विकासन्युज

राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्यायाे, २३ लाख रूपैयाँ खर्च

कात्तिक, २९ काठमाडौं । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्याएकाे छ । सोमबार सिंगापुरको सिल्क एयरबाट साे रकम काठमाडाैं भित्र्याएकाे राष्ट्र बैंकले जनाएकाे छ । सिल्क एयरको बोइङ वि ७३८ जहाज मार्फत बैंकले एक करोड अमेरीकी डलर नेपाल भित्र्याएको हो । डलर बोकेको जहाज सोमबार मध्याह्न १२ बजेर १३ मिनेट जादा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । बजारमा डलरको अभाव देखिएपछि राष्ट्र बैंकले दशैअघि नै सिंगापुरबाट डलर ल्याउने निर्णय गरेको थियो । सिंगापुरको सिआइएम बैंकमा राष्ट्र बैंकको आफ्नै खाता रहेको छ । सोही खाताबाट एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले विकासन्युजलाई जानकारी दिए ।  पण्डितका अनुसार डलर ल्याउँदा करिव २३ लाख रुपैयाँ बराबर खर्च भएकाे छ । पण्डितका अनुसार हाल विभिन्न २५ वटा देशका बैकहरूमा रहेका राष्ट्र बैंककाे खातामा करिब १० अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा डलर मौज्दात छ । उक्त रकम अावश्यकता अनुसार राष्ट्र बैंकले नेपाल ल्याउन सक्ने उनले बताए । “नेपालकाे बजारमा डलर भएपनि लुकाउने प्रबृत्तिका कारण अहिले डलर अभाव देखिएको हो” पण्डितले बताए ।  नेपालकाे वैदेशिक व्यापार घाटा बढ्दै गएकाे, रेमिट्यान्स भित्र्तने क्रममा गिरावट देखिएका, पर्यटक अागमन कम भएकाेले पनि राज्यकाे ढुकुटीमा विदेशी मुद्रा कम हुँदै गएकाे छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एटिएमबाट नेपालीकाे खातामा रहेकाे पैसा चाेरी हुने र त्याे रकम बैंक तथा मनि एक्स्चेनञ्ज काउन्टरमा सटही गरी डलर चाेरी हुने गरेकाे  र हुण्डीकाे प्रयाेग बढेकाेले डलर अभावकाे समस्या बढेकाे बताएका छन् ।    

अधिकतम ५ लाख पाउनु पर्ने सुजातालाई ५० लाख उपचार खर्च

  काठमाडौं, २९ कात्तिक । नागरिक राहत, क्षतिपुर्ति तथा आर्थिक सहायता सम्बन्धि(प्रथम संसोधन) कार्यबिधी, २०७१ ले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरुलाई बढिमा १५ लाख उपचार खर्च दिन सकिने व्यवस्था गरेको छ । त्यस्तै, पूर्व प्रधान न्यायधिस र पूर्व सभामुखका लागि बढिमा १० लाख रुपैंयाँ उपचार खर्च दिन सकिने व्यवस्था छ । त्यस बाहेक कला, साहित्य, राजनीतिक र अन्य समाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेका महत्वपुर्ण व्यक्तिहरुलाई योगदानको प्रकृति हेरि बढिमा पाँच लाख रुपैंयाँसम्म आर्थिक सहायता प्रदान गर्न सकिने उल्लेख गरेको छ । सो कार्यबिधी अनुसार काँग्रेस नेतृ सुजाता कोइरालालाई बढिमा ५ लाख रुपैंयाँसम्म उपचार खर्च दिन सकिने देखिन्छ । तर आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई ५० लाख रुपैँया उपचार खर्च दिने निर्णय गर्यो । त्यसो त, व्यवस्थापिका संसदको अर्थ समितिको भदौ २९ गते बसेको बैठकले आफैले उपचार गर्न नसक्ने विशिष्ट व्यक्तिहरुलाई मात्र सरकारले उपचार खर्च उपलब्ध गराउने, विशिष्ट व्यक्तिलाई स्वदेश मै उपचार गर्ने व्यवस्था गर्ने र मेडिकल बोर्डले नेपालमा उपचारै हुन नसक्ने रोगहरुको लागि मात्र विदेशमा उपचारका लागि सिफारिश गर्ने तथा त्यस्तो अवस्थामा मात्रै सरकारी कोषबाट सहायता दिन सकिने, औषधी उपचारका लागि आर्थिक सहायता सम्बन्धी प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट मात्रै अघि बढाउनु पर्ने लगायतका निर्देशन दिएको थियो । त्यस बाहके कुन तहको बिशिष्ट व्यक्तिको उपचार खर्चका लागि कति रकम दिने हो सोको सिलिङ तोक्नु पर्ने लगायतका निर्देशन पनि समितिले दिएको थियो । समितिको बैठकमा उपस्थित स्वास्थ्य मन्त्री गगन थापाले पनि स्वास्थ्योपचारका नाममा राज्य कोषको दुरुपयोग हुन नदिने र तत्कालै कार्यबिधी संसोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले सुजाता कोइरालालाई ५० लाख रुपैंयाँ उपचार खर्च दिने सरकारको निर्णयले संसदिय सर्वाेच्चताको उल्लंघन गरेको आरोप लगाए । ‘हामीले नयाँ र स्पष्ट कार्यबिधी बनाएर मात्रै उपचार खर्च बाढ्न निर्देशन दिएका थियौं, कार्यबिधी नबनाई चोरबाटोबाट ५० लाख दिने निर्णय भएको छ, यसले संसदिय सर्वाेच्चतालाई चुनौती दियो’, सभापति ज्वालाले विकासन्युजसँग भने ।

गोर्खाज फाइनान्सको सुनचादी कर्जा योजना सार्वजनिक

कात्तिक ,२९ काठमाडौं । गोर्खाज फाइनान्सले न्युरोड शाखाबाट सुनचादी कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाले २३ औ बार्षिकोत्सवको अवसर पारेर सुन चादी कर्जा योजना सार्वजनिक गरेको हो ।  त्यस्तैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको श्री सिद्धि सालिग्राम जेष्ठ नागरीक आश्रमलाई दुई थान टेलिभिजन प्रदान गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललाई पाँच थान ह्वील चेयर प्रदान गरेको छ । सोही अवसरमा वर्षका उत्कृष्ट कर्मचारी विष्णुप्रसाद खतिवडालाई सम्मानित गरेको छ । संस्थाले २०७२ असार मसान्त सम्ममा एक अर्व २४ करोड निक्षेप र एक अर्व दुई करोड कर्जा प्रबाह गरेको जनाएको छ । यस संस्थाले मोबाईल बैकिङ मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । डेबिट कार्ड सेवा मार्फत एससीटी नेटवर्क भएका सवै एटीएमबाट ग्राहकहरुले सेवा लिन सक्नेछन् ।

एभरेष्ट बैंकले तीन महिनामै कमायो ५१ करोड

काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ५१ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा कमाएको भन्दा १४ करोड ९७ लाखले बढि हो । बैंकले गत आवको पहिलो त्रैमासिकमा जम्मा ३६ करोड ३७ लाख नाफा कमाएको थियो । एभरेष्ट बैंकले पहिलो त्रैमासिकमा ८९ अर्ब निक्षेप संकलन गरेको छ भने ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ७७ रुपैंयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ३३९ रुपैंयाँ ७३ पैसा रहेको छ । बैंकको सेयर ३६६६ रुपैँयामा कारोबार भैरहेको छ ।

मेगा बैंकले तीन महिनामा कमायो १४ करोड, गत वर्षको तुलनामा ७४ प्रतिशतले नाफा बढ्यो

काठमाडौं २९, कात्तिक । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १४ करोड ६९ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा यो बैंकको यस्तो नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्रै थियो । यो बैंकले कर र बोनस अगाडिको नाफा भने २३ करोड रुपैयाँ रहेको थियो । बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुत्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ । मेगा बैंकको खराब कर्जाको अनुपात १ दशमलव ०८ प्रतिशत रहेको छ । यो खराब कर्जाको अनुपान गत वर्ष १ दशमलव ६० प्रतिशत रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७९ दशमलव १४ प्रतिशत रहेको छ । यो अनुपात गत वर्ष ७४ दशमलव ६३ प्रतिशत रहेको थियो । यो बैंकको प्रतिशेयर आम्दानी चालू आवको प्रथम त्रैमाससम्को ४ रुपैयाँ ५३ पैसा रहेको छ भने एक वर्षको प्रति सेयर आम्दानी भने १७ रुपैयाँ ८० पैसा रहेको छ । मोगाको प्रतिशेयर बजारमा ४ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा

काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ । बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर कारोबार रद्द गर्ने क्रम रोकियो, कारोबार राफसाफको झन्झट हटाउन सहयोगी

काठमाडौं २९, कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार रद्द हुने क्रम न्यून भएको छ । नेप्सेको कारोबार प्रणालीमा सेयर कारोबारको आदेश दिएपछि त्यसको राफसाफ हुनै पर्ने व्यवस्थाले रद्द गर्ने क्रम रोकिएको हो ।  सेयर कारोबारमा खरिदकर्ता वा बिक्रीकर्ताको कमजोरीका कारण कारोबार राफसाफ हुन नसकेमा २० प्रतिशतसम्म जरिवाना शुल्क बुझाउनु पर्ने भएकाले यसअघि कारोबारै रद्द गर्ने प्रचलन थियो । कारोबार नै रद्द गरेको अवस्थामा भने जरिवाना पनि तिर्नु पर्दैनथ्यो । पछिल्लो समयमा पूर्वाधारको विकाससँगै आदेश दिएको कारोबारको राफसाफ अनिवार्य सरह भएपछि रद्द गर्ने क्रम न्यून भएको हो । यस्तै, सेयर तथा पैसाका कारण कारोबार रद्द गर्न नपरोस् भनेर नेप्सेले ‘ट्रेड ग्यारेन्टी फण्ड’ र ‘अक्सन मार्केट’ समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ। नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १५ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार रद्द भएको छ । सोभन्दा अघिल्लो आर्थिक वर्षको असोजसम्ममा नेप्सेले ३ करोड ५१ लाख रुपैयाँबराबरको सेयर कारोबार रद्द गरेको थियो । चालू आवको असोजसम्ममा विगतको तुलनामा निकै न्यून कारोबार रद्द गर्नु परेको नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलले जानकारी दिए । “पछिल्लो समयमा कुनै पनि कारोबार रद्द गरिएको छैन,” फुयाँलले भने, “चालू आवदेखि नगन्य रूपमा रद्द भएको छ ।” अन्तरराष्ट्रिय रूपमा पनि कारोबार रद्द गर्ने चलन नरहेको फुयाँल बताउँछन् । नेप्सेले कारोबार रद्द गर्नुपर्ने कारणलाई विस्तृत अध्ययन गरेर काम गर्न थालेकाले रद्द गर्ने क्रम रोकिएको हो । “म्यानुअल इन्ट्री इररलाई मात्र क्षमा दिने गरिएकाले कम भएको हो,” उनले भने, “अर्डर पेस गरेपछि त्यो कारोबार सम्पन्न हुनुपर्छ भन्ने नेप्सेको मान्यता हो ।” पछिल्लो सातादेखि नेप्सेले सेयर कारोबार रद्द गर्न छाडेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । “यो अन्तरराष्ट्रिय अभ्यासमा प्रचलनमा छैन,” उनले भने, “कारोबार राफसाफको झन्झट हटाउन सहयोग गर्छ ।” कारोबार दैनिक ।

काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिने, नेपाल र भारतबीच प्रणाली सिंक्रोनाइज भए उपत्यका लोडसेडिङमुक्त

काठमाडौं २९, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारे पनि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । प्राधिकरण स्रोतका अनुसार आगामी हिउँदभित्र भारतसँग प्राविधिक रूपमा प्रणाली सिंक्रोनाइज गर्न नसके योजना कार्यान्वयन असम्भव हुनेछ । तिहारदेखि काठमाडौं उपत्यकालाई पूर्ण रूपमा लोडसेडिङमुक्त बनाएर प्रशंसा कमाएको प्राधिकरणले भारतको प्रणालीसँग नेपालको प्रणाली सिंक्रोनाइज गर्न नसके आगामी पुसपछि लोडसेडिङमुक्त उपत्यका हुन असम्भव देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुशल व्यवस्थापनसहितको सामूहिक सक्रियताले लोडसेडिङमुक्त भएकोमा उपत्यकावासीमा उत्साह देखिन्छ । तर, ढल्केबर सबस्टेसन निर्माणमा हुने ढिलाइ तथा नेपाल र भारतबीचमा हुनुपर्ने प्रणाली सिंक्रोनाइजमा कठिनाइ देखिएकोले लोडसेडिङमुक्त काठमाडौं बनाउन समस्या देखिएको छ । प्राधिकरणका अनुसार ९२ मेगावाटमात्र जलाशययुक्त आयोजना रहेको तथा अन्य आयोजनाहरूबाट हिउँदको समयमा एक तिहाई बिजुली उत्पादन हुने भएकोले उपत्यकाको तीन सय मेगावाट माग पूरा गर्न समस्या देखिएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नेपाल र भारतबीच प्रणाली सिंक्रोनाइज गर्न सकिएमा आगामी हिउँदमा उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिने भएकोले त्यसका लागि प्राधिकरण सक्रिय रहेको बताउँछन् । “प्रणाली सिंक्रोनाइज गरेर भारतबाट ५० मेगावाटसम्म विद्युत् आयात गर्न सकियो भने आगामी हिउँदमा उपत्यकामा हुने तीन सय मेगावाटको मागलाई व्यवस्थापन गर्न सकिन्छ,” उनी भन्छन्, “सिंक्रोनाइज नभए पनि कसरी लोडसेडिङमुक्त बनाउन सकिन्छ भनेर वैकल्पिक स्रोतहरूबारे समेत अध्ययन गरिरहेका छौं ।” खिम्ती ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भएमा ढल्केबर–खिम्ती–लामोसाँघु हुँदै काठमाडौं र ढल्केबर–हेटौंडा–मातातीर्थ हुँदै काठमाडौंसम्म बिजुली ल्याउन सकिन्छ । खिम्ती–ढल्केबर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने हेटौंडा–मातातीर्थ सबस्टेसनको काम सम्पन्न भए पनि विवादको कारण चार्ज भएको छैन । हिउँदअघि नै दुवै प्रसारणलाइन चार्ज भइसक्ने प्राधिकरणले जनाएको छ । प्रणाली सिंक्रोनाइज भएर भारतबाट थप ५० मेगावाट आएमा उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिने प्राधिकरणको भनाइ छ । कारोबार दैनिकबाट।