स्वावलम्बन बैंकको निशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम सम्पन्न
काठमाडौं, ५ मंसिर । स्वावलम्बन लघुवित्त विकास बैंक र साँखु जेसिसको संयुक्त आयोजना तथा सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ । बैंकको उपशाखा कार्यालय, नगरकोट भक्तपुरले स्थानीय स्वास्थ्य संस्थामा आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई लक्षित गरी मंसिर ४ गते एक दिने निःशुल्क शिविर संचालन गरेको हो । उक्त शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रशासकिय प्रमुख ममता सिंह तथा जर्मनीबाट आएको विशेषज्ञ डाक्टर सहितको टोलीले उपशाखा कार्यालय नगरकोट अन्तरगतका करिव २ सय विरामी महिला ग्राहक सदस्यको स्वास्थ्य परिक्षण गरेको जनाइएको छ । कम्युनिटि हेल्थ सेण्टर, गड्गडे निम्न माध्यामिक विद्यालको प्राङ्गणमा सञ्चालित शिविर कार्यक्रम उद्घाटन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्य तथा उनीहरुको परिवारका लागि विभिन्न सामाजिक कार्य, स्वास्थ्य शिविर संचालन गर्दै बैंक अगाडी बढ्ने बताए । उनले यस्ता कार्यक्रमबाट अधिकतम महिला ग्राहक सदस्यले लाभ लिन समेत आग्रह गरे । कार्यक्रमका सभापति तथा साँखु जेशिसका अध्यक्ष अमित प्रधानले बैंकसंगको सहकार्यमा हुने यस्ता कार्यक्रमले स्थानिय बासिन्दा लाभान्वित हुने बताए ।
विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै युवा
पाल्पा, ५ मंसिर । काम गर्न सके आफ्नै देशमा के हुँदैन ? यहि विचारलाई मनन गर्दै रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन गर्ने निर्णय गरे र व्यवसाय शुरु गरे । आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैंयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे । उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा ४ लाख रुपैंयाँसम्म आम्दानी गर्ने भट्टराई भन्छ– ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो । यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’ आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर एकलाख रुपैंयाँ बराबरको आम्दानी गरेका छन् । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एकलाख रुपैंयाँ र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार रुपैंयाँ अनुदान पनि प्राप्त गरेका छन् । दुई सय वटा बाख्रापालेर वार्षिक ६ लाख रुपैंयाँभन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट लिएका छन् । रासस
फेन सेग्मेन्टमा एरोक्वाइट सिलिङ फेन नेपाली बजारमा
काठमाडौं, ५ मंसिर । भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गतको सिके बिरला ग्रुपले नेपालमा थप बजार बिस्तार गरेको छ । बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले बजार बिस्तार गर्ने क्रममा शनिबार आवाज नआउनेर प्रचुर मात्रामा हावा दिने क्षमता भएको एरोक्वाइट सिलिङ फेन सार्वजनिक गरेको हो । कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ फेन तयार पारेको जनाएको छ । यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको कम्पनीले दावी गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो–टेक २०१६ मा एक विशेष कार्यक्रमका विच यो फेन नेपालमा पहिलो पटक अनावरण गरिएको हो । कार्यक्रममा फेनको विषयमाथि बोल्दै हेड इन्टरलेशनल सेल्स, ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फेनको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यन्त उत्साहित भएको बताए । उनले भने–‘फेन सेग्मेन्टको क्षेत्रमा पायोनियर भएकाले करोडौं मानिसको लागि यो नयाँ फेनमा टेक्नोलोजिकल मार्भललाई परिचय गरेको छ । नेपाली बजारमा यस्तो शक्तिशाली फेन ल्याउन पाउँदा हामी अत्यान्त उत्साहित भएका छौं ।’ बक्सीले पहिलो पटक सबैसँग यो फेनलाई परिचित गराइसकेको भन्दै डिजाइ, क्राफ्टमेनसिप, अनि टेक्नोलोजिको दृष्टिकोबाट एरोक्वाइटले सर्वश्रेष्ठ उदाहरण पेश गर्न सक्ने बताए । उनका अनुसार चाँडै यो एरियो शृंखलामा फेनको अन्य प्रकार पनि बजारमा लञ्च गर्ने तयारी भइरहेको छ । हेड ब्राण्ड एवम् कर्पोरेटिभ कम्युनिकेशन ओरियन्ट इलेक्ट्रिकका अंशुबन चक्रवर्तीले फेनको सर्वप्रीय उत्पादक एवम् विशेषज्ञ भएको दाबी गर्दै भने, ‘नेपाल हाम्रो निम्ति महत्वपूर्ण बजार रहेको छ । जहाँ ५० प्रतिशतभन्दा धेरै शेयर एक्सपोर्ट गरिएको छ । इलेक्ट्रो टेक २०१६ को हामी एउटा अंग हुन पाएकोमा गर्भ गर्छौ ।’ ओरियन्ट एरोक्वाइट १२०० एमएम स्विप र सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ । ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको बताइएको छ । स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ। विभिन्न प्रकारका राम्रा राम्रा डिजाइनमा हाइ ग्रोस प्रिमियम पियु फिनिस भएका फेनहरू छन् । यसको स्पिण्डल कबर भएको टब अनि बटम फेनोपी डिजाइन रहेको छ । टपको रिम अनि यसको माथिल्लो भाग स्टेनलेस स्टिलले सजिएको छ । सबै ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिज प्रा.लि. काठमाडौंद्वारा वितरण गरिने जनाइएको छ । यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँ सम्म पर्नेछ । के हो ओरियन्ट इलेक्ट्रोनिक्स ? ओरियन्ट इलेक्ट्रोनिक्स १.६ बिलियन अमेरिकी डलरको लगानीमा बनेको सिके बिरला ग्रुप भारतको एउटा अंग हो । ओरियन्ट भारतमा हाउसहोल्ड नाम बनेको छ । ओरियन्ट फेन इन्डस्ट्रिज भारतमा ६० वर्षदेखि सञ्चालनमा छ । भारतमा यसको मूल रूपमा उत्पादन सुविधा भए पनि यसको सञ्चालन लगभग विश्वका विभिन्न ३५ देशहरूमा हुन्छ । यो ब्राण्डले इनोभेटिभ साथै उच्चकोटीको उत्पादन प्रदान गर्दै करौडौं ग्राहकहरूमा विश्वसनीयता कायम गरेको छ। यसले फेन मात्र उपलब्ध नगराएर एप्लाइन्स, लाइटिङ अनि स्वीच गियर पनि उपलब्ध गराउँछ। ओरियन्ट इलेक्ट्रिक इलेक्ट्री सोलुसनको क्षेत्रमा वान स्टोभ सोलुसन प्रोभाइडरको रूपमा आफ्नो बजार बनाएको छ। सीके बिरला भारतकै उत्कृष्ट बहुराष्ट्रिय कम्पनी सीके बिरला ग्रुप १.६ बिलियन अमेरिकी डलको लगानीमा सञ्चालित छ । यसले म्याग्निफ्याक्टरिङ इन्जिनियरिङ, टेक्नोलोजी, हस्पिटल र शिक्षाको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाइसकेको बताइन्छ । यसमा २० हजारभन्दा धेरै कर्मचारीहरू कार्यरत छन्। ३०वटा म्याग्नीफ्याक्टरिङ फेसिलिटिज अनि ग्राहकमा आधारित कतिपय विश्वका प्रख्यात कम्पनी पनि समावेश छन् ।
गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने तीन उद्योगमा सिलबन्दी
काठमाडौं, ५ मंसिर । नेपालमा सिमेन्ट उद्योगहरु थपिंदै गएपनि यसको गुणस्तरमा भने अझै सुधार हुन सकिरहेको छैन । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको अवस्थामा गुणस्तर कायम गर्न उत्पादन अगावै नेपाल गुणस्तरको प्रमाणपत्र लिनुपर्ने प्रावधानका बाबजुद पनि बजारमा गुणस्तरहिन सिमेन्ट उपलब्ध भइरहको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । विभागले बजार अनुगमनका क्रममा पटक–पटक गुणस्तरहिन सिमेन्ट फेला पारेपछि वीरगंजका दुई र भैरहवाको एक सिमेन्ट उद्योगलाई एक हप्ता अघि सिलबन्दी गरेको छ । सिलबन्दी हुने उद्योगहरूमा वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा पर्ने कलश सिमेन्ट र बाराको बकुलिया स्थित अरनिको सिमेन्ट उत्पादन गर्ने एडभान्स सिमेन्ट कम्पनी तथा भैरहवाको रिलायन्स सिमेन्ट रहेका छन् । बजार अनुगमनका क्रममा गुणस्तरहीन सिमेन्ट भेटिएपछि विभागले एक महिना पहिले नै पत्राचार गरी गुणस्तरयुक्त सिमेन्ट बजारमा पठाउन निर्देशन दिएको थियो । उद्योगले अटेर गरेपछि विभागले अर्को निर्णय नभएसम्म उत्पादन रोक्न निर्देशन दिंदै कम्पनीमा सिलबन्दी गरेको हो । नापतौल तथा गुणस्तर नियन्त्रण विभागले गुणस्तरहीन सिमेन्ट बजारमा पठाएको कारण सिलबन्दी गरिएको बताए पनि उद्योगीले भने हचुवाको भरमा प्रमाण विना नै पूर्वाग्रह राखेर सिलबन्दी गरेको आरोप लगाएका छन् । विभागले स्पष्टिकरणको मौका नै नदिई एकाएक सिलबन्दी गरेको उद्योगी एवं कलश सिमेन्टका सञ्चालक अनिल पटवारीले बताए । उनले विभागले हचुवाको भरमा सिलबन्दी गरी उद्योगको उत्पादनसमेत ठप्प पारेको आरोप लगाए । त्यसैगरी रिलायन्स सुपरटेक सिमेन्ट उद्योगका प्रबन्धक विनय झाले सिलबन्दी गरिएपनि के-कति कारणले सिलबन्दी गरिएको हो त्यस विषयमा जानकारी नभएको बताए ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले २२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्दै
काठमाडौं, ५ मंसिर । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत गर्षका नाफाबाट आफ्ना सेयरधनीलाई करिब २३ प्रतिशत लाभांश दिने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस सेयर दिने र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय बीमा समितिबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ । बोनस सेयर चारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड २२ लाख रुपैयाँ हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड १२ लाख रुपैयाँ रहेको छ ।
सेयर बजार तिव्र रुपमा ओरालो लाग्दै, सवै उपसमूह पनि रातै
काठमाडौं, ५ मंसिर । साताको पहिलो दिन कारोबार खुलेदेखि नै बजार तिव्र रुपमा ओरालो लागेको छ । काराेबार खुलेकाे ढेड घणटामा नै नेप्से परिसूचक बजार ६१ अंकले ओरालो लागेको छ । बजार पुरै राताम्य भएकाे छ । लगानीकर्ताहरू अात्तिएकाे देखिएकाे छ । सबैभन्दा बढी बीमा समूहकाे परिसूचक ३११ अंकले ओरालो लागेको छ । बैंकिङ समूहको परिसूचक ६९ दशमलव ३६ अंकले ओरालो लागेको छ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैकिङ समूहकाे रहेकाे छ । जलविद्युत ६६ दशमलव ४३, होटल ५९ दशमलव ७९, विकास बैंक ४८ अंकले ओरालो लागेको छ । मूल्यमा उच्च गिरावट अाएपनि काराेबार भने बढी देखिएकाे छ । काराेबार खुलेकाे ढेड घण्टामा करिव ४० कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।
ठूला अर्गनाइजेसनले नै तिरेनन् कर,कर नतिर्नेलाई कालोसूचीमा राखेर कारबाही गर्छौ —उपमहानगरपालिका
मोरङ,५ मङ्सिर । विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दै आएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । विराटनगरका उद्योगी व्यवसायीले घरजग्गा करबापत दुई करोड भन्दा बढी तिर्नुपर्ने देखिएपछि उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न बाँकी देखिएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार पटक पटक ताकेता गर्दासमेत उद्योगी व्यवसायीले कर चुक्ता गर्न चासो देखाएका छैनन् । कालोसूचीमा परेका करदातालाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिस उपलब्ध नगराउने र मालपोत कार्यालयमा घर जग्गा रोक्कासमेत गरिने कार्यकारी अधिकृत कोइरालाको भनाइ छ । कर चुक्ता नगर्ने अग्रपङ्क्तिको सूचीमा मुरारका ग्रुप, गोल्छा अर्गनाइजेसन, सारडा ग्रुप, दुगड ग्रुप देखिएका छन् । अर्बौं रुपैयाँको कारोबार गरी नगर क्षेत्रमा बसोबास गरिरहेका ठूला व्यापारीले जग्गा कर चुक्ता नगर्दा सर्वत्र आलोचना हुन थालेको छ । विराटनगर उपमहानगरपालिका राजस्व शाखाका अनुसार विराटनगर–८ बस्ने किसनलाल दुगडले २०६७÷६८ देखिको घरजग्गा करबापत १५ लाख रुपैयाँ तिर्न बाँकी देखिएको छ । उनले कर बुझाउनका लागि पठाएको कार्यालयको पत्र नै बुझ्न नमानेको राजस्व शाखाले दाबी गरेको छ । यस्तै विराटनगर–८ बस्ने विनोद दुगडले १० लाख, रुपैयाँ विवेक दुगडले पाँच लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी देखिएको छ । विराटनगर–६ स्थित सारडा गु्रपअन्तर्गतको हेटौडा आइरनले सात वर्षदेखि कर चुक्ता गरेको छैन । सारडा गु्रपले उपमहानगरपालिकालाई १० लाख रुपैयाँ कर बुझाउन बाँकी देखिएको छ । श्याम सुन्दर सारडाले २०६४ सालदेखिको तीन लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ । यस्तै विराटनगर–९ का प्रदीप मुरारकाले सात लाख र अशोक मुरारकाले छ लाख रुपैयाँ कर बुझाउन बाँकी छ । नमस्कार होटलका कृष्णगोपाल श्रेष्ठले हालसम्म घर जग्गाबापतको कर चुक्ता नगरेको बुझिएको छ । उक्त होटलले नगरपालिकालाई १० लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ । श्रेष्ठले पनि कार्यालयको पत्र नबुझेको राजस्व शाखाले जानकारी दिएको छ । विराटनगर–९ का दुर्गामानसिंह कार्कीले वसुन्धरा मार्केटको २०६९ सालदेखिको कर चुक्ता गरेका छैनन् । कार्कीले नगरपालिकालाई बुझाउनुपर्ने कुल रकम रु छ लाख देखिएको राजस्व शाखाले जनाएको छ । रासस
प्राधिकरणका कर्मचारीलाई मन्त्रीले भने— नटबल्ट तार जस्ता कुरामा नाफा नखानुहोस्, तपाईहरुको नाफा अरुणको सेयर
चितवन, ५ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले नटबल्ट, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिए । कर्मचारीले सानातिना कुरामा ग्राहकलाई दुःख दिने र पैसा माग्ने गरेको गुनासो आएको छ भन्दै उनले कसैले यस्ता काम गरेमा सोझै मन्त्रालयको गुनासो महाशाखामा खबर भएमा त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गरिने बताए । उनले भने “प्राधिकरणलाई नाफामा लैजाने गरी काम तपाईँहरु गर्नुहोस्, तपार्इँहरुलाई लाभ हुने गरी अरुणको सेयर पाउनुहुनेछ ।” ग्राहक बढेमा मात्रै प्राधिकरण नाफामा जाने भन्दै उनले ग्राहकमुखी काम गर्नुपर्ने बताए । मन्त्रालयले जारी गरेको ३७ बुँदे कार्यक्रम अन्तर्गत रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले छिट्टै स्माटमिटर वितरण गरेर ग्राहकलाई घरबाटै पैसा तिर्ने सुविधा दिने तयारीमा प्राधिकरण लागेको जानकारी दिए । सुकुम्वासीलाई समेत विद्युत् उपभोग गर्ने अधिकार भएको छ भन्दै मन्त्री शर्माले लालपुर्जाबिना मिटर बक्स नदिएको भन्ने सुन्न आएकाले त्यसो नगर्न निर्देशन दिए । ‘नेपालका लागि नेपालीको लगानी’ भन्ने नाराका साथ मन्त्रालयले विद्युत् उत्पादनमा जोड दिएको बताउँदै उनले एक हजार ५०० मेगावाटले पुग्छ भन्ने होइन, १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ भने । रासस