्जी तथा भ्रमणदलका सदस्यहरुले आन्तरिक उडानमा बुद्ध एयरलाई छनोट गरेका थिए । मुखर्जीको तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार बिहान काठमाडौंबाट जनकपुर तथा जनकपुरबाट पोखरा हुँदै काठमाडौं फर्किने कार्यक्रम थियो । भारतीय राष्टपतिलाई बुद्ध एयरले मायाको चिनो प्रदान गर्दै हवाई यात्राका क्रममा बुध्द एयरले महामहिमलाई धार्मिक तथा पर्यटकीय हिमश्रृंखलाहरु गौरीशंकर, गणेश तथा सगरमाथा, मकालु, मनास्लु, माछापुच्छ«ेलगायत अन्य हिमालको पनि अवलोकन गराएको थियो । यसका लागि बुद्ध एयर अहरोत्र व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेको एयरलाईन्सका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए । भ्रमणलाई सहज र सुरक्षित बनाउन बुद्धले एटीआर ४२ नामक ४७ सिट क्षमताको दुई जहाजहरुलाई पूर्ण तयारी गरेको थियो । जनकपुर तथा पोखरामा आफ्ना प्राविधिक तथा व्यवस्थापकीय कर्मचारीहरुको टोली नै खटाएको थियो । भ्रमणबाट नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि थप टेवा पुग्ने निर्देशक बस्नेतको भनाइ छ । गणतान्त्रिक मुलुक भारतको ‘प्रथम नागरिक’लाई सेवा प्रदान गर्न पाउँदा बुद्ध एयर गौरवान्वित भएको पनि बुद्ध एयरले शुक्रबार बेलुका जारी गरेको एक विज्ञप्तीमा उल्लेख छ । मुखर्जी शुक्रबार बेलुका नै भारत फर्किएका छन् ।
तराईका आठ जिल्लामा सुरु भएन पुनःसंरचना, राजनीतिक गाँठो खुलुलो अझै भएन
काडमाडौं २०, कात्तिक । स्थानीय तह पुनःसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन दिन अन्तिम समयसीमा दिए पनि प्रदेश नं.२ अन्तर्गत तराईका आठ जिल्लामा भने पुनःसंरचनासम्बन्धी काम अझै अगाडि बढ्न सकेको छैन । बारा, पर्सा, रौतहट, सर्लाही, सिराह, सप्तरी, धनुषा र महोत्तरीमा स्थानीय तह पुनःसंरचनासम्बन्धी काम अगाडि बढ्न नसकेको हो । अन्य जिल्लाबाट प्रतिवेदन आउने क्रम सुरु भइसक्दासम्म उक्त जिल्लामा भने पुनःसंरचानसम्बन्धी स्थानीय स्तरमा कुनै छलफल नै हुन नसकेको आयोगले जनाएको छ । फाइल तस्बिर उक्त जिल्लाबाट प्रतिवेदन आउन ढिलो हुँदा आयोगले सरकारलाई बुझाउने प्रतिवेदनको समयसमेत धकेलिनसक्ने सम्भावना छ । आयोगले कात्तिक १ गते ७५ जिल्लाका जिल्ला प्राविधिक सहयोग समितिलाई पत्र काटेरै कात्तिक २० गतेभित्र सरोकारवालासँग छलफल गरी प्रतिवेदन आयोगमा बुझाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार हालसम्म इलाम, अछाम र खोटाङले मात्र आयोगमा प्रतिवेदन बुझाएका छन् । तराई केन्द्रित दलहरूले हाल कायम सात प्रदेशको सीमाको पुनरावलोकन नगरेसम्म स्थानीय तह पुनःसंरचनासम्बन्धी कुनै काम गर्न नदिने भन्दै जिल्लास्थित प्राविधिक सहयोग समितिलाई स्थानीय तह पुनःसंरचनासम्बन्धी कुनै कार्यक्रम र छलफल गर्न नदिएको आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिए। उनका अनुसार अहिले आठ जिल्लामा स्थानीय तह पुनःसंरचनासम्बन्धी प्राविधिक सहयोग समितिको तर्फबाट खासै केही काम भएको छैन । केन्द्रबाट गएका जिल्ला विकास समिति महासङ्घ, गाउँ विकास समिति राष्ट्रिय महासङ्घ र नगरपालिका सङ्घले गरेको अन्तरक्रियामा भने ती जिल्लाका स्थानीय राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । सङ्घ र महासङ्घले गरेको पुनःसंरचनासम्बन्धी अन्तरक्रिया कार्यक्रमले स्थानीय तह पुनःसंरचनामा ती जिल्लामा केही सहजीकरण भए पनि जिल्ला प्राविधिक सहयोग समितिबाट गरिने छलफलमा भने मधेस केन्द्रित दलहरूले अवरोध गर्ने गरेको उनले बताए। आयोगको पछिल्लो रणनीतिअनुसार प्रतिवेदन आएका जिल्लाको प्रतिवेदनलाई अन्तिम रूप दिँदै जाने र अन्तिममा प्रतिवेदन आउन बाँकी जिल्लामा आयोगका पदाधिकारी आफैँ ती जिल्लामा गएर सरोकारवालासँग छलफल गरी प्रतिवेदन बनाउने योजना आयोगले बनाएको छ । सदस्य पौडेलले भने “केही जिल्लाले प्रतिवेदन दिएनन् भनेर अब आयोग चुप लागेर बस्दैन, आफ्नो अधिकार प्रयोग गरी आयोगले काम अगाडि बढाउँदै जान्छ । ” जिल्लाबाट प्रतिवेदन आइसकेपछि आयोगलाई अन्तिम प्रतिवेदन बनाउन बढीमा तीन हप्ता लाग्ने उनले बताए। कात्तिक तेस्रो हप्ताभित्र प्रतिवेदन आयोगमा आएमा मङ्सिरको दोस्रोदेखि तेस्रो हप्ताभित्र आयोगले स्थानीय तह पुनःसंरचनाका प्रतिवेदन सरकारलाई प्रदान गर्ने आयोगको तयारी छ । जिल्लाबाट प्रतिवेदन आइसकेपछि आयोगले मापदण्ड अनुसारको स्थानीय तह निर्माण भएको छ कि छैन, जिल्लाको जनसङ्ख्या, शिक्षा, स्वास्थ्य, उत्पादनका स्रोत, पर्यटकीय क्षेत्र, जिल्लामा सञ्चालित महत्वपूर्ण आयोजना, जिल्लामा रहेका स्थानीय निकायको कुल आम्दानी, रोजगारी र शैक्षिक अवस्थालाई समेत समेटेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्छ । यी सबै कुरा प्रतिवेदनमा नसमेटिए आयोगले पुनः प्रतिवेदन जिल्लालाई नै फर्काउनेछ । सरकारले गत चैत १ गते स्थानीय तह पुनःसंरचना आयोग गठन गरेको थियो । उक्त आयोगको समयसीमा एक वर्ष हुने संवैधानिक व्यवस्था छ । गोरखापत्र दैनिकबाट ।