विकासन्युज

महाभुकम्पमा पेट्रोलियमको ब्यवस्थापन यसरी गरियो

ई. गोपाल बहादुर खड्का कार्यकारी निर्देशक, नेपाल आयल निगम लिमिटेड जनताको दैनिक जनजीविका सँग प्रत्यक्ष जोडिएको नेपाल आयल निगमको कार्यकारी निर्देशकमा म नियुक्त भएको आज सय दिन पुगेको छ । यस अवधिमा मैले गरेका काम कार्बाहीका बारेमा सबैलाई सुुुसुचित गर्न उचित ठानेको छु । म निगममा आउनु अघि पेट्रोलियम पदार्थ र खाना पकाउने एल. पि. ग्याँस सहज रुपमा उपलब्ध थिएन र म आउन साथ केही दिन बजारमा ग्याँसको अभाब भएको सर्वबिदितै छ । तर मैले केही समयमै ईण्डियन आयल कर्पोरेसनसँग समन्वय गरेर ग्याँसलाई सहज बनाएको थिएँ । ग्याँसको सहज वितरण र व्यवस्थापनको लागि छुट्टै समिति समेत बनेको छ । २०७१ साल माघ महिनामा ईण्डियन आयल कर्पोरेसनमा भ्रमण गरि ग्याँस तथा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि वातावरण मिलाएको छु । अहिले बजारमा ग्याँसको अभाब छैन र आगामी दिनहरुमा पनि ग्याँसको अभाब हुन नदिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । त्यस्तै पेट्रोलियम पदार्थको पनि अभाव हुन नदिने बिश्वास दिलाउन चाहन्छु । ग्याँसको कालो बजारी हुन सक्ने अवस्थालाई मध्ये नजर गर्दै यस बीचमा निगमले ग्याँस उद्योगहरुसँग ग्याँस सिलिण्डरको तथ्यांक अनिवार्य उपलब्ध गराउन उर्दी जारी ग¥यो । ग्याँस उद्योगहरुले पेश गरेको सिलिण्डर संख्या विश्वसनीय होस र निगमले तोक्ने ग्यांसको कोटा तथ्यपरक होस भन्ने मनसायले ग्याँस उद्योगीहरुको सिलिण्डर संख्या यकिन गर्न निगमले माग गरे बमोजिमको विलविजक पेश गरे अनुरुप ‘भेरिफाइ’ गरिएको विवरणलाई अभिलेखीकरण गर्न एक कमिटी गठन गरिएको छ । सो कमिटीले हाल अभिलेखीकरण र ‘भेरिफाइ’ गर्ने कार्य गरिरहेको छ । पेट्रोलियम पदार्थ र ग्याँसको सहजीकरणसगँै म निगममा आए पछि ऋण तिर्ने अभियान नै चलाएको छु । गत चैत र यो बैशाख महिनामा मात्रै ईण्डियन आयल कर्पोरेसनको ५ सय ४८ करोड, नागरिक लगानी कोषको ३ सय करोड , कर्मचारी सञ्चय कोषको १ सय ५० करोड ऋण निगमले तिरेको छ भने मुल्य स्थिरीकरण कोषमा २ सय ६० करोड रुपैयाँ जम्मा गरेकोे छ । र पुनः कर्मचारी सञ्चय कोषको २ सय करोड र नागरिक लगानी कोषको १ सय करोड ऋण तिर्ने निर्णय गरि सकिएको छ । साथै अरु ऋणहरु पनि तिर्ने तयारी गरिएको छ । त्यस्तै भारतसँग भएको पाईपलाईन बिस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । पाइप लाइन बिस्तार कार्यको लागि निगमका प्रतिनिधीहरु मिति २०७१।१२।१२ देखि १५ सम्म भारतीय आयाल निगम नयाँ दिल्ली गई पाइपलाइनको कार्य अगाडी बढाउने काम गरेको छ । आशा गरौँ निकट भबिष्यमै पाईपलाईन बिस्तारको काम सुरु हुनेछ । महाभुकम्पकसँग पौठाजोरी गरिरहेका आम नेपालीहरुलाई सहज रुपमा ग्याँस तथा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आयल निगम सक्षम भएको सर्वविदितै छ । महाभुकम्पको प्रलय गईरहँदा पेट्रोलियम पदार्थ सहज बनाउन ईण्डियन आयल कर्पोरेसनको तीन सदस्यीय प्रतिनीधी मण्डललाई नै नेपाल झिकाएर पेट्रोलियम पदार्थलाई सहज बनाईयो । भुकम्प पछि नेपालमा खाना पकाउने ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुने सभांबनालाई मध्यनजर गर्दै उनीहरुलाई नेपाल बोलाईएको थियो । उनिहरुले नेपाल आयल निगमसँग समन्वय गरेर पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाईदिएका थिए । अहिले बिश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढे पनि निगमले हामीकहाँ नबढाउने निर्णय गरेको छ । छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मुल्य बढे पनि नेपालमा तत्कालै बढाइने छैन । गत मई १ गतेबाट पेट्रोलियम पदार्थको मुल्य बढाएको ईण्डियन आयल कर्पोरेसनले मई १ बाटै नेपाललाई पनि मुल्यबृद्धि गरि पेट्रोलियम पदार्थ पठाएको थियो । तर, माहाभुकम्पले धनजनको ठूलो क्षति भई नेपालीको जनजीविकामा समेत प्रत्यक्ष असर परेकाले यहाँ पेट्रोलियम पदार्थको मुल्यमा कुनै परिवर्तन नगरिएको हो । त्यस्तै, नेपाल आयल निगमले कर्मचारीको तलबबाट भुकम्पपिडीतलाई २१ लाख १९ हजार ३३ रुपैयाँ ५३ पैसा उपलब्ध गराएको छ । कार्यकारी निर्देशकको १५ दिनको, अधिकृतहरुको १० दिनको र सहायक स्तरका कर्मचारीको ५ दिनको तलब बराबरको रकम निगमले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । यस अघि नेपाल आयल निगमले भुकम्पपिडितलाई निःशुल्क खाने पानी वितरण गरेको थियो । निगमले उपत्यकामा टेण्ट हाली बसेका पिडितहरुलाई टेण्टस्थलमै खाने पानी उपलब्ध गराएको हो । सिहंदरवार, सविंधानसभा भवन, तीनकुने, भक्तपुर, ललितपुरका विभिन्न स्थलमा त्रिपालमा बसेका पिडितहरुलाई खाने पानी वितरण गरिएको हो । निगमले १ हजार लिटरको १० ओटा पानीको ट्याकीं समेत उपलब्ध गराएर पिडितहरुलाई खाने पानी सहज बनाई दिएको थियो । निगमको काम कार्बाहीलाई अगाडी बढाउन सहयोग गर्ने सरकार, निगम सञ्चालक समिती, निगमका कर्मचारी, सघँ, सगंठन र यूनियन तथा पेट्रोलियम तथा ग्याँस ब्यवसायी र सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहयोग र सद्भाबको अपेक्षा राख्दछु । (आफ्नो कार्यकालको सय दिन पुगेको अवसरमा कार्यकारी निर्देशक खड्काले राखेको विचारको सम्पादित अंश)

भूकम्प पीडितका लागि एनआरएनले ३५ करोड खर्चेर हजार घर बनाईदिने

२३ बैशाख । गैर आवासिय नेपाली संघ(एनआरएन)ले महाभूकम्पमा घरबारबिहिन भएका नेपालीहरुका लागि ३५ करोड खर्चेर एक हजार घर निर्माण गरिदिने भएको छ । पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तिम चरणमा पुर्याएको एनआरएनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भूकम्प पीडितको पुनःबासका लागि वातावरण मैत्री एक हजार घर निर्माण गर्ने घोषणा गरेको हो । सरकारसँग समन्वय गरि स्थानिय कला संस्कृति र विनाश पुर्वको संरचना झल्कने गरि भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने संघका अध्यक्ष शेष घलेले बताए । कुन कुन जिल्लाका कहाँ कहाँ घर निर्माण गर्ने भन्नेबारे भने विस्तृत अध्ययन बाँकी नै रहेको उनले जानकारी दिए । ‘देश भूकम्पले आहत बनेको छ, हामीले सानो सहयोग स्वरुप भूकम्प प्रतिरोधी र वातावरण मैत्री एक हजार घर बनाउने निर्णय गरेका छौं ।’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष घलेले भने । उनले बिभिन्न दातृ निकायहरुले समेत आफुहरुसँग सहकार्य गर्ने इच्छा देखाएकाले हौसिँदै एक हजार घर निर्माण गर्ने योजना बनाएको पनि बताए । संघले भूकम्प पिडितका लागि करिब १० करोड मुल्य बराबरका राहत सामग्री वितरण गरिसकेको जानकारी समेत अध्यक्ष घलेले दिए । १० करोडको राहत वितरण गर्ने घोषणा अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको र बाँकी २० प्रतिशत राहत पनि वितरणका लागि पठाईरहेको घलेको भनाई थियो । उनले सरकारले भूकम्प पीडितको उद्धार तथा राहतमा महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै दातृ निकायहरुले भने सहज ठाउँमा मात्रै राहत बाँडेको आरोप समेत लगाए ।

मन्त्रालयको बजेट कटौती गरेर राहत र पुननिर्माण गरिने

विकासन्युज/काठमाडौं २३ बैशाख । सरकारले सवै मन्त्रालय र केन्द्रीय निकायको केहि बजेट कटौती गर्ने योजना बनाएको छ । विनासकारी भुकम्पपछि राहत, उद्धार र पुन निर्माणमा धेरै रकम चाहिने भएकोले बजेट कटौतीको तयारी भएको हो । चालु आर्थिक बर्षकै लागि छुट्याइएको बजेट कटौतिको तयारी अर्थमन्त्रालयले गरेको हो । यसरी बजेट कटौति गर्दा सम्बन्धित मन्त्रालय र केन्द्रीय निकायसँग पनि समन्वय गरिने अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्माले जानकारी दिए । ‘बिनासकारी भुकम्पको कारण भएको क्षतिको राहत, उद्धार र पुननिर्माणको लागि ठूलो परिमाणमा रकमको अभाव भएको छ, पहिला विनियोजन गरिएको बजेटबाट केहि रकम कटौति गर्ने कि भन्ने विषयमा छलफल हुदैछ,’ सचिव शर्माले भने । पहिलो चरणमा सवै मन्त्रालय र केन्द्रीय निकायहरुलाई आफैले फिर्ता गर्न सकिने बजेटको विवरण दिन भनिएको र समयमै विवरण प्राप्त नभए अर्थमन्त्रालय आफैले बजेट कटौती योजना बनाएको छ । विनियोजन गरिएको तर अहिलेसम्म खर्च हुन नसकेको विकास बजेट पनि कटौती गर्ने कि भन्ने विषयमा अर्थमन्त्रालयमा छलफल चलिरहेको छ । सरकारले २ खर्ब रुपैयाँको पुन निर्माण कोष स्थापना गर्ने र त्यसमा २० अर्ब रुपैयाँ आफूले राख्ने घोषणा गरिसकेको छ । कोषमा बाकी रहेको १ खर्ब ८० अर्ब रुपैयाँ दातृ निकायवाट प्राप्त हुने अपेक्षा सरकारको छ । यस्तै आन्तरिक राजस्व विभागले चालु आर्थिक बर्षको विनियोजित बजेट रकम मध्ये २० करोड रुपैयाँ रुपैया फिर्ता गरेको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट महाभूकम्पबाट प्रभावित नागरिकहरुको खर्च, उद्दार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन ठूलो रकमको आवश्यकता पर्ने र सो रकम सम्भव भएसम्म चालु वर्षको विनियोजित बजेटबाटै गर्न सबै मन्त्रालयलाई के कति रकम वचत हुन सक्दछ भनी सार्वजनिक परिपत्र गरिएको थियो । आन्तरिक राजस्व विभागले देशमा भएको यस्तो गम्भिर परिस्थितिलाई मध्यनजर गर्दै विभागलाई प्राप्त आ.व. २०७१/०७२ को विनियोजित बजेटको चालु खर्चतर्फ कटौती गर्दै २० करोड रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको विभागले जानकारी दिएको छ ।

पौने तीन लाख घर ध्वस्त, दुई लाख ६० हजार टेन्ट र ९९ हजार क्विन्टल खाद्यान्न बाँडियो

  २३ बैशाख । महाभूकम्पका कारण मुलुकमा दुई लाख ८९ हजार नौ सय ९५ घर ध्वस्त भएका छन । गृहमन्त्रालयले गरेको प्रथम चरणको अध्ययनबाट यस्तो तथ्यांक सार्वजनिक भएको हो । महाभूकम्पको प्रथम चरणको अध्ययन अनुसार सर्वसाधारणको दुई लाख ७९ हजार दुई सय ३४ वटा घर ध्वस्त भएका छन् भने सरकारी भवनहरु १० हजार सात सय ६१ वटा ध्वस्त भएका छन् । त्यस्तै, सर्वसाधारणको दुई लाख ३७ हजार ६८ घरमा क्षति पुगेको छ भने १४ हजार आठ सय ६८ वटा सरकारी भवनमा पनि क्षति पुगेको छ । नेपालको कुल घरधुरीको ९.८९ प्रतिशत घरहरुमा क्षति पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा ५४ लाख ७७ हजार दुई सय २४ घरधुरी रहेका छन् । दुई लाख त्रिपाल महाभूकम्प पछि सरकारी तथा अन्य क्षेत्रले हालसम्म दुई लाख ६० हजार सात सय ९९ सय वटा त्रिपाल वितरण गरेका छन । त्यस्तै चार हजार पाँच सय २३ वटा ब्ल्याङकेट वितरण गरिएको छ । ९९ हजार क्विन्टल खाद्यान्न वितरण महाभूकम्पका पीडितलाई हालसम्म ९९ हजार चार सय ८५ क्विन्टल खाद्यान्न वितरण गरिसकिएको छ । सरकारी र अन्य क्षेत्रका तर्फबाट भूकम्प पीडितलाई सो मात्रामा चामल र चिउरा वितरण गरिएको हो । त्यसैगरि, हालसम्म दुई लाख १० हजार छ सय ९९ कार्टुन चाउ चाउ र बिस्कुट उपलब्ध गराईएको छ । मर्नेको संख्या साढे सात हजार महाभूकम्पका कारण सात हजार चार ६ सय ५२ जनाले ज्यान गुमाएका छन् । बैशाख २३ गते बिहान सार्वजनिक गरिएको पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढि सिन्धुपाल्चोकमा दुई हजार नौ सय ३९ जनाले ज्यान गुमाएका छन् भने काठमाडौंमा १२ सय नौ जनाले ज्यान गुमाएका छन् । त्यस्तै नुवाकोटमा मर्नेहरुको संख्या नौ सय नौ पुगेको छ भने धादिङमा सात सय दुई जनाको मृत्यु भएको छ । रसुवामा चार सय ५६ जना र गोरखामा चार सय १२ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै, भक्तपुरमा तीन सय १८ जनाले ज्यान गुमाएका छन् भने काभ्रेमा तीन सय १६ जनाको ज्यान गएको छ । सरकारले हालसम्म सात हजार तीन सय ६९ जनाको शव हस्तान्तरण गरिसकेको जनाएको छ । १४ हजार तीन सय ७१ जना घाईते भएका मध्ये छ हजार ८२ जनाको उपचार भैरहेको छ । अझै तीन सय ३२ जना हराईरहेको पनि मन्त्रालयले जनाएको छ । महाभूकम्पमा उद्धार तथा राहतका लागि सरकारले एक लाख ३१ हजार पाँच सय ६७ जना सुरक्षा कर्मी तथा २२ हजार पाँच सय निजामति कर्मचारी खटाईरहेको छ ।

चौधरी ग्रुपले २५ करोड सहयोग दिने

विकासन्युज/काठमाडौं २३ बैशाख । औद्योगिक घराना चौधरी ग्रुपले विनासकारी भुकम्पवाट क्षति भएकाहरुको लागि २५ करोड रुपैयाँ राहत दिने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ग्रुपका अध्यक्ष विनोद कुमार चौधरीले यस्तो राहतको घोषणा गरेका हुन् । यस्तै ग्रुपले १० हजार ओटा घर तथा सयवटा विद्यालय भबन पुननिर्माण गर्न सहयोग गर्ने पनि जानकारी दिइएको छ ।

पार्क होराइजनमा बस्नै नमिल्ने, छ वटा अपार्टमेन्टलाई पहेँलो र पाँच वटालाई निलो स्टिकर

 २२ वैशाख । सहरी विकास तथा भवन निर्माण विभागले धापासीको पार्क भ्यु होराईजन अपार्टमेन्टलाई बसोबास गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको छ । बिभागको अनुगमन टोलीले महाभूकम्पका कारण होराईजनका पिलर तथा विममा समेत क्षति पुगेको भन्दै बसोबासका लागि अयोग्य रहेको निष्कर्षसहित रातो स्टिकर टाँसेको हो । बिभागको अनुगमन टोलीले  उपत्यकाभित्रका अपार्टमेन्ट र संयुक्त आवास भवनमा भएको क्षतिका सम्बन्धमा स्थलगत अध्ययन गरी भवनको वास्तविक अवस्थाका बारेमा अहिले विभागका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशी संयोजकत्वको टोलीले स्थलगत रुपमा द्रुत लेखाजोखा मूल्याङ्कन गरिरहेको छ । भूकम्पले धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा संरचनागत क्षति पुर्याए पनि अन्य अपार्टमेन्टमा भने घरभित्रका भित्ता मात्र चर्किएको सहरी विकास तथा भवन निर्माण विभागबाट गएको अनुगमन टोलीले जनाएको छ । टोलीले हालसम्म एक दर्जनभन्दा बढी अपार्टमेन्टको स्थलगत अध्ययन गरी रातो (बस्न नमिल्ने), पहेँलो (सामान झिक्न तथा मर्मत गरेर बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) तीन भागमा वर्गीकरण गरी सोही किसिमका स्टिकर टाँस्ने कामसमेत सुरु गरेको छ । बुधबारदेखि अनुगमन थालेको टोलीले सर्वसाधारणको जानकारी र सावधानीका लागि धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा रातो स्टिकर टाँसेको हो भने अनुगमन गरिसकेका अन्य छ अपार्टमेन्टमा पहेँलो र पाँच अपार्टमेन्टमा हरियो स्टिकर टाँसेको छ । अनुगमनपछि टोलीले चण्डोलको प्रेस्टिज, बालुवाटारको विनायक, धुम्बाराहीको ग्य्रान्ड, टोखाको ग्य्रान्डी–१, टोखाको ग्य्रान्डी–२ र हात्तिबनको सिटिस्क्याप अपार्टमेन्टमा पहेँलो स्टिकर टाँसेको छ भने भाटभटेनीको इन्दे्रणी–१, भाटभटेनीको इन्दे्रणी–२, भाटभटेनीस्थित भाटभटेनी, लाजिम्पाटको टिसिएच र धुम्बाराहीस्थित धुम्बाराही अपार्टमेन्टमा हरियो स्टिकर टाँसिसकेको छ । उपत्यकाका तीनै जिल्लामा विभिन्न व्यक्ति र कम्पनीले विभागबाट ७० अपार्टमेन्ट निर्माणका लागि स्वीकृति लिएको र त्यसमध्ये निर्माण कार्य सम्पन्न भएकामध्ये ३० भवनमा मानिस बसिसकेको विभागको तथ्याङ्क छ । भूकम्पले राजधानीका अपार्टमेन्ट चर्किएपछि अधिकांश मानिस कि घर छोडेर बाहिर आफन्तको शरणमा बसेका छन् कि सोही घरमा डराएर बस्न बाध्य छन् ।

राहत वितरणमा शिर्ष नेताको दौडधुप(फोटो फिचरसहित)

बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट पिडितहरुलाई राहत वितरण गर्न शिर्ष नेताहरु आफैं दौडधुप गरिरहेको छ । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राहत वितरणमा जुटेको एक हप्ता नाघि सकेको छ भने अर्का बरिष्ठ नेता झलनाथ खनालले समेत राहत वितरण गरेका छन् । फोटोः नेताहरुको फेसबुकबाट एमाओवादीका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राहत वितरणमा सक्रियता बढाएका छन् भने एमाओवादी कै बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राजधानी तथा गोरखामा राहत वितरण गरेका छन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भूकम्प पिडितलाई साथ दिन भन्दै तनहुँ गएका छन् । नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले सरकार प्रमुखका रुपमा सोमबार सिन्धुपाल्चोक भ्रमण गरेका छन् । एमाले सचिव तथा युवा नेता योगेश भट्टराईले पनि गोंगबुमा राहत वितरण गरिरहेका छन् । काँग्रेस युवा नेता गगन थापाले राजधानीकै बिभिन्न स्थानमा राहत बाँढिरहेका छन् । तराई मधेश केन्द्रित राजनीतिक दलका नेताहरुले समेत राहत वितरणमा आफुलाई सक्रिय बनाएका छन् । उपेन्द्र यादव र हृदयेश त्रिपाठीले भूकम्प पिडितलाई राहत वितरण गरेका हुन् । भूकम्प पिडितलाई राहत वितरणमा खटिएका नेताहरुले आफ्नै प्रयासमा संकलित समाग्री वितरण गरिरहेका छन् । हप्ता अघि देखि माधव नेपाल एमाले बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्प पिडितको उद्धार तथा राहत वितरणमा एक हप्ता अघि देखि नै सक्रियता देखाउँदै आएका छन् । उनले बैशाख १४ गते बिहानै देखि राजधानीका बिभिन्न क्षेत्रको भ्रमण, पिडितसँग भेटघाट तथा राहत वितरण गर्दै आएका छन् । उनले आफ्नै पहलमा संकलित एक हजार बोरा चामल वितरण गरेका थिए । यसबिचमा उनले भुकम्पपछि पुनःनिर्माणका लागि बिभिन्न कुटनितिक नियोगका प्रमुखहरुसँग निरन्तर छलफल समेत गरिरहेका छन् । किर्तिपुर हुँदै सिन्धुपाल्चोकसम्म प्रचण्ड एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुरदेखि सिन्धुपाल्चोकसम्म पुगेर राहत वितरण गरेका छन् । किर्तिपुर प्रचण्डको निर्वाचन क्षेत्र पनि हो भने सिन्धुपाल्चोकमा उनी अग्नि सापकोटासँग राहत बाँढ्न गएका हुन् । झलनाथ र योगेशसँगसँगै एमालेकै बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गोंगबु क्षेत्रका पिडितलाई राहत वितरण गरेका छन् । एमाले सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको गोंगबुमा खनालले भट्टराईसँगै गएर राहत वितरण गरेका हुन् । गोरखामा बाबुराम एमाओवादीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पबाट अति प्रभावित गृह जिल्ला गोरखामा राहत बाँढीरहेका छन् । उनले राहत वितरणमा दलगत र गुटगत प्रवृति नदेखाउन समेत आग्रह गरेका छन । उनले फेसबुकमा लेखेका छन्–‘मैले आफ्नो तथा पार्टीको पहलमा संकलित राहत सामाग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति मार्फत नै पठाउँदै आएको छु र जेजति संकलित हुनेछ त्यही प्रक्रियाबाटै वितरण गर्नेछु !’ रामचन्द्रको तनहुँ अभियान रामचन्द्र पौडेलले बैशाख २० गते आफ्नो फेसबुकमा यस्तो लेखेका छन्– म महाभुकम्प पछिको अवस्थाका वारेमा जानकारी लिन तथा राहात तथा उद्धार एवं पुननिर्माण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी लिन आजवाट केही दिन तनहूँ लमजुङ्ग र गोर्खा रहनेछु । उनले तनहुँमा भूकम्प पिडितका लागि राहत वितरण गरिरहेका छन् भने पुनः निर्माणको खाकाबारे सकारोवाला निकायहरुसँग छलफल समेत गरिरहेका छन । दौडमा मधेशी नेता पनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार भक्तपुर क्षेत्रका भूकम्प पिडितलाई राहत बाँढेका छन् । त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि शनिबारै गोरखा पुगेर राहत वितरण गरेका छन् ।

राजधानीका कर्पाेरेट बिल्डिङहरु भूकम्पबाट प्रभावित

२१ बैशाख । महाभुकम्पबाट सिंगो मुलुक प्रताडित भएता पनि काठमाडौं उपत्यका भित्रका बस्तीहरुमा भने तुलनात्मक रुपमा प्रभाव कम देखिएको थियो । तर आर्थिक कारोबारका केन्द्रका रुपमा स्थापित चक्रपथ भित्रका ठुला कर्पाेरेड बिल्डिङहरुमा भने भूकम्पको प्रभाव देखिएको छ । चक्रपथ भित्रका अधिकांश कर्पाेरेट विल्डिङहरु चर्किएका छन् भने केहि ठुला अपार्टमेन्टमा चिरा समेत परेको छ । सुन्धारास्थित सिटिसी मलको सैयौं ठाउँमा चिरा परेको छ । मलको अघिल्लो तथा काठमाडौं महानगरपालिका पट्टीको भागमा ठाउँ ठाउँमा चिरा परेको देख्न सकिन्छ । फाईभ स्टार सुबिधा सहितको सिनेमा हल तथा भर्खर मात्रै मोबाइल बजार सञ्चालनमा आएको सिटिसी मल पनि व्यवसायीक भवनका रुपमा स्थापित हुँदै थियो । तर महाभूकम्पका कारण चिरा परेसँगै यो मल बन्द गरिएको छ । उता, दरबारमार्गमा रहेको नबिल बैंकको केन्द्रिय कार्यालयमा पनि चर्किएको छ । नबिलको केन्द्रिय कार्यालयको मुख्य प्रवेशद्धारको दुबै पट्टीको भाग चर्किएको देखिन्छ । दरबारमार्गकै राईजिङ मललाई पनि महाभूकम्पले पिरोलेको छ । यो मलका पनि ठाउँ–ठाउँमा चर्किएका छन् । हात्तिसारको साखः स्टिलको भवन पनि चर्किएको देखिन्छ । भवनको मुल गेटको माथी चर्किएको छ भने केहि पिलरहरुका प्लाष्टर समेत उप्किएको छ । पुतलीसडकै स्टार मल पनि दर्जनौं ठाउँमा चिरा परेको छ । निर्माण सम्पन्न भएर पनि आन्तरिक किचलोका कारण लामो समयसम्म सञ्चालनमा आउन नसकेको यो मल पनि भूकम्पको चपेटामा परेको हो । नेपालमा मलहरुमा सपिङको कल्चर विकास गरेको दावी गर्ने कमल पोखरीको सिटी सेन्टरमा पनि ठाउँ ठाउँमा धाँजा फाटेको छ । सेन्टरका सबै छेउहरु चर्किएपछि यो पनि अहिले बन्द भएको छ । दर्जनौं कर्पोरेट हाउसहरुको कार्यालय रहेको सनराईज बिज पार्कलाई पनि महाभूकम्पले प्रभावित पारेको छ । यस भवनको अगाडी देखि दाँया बायाँ सबै तिर चर्किएका छन् । कालिकास्थानको गगनचुम्बि सिल्भर सिटी अपार्टमेन्टलाई त झन महाभूकम्पले चिरा चिरा पारेको छ । जोडेर बनाईएको यो भवन दुई चिरा बन्ने तयारीमा छ भने यसका भित्ताहरु हजारौं ठाउँमा चर्किएका छन् । चावहिल चुच्चेपाटीको केएल टावरलाई पनि महाभूकम्पको चपेटाले छाडेन् । यसको पनि दायाँवायाँका भित्ताहरु चर्किएका छन् । राजधानीमा कर्पाेरेट बिल्डिङका रुपमा चिनिएका ठुला भवनहरुमा पुगेको क्षतिका कारण अब कर्पोेरेट हाउसहरुलाई कार्यालयको अभाव हुने देखिन्छ ।