कर्मचारीले अवकाश पाउँदा नेपाल बैंकको नाफामा असर, पेन्सन र उपदानका लागि एक अर्ब छुट्याउनु पर्ने
काठमाडौं, २० माघ । चालु आर्थिक वर्षमा झण्डै तीन सय कर्मचारीले अवकाश लिने भएपछि नेपाल बैंकको नाफा प्रभावित हुने भएको छ । अबकाश पाउने कर्मचारीलाई पेन्सन र उपदानमा झण्डै एक अर्ब रुपैयाँ छुट्याउनु पर्ने भएकोले बैंकको नाफामा प्रतिकूल असर पर्ने भएको स्रोतले बतायो । एउटा कर्मचारीले अवकाश पाउँदा करिव ३० लाख ५९ हजार रुपैयाँ भुक्तानी लिएको देखिन्छ । चालु आर्थिक वर्षमा बैंकबाट २९० जना कर्मचारीले अबकाश पाउने भएका छन् । बैंकले दिएको तथ्याङ्क अनुसार मंसिरसम्ममा १३२ जनाले अवकाश पाएका छन् भने १५८ जानाले आगामी असार मसान्तसम्ममा अवकाश पाउने छन् । उनीहरुले पाउने उपदान तथा पेन्सन रकम पुस मसान्तसम्मको नाफाबाट आधा र असार मसान्तसम्मको नाफाबाट आधा प्रोभिजन गर्नुपर्ने स्रोतले बतायो । मंसिरसम्ममा अवकाश पाउने १३२ जना मध्ये २ जनाले एक मुष्ट ६९ लाख ३९ हजार रुपैयाँ (प्रति व्यक्ति ३४ लाख ६९ हजार पाँच सय) बुझेका छन् । ३० जनाले पेन्सन रोजेका छन् । १०० जनाले तेस्रो विकल्प रोजेका छन् । त्यसमा सात वर्षसम्मको पेन्सन रकम एक मुष्ट लिने र त्यसपछि नियमित पेन्सन रकम लिने सुविधा छ । अवकाश पाउने कर्मचारीले उपदान लिन चाहेमा प्रति व्यक्ति न्यूनतम २४ लाख ४८ हजार रुपैयाँ पाउँछन् । मेनेजरले करिव ३८ लाख रुपैयाँ पाउँछ । बढी पाउनेले ४२ लाख रुपैयाँ सम्म पाउने बैंक स्रोतले बतायो । गत आर्थिक वर्षमा ५५ जनाले उपदान सुविधा लिएका छन् । उनीहरुलाई बैंकले १६ करोड ८२ लाख ७० हजार रुपैयाँ भुक्तानी दिएको छ । एउटा कर्मचारीले अवकाश पाउँदा करिव ३० लाख ५९ हजार रुपैयाँ भुक्तानी लिएको देखिन्छ । गत आर्थिक वर्षमा बैंकबाट ३१४ जना कर्मचारी अबकाश भएका थिए । त्यसमध्ये ५५ जनाले उपदान लिएर गएका छन् । अवकाश पाएका २१० जना कर्मचारीले पेन्सन सुविधा रोजेका छन् । ४९ जनाले तेस्रो विकल्प रोजेका छन् । कर्मचारीले उपदान रोजेमा बैंकले तत्काल भुक्तानी दिएर विदा गर्छ । पेन्सन रोज्नेलाई जीवनभर पेन्सन दिनु पर्ने भएकोले बैंकको दाहित्व बढी हुन्छ । पेन्सन रोज्ने कर्मचारीको लागि बैंकले नाफाबाट पेन्सन कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । पेन्सन सुविधा लिने कर्मचारीले जीवनभर पेन्सन सुविधा पाउँछ । साथै, जीवन प्रयन्त श्रीमती तथा नाबालक भएका छोरा छोरीले नावालक अवधिभर पेन्सन सुविधा पाउने व्यवस्था छ । २०५० सालपछि नियुक्त भएका कर्मचारीले भने पेन्सन सुविधा पाउने छैनन् । गत मंसिर २४ गतेसम्म बैंकमा १८४६ जना कर्मचारी छन् । त्यसमा २०५० सालअघि नियुक्ती पाएका छन् । उनीहरुले पेन्सन सुविधा रोज्न सक्नेछन् । २०५० सालपछि नियुक्त भएका कर्मचारीको संख्या हाल ९०६ जना छन् । उनीहरुले भने पेन्सन सुविधा पाउने छैनन् ।
कामदारको तलब मासिक १७ सय बढ्यो
काठमाडौं, २० माघ । औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम तलब तथा भत्ता र दैनिक ज्याला बढेको छ । गत सोमवारदेखि लागू हुने गरी सरकारले कामदारको न्यूनतम तलब १ हजार ७ सय बृद्धि गरेको हो । यस्तै चिया बगाउनमा काम गर्ने कामदारको न्यूनतम तलबभत्ता र दैनिक ज्याला पनि बढेको छ । बढेको ज्याला राजपत्रमा प्रकाशित गरिसकिएकोले सोमवारदेखि लागू भएको श्रम तथा रोजगार मन्त्रालयका सहसचिब आभा श्रेष्ठले जानकारी दिइन् । ‘औद्योगिक प्रतिष्ठान र चिया बगानमा काम गर्ने कामदारको न्यूनतम तलब बृद्धि भएको छ, प्रत्येक २ बर्षमा न्यूनतम तलब तथा ज्याला समीक्षा गर्ने श्रम ऐनको ब्यवस्था अनुसार रोजगारदाता र श्रमिकको सहमतिमा लागू गरिएको हो,’ श्रेष्ठले भनिन् । नयाँ ब्यवस्था अनुसार औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम मासिक तलब ६ हजार २ सय ५ रुपैयाँ र महंगी भत्ता मासिक ३ हजार ४ सय ९५ रुपैयाँ पाउने भएका छन् । कामदारले मासिक रुपमा तलब र भत्ता गरी ९ हजार ७ सय रुपैयाँ पाउने भएका हुन् । यसअघि मासिक न्यूनतम तलब र महंगी भत्ता गरी ८ हजार रुपैयाँ पाउने ब्यवस्था थियो । यस्तै दैनिक ज्यालादारीमा काम गर्ने कामदारले अब प्रतिदिन ३ सय ९५ रुपैयाँ पाउने भएका छन् । चिया बगानमा काम गर्ने कामदारको तलब तथा भत्ता पनि बृद्धि भएको छ । बगानका कामदारले अब मासिक न्यूनतम तलब ६ हजार ३ सय ७५ रुपैयाँ पाउने भएका छन् । यस्तै दैनिक ज्यालादारीमा काम गर्ने कामदारले दैनिक कम्तिमा २ सय २८ रुपैयाँ पाउने ब्यवस्था गरिएको छ । यस्तो ब्यवस्था गत सोमवारदेखि लागू भएर अगामी असार मसान्तसम्म कायम रहने छ । आगामी असार मसान्तपछिको लागि भने नयाँ तलब भत्ताको ब्यवस्था गरिएको छ । चिया बगानमा काम गर्ने कामदारले आगामी असार मसान्तदेखि २०७४ असार मसान्तसम्म मासिक ७ हजार ७५ रुपैयाँ तलब पाउने छन् । यस्तै दैनिक ज्यालादारीमा काम गर्ने कामदारले दैनिक कम्तिमा २ सय ५३ रुपैयाँ पाउने छन् । चिया प्रशोधन कारखनामा काम गर्ने कामदारले दैनिक ३० रुपैयाँ भत्ता पनि पाउने ब्यवस्था गरिएको श्रेष्ठले जानकारी दिइन् ।
जोशीकै कारण सुरुङ मार्ग नबनेको आरोप, कम्पनी २८ करोड रुपैंया ऋणमा
काठमाडौं, १९ माघ । निजी क्षेत्रको मेगा प्रोजेक्टका रुपमा हेरिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण कुश कुमार जोशीकै कारण अघि नबढेको आरोप लागेको छ । सुरुङ मार्गको निर्माण गर्न भन्दै गठन गरिएको नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष कुश कुमार जोशीले राजीनामा दिएपछि संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै जोशीकै अक्षमताका कारण मार्ग निर्माणको काम अघि नबढेको आरोप लगाईएको हो । संघर्ष समितिका संयोजक राजुमान महर्जनले मार्ग निर्माणका लागि स्वदेश तथा विदेशबाट ठुलो रकम संकलन गरिसकिएको र स्थानिय जनताको समेत साथ रहँदा पनि जोशीले काम नगरेको आरोप लगाए । संघर्ष समितिकै दबावका कारण जोशीले अध्यक्षबाट राजीनामा दिएका हुन् । जोशीले सुरुङ मार्ग निर्माणका लागि कुनै पहल नगरेको उनीहरुले आरोप समेत लगाएका छन् । ‘उहाँले काम गर्न नसकेको र कम्पनीको अनावश्यक खर्च बढाउने मात्र कार्य गरिरहेको हुँदा शेयरहोल्डरहरुको माग र काम गर्न नसकेको आफ्नो नेतृत्व असक्षमता देखिने डरका कारण उहाँले राजीनामा दिनु भएको हाम्रो बुझाई रहेको छ ।’ संघर्ष समितिले भनेको छ । संघर्ष समितीका संयोजक राजुमान महर्जनले कम्पनीका अध्यक्ष जोशीले हरेक समय आफूखुसी एकलौटी ढंगले काम गरेको गुनासो गर्दै ५ वर्षको अवधिमा कुनै काम नभएको बताए । त्यसैगरी शेयर होल्डर संजय लामाले सबै शेयरहोल्डरहरु निर्माणका लागि सकारात्मक भएको भन्दै अध्यक्ष जोशीलगायतका केहि व्यक्तिहरु मात्र नकारात्मक भएको बताए । शेयर होल्डर लामाले यहि माघ २७ गते बोलाएको कम्पनीको बैठकको स्थान र समय नतोकिकन बोलाएको भन्दै अध्यक्ष जोशीले एकलौटि ढंगले काम गर्ने गरेको उदाहरणको एक नमुना भएको बताए । कम्पनीले हालसम्म ३० करोड ३१ लाख रुपैंया उठाईसकेको छ । तर कम्पनी अझै २८ करोड रुपैंया भन्दा बढि ऋण रहेको छ । त्यसैगरी परियोजनाको प्राविधिक कार्य गरेको फुलब्राईट कन्सल्टेन्सीको मात्र १७ करोड रुपैंया भूक्तानी गर्न बाँकी रहेको छ । कम्पनीमा हाल १७८३ जना शेयर होल्डरहरु रहेका छन् जसमध्ये १२ सयभन्दा बढि साना लगानीकर्ता रहेका छन् ।
सय अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा
इरान, १९ माघ । इरानले हालै गरिएको आणविक सम्झौतापछि विश्वका विभिन्न मुलुकमा रोक्का गरी राखिएको करिब एक सय अर्ब अमेरिकी डलर बराबरको नगद तथा अन्य सम्पत्ति प्रयोग गर्न पाउने भएको छ । इरान सरकारका प्रवक्ता मोहम्मद बाघर नोबाकटले विश्व शक्ति राष्ट्रसँग गरिएको आणविक सम्झौतापश्चात चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीलगायतका देशमा जम्मा भई चलन गर्न नसकिएको सम्पत्ति फुकुवा भएको बताए । तेहरानको आणविक कार्यक्रमप्रति चासो देखाउँदै अन्तर्राष्ट्रिय समुदायले सन् २०१२ यता इरानविरुद्ध आर्थिक कारोबारमा कडाई गरिँदै आएको प्रवक्ता नोबाकटले बताए । यसैबीच इरानको आधिकारिक राष्ट्रिय समाचार संस्था आईएएएनएले इरानको केन्द्रीय बैंकलाइृ उद्धृत गर्र्दै अब इरानी बैंक बेल्जियम अवस्थित सहकारी संस्था स्विफ्ट एसडब्लूआईएफटी सँग पुनः कारोबारमा संलग्न हुन पाउने छन् । इद्यपि इरान अवस्थित कुनै पनि बैंक तथा तिनका एटीएम सेवाहरु विश्व वित्तीय प्रणालीमा जोडिसकेका छैनन् । इरानले शक्ति राष्ट्रसँग केही पहिले गरेको आणविक सम्झौताको परिपालना गरेको पुष्टि गरेपछि संयुक्त राज्य अमेरिकालगायतका शक्ति राष्ट्रले इरानमाथिको आर्थिक प्रतिबन्ध हालैमात्र हटाएका थिए । यससँगै इरानले आफ्ना विदेशी बैंकहरुमा रहेको सम्पत्तिलाई प्रयोगमा ल्याउन पाउने छ । इरानको केन्द्रीय च्याम्बर अफ कमर्सका प्रमुख मोहसेन जलालपौरले इरानी राष्ट्रिय टेलिभिजनसँग सोमबार कुरा गर्दै आर्थिक प्रतिबन्ध फुकुवा सम्बन्धमा भने, इरानी व्यवसायीले अब विश्वभर आर्थिक कारोबार गर्न प्रतितपत्र खोल्न अनुमति पाइसकेको बताए । रासस
म्युचुअल फण्ड कारोवार लागत ५ प्रतिशतभन्दा बढी, ठूलालाई भन्दा सानालाई महँगो शुल्क
हाम्रो अध्ययनले पनि अहिलको शुल्क एशियामा नै सबैभन्दा बढी देखियो । शुल्क घटाउने विषयमा छलफल थालेको छौं । काठमाडौं, १८ माघ । नेपाल धितोपत्र बोर्डले साना र छरिएर रहेका लगानी कर्ताको पूँजीलाई सेयर बजारमा आकर्षित गर्न भन्दै म्युचुअल फण्डको अवधारणा ल्याएको थियो । तर यस्ता म्युचुअल फण्डको सेयर कारोबार लागत अत्याधिक महंगो देखिएको छ । साना लगानीकर्तालाई आकर्षित गर्ने म्युचुअल फण्डको सेयर कारोबार लागत प्रतिहजार को ५० रुपैंयाँ भन्दा बढि पर्ने गरेको छ । ५० हजार भन्दा कम रकमको कारोबारमा एक प्रतिशत ब्रोकर कमिसन लाग्ने व्यवस्था धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ ले गरेको छ । तर सोही नियमावलीमै ‘जे लेखिएको भएतापनि धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क २५ रुपैयाँ भन्दा कम हुने छैन’ भनिएको छ । सोही व्यवस्थाको आधारमा एक हजारको सेयर कारोबार गर्दा २५ रुपैंयाँ ब्रोकरलाई कमिसन तिर्नुपर्छ । उता, नेपाल धितोपत्र बोर्डले शुन्य दशमलब शुन्य १५ प्रतिशत दस्तुर लिने गरेको छ । यसवापत एक हजारको कारोबारमा बोर्डलाई १५ पैसा दस्तुर तिर्नुपर्छ । त्यस्तै, सिडिएस एण्ड क्लियरिङले नामसारी गरेवापत २५ रुपैंयाँ दस्तुर लिन्छ । कागजी प्रक्रियामा यस्तो शुल्क जम्मा पाँच रुपैंयाँ मात्रै थियो र त्यो खरिदमा मात्रै तिर्नु पथ्र्याे । तर अहिले बेच्दा समेत यस्तो शुल्क तिर्नु पर्ने व्यवस्था छ । ब्रोकरको कमिसन २५ रुपैंयाँ, अभौतिकरणवापत सिडिएस शुल्क २५ रुपैंयाँ र धितोपत्र बोर्डको १५ पैसा गरि एक हजार रुपैंयाँको सेयर कारोबारमा ५० रुपैंयाँ १५ पैसा कारोबार दस्तुर लाग्ने गरेको छ । यो कुल लगानीको पाँच दशमलब शुन्य १५ प्रतिशत हुन आउँछ । एक हजारकोे लगानीमा ५० रुपैंयाँ भन्दा बढी कारोबार शुल्क भएकोले भ्यूचल फण्ड कारोबारप्रति लगानीकर्ता आकर्षित नभएको सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले बताउँछन् । पूँजी बजारलाई प्रविधि मैत्री बनाउने भन्दै अभौतिकरणमा गएपछि कारोबार लागत झन् बढेको उनले बताए । उनी भन्छन्–‘पहिलो पाँच रुपैंयाँमा हुने नामसारी अहिले २५ रुपैंयाँ पुगेको छ, यसले लगानीकर्तालाई मर्का परेको छ ।’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरीले कारोबार म्यूचल फण्ड कारोबार शुल्क घटाउने तयारी भईरहेको बताए । ‘शुल्क महँगो भयो भन्ने आवाज सबैतिरबाट आईरहेको छ । हाम्रो अध्ययनले पनि अहिलको शुल्क एशियामा नै सबैभन्दा बढी देखियो । शुल्क घटाउने विषयमा छलफल थालेको छौं’ उनले भने । नेपाल धितो पत्र बोर्डले २०६९ कात्तिक १९ गते ल्याएको धितो पत्र व्यवसायी नियमावली मार्फत ब्रोकर कमिसनलाई न्युनतम एक देखि ढेड प्रतिशतबाट घटाएर शुन्य दशमलब ७ देखि एक प्रतिशतसम्म कायम गरेको छ । ५० हजार भन्दा साना कारोबार एक प्रतिशत कमिसन लिने व्यवस्था छ । त्यसमा न्युनतम लागत २५ रुपैंयाँ भन्दा कम नहुने व्यवस्था गरिएको छ । यस व्यवस्थाले ठूला लगानीकर्ताले भन्दा साना लगानीकर्ताले बढी शुल्क तिर्नु परेको लगानीकर्ताहरु बताउँछन् ।
प्रभु इन्स्योरेन्सले नाफाबाट पुँजी बढाउँदै लैजान्छ-सन्चित बज्राचार्य
सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु इन्स्योरेन्स लिमिटेडले माघ १ देखि लागु हुनेगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा सन्चित बज्राचार्य नियुक्त गरेको छ । बज्राचार्यले विगत ११ महिनादेखि सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । उहाँ विगत आठ वर्षदेखि सोही कम्पनीमा आवद्ध हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए, आईक्याटबाट एकाउण्ट टेक्निसियन डिग्री गर्नुभएका बज्राचार्यले सरकारी, गैरसरकारी संस्थाहरुमा काम गर्दै ४० वर्षको उमेरमा बीमा कम्पनीको व्यवस्थापकीय नेतृत्व समाल्नु भएको छ । उहाँको कार्य योजना के छ ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । [divider] प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ, नयाँ योजना के छन् ? कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको मुख्य जिम्मेवारी भएको कम्पनीको व्यवसाय विस्तार गर्ने हो । सेवा सुविधालाई छिटोछरितो बनाउनु पर्यो । सेवाको गुणस्तर वृद्धि हुनुपर्यो । कम्पनीको कम्प्लाईन्स पार्ट राम्रो हुनुपर्यो । कमी कमजोरी सुधार गर्दै जानुपर्यो । र, लगानीकर्तालाई अधिकतम प्रतिफल दिन प्रयास गर्नुपर्यो । त्यसबाहेक सर्वसाधारणमा बीमाको महत्व बुझाउने, बीमा गर्ने संस्कारमा वृद्धि ल्याउने, बीमा क्षेत्रमा स्वच्छ प्रतिस्प्रर्धाको अभ्यास गर्ने मेरो योजना छन् । प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीको वित्तीय अवस्था राम्रो छ । असोज मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक भईसकेको छ । पुस मसान्तसम्मको वित्तीय विवरण तयार भईरकेको छैन । यद्यमी व्यापार विस्तार र नाफा निरन्तर वृद्धि गर्न सफल भईरहेको छौं । नाकाबन्दी, तराई बन्दको असर बीमा क्षेत्रमा कस्तो परेको छ ? गत बैशाखमा भूकम्पले धेरै जनधनको क्षति भयो । बीमा कम्पनीहरुलाई त्यसको प्रत्यक्ष नकारात्मक असर पर्यो । चालु आर्थिक वर्षको शुरुमा बीमा गर्ने क्रम बढ्दै थियो । फेरी नाकाबन्दी, तराई बन्दले यो क्षेत्र सुस्ताएको छ । यद्यपी चालु अर्थिक वर्षको पुस मसान्तसम्मको व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नै भएको छ । भूकम्पपछि बीमा गर्नेको क्रम बढेको हो ? विनासकारी भूकम्पले झण्डै ९ हजार मासिनको ज्यान गयो । करिव ७ खर्ब बराबरको आर्थिक नोक्सानी भयो । एउटै प्राकृतिक विपत्तिले यतिधेरै जनधनको क्षति पुर्याएको संम्भवत नेपालको इतिकासमा सबैभन्दा ठूलो घट्ना हुनुपर्छ । यो साह्रै दुःखद क्षण हो । यस घट्नाले हामी सबैलाई पाठ सिकाएको छ । बीमा कम्पनीहरुको लागि पनि महत्वपूर्ण सिकाई भएको छ । सर्वसाधारणमा व्यक्तिको, सम्पत्तिको बीमा गर्नु पर्ने रहेछ भन्ने सन्देश गएको छ । तर मलाई आश्चर्य के लागि रहेको छ अझै सर्वसाधारणले स्वतस्फूर्त बीमा गर्ने तत्परता देखाएको छैनन् । बीमा बजारको विस्तार उत्साप्रद भने छैन । एक करोड रुपैयाँ लगानी गरेर घर बनाउनेले बैंकबाट ५० लाख रुपैयाँ कर्जा लिएको छ भने ५० लाख रुपैयाँको मात्र बीमा गरेको र क्षति भएपछि बीमा कम्पनीले अण्डर इन्स्योरेन्सको नाममा १५ लाख रुपैयाँ पनि भुक्तानी नगरेको समस्या देखियो । भूकम्पपछि अण्डर इन्स्योरेन्स गर्ने अभ्यास रोकियो कि जारी छ ? वास्तवमा अग्नि बीमा र भूकम्प बीमा बैंकमा निर्भर हुनगयो । त्यसको परिणाम अण्डर भ्यालुमा बीमा गरिए । भूकम्पपछि घर भत्केकाहरुले नविकरण गर्ने कुरा भएन । तर घरमा क्षति नभएका, कम क्षति भएका मानिसहरुले बीमा नविकरण गराउँदा पूर्ण भ्यालुको बीमा गराउन थालेका छन् । नयाँ बीमा गर्नेहरुले पनि फूल भ्यालुमा बीमा गर्न थालेका छन् । अब बीमा बजारको विस्तार कसरी होला ? विगतका वर्षहरुमा पनि बीमा बजारको विस्तार सामान्य गतिमा भईरहेको हो । चालु आर्थिक वर्षको वृद्धि पनि विगतमा भन्दा केही बढी छ । तर उच्चदरको वृद्धि भएन । नाकाबन्दी र तराई बन्द नभएको भए विस्तारको दर दोब्बर, तेब्बर हुने अनुमान गरिएको थियो । गत वर्ष १० प्रतिशतले व्यवसाय विस्तार गर्नेले यो वर्ष २०/३० प्रतिशतले विस्तार गर्न सक्थे । त्यो स्तरको वृद्धि देखिएको छैन । यद्यपी समय बाँकी छ । चालु आर्थिक वर्षको अझै पाँच महिना बाँकी छ । प्रभु इन्स्योरेन्समा भूकम्पको क्षतिबाफत कति दावी भएको थियो र कति भुक्तानी भयो ? संख्यात्मक रुपमा करिव ११ सय वटा दावी परेका थिए । यो दावीको करिव ७० प्रतिशत भुक्तानी गरिसकेका छौं । रकमका आधारमा ५० करोडभन्दा माथिको दावी हुने देखिन्छ । हामीले अहिलेसम्म ३२ करोड रुपैयाँ दावी भुक्तानी भएको छ । भूकम्प गएको नौ महिना वितिसक्यो । यो अवधिमा तपाईकै कम्पनीले दावी रकमको आधारमा करिव ४० प्रतिशत र संख्याको आधारमा ३० प्रतिशत भुक्तानी गर्न बाँकी देखियो, यति धेरै भूकम्प पीडित ग्राहकमाथि दावी भुक्तानी गर्न ढिला भएन ? यति ठूलो विपत्तीपछि पनि हामी निरन्तर काम गरिरहेका छौं । भूकम्प गएपछि बीमा कम्पनीहरु शनिवार, सार्वजनिक विदाको दिन समेत खुलेका छन् र हामीले एक दिन पनि आराम नगरि काम गरिरहेका छौं । सर्भेयरहरु खटिरहेका छन् । ठूलो रकमका बीमा दावी भएका केसहरुमा पुर्नबीमा कम्पनीबाट आएका सर्भेयरहरुले पनि अध्ययन गरिरहेका छन् । केही केसमा बीमितहरुले आवश्यक कागजपत्र पेश नगर्दा भुक्तानी ढिला भएको छ । केही केसहरु जटिल पनि छन् । त्यसैले ढिला हुन गएको हो । प्रक्रिया पुरा भएको दावीमा भुक्तानी रोकेका छैनौं । सर्भेयर प्रतिवेदन पनि तयार हुने हो र अनिवार्य पेश गर्नु पर्ने कागजपत्र ग्राहकले उपलब्ध गराउने हो भने कम्पनीले आगामी दुई महिनाभित्र सबै दावीको भुक्तानी गर्नेछौं । भूकम्पबाट बीमा क्षेत्रले के सिक्यो ? बीमा नगर्नेले केही पनि पाएका छैनन् । बीमा गर्ने सबैले क्षतिपूर्ति पाईरहेका छन् । फूल इन्स्योरेन्स गर्नेले सन्तोषजनक रकम पाएका छन्, अन्डर भ्यालुको बीमा गर्नेले कम पाएका छन् । त्यसकारण बीमा आफ्नै लागि रहेछ भन्ने सन्देश बीमितलाई गएको छ । बीमकले पनि ठूला विपत्ती आउन सक्छ, त्यस्तो वेलामा ग्राहकहरुलाई छिटो छरितो सेवा दिन सक्ने तयारी अवस्थामा बस्नु पर्ने रहेछ भन्ने सिकाई भएको छ । साथै, अग्नी र भूकम्प बीमामा बैकसँग मात्र निर्भर हुनु गल्ती भएछ भन्ने बजारको सिकाई छ । भूकम्प पछि पनि बीमा व्यवसाय विस्तार उल्लेख्य रुपमा वृद्धि नहुनुमा बीमा कम्पनीहरुको दिने सेवामा विविधता कमी, नविनताको कमी, बजारीकरणको लागि गरिएको कमजोर प्रयास दोषी होइन ? बीमा व्यवसाय विस्तार न्यूनस्तमा हुनुमा धेरै कारणहरु छन् । गरिबी मुख्य कारण हो । कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको छ । ६५ प्रतिशतभन्दा बढी मानिसहरु कृषि व्यवसायमा आश्रित छन् । उनीहरुलाई बीमा सेवा दिने प्रयास भरखरै शुरु भएको छ । गाउँस्तरमा बीमाको बारेमा जनचेतना फैलाउन सकिएको छैन । बाली तथा पशुपन्छी बीमाको प्रिमियममा सरकारले दिने अनुदान सहयोगबारे उचित जानकारी, बीमा गर्दा हुने लाभका बारेमा साधारण कृषक अझै बेखवर छन् । कृषकहरुले वृहत रुपमा बाली तथा पशुको बीमा गर्ने अभ्यास नहुँदासम्म बीमा कम्पनीहरुले पनि यो क्षेत्रबाट लाभ लिन सक्ने देखिदैन । यतिबेला बाली तथा पशुधनको बीमा गरेर कुनै पनि कम्पनीले नाफा कमाएका छन् भन्ने मलाई लाग्दैन । अहिले नाफा नभए पनि भविष्यमा राम्रो होला भन्ने आशामा बीमा कम्पनीहरुले यो क्षेत्रमा काम गरिरहेका छन् । बीमाबारेमा जनचेतना कमी ठूलो समस्या हो भनेर पहिचाहन भएको वर्षौ भयो, समाधानतर्फ प्रयास किन भएन ? बीमाको महत्व बुझाउने प्रयास सबैतिरबाट भएका छन् । सञ्चार माध्यमहरुले पनि बीमाको विषयलाई स्थान दिएका छन् । बीमा कम्पनीहरुले पनि आफ्ना सेवाबारे आमसञ्चारको माध्यमबाट लैजाने काम गरेको छन् । एजेन्टहरुले निकै मिहेनत गरिरहेका छन् । बीमा समितिले पनि प्रचार प्रसारको काम गरिरहेको छ । तर सबैले दिने सन्देश सहरी क्षेत्रमा सीमित छन् । ग्रामिण तहमा पुगेन । बीमा गर्नुपर्छ भन्ने जानकारी भएर पनि बीमा नगर्ने संस्कार अर्को ठूलो समस्या हो । सामाथ्र्य भएका, बीमाबारे जानकारी भएका मानिसहरु पनि बीमा गर्दैनन् । घर बनाउने बेलामा २ प्रतिशत व्याज बढी तिरेर ऋण लिन तयार हुने, व्याजमा वर्षमा लाख तिर्न तयार हुने मान्छे बीमा गर्दा वर्षमा हजार रुपैयाँ तिर्न तयार हुँदैन । यो पनि ठूलो समस्या हो । ५० लाख रुपैयाँ खर्च गरेर घर बनाउँदा बीमा शुल्क करिव ५ हजार रुपैयाँ लाग्छ । त्यो पनि तिर्न मानिस तयार हुँदैन । बुझाईमा नै समस्या भयो । बीमा कम्पनीहरुले पनि यसमा प्रो एक्टिभ रोल खेल्न नसकेका हुन् नि, होइन ? बीमा कम्पनीहरु सेवा बेच्न बसेका हुन् । उनीहरुको बढीभन्दा बढी मानिसलाई आफ्नो सेवा पुर्याउन चाहान्छन् । बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नु छ । भएका ग्राहकले नछोडुन्, नयाँ ग्राहक ल्याउन सकियोस् भन्ने चाहाना सबै कम्पनीको हुन्छ । बीमा व्यवसाय एजेन्टबाट हुने भएकाले एजेन्टहरु घरदैलोमा पुगेका हुन्छन् । बीमा बुझेका मान्छे बीमा कम्पनीमा आएर बीमा गरिदिनुहोस् भन्छन्, नबुझेका मान्छेलाई बुझाउन गाह्रो छ । पछिल्लो समयमा फेक क्लेम बढेको भन्ने सुन्नमा आएको छ, बास्तविकता के हो ? प्रक्रिया पुरा गरेर, प्रमाण जुटाएर आएका दावीलाई फेक वा फर्ड क्लेम भनेर हामीले भन्न मिल्दैन । केही ग्राहकहरु घट्ना भएपछि पनि प्रक्रिया पुरा गर्न, आवश्यक कागजपत्र जुटाउन नसकिरहेको पाईन्छ । केही ग्राहकको नियत अलि खराव हुन्छ । हुँदै नभएको क्षतिमा दावी गर्ने गरेको पाइन्छ । तराई बन्दको क्रममा केही सवारीमा सवारी मालिकले आफैले आगो लगाएको खबर पनि आए । तर सबुत प्रमाण जुटाएर कसैले ल्याउँछ भने बीमा कम्पनीले त्यसलाई झुटो हो भनेर प्रमाणीत गर्न सक्दैन । प्रभु इन्स्योरेन्सका सेयरधनीले आगामी आर्थिक वर्षमा कस्तो प्रतिफल पाउँलान् ? बीमा कम्पनीले भविष्यमा दिने लाभांशबारे अनुमान गर्नु नै गलत हुन्छ । भविष्यमा के कस्तो घट्ना घट्छ, त्यसको असर बीमा कम्पनीलाई कति पर्छ भनेर अनुमान गर्न गाह्रो छ । कम्पनीको व्यस्थापनले पक्कै पनि व्यवसाय विस्तार गर्न चाहान्छ र नाफा वृद्धि गर्न चाहान्छ । यस कम्पनीले विगतका वर्षहरुमा पनि १०/१५ प्रतिशत लाभांश दिएको छ । विगतमा भन्दा बढी लाभांश दिने लक्ष्यका साथ काम गरिरहेका छौं । गत वर्ष भूकम्पले ठूलो क्षति पुर्यायो । त्यतिधेरै क्षति हुँदा पनि पुस मसान्तसम्म साधारणसभा गर्ने प्रभुसहित तीन वटै निर्जीवन बीमा कम्पनीले १२ प्रतिशतभन्दा बढी लाभांश दिए । यसको बीमा कम्पनीको सेयरमा लगानी गर्नु सुरक्षीत लगानी हो ? यो जटिल प्रश्न हो । निर्जीवन बीमा कम्पनीमा गरिएको लगानी उच्च जोखिमपूर्ण हुन्छ । गत वर्ष भूकम्पले सबैभन्दा बढी नोक्सान निर्जीवन कम्पनीमा पुर्याएको हो र पनि पुस मसान्तसम्म साधारणसभा गर्ने सबै कम्पनीले राम्रो डेविडेन्ट दिए । त्यसो भन्दैमा यो क्षेत्रमा जोखिम हुँदैन भन्ने होइन । बीमा कम्पनीहरुको सेयर मूल्य किन बढीरहेको छ ? तपाईले भनेजस्तै गत वर्ष ठूलो क्षति बेहोरेको अवस्थामा पनि बीमा कम्पनीहरुले लाभांश दिए, भविष्यामा किन नदेलान् भन्ने विश्वास लगानीकर्तामा पलाएको पनि होला । साथै पुँजी वृद्धिको लागि नयाँ ऐनमा प्रस्ताव गरिएकोले बोनस सेयर पाइन्छ भन्ने पनि हो ।
समयमा साधारणसभा गर्दैनन् सरकार संलग्न कम्पनी, साना लगानीकर्ता मर्कामा
काठमाडौं, १८ माघ । कम्पनी ऐन अनुसार सबै प्रकारका कम्पनीहरुले पुस मसान्त भित्र साधारणसभा गर्नुपर्छ । प्राइभेट लिमिटेडको रुपमा दर्ता भएका र सञ्चालनमा रहेका कम्पनीको साधारणसभा सर्वसाधारणको चासोको विषय बन्दैन । पब्लिक लिमिटेड कम्पनी, त्यसमा पनि सर्बसाधारणको समेत सेयर लगानी नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत कम्पनीको साधारणसभा, कम्पनीले दिने लाभांश, उसका निर्णय सर्वसाधारणको चासोको विषय बनिरहेको हुन्छ । समयमा साधारणसभा नगर्ने, नाफा गरेको अवस्थामा पनि लाभांश वितरण एक वर्षपछि गर्ने र साधारण लगानीकर्तालाई निरास बनाउनेमा सरकारी लगानी भएका कम्पनीहरु नै अग्रपंतिमा छन् । सरकारको सेयर लगानी समेत भएको, सर्वसाधारणको पनि सेयर लगानी भएको नेप्सेमा सूचिकृत कुनै पनि कम्पनीले पुस मसान्तसम्ममा साधारणसभा गरेका छैनन् । उनीहरुले कानुनको पहिलो सर्त उल्लङ्गन गर्दै आएका छन् । केही शाखामा अझै कोर बैंकिङ सिस्टम नभएको, विकास बैंकको पनि काम गर्दै आएको, नेटवर्क ठूलो भएकोले समयमा लेखापरिक्षण गर्न र साधारणसभा गर्न नसकिएको हो । अधिकांश वाणिज्य बैंकले पुस मसान्तमा साधारणसभा गरेका छन् । सरकारी सेयर रहेको कृषि विकास बैंक, नेपाल बैंकले साधारणसभा गरेका छैनन् । यो वर्षमात्र होइन, कुनै पनि वर्ष यी बैंकले पुस मसान्तभित्र साधारणसभा गर्दैनन, गरेको इतिहास छैन । कृषि विकास बैंकका केही शाखामा अझै कोर बैंकिङ सिस्टम नभएको, ग्रामिण क्षेत्रमा समेत शाखा भएको, विकास बैंकको पनि काम गर्दै आएको, नेटवर्क ठूलो भएकोले समयमा लेखापरिक्षण गर्न नसकिएको र साधारणसभा गर्न ढिला हुने गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बताउँछन् । अर्को रोचक पक्ष के छ भने अप्रत्यक्ष रुपमा भारत सरकारको लगानी रहेको नेपाल एसवीआई बैंक पनि साधारणसभा ढिलो गर्ने बैंकमा पर्छ । यस बैंकले चालु आर्थिक वर्षमा साधारणसभा गरेको छैन । कम्पनीको शाखा ५८ भएको, भौतिक संरचनामा भएको लगानी र त्यसको अवस्थाबारे पनि अध्ययन गरेर लेखापरिक्षण गरिने भएकोले साधारणसभा गर्न ढिलाई हुने गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा बढी सेयर पुँजी भएको कम्पनी हो नेपाल टेलिकम । तर यो कम्पनीले कुनै पनि वर्ष पुस मसान्तभित्र साधारण सभा गरेको रेकर्ड छैन । कम्पनीको शाखा ५८ भएको, भौतिक संरचनामा भएको लगानी र त्यसको अवस्थाबारे पनि अध्ययन गरेर लेखापरिक्षण गरिने भएकोले साधारणसभा गर्न ढिलाई हुने गरेको कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विकासन्युजलाई बताए । ‘कम्पनीमा चैत मसान्तसम्म साधारणसभा गर्ने लक्ष्य राखेका हुन्छौं र त्यसअवधिमा साधारणसभा भएको पनि हुन्छ’ उनले भने । सरकारी लगानी भएको राष्ट्रिय विमा कम्पनी, नागरिक लगानी कोष, एनआईडिसी क्यापिटल मार्केट्स, नेपाल नेपाल इन्स्योरेन्स (नेपाल बैंक र राष्ट्रिय विमा संस्थानको लगानी) र साल्ट टे«डिङ कर्पोरेशनले पनि पुस मसान्तमा साधारणसभा गर्दैनन् । कम्पनी ऐनले पुस मसान्त भित्रै साधारणसभा गर्नु पर्ने र समय थपेर चैत मसान्तभित्र साधारण सभा गर्न सकिने व्यवस्था गरेको छ । चैत मसान्त भित्र पनि साधारण सभा नगरेमा भने जरिवाना सरकारलाई तिर्नुपर्छ । ‘समयमा साधारणसभा नगर्दा सरकारलाई फाइदा हुन्छ । जरिवाना तिराएर आम्दानी गर्छ । तर साधारण सेयरधनीले केही पनि पाउँदैनन्’ विगत एक दशकदेखि साधारणसभा नगर्ने राष्ट्रिय बीमा कम्पनीको सेयरधनी कन्चन अधिकारीले गुनासो गरे । ‘हामीले निरन्तर निर्देशन दिईरहेका छौं फेरि पनि सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगर्ने परिपाटी अझै बाँकी नै छ’ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगरेको बताए । ‘हामीले निरन्तर निर्देशन दिईरहेका छौं फेरि पनि सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगर्ने परिपाटी अझै बाँकी नै छ’, बोर्डका प्रवक्ता गिरीले भने । सेयर बजारलाई सूचनाको बजारका रुपमा अथ्र्याउँदै गिरीले समयमै साधारण सभा नगर्ने कम्पनीको सेयर मुल्यमा समेत असर गर्ने बताए । ‘यो इनफरमेसनको मार्केट हो, समयमै साधारण सभा त नगर्ने कम्पनीले कसरी मुनाफा देला भन्ने सन्देश जान्छ, जसले सेयरको मुल्यमै पनि असर गर्छ’, गिरीले भने । संस्थागत सुशासनको पहिलो आधारका रुपमा लिईएको साधारणसभा समेमा गर्न नसक्ने कम्पनीहरुप्रति लगानी कर्ताको आकर्षण घट्छ । संस्थागत सुशासनको पहिलो आधारका रुपमा लिईएको साधारण सभा समेत गर्न नसक्ने कम्पनीहरुप्रति लगानी कर्ताको आकर्षण घट्ने सेयर बजार विश्लेषक रबिन्द्र भट्टराई पनि बताउँछन् । ‘समयमै साधारण सभा गर्ने काम भनेको संस्थागत सुशासनको पहिलो खुड्किलो हो, कम्पनी जति सुशासित हुन्छ, लगानी कर्ताको विश्वास पनि त्यति नै बढ्छ, लगानी कर्ताको विश्वास बढेपछि नै सेयरको मुल्य पनि बढ्ने हो’, भट्टराईले भने । कानुनले तोकेको समयमा साधारणसभा गर्ने कम्पनीप्रति सर्वसाधारण लगानीकर्ताको विश्वास बढ्दै जान्छ । जुन कम्पनीको साधारणसभा समयमा हुँदैन, नाफा गरेको छ भने पनि समयमा साधारणसभा लाभांश वितरण गर्दैन, कम्पनीको गतिविधिबारे लगानीकर्तालाई समयमा जानकारी दिदैन, त्यस्ता कम्पनीले विश्वास गुमाउँदै जान्छन् ।
बाफियालाई पछ्याउदै सहकारी ऐन विधेयक तयार, सेयर सदस्य र सञ्चालकको अधिकारमा भारी कटौति
काठमाडौं, १७ माघ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको सहकारी ऐनको विधेयकमा धेरै नयाँ विषय प्रवेश पाएको छ । प्रस्तावित ऐनमा सेयर सदस्य, सञ्चालक, कर्मचारीलाई एक भन्दा बढी संस्थामा क्रियाशिल हुन, कारोबार गर्न रोक लगाईएको छ । त्यस्तै, सहकारी संस्था, संघ, महासंघ, सहकारी बैंकको संख्या नियन्त्रण गर्न, टोल टोलमा च्याउसरी जन्मिएका सहकारीहरुलाई मर्ज गराउन ऐनमा जोड दिईएको छ । स्वार्थ वाझिने गरी लगानी गर्न, संस्थागत सुशासन विवरित हुने कार्य रोक्न, संस्थाको जोखिम कम बनाउने, सहकारीको संख्यात्मक वृद्धि रोक्न र सञ्जालनमा भएका संस्थाहरुलाई मर्ज गराउन लिएको प्रस्तावित ऐनमा गरिएको प्रस्तावले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया)को प्रस्तावित विधयेकलाई पछ्याएको देखिन्छ । प्रस्तावित ऐनमा कार्यकारी संचालक हुन नहुने व्यवस्था छ । यस्तो व्यवस्थाले संस्थाको जोखिम बढाउने र आर्थिक हिनामिना बढी हुने सम्भावना रहेकोले नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ । प्रस्तावित ऐनमा ‘नेपाली नागरिकले आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता परिपूर्तिका लागि समुदायमा आधारित भई सदस्य केन्द्रित सहकारी व्यवसाय सञ्चालन गर्न एक परिवार एक सदस्यका दरले कम्तीमा एक सयजनाको सहभागितामा विषयगत वा वहुउद्देश्यीय संस्था गठन गर्न सक्ने छन्,’ भन्ने व्यवस्था गरिएको छ । यसअघि २५ जनाले सहकारी गठन गर्न सक्ने कानुनी व्यवस्था थियो । कृषि, विद्युत, स्वास्थ्य, शिक्षा वा पर्यटन सहकारीप्रति उदार, बचत तथा ऋण सहकारीप्रति अनुदार नीति एक गाविसमा एक मात्र सहकारी, बढी भए मर्ज हुनै पर्ने सहकारी संघ जिल्ला र केन्द्रमा मात्र, महासंघ र बैंक एउटा मात्र सेयरपुँजीको १० गुणा मात्र निक्षेप र कर्जा लिन पाईने नाफाको २५ प्रतिशत संचित कोषमा राख्दै पर्ने एक व्यक्ति एउटा सहकारीमा बस्ने पाइने यस्तै गाँउपालिका क्षेत्रमा कार्यक्षेत्र रहेको संस्था गठन गर्दा एक परिवार एक सदस्यका दरले कम्तीमा तीसजना सदस्यको सहभागितामा गठन गर्न सकिने व्यवस्था भने ऐनमा छ । तर कुनै पनि व्यक्ति एकै प्रकृतिको एकमात्र संस्थाको सदस्य बन्न सक्ने ब्यवस्था विधेयकले गरेको छ । विधेयक प्रारम्भ हुनुअघि कुनै व्यक्ति एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य भएकोमा यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्य बन्नु पर्ने प्राबधान ऐनमा छ । विधेयकमा कुनै व्यक्ति एकै समयमा एकमात्र संस्थाको सञ्चालक वा कर्मचारी हुन सक्ने ब्यवस्था गरेको छ । एकभन्दा बढी संस्था संचालन गरिरहेका सहकारीकर्मीले प्रस्तावित ऐनको यस्तो व्यवस्थाको पनि विरोध गरिरहेका छन् । ऐन प्रारम्भ हुनुअघि कुनै व्यक्ति एकभन्दा बढी संस्थाको सञ्चालक वा कर्मचारी भएकोमा यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र कुनै एक संस्थाको मात्र सञ्चालक वा कर्मचारी बन्नु पर्ने पाउने बाटो ऐनले खोलेको छ । एक गाँउपालिका वा नगरपालिकाको एक वडामा बचत तथा ऋणको कारोबार गर्ने गरी एकमात्र संस्था दर्ता गरिने भएको छ । यस्तो व्यवस्थाले सहकारी संस्थाहरुको संख्या कम गर्ने भएको छ । गाउपालिका वा नगरपालिकाको एउटा वडामा एकभन्दा बढी संस्था भए मर्जर गर्नुपर्ने ब्यवस्था ऐनले गरेको छ । ‘ऐन प्रारम्भ हुनुभन्दा पहिले दर्ता भै सञ्चालनमा रहेका संस्थाको हकमा तोकिए बमोजिमको प्रक्रिया र अवधि भित्रमा एकिकरण गर्नु पर्नेछ,’ ऐनको मस्यौदामा उल्लेख गरिएको छ । विधेयकमा सहकारी संघ र संस्थाको कार्यक्षेत्र पनि तोकेको छ । संस्था वा जिल्ला व्यवसायिक सहकारी संघ वा जिल्ला सहकारी संघकोे कार्यक्षेत्र बढीमा एक जिल्ला, केन्द्रीय विषयगत व्यवसायिक सहकारी संघ वा राष्ट्रिय सहकारी महासंघ वा बैंङ्कको कार्यक्षेत्र नेपालभर हुने ब्यवस्था गरिएको छ । ऐन प्रारम्भ हुँदाका बखत एक जिल्लाभन्दा बढी कार्यक्षेत्र राखी कारोबार गर्ने गरी सञ्चालन भएका संस्थाले तोकिए बमोजिमको आधार र अवधिभित्र आफ्नो कार्यक्षेत्र एक जिल्लामा सीमित गर्नु पर्नेछ । तोकिएको समयभित्र कार्यक्षेत्र सीमित नगरेमा कार्यालय प्रमुखले त्यस्तो संस्थाको कार्यक्षेत्र एक जिल्लाभित्र सीमित रहने गरी तोक्नु पर्नेछ । एक जिल्लामा संस्थाको कार्यक्षेत्र सीमित गर्दा एक भन्दा बढी जिल्लामा रहेको सस्ंथाको शाखा कार्यालय वा सेवा केन्द्रको हिसाब फरफारक गरी त्यस्तो शाखा कार्यालय बन्द गर्ने वा सम्बन्धित जिल्लामा नै यस ऐन बमोजिम संस्था दर्ता गरी स्थानीयकरण गर्नु पर्नेछ । तर कृषि तथा वनजन्य उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरण, विद्युत उत्पादन, प्रसारण तथा वितरण, स्वास्थ्य, शिक्षा वा पर्यटन लगायतका सेवा सम्बन्धी सहकारी व्यवसाय एक जिल्लाभन्दा बढी कार्यक्षेत्रमा सञ्चालन गर्न पाउने ब्यवस्था ऐनमा छ । संस्थाको कार्यक्षेत्र एकभन्दा बढी जिल्लामा तोक्न चाहने संस्थाले रजिष्ट्रार समक्ष तोकिएको ढाँचामा तोकिए बमोजिमको विवरण संलग्न गरी दरखास्त दिन सक्ने ब्यवस्था प्रस्तावित ऐनमा छ । यस्तै ऐनले संस्था, संघ वा बैङ्कले आफ्ना सदस्यहरुका बीच मात्र बचत रकम स्वीकार र सोको परिचालन गर्नु पर्ने व्यवस्था गरेको छ । कुनै पनि कम्पनीको शेयर खरिद बिक्री सम्बन्धी कारोेबार गर्न भने रोक लगाइएको छ । ऐनमा बचत परिचालन गर्दा कायम गरिने व्याजदर प्रचलित बजारको व्याजदरको औसतभन्दा बढी नहुने गरी साधारणसभाबाट स्वीकृत तथा अनुमोदन गराउनु पर्ने भनिएको छ । यस्तो व्यवस्थाले अल्पकालमा तरलताको अवस्था परिवर्तन भएर व्याजदर परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना भए त्यसमा परिमार्जन गर्ने ठाउ संचालक समितिलाई छैन । बचत तथा ऋणको कारोवार गर्ने संस्था, संघ वा बैङ्कले सदस्यको बचत रकम गैर वित्तीय क्षेत्रमा लगानी गर्न नपाउने ब्यवस्था छ । तर कुनै संस्था, संघ वा बैङ्कले सदस्यको शेयरपूँजी तथा जगेडा कोष परिचालन गरी सदस्य केन्द्रीत भई आफ्नो कार्य क्षेत्रभित्र मात्र गैर वित्तीय क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था ऐनमा छ । यस्तै संस्थाको सदस्यको शेयरपूँजी तथा बचतको अनुपात कम्तीमा एक बराबर दश हुनुपर्ने ब्यवस्था गरिएको छ । यसको अर्थ १० हजार रुपैयाँ सेयर पुजी भएका व्यक्तिले १ लाख रुपैयाँसम्म मात्रै बचत गर्न सक्छन् भन्ने हो । ऐनमा पचास करोड रुपैयाँभन्दा बढी बार्षिक आर्थिक कारोवार गर्ने संस्था, संघ वा बैङ्कको वित्तीय व्यवस्थापनको नियमन तथा सुपरीवेक्षण नेपाल राष्ट्र बैङ्क समेतको संलग्नतामा गरिने ब्यवस्था छ । बचत तथा ऋणको कारोबार व्यवस्थित गर्न संस्था वा संघले बचत स्वीकार गर्न सक्ने सीमा, ऋण प्रदान गर्दा लिनु पर्ने सुरक्षण विधि ऋण प्रदान गर्ने प्रकृया, संस्था वा संघमा राख्नु पर्ने तरलता, बचत तथा ऋण परिचालन तथा ऋण लगानी सुरक्षण लगायतका विषयको मापदण्ड तोकिने ब्यवस्था ऐनमा छ । तर मापदण्ड बनाउदा गाँउपालिका तथा नगरपालिका कार्यक्षेत्र भई बचत तथा ऋणको कारोबार गर्ने संस्थाको लागि छुट्टा छुट्टै बनाउन सकिने उल्लेख छ । राष्ट्र बैङ्कले सहकारी विभागलाई जानकारी दिई राष्ट्रिय सहकारी बैंकको समितिलाई निलम्बन गरी त्यस्तो बैंकको व्यवस्थापन आफैंले वा अन्य कुनै निकायद्वारा गर्न गराउन सक्ने ब्यवस्था ऐनमा छ । यस्तै निरीक्षण वा हिसाब जाँचबाट कुनै संस्था वा संघमा समस्या देखिएको अवस्थामा सहकारी विभागले त्यस्तो संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रुपमा घोषणा गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने ब्यवस्था गरिएको छ । समस्याग्रस्त संस्था वा संघ घोषणा भएमा त्यस्तो समस्याग्रस्त संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न नेपाल सरकारले व्यवस्थापन समिति गठन गरिने भनिएको छ । ब्यवस्थापन समितिमा उच्च अदालतको न्यायाधिश भैसकेको वा नेपाल न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरेको ब्यक्तिमध्येवाट नेपाल सरकारले नियुक्त गरेको ब्यक्ति अध्यक्ष हुने भनिएको छ । यस्तै सरकारको सहसचिव स्तरको कार्यअनुभव भएको ब्यक्तिमध्येवाट एक जना र राष्ट्रिय सहकारी महासंघ वा विषयगत केन्द्रीय सहकारी संघका पदाधिकारी वा सहकारी क्षेत्रमा कम्तीमा दश वर्षको कार्य अनुभव भएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना सदस्य हुने भनिएको छ । बैङ्क तथा वित्तीय संस्थाको कम्तीमा नवौं तह वा सो सरहको पदमा वा चार्टर्ड एकाउण्टेण्ट भई बैङ्क तथा वित्तीय संस्थाको सुपरीवेक्षण क्षेत्रमा कम्तिमा तीन वर्षको कार्य अनुभव भएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनित गरेको एकजना मन्त्रालयले तोकेको सहसचिव निजामती सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीलाई सदस्य सचिव तोकिने भनिएको छ । ऐनमा कसैले सहकारीको नाममा कसुर गरेको अवस्था कडा कारवाही गर्ने भनिएको छ । ऐनमा दश लाख रुपैयाँसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद, दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म बिगो भएमा एक वर्षदेखि दुई वर्षसम्म कैद, पचास लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद, एक करोड रुपैयाँदेखि दश करोड रुपैयासम्म बिगो भएमा तीन वर्षदेखि चार वर्षसम्म कैद, दश करोड रुपैंयाँदेखि पच्चीस करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि पाँच वर्षसम्म कैद, पच्चीस करोड रुपैयाँदेखि पचास करोड रुपैयाँसम्म बिगो भएमा पाँच वर्षदेखि छ वर्षसम्म कैद र पचास करोडभन्दा बढी जतिसुकै बिगो भएमा छ वर्षदेखि सात वर्षसम्म कैद सजाए हुने ब्यवस्था ऐनमा छ ।