विकासन्युज

स्थानीय चुनावपछि देश आर्थिक विकासमा अगाडि बढ्छ- मीनबहादुर श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले सोमबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैंकको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय चुनावपछि राजनीतिक स्थितिमा सुधार आउने र देश आर्थिक विकासमा अगाडि बढ्ने बताए । उनले चौधौँ योजना कार्यान्वयनका क्रममा रहेको र सन् २०३० सम्मका लागि दीर्घकालीन योजना तयार पारेको उल्लेख गरेका छन् । आगामी केही वर्ष भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्ने बताउँदै उपाध्यक्ष डा श्रेष्ठले विश्व बैंकलगायतका विकासका साझेदार संस्थाबाट वैदेशिक लगानी भित्र्याउन आवश्यक सहयोगको अपेक्षा गरे । जवाफमा निर्देशक डा एन्डिनले नेपालको वर्तमान आर्थिक अवस्था, योजना आयोगको भूमिकालगायतका विषयमा चासो व्यक्त गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रको लगानीको सुरक्षाको सुनिश्चितता गर्दै निजी क्षेत्रको भूमिका बढाउनुपर्ने बताए । रासस

बिमाले किसान पशुपालनतर्फ आकर्षित, बिना झन्झट घरमै क्षतिपूर्ति रकम उपलब्ध

पाल्पा । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पशुबिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पाँच प्रतिशत प्रिमियम छुटमा घरदैलोमा नै गएर पशुबिमा गर्ने सेवा किसानलाई दिँदै आएको छ । पशुपालन क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको पशुबिमा कार्यक्रमले पशुपालक किसानलाई ठूलो फाइदा पुगेको समितिका संयोजक नगीलाल पौडेलले बताए । संस्थामा एक पशुबिमा गर्ने किसानलाई सहकारीले एक सेयर थप गरिदिने भएको छ । अहिलेसम्म एक हजार ५४६ पशुको बिमा गरिएको छ । गाई ३९३, भैँसी एक हजार ९३, बाख्रा ३८ र बङ्गुर २२ को बिमा गरिएको उक्त संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले बताए । सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका विभिन्न गाविस तथा नवलपरासी, तनहुँ, स्याङ्जाका विभिन्न स्थानका किसानको घरदैलोमा गई पशुबिमा गर्दै आइरहेको छ । समितिले बिमा गरेका पशुका लागि समय समयमा जुका, माटेका औषधि तथा विभिन्न रोगका भ्याक्सिङ पनि निःशुल्क रुपमा किसानलाई सेवा दिँदै आएको छ । सरकारले पशु बिमाका लागि जिल्ला पशु सेवा कार्यालय, सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत बिमा कार्यक्रम सञ्चालनमा ल्याए पनि यस क्षेत्रमा भने खासै प्रभाव नपरेको किसान बताउँछन् । समयमा नै बिना झन्झट घरमै क्षतिपूर्ति रकम उपलब्ध गराएपछि सरकारी कार्यक्रमका सट्टा सहकारीमा बिमाको आकर्षण बढेको पाइएको छ । “सरकारी प्रक्रियाले काममा ढिला हुने हुँदा सहकारीमै पशुबिमा गरेँ, बिमा गरेपछि भैँसी मर्यो, सहकारीले घरमै क्षतिपूर्ति रकम उपलब्ध गरायो,” रामपुरका वासुदेव ढुङ्गानाले भने । रासस

पशुपक्षी विकास मन्त्रालयमा श्रीप्रसाद जगेबु, प्रधानमन्त्रीद्धारा राज्यमन्त्रीको कार्यभार प्रदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहेएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गरेका छन्। प्रधानमन्त्रीले सोमबार राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपप्रधानमन्त्रीको हैसियतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यभार सम्हालेपछि राज्यमन्त्री जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिएका हुन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रधानमन्त्रीले गृहराज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएका र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ मन्त्री भएर आएपछि राज्यमन्त्री बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । रासस

सेज स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

त्रिशूली । सरकारले यसअघि नै जनाएको प्रतिबद्धताअनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र (सेज) कार्यान्वयन गर्न माग गरिएको छ । सरकारले पछिल्लो १० वर्षदेखि नुवाकोटसहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य सङ्घले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको ध्यानाकर्षण गराएको हो । सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको रातमाटेको महादेवफाँट, जिलिङको पाँचखलेसहित आसपासका क्षेत्रमा सेज घोषणाको तयारीका लागि २०६१ सालमा नै सम्भाव्यता अध्ययन पूरा गरेको बताए। सेजको स्थापनाबाट नयाँ रोजगारको सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र दैनिक उपभोग्य सामग्री आफ्नै स्थानमा उत्पादन गर्न सक्षम हुने उनको भनाइ छ । सरकारले यसअघि विदुर नगरपालिका-६ खम्बाक्याम्पमा सेज निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । जिल्लामा ठूला उद्योग तथा कलकारखाना नहुँदा यहाँका व्यवसायी तथा उद्योगी निराश भएका अध्यक्ष कार्कीले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री केसीले सरकारको अहिलेको ध्यान निर्वाचनमा केन्द्रित रहेको र निर्वाचन आचारसंहिता जारी भएकाले कार्यान्वयनमा केही समस्या हुने बताए । “निर्वाचनपछि विकास तथा आर्थिक समृद्धिमा केन्द्रित रहेर प्रक्रिया अगाडी बढाउँछौँ,” मन्त्री केसीले भने । रासस

चौथो पूर्वाञ्चल क्षेत्रीय महोत्सव सम्पन्न, दुई करोड रुपैयाँ बढीको आर्थिक कारोबार

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्कको परिसरमा सञ्चालन हुँदै आएको चौथो पूर्वाञ्चल क्षेत्रीय महोत्सव आइतबार साँझ सम्पन्न भएको छ । एघार दिनसम्म सञ्चालन भएको महोत्सवमा झन्डै दुई करोड रुपैयाँ बढीको आर्थिक कारोबार भएको त्रियुगा उद्योण वाणिज्य सङ्घ गाईघाटले बताएको छ । स्थानीयस्तरमा उत्पादित वस्तु, हस्तकला तथा घरेलु उत्पादन गरिएका सामग्री प्रचारप्रसार गर्न र बजार विस्तार गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त क्षेत्रीय महोत्सवमा २०० व्यापारिक स्टल सञ्चालन भएको त्रियुगा उद्योण वाणिज्य सङ्घ गाईघाटका महासचिव चूडामणि कार्कीले बताए। गायक दीपक लिम्बू र शिव परियारले महोत्सवमा गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै महोत्सवको समापन भएको थियो ।

फास्ट ट्रयाकमा जनताले लगानी गर्न पाउने, विकास बण्ड र ऋण पत्र जारी गर्न प्रस्ताव

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकमा जनताले लगानी गर्न पाउने भएका छन् । फास्ट ट्रयाकको मोडालिटी तयार पार्न गठित समितिले बुझाएको प्रतिवेदनमा जनताले पनि लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो । सरकारले नै पब्लिक एक्सप्रेस हाइवेका रुपमा निर्माण गर्ने निर्णय गरेको फास्ट ट्रयाकमा जनताले बण्ड वा ऋण पत्र खरिद गरेर लगानी गर्न सक्नेछन् । सो बण्ड वा ऋण पत्र खरिद गरे वापत जनताले ब्याजका रुपमा निश्चित प्रतिशत प्रतिफल पाउनेछन् । ‘आयोजनाका लागि प्रस्तावित कम्पनी वा अन्य कुनै उपयुक्त संयन्त्रले आयोजना लक्षित विशेष ऋण पत्र जारी गरि वा विकास बण्ड जारी गरि अपुग रकमको श्रोत जुटाउने व्यवस्था गर्ने’, अध्ययन समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ । सो अध्ययन समितिले नेपाल सरकारकै लगानीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण गर्न सकिने सुझाव पनि पेश गरेको थियो । इपिसी मोडलमा निर्माण गर्न प्रस्ताव गरिएको आयोजनाका लागि नेपाल सरकारको सेयर स्वामित्व भएको कम्पनी वा अन्य उपयुक्त संयन्त्र निर्माण गर्नुपर्नेमा पनि जोड दिएको थियो । ७६ दशमलब ४ किलोमिटर दुरीको फास्ट ट्रयाक आयोजना निर्माणका लागि भारतीय कम्पनी आइएल एण्ड एफएसँग भएको अघिल्लो सम्झौतालाई सरकारले पुस ७ गत रद्ध गरेको थियो । सरकारले सो कम्पनीसँग डिपिआरको रिपोर्ट लिएर आफैं निर्माण अघि बढाउने निर्णय पनि गरिसकेको छ । चालु आर्थिक बर्षमा फास्ट ट्रयाकका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ ।

एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज, हकप्रद निष्कासन गर्ने

काठमाडौं । एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३२ रुपैयाँमा करोबार भइरहेको छ ।

पूर्वाधार तयार नहुँदा अन्नपूर्णमा अन्तर्राष्ट्रिय चेनको दुषित थानी आउन ढिलाइ, अझै तीन वर्ष लाग्ने अनुमान

काठमाडौं । पाँचतारे होटल अन्नपूर्ण होटलले अन्तर्राष्ट्रिय चेन दुषित थानी ल्याउन गरेको सहमति करिब २ वर्ष पुगिसकेको भएपनि पूर्वाधार तयार नहुँदा विदेशी चेन भित्र्याउन सकेको छैन । अन्नपूर्ण होटलकी निर्देशक सिर्जना राणाका अनुसार थाइल्याण्डको अन्तर्राष्ट्रिय चेन भित्र्याउने भनेर सहमति भएपनि आवश्यक पूर्वाधार तयार पार्न नसक्दा दूषित थानी आउन ढिलो भएको बताइन । उनका अनुसार होटले २ वर्षमै ६० कोठा थप गर्ने, गुणस्तर, सेवा सुविधा थप गर्ने र अन्तर्राष्ट्रिय चेन ल्याउने तयारी गरेको थियो ।   राणाका अनुसार यो समयमा १६० कोठाको होटल २३० कोठाको बनाउने भन्ने तयारी थियो । तर, लगानीको वातावरण बन्न नसक्दा र अन्य प्राविधिक कारणले अन्तर्राष्ट्रिय चेन भित्र्याउन ढिलो भएको उनले स्वीकार गरिन् । राणाका अनुसार अबको तीन वर्षमा सेवा, सुविधा, गुणस्तर, पूर्वाधारको क्षमता बढाएर दुषित थानी भित्र्याउने लक्ष्य छ । राणाका अनुसार ६० कोठा थप गर्नुपर्ने, सभा सम्मेलन हलको क्षमता बढाउने, होटलमा क्यासिनो राख्नेसहितका सबै काम गरेर मात्रै विदेशी चेन ल्याउनुपर्छ । विदेशी चेन ल्याउदा उसको गुणस्तरलाई खस्कन नदिने, सोही अनुसारको सेवा सुविधा हामीले नपुराएसम्म विदेशी चेन पनि नआउने भएकोले आवश्यक तयारी भइरहेको राणाले जानकारी दिइन् । राणाका अनुसार होटलले हाल चितवतको जगतपुरमा आफ्नो होटलको शाखाका रुपमा जगतपुर रिसोर्ट संचालनमा ल्याएको छ । उनका अनुसार विदेशी चेन ल्याउन लाग्ने तयारीमा ढिलो भएकोले पनि यो रिर्सार्टमा लगानी गरिएको हो । अब हामी होटलकै क्षमता र सेवा सुविधामा बढाउनमा केन्द्रित हुने छौ, राणाले विकास न्युजसँग भनिन् । क्यसिनो इम्पेरिलय भित्रदै यो होटलमा क्यासिनो इम्पेरियल भित्रने भएको छ । यो क्यासिनो संचालन गर्न हालको कुमारी व्याक्वेटमा हल प्रयोग हुने भएको छ । होटलले हल प्रयोग गर्न दिने गरी आवश्यक पूर्वाधार बनाउन दिने भएको छ । राणाका अनुसार क्यासिनो संचालन गर्ने दिने विषयले अन्तिम टुङ्गो नलागेको बताइन् । उनका अनुसार आवश्यक सर्त र सुविधा अनुसारको सहमति होटलसँग हुन बाँकी रहेको छ । यो होटलमा क्यासिनो संचालन गर्ने विषयमा भने २ महिना अगाडि नै पर्यटन विभागबाट क्यासिनो इम्पेरियले पूर्व सहमति लिइसकेको छ । क्यासिनोमा ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपालीको लगानी हुने भएको छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार क्यासिनोले पूर्व सहमति लिएर गएकोले आवश्यक पूर्वाधार बनाउँदै छ । यसले पूर्वाधार बनाएर संचालनको लागि मात्रै अन्तिम स्वीकृति लिन आउने भएको पनि उनको भनाइ छ ।