हात्ती छाप नोट नहुँदा तनाव, हुँदा पनि हैरानी
काठमाडौं । पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी , नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ । संकट हो – हजार रुपैयाँको नोट । रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल हातमा हजारका नोट खेलाउँदा नि तनावमुक्त छैनन् । किनकी साना दरका नोट अभावले बजारमा उनीहरुका हात्ती साटिनै मुस्किल हुन्छ । पैसा नसाटिदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ । यसको कारण हो – बजारमा हजार दरका नोटको हिस्सा बढी हुनु । साना दरका नोट ओसार पसार गर्न समस्या हुने र बजारभाउ बढ्दै जाँदा अचेल ठूला नोटको प्रचलन बढेको छ । त्यसमा पनि बजारमा प्रचलनमा आउका कुल नोटको आधाभन्दा बढी हिस्सा हजार दरका नोटले ओगटेको छ । राष्ट्र बैंकका अनुसार हजार बाहेक अन्य दरका नोटले कुल नोटको आधाभन्दा कम हिस्सा ओगट्छ । नगरिक दैनिकबाट ।
दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा भारतको असहमति, नेपाललाई भने बिजुली नल्याए पनि भाडा तिर्नुपर्ने बाध्यता
काठमाडौं । बिजुली नल्याए पनि त्यसको भाडा अनावश्यक रूपमा तिर्नुपरेको पीडा भोग्दै आएको नेपालले दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यू बुटवल–गोरखपुर) सरकारी तहबाटै निर्माण गर्नुपर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ । नेपालले दुवै देशले आ–आफ्नो क्षेत्रमा पर्ने प्रसारण लाइन संरचना सम्बन्धित सरकारले बनाउने गरी दोस्रो प्रसारण लाइन निर्माणका लागि मंगलबार काठमाडौंमा भएको नेपाल–भारत विद्युत् व्यापार कार्यान्वयनसम्बन्धी विद्युत् सचिवस्तरीय बैठकमा प्रस्ताव गरेको थियो । बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार दुवै देशको संयुक्त प्राविधिक टोलीले गरेको उक्त प्रसारण लाइनको विस्तृत अध्ययन (डीपीआर) मंगलबार सम्पन्न सचिव स्तरीय बैठकमा पेस गरिएको थियो । डीपीआर अनुसार न्यू बुटवलदेखि भारतको गोरखपुरसम्मको यो संरचनाको लागत ७ अर्ब २१ करोड भारतीय रुपैयाँ (११ अर्ब ५३ करोड रुपैयाँ) पर्नेछ । ती सहभागीका अनुसार उक्त डीपीआरलाई बैठकले स्वीकृत गरेको छ भने लगानीसम्बन्धी मोडालिटी संयुक्त प्राविधिक टोलीलाई जिम्मा लगाउने निर्णय गरेको छ । ‘ यो प्रसारण लाइनको विकास स्वरूप (मोडालिटी) र लगानी तय गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने निर्णय भयो, बैठकपछि ती अधिकारीले भने, ‘तर नेपाल सरकारको मुख्य जोड यो प्रसारण लाइन सरकारी तहमै निर्माण गर्नेमा छ।’ दुवै देशबीच व्यापारिक तवरमा प्रसारण लाइन निर्माण गर्दा नेपालले नौ महिनाका लागि बिजुली आयात गर्दा पनि प्रसारण लाइनको भाडाबापत मात्र एक अर्ब रुपैयाँ तिर्नुपर्छ । ‘यस्तो नियति नदोहोरियोस् भन्न हामीले विकास स्वरूप परिवर्तन गरी सरकारी तहमा गर्न खोजेका हौुं, ऊर्जा मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीले यसको विकल्पमा रक्सौल परवानीपुरजस्तै भारतीय अनुदानमा लगानीका लागि प्रस्ताव गरेका छौं। अन्नपूर्ण पोस्टबाट ।
काठमाडौंमा जेठदेखी महानगरबस, एक सयवटा बस एकैपटक सञ्चालन
काठमाडौं । सर्वसाधारण यात्रुको सहज यात्राका लागि उपत्यकाका २२ वटा नगरपालिकाको लगानीमा बससेवा सञ्चालन हुने भएको खबर आजको गोरखापत्रमा छ । जेठदेखि बस सञ्चालन गर्ने गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका सबै नगरपालिकालाई सम्झौता गराएकोे छ। बस सञ्चालनका लागि एक कम्पनी स्थापना गर्ने र कम्पनीमा ५० प्रतिशत नेपाल सरकारको लगानी रहनेछ भने बाँकी नगरपालिकाको लगानी रहने खाका तयार भएको छ। दश करोड रकम शेयरका रुपमा कम्पनीमा राखी बस सञ्चालन गरिने मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । यो कम्पनीले उपत्यकामा सुविधा सम्पन्न र ३० देखि ५० सिट क्षमताका एक सयवटा बस सञ्चालन गर्ने तयारी गरेको छ। उपत्यकाभित्र बाक्लो बस्ती बढ्दै गएको र सर्वसाधारणलाई सहज र सरल तरिकाले आवतजावतका लागि नगरपालिका र सरकारको पहलमा बस सञ्चालन हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। श्रेष्ठका अनुसार कम्पनीमा काठमाडौं महानगरपालिकाले दुई करोड, ललितपुर उपमहानगरपालिकाले एक करोड, भक्तपुर नगरपालिकाले ६० लाख, कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, नागार्जुन र मध्यपुर थिमिको ३५्३५ लाख रुपियाँ शेयर लगानी रहनेछ। त्यस्तै शंखरापुर, कागेश्वरी मनहरा, तारकेश्वर, चन्द्रागिरि, दक्षिणकाली, कार्यविनायक, गोदावरी, महालक्ष्मी, वज्रवाराही, अनन्तलिङ्गेश्वर, सूर्यविनायक चाँगु र नगरकोटले दश – दश लाख रुपियाँको सहभागिता जनाउनेछन् ।
३७ लाख जनतालाई खानेपानी सुविधा छैन, जलस्रोतको धनिदेशमै सफा पानी पिउँनबाट बञ्चित
काठमाडौं । जलस्रोतको धनी देश भए पनि १३ प्रतिशत नेपाली अझै स्वच्छ खानेपानीबाट पूर्ण रूपमा वञ्चित छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ३७ लाख ५० हजार ५ सय ९३ जनसंख्याले अशुद्ध पानी पिउने गरेका छन् । उनीहरूले खोला, नदी, इनारको पानी प्रयोग गर्दै आएको मन्त्रालयको तथ्यांक छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको पानी २० प्रतिशतले मात्र प्रयोग गरेका छन् । २ करोड ८८ लाख ५० हजार ७ सय १७ जनसंख्यामध्ये ५७ लाख ७० हजार १ सय ४३ जनाले मात्र राष्ट्रिय मापदण्डअनुसार स्वच्छ पिउने पानी पाएको खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांक छ । स्वच्छ पानी सहरी क्षेत्रका बासिन्दाले मात्र पिउन पाएको पनि मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको खानेपानी महाशाखाका सिनियर डिभिजन इन्जिनिर हरिप्रसाद तिमिल्सिनाले भने, ‘प्रशोधित पानी प्रयोग गर्नेहरू राजधानीलगायत ठूला सहर तथा जिल्ला सदरमुकाममा मात्र सीमित छन् ।’ बजेट अभावका कारण प्रशोधित स्वच्छ पानी सबै ठाउँमा पुर्याउन नसकिएको इन्जिनियर तिमिल्सिनाले दाबी गरे । उनले भने, ‘अहिलसम्म पानीको पहुँचमा पुर्याउन मात्र ठिक्क भएको छ ।’ पर्याप्त बजेट विनियोजन भएमा मात्र सबैलाई स्वच्छ पानी उपलब्ध गराउन सकिने उनको भनाइ छ । चालू आवमा खानेपानी मन्त्रालयको बजेट ३२ अर्ब ६४ करोड रुपैयाँ छ । कुल जनसंख्याको ६७ प्रतिशतले मापदण्ड नपुगेको पानी पिउने गरेका छन् । यस्तो पानी पिउनको जनसंख्या एक करोड ९३ लाख २९ हजार ९ सय ८० रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । उनीहरूले प्रशोधन नगरिएको धारा तथा ट्युबेलको पानी सीधै पिउने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांशले यस्तो पानी प्रयोग गर्ने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।
पाँच रुटमा साझाको रात्रीकालीन बस सेवा सुरु, ९ देखि ११ बजेसम्म वस संचालन हुने
काठमाडौं । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक – एक बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– बीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ । बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ । साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रीकालिन सेवा भएकाले यात्रु जँहा झारे पनि २५ रुपैया भाडा लिइने जानकारी दिए । ‘बन्द, हडताल, चाडपर्व पनि बस सुचारु राखिनेछ,’ उनले भने । साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए । ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने । यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ । कान्तिपुर दैनिकबाट ।
बैंक ग्यारेन्टी नहुँदा नेपाल वायुसेवा निगमले राष्ट्र बैंकबाट डलर सटही सुबिधा पाएन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल नेपाल वायुसेवा निगमसँग डलर अपचन नहुने ग्यारेन्टी मागेकाे छ । निगमले खरिद गर्न लागेको लामो दूरीको उडान क्षमता भएको जहाज (वाइडबडि) जहाजका लागि वैना रकम पठाउन १० लाख अमेरिकी डलर सटही गरिदन अनुमति मागपछि राष्ट्र बैंकले भुक्तानी गरिने बैना नडुब्ने र डलर अपचलन नहुने सुनिश्चितता खाेजेकाे हाे । वायुसेवा निगमले माग गरेअनुसार राष्ट्र बैंकले डलर सटही गरिदिन तयार रहेकाे तर उसले अावश्यक डकुमेन्ट बुझाउन बाँकी रहेकाे राष्ट्र बैंक स्राेतले बतायाे । ‘पर्यटन मन्त्रालयकाे पत्र पनि अाएकाे छ, निगम सञ्चालक समितिकाे निर्णाय पनि अाएकाे छ । तर जहाज बिक्री गर्ने कम्पनीले बैंक ग्यारेन्टी दिएकाे छैन । बैना नढुब्ने ग्यारेन्टी खाेजेका छाैं’ राष्ट्र बैंकका उच्च अधिकारीले विकासन्युजसँग भने । निगमले तीन साता अगाडि नै बोर्ड बैठकबाट बैना रकम पठाउने निर्णय गरेको भएपनि नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटहीको अनुमति पर्खिरहेको छ । २ वटा दुई सय ८० सिट क्षमताको वाइडवडि जहाज किन्न निगमले १० करोड रुपैयाँ बैना रकम अमेरिकी जहाज कम्पनी एएआर करर्पाेरेसनलाई पठाउने तयारी गर्दै छ । निगमका कर्पोरेट निर्देशक रविन्द्र श्रेष्ठका अनुसार ‘नेपाल राष्ट्र बैंकबाट डलर सटहिको अनुमति अाएपछि बैना रकम पठाउँने जानकारी पनि श्रेष्ठले विकासन्यूजलाई दिए । निगमले अमेरिकी जहाज विक्रेता कम्पनी एएआर कर्पोरेशनलाई दुईवटा जहाजका लागि १० करोड रुपैयाँ बैना रकम पठाउने तयारी गरेको छ । निगमका अनुसार एउटा जहाजलाई पाँच लाख बैना रकम दिँदा पनि कम्तिमा ५ करोड ४५ लाख रुपैयाँ प्रति जहाजको पठाउने तयारी भएको छ । निगमका अनुसार जहाज बेच्ने कम्पनीले २० करोड रुपैयाँ बैना रकम मागेको भएपनि तत्कालका १० करोड रुपैयाँ मात्रै पठाउने भएको छ । निगमले कर्मचारी संचय कोषबाट २५ अर्ब रुपैयाँ ऋण लिएर जहाज खरिद गर्ने भएको छ । निममलाई एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडि दिने भएको छ । निमगले कम्पनीले प्रति वाइडविड ११ अर्ब ३५ करोड रुपैयाँमा जहाज किन्ने भएको छ ।
राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै
राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ आफ्नो प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै | राष्ट्रिय फूटबल टिमलाई समर्थन गर्दै कोका-कोला मो:मोत्सव आफ्नो नजिकको रेस्टुरेन्टमा मनाउन सकिने कम्पनीले जनाएकाे छ ।
एनसेलका ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने, ८० लाख नेपालीले फेसबुक चलाउने अाधिकारीक जानकारी
काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । ‘‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भने । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने । पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए । “एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पु¥याउने विश्वास छ,” नाइग्रेनले कार्यक्रममा भनिन् । फेसबुक फ्रि अफर यहि बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने एनसेलले जनाएकाे छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार पनि ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् । फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् । यसअघि कति नेपालीले फेसबुक चलाउँछन् भन्ने अाधिकारिक तथ्याङ्क सार्वजनिक भएकाे थिएन । फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । उदाहरणका लागि ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्ने कम्पनीले जनाएकाे छ ।