विकासन्युज

भाईवरद्वारा नेपालमा लगानीको घोषणा, कर्पोरेट हाउससँग साझेदारी गर्न इच्छुक

काठमाडौं, ९ असार । विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेजिङ्ख एप्प भाइवरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दे भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले भनेँ भाइवरका लागि नेपाल एक प्रथमिक बजार भएकोले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको बताएका छन् । संयुक्त लगानीको लागि धेरै लगानीकर्ता सम्पर्कमा आएको उनले बताए । कति लगानी गर्ने र कोसँग साझेदारी गर्नेबारे उनले खुलाउन चाहेनन् । ‘लगानी हुने रकमबारे म बोल्न चाहान्न । तर हामी नेपालका बैंक, कर्पोरट हाउस, टेलिकम कम्पनी, सञ्चारगृहसँग साझेदारी गर्न चाहान्छौं’ उनले भने । “पब्लिक च्याटको सफलतापछि हामी हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेका छौँ । प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन हामीले नयाँ र विषेश स्टिकर प्याकहरु सुरु गर्ने निर्णय गरेका छौँ’’ नैय्यरले भने । टेलिकम कम्पनीहरुको व्यापार खोस्दै गएको भाईभरले टेलिकम कम्पनीसँग कसरी साझेदारी गर्छ भन्ने प्रश्नमा उनलको तर्क छ –संसारभर सञ्चार सेवा निशुल्क हुनुपर्छ भनेर वहस चलिरहेको छ । कसको आम्दानी कसले खोस्यो भन्दा पनि उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने विषय बढी महत्वपूर्ण हो । भाईवरले २०७३ सालको सुरुवातदेखी नै स्थानीय भाषामा स्टीकरहरु उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइवर पनि एक हो र पछिल्लो केही वर्ष यता भाइवरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको छ । यही सफलतासँगैं भाइवर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल संचार एप्स्को रुपमा स्थापीत हुने भएको छ । प्रयोगकर्ताहरुमाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्दछ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवको रुपमा मनाउने सन्दर्भमा भाइबरले नेपाली रुपेैंयाँ १०,००० बराबरको स्टिकरहरुको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई यसका मनमोहक डिजाइनहरुले प्रयोगकर्ताहरुमाझ बृहत् संवेदना पनि प्रवाह गरेको भाईवरको दावी छ । हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेछ । पब्लिक च्याटमा प्रयोगकर्ताहरुले सेलिब्रेटी, प्रेरक र ब्रान्डहरुलाई पछ्याउन सक्दछन् । माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटीहरु लगायत पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फलोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीहरुको दिनचर्या, जीवनशैलीका बारेमा सुटुक्क चिहाउन सक्ने भाईवरले जनाएको छ ।

मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने

खोटाङ, ९ असार । जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिममा सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । केन्द्रीय लाइनमा जोड्ने गरी उत्पादन गर्न लागिएको सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौंले समेत लगानी गरेको छ । साप्सु कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाइड्रोपावर निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाइड्रोपावरबाट उत्पादित विद्युत् बुइपास्थित केन्द्रीय लाइनको सबस्टेसन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । हाइड्रोपावरमा चारवटा कम्पनीले कन्ट्र्याक्टमा काम गरिरहेका छन् । हाइड्रो मेकानिकलका लागि महाशक्ति हाइड्रोपावर कम्पनी, ट्रान्समिसनका लागि शाह इलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसिफिक बिल्डर्स र इलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् । हाइड्रोपावर सञ्चालन भएपछि जिल्लामा विद्युत् सञ्चालन भएका सबै गाविसमा विद्युत्भार कटौती नहुने जनाइएको छ । केन्द्रीय विद्युत् प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत् उपभोग गर्दै आएका छन् । गत असोजबाटै सञ्चालनमा ल्याउने गरी काम थालिएको हाइड्रोपावर गत साल असार १९ गतेको भीषण वर्षापछि आएको बाढीले हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वेल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रड लगायतका सामान बगाएर रु ४० लाखभन्दा माथिको क्षति गरेको थियो । त्यसपछि गत सालकै चैत अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित भएको कम्पनीले जनाएको छ । रासस

बर्जरको होमशिल्ड वाटरप्रुफ पुट्टी अब नेपाली बजारमा

काठमाडौं, ९ असार । बर्जर पेन्ट्सले बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टी नेपाली बजारमा उपलब्ध गराएको छ । बर्जर पेन्ट्सको होमशिल्ड वाटरप्रुफ पुट्टी नेपालमा पहिलो पटक उपलब्ध भएको कम्पनीले दाबी गरेको छ । भित्तामा पानीको चुहावट रोकथाम गरी भित्तालाई सधैं सुरक्षित राख्नु यस वाटरप्रुफ पुट्टीको विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले भित्ताको सौन्दर्यता बढाउनुको साथै रङको खपत घटाउदछ । बर्जर होमशिल्ड वाटरप्रुफ पुट्टीले साधारण वाल पुट्टीभन्दा उत्कृष्ट कभरेज (लगभग ५० प्रतिशत बढी) दिने कम्पनीले जनाएको छ ।

मध्यपश्चिमका पहाडी जिल्लाहरुमा टाटा सुमो

काठमाडौं, ९ असार । सनराईज यातायात व्यवसायी संघ, नेपालगञ्जले विभिन्न खालमा टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ । संघले पहाडी जिल्लाहरुलाई लाक्षित गरि उक्त गाडीहरु सञ्चालनमा ल्याएको बताएको छ । कम्पनीका अनुसार सो गाडी पहाडी बाटालाई सुहाउँदो, अत्याधुनिक एवं सुविधासम्पन्न रहेको छ । टाटा सुमो गाडी गत बैशाखमा जाँजरकोट र हालै जुम्लामा सञ्चालनमा ल्याइएको कुरा संघका अध्यक्ष गोपाल रञ्जितले जानकारी दिएका छन् ।

भूकम्प पीडितले लिने सहुलियत ब्याजको कर्जा लिने प्रक्रिया थप खुकुलो

काठमाडौं, ९ असार । भूकम्प पीडितले पाउने भनिएको सहुलियतपूर्ण ब्याजदरको कर्जाको दायरा फराकिलो बनाइएको छ । यसअघि जुन ठाउमा घर भत्किएको हो सोही ठाउमा घर बनाउन मात्रै सहुलियतपूर्ण ब्याजदरको कर्जा पाइने गरी गरिएको ब्यवस्था परिवर्तन गर्दै सरकारी निकायको सिफारिसमा जिल्लाकै अर्काे उपयुक्त स्थानमा पनि घर बनाउन कर्जा लिन पाइने ब्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्बन्धी कार्यविधिमा भएको ब्यवस्था परिवर्तन गरेको छ । यसअघि जारी गरिएको ‘भूकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुननिर्माणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि’ संसोधन गर्दै यस्तो ब्यवस्था गरिएको हो । सो कार्यविधिको बुदा नं २ संसोधन गरिएको छ । सो संसोधनमा अब ‘ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र सहुलियतपूर्ण ब्याजदरको कर्जा उपलब्ध गराइने छ, भूकम्पले क्षतिग्रस्त आवासीय घर गाउ विकास समितिमा भए गाविस भित्रै, नगरपालिकामा भए सम्बन्धित वडा भित्रै पुननिर्माण गर्नका लागि पुनरकर्जा सुविधा उपलब्ध गराइनेछ,’ भनिएको छ । यस्तै ‘तर, क्षतिग्रस्त स्थान बस्नयोग्य नरहेको प्रमाण सरकारको आधिकारिक निकायवाट प्राप्त गरेको अवस्थामा सोही जिल्लाको अर्काे स्थानमा निर्माण गरिने आवासीय घरका लागि समेत यस कार्यविधि बमोजिम पुनकर्जा प्रदान गर्न सकिने छ,’ भन्ने ब्यवस्था पनि गरिएको छ । यस्तो ब्यवस्थाले बस्ती स्थानान्तरण गरी बनाइने नयाँ घरको लागि पनि सहुलियतपूर्ण ब्याजदरको कर्जा पाउने बाटो खुल्ला गरेको हो । तर यस्तो कर्जा पाउनको लागि पीडितले सरकारको सम्बन्धित निकाय वा स्थानीय निकायको भूकम्प पीडित भइ आवासीय घर क्षतिग्रस्त भएको र ऋणी परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण वा सो सम्बन्धी ऋणीको स्वःघोषणा भने अनिवार्य गरिएको छ । यस्तै पीडितलाई घर बनाउन दिने सहुलियत ब्याजदरको कर्जा प्रदान गर्ने प्रक्रिया सरल र सहज पनि बनाउन भनिएको छ । यस्तो ब्यवस्थापछि पुनरकर्जा जाने क्रम बढेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । अहिलेसम्म करिब ५ करोड रुपैयाँ पुनरकर्जा गइसकेको बताइएको छ ।

पाल्पामा होमस्टे प्रवद्र्धनका लागि तालिम

पाल्पा, ९ असार । नेपाल पर्यटन बोर्डको सहयोगमा करियर गु्रप नेपालको आयोजनामा तानसेन र बौघागुम्हा ४ पाल्पामा होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाम तानसेनमा संचालित तालिम कार्यक्रममा कृषि सामुदायिक मदनपोखरा, मगर सांस्कृतिक वर्तुङ, र तानसेन भगवतीटोल पाल्पामा संचालित होमस्टे संचालकहरुको सहभागिता रहेको होराइजन होमस्टेकी संचालिका जानकी बस्यालले बताइन् । तालिम कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम कार्यक्रममा २५ जना सहभागी रहेको नेपाल पर्यटन बोर्डका प्रतिनिधि अमिर धोलाले बताए । कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले पाल्पालाई होमस्टेको राजधानी बनाउन सकिने धारणा राखेका थिए । त्यसैगरी ७ र ८ गते मगर संस्कृतिको बाहुल्यता रहेको रानीमहल मगर होमस्टे बौघागुम्हा ४ पाल्पामा पनि होमस्टे क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । सो क्षेत्रमा विगत ४ वर्षदेखी ११ वटा घरमा होमस्टे संचालनमा रहेको लेखबहादुर थापाले बताए । पाल्पा सदरमुकाम तानसेनबाट १४ किलोमिटर पश्चिम तर्फ रहेको होमस्टेमा १ घण्टामा पुग्न सकिन्छ । भारतको ताजमहलसँग तुलना गरीने रानीमहलको दरवारबाट सो मगर होमस्टे एक घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ । तालिम कार्यक्रममा २५ जना सहभागि रहेको करियर ग्रुप नेपालका अध्यक्ष धनबहादुर रुचालले बताए । तालिम कार्यक्रममा होमस्टे एसोसियसन नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल र पर्यटन पत्रकार भुमराज तिवारीले सहजीकरण गरेका थिए ।

करको दायरा बढाउनु व्यवसायीको हितमा छः महानिर्देशक अधिकारी

काठमाडौं, ९ असार । राजश्व अनुसन्धान विभागका महानिर्देशक निलहरी अधिकारीले करको दायरा वढाउनु व्यवसायीहरुको हितमा रहेको बताएका छन् । राष्ट्रिय व्यापार संघले आयोजना गरेको राजश्व र कर सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रममा महानिर्देशक अधिकारीले सवै व्यवसायी करको दायरामा आए सहि कार्य गर्ने व्यवसायीहरुले दुःख पाउनुपर्ने अवस्था नआउने बताएका थिए । स्वच्छ व्यवसाय गर्ने व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभागले अप्ठेरो नपार्ने बताउँदै उनले खराब काम गर्नलाई नछाड्ने घोषणा पनि गरे । यस्तै भन्सार विभागका निर्देशक सूर्य सेढाईले व्यवसायिहरुले भोग्दै आएको आयत निर्यातको समस्याको विविधतालाई एकरुपता ल्याउन व्यावसायी कोर्ड नं. को विकास गर्न लागेको जानकारी दिएका थिए । सेडाईले विभागले ल्याउन लागेको कोर्ड नं. प्राणाली प्रयोग गरी आप्mनो आयात निर्यातको तथ्याङ्कलाई व्यवस्थित वनाउन सहयोग गर्न सवै व्यवसायिहरुलाई आव्हान समेत गरे । कार्यक्रममा राष्ट्रिय व्यपार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले व्यवसायीहरुले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि आग्रह गरेका थिए । कार्यक्रममा करदाता सेवा कार्यलय न्यूरोडका प्रमुख मुक्ति आचार्यले आर्थिक वर्ष २०७३/०७४ मा राजश्व र कर सम्वन्धि भएका परिवर्तनका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय क्षेत्र न. २ का प्रतिनिधि एंव विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

एनसीसी बैंकको विशेष साधारणसभा असार २९ गते, प्रमुख अजेण्डा मर्जर सम्बन्धि

काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि भएको निर्णयहरुको अनुमोदन गराउने र बाँकी कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने गरी चार वटा प्रस्ताव विशेष साधारणसभामा प्रस्तुत गरिनेछ । दुईवटा वाणिज्य बैंकहरु एनसीसी र कुमारी तथा चार वटा विकास बैंकहरु इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक सहित ६ वटा बैंकबीच मर्ज प्रक्रिया चलिरहेको छ । यी बैंकहरुबीच मर्जर सम्वन्धि स्वाप रेसियोमा समेत सहमति भईसकेको छ ।