विकासन्युज

 एनआईबिएल क्यापिटल मोबाइल एप अब आइओएस भर्सनमा पनि

काठमाडौं, ६ असार । एनआईबिएल क्यापिटल मार्केट्सले आफ्ना ग्राहकवर्गलाई लक्षित गरेर “एनआईबिएल क्यापिटल मोबाइल एप” आइओएस भर्सनमा पनि ल्याएको छ । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डिम्याट अकाउन्ट लगायत अन्य सेवाहरुको बारेमा समेत जानकारी लिन सकिन्छ । साथै एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि ताजा खबर तथा एनआईबिएल समृद्धि फण्ड–१ को बारे पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनआईबिएल क्यापिटलले सर्वप्रथम एनरोइड भर्सनको लागि मात्र यो एप सञ्चालनमा ल्याएको थियो । ग्राहकवर्गको माग अनुरुप एनआईबिएल क्यापिटलले आइओएस भर्सनमा पनि यसलाई विकासित गरेको कम्पनीले जनाएको छ । ग्राहकले एप स्टोरबाट यसलाई डाउनलोड गरि त्यसमा आफ्नो डिम्याट अकाउन्टको पासवर्ड हाली लगइन गरे पछि ग्राहकको चाहाना अनुरुप एपमा रहेको बिशेषताहरु हेर्न सक्ने र साथै एनआईबिएल समृद्धि फण्ड–१ कोविक्ली मन्थ्ली एनएभी पनि हेर्न सक्ने कम्पनीले बताएको छ । यस एपबाट आइओएसको निष्काशन, हालसालै गरेको बोनस, नगद लाभांस, हकप्रद शेयरको बारे पनि जानकारी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेञ्चुरी बैंकद्वारा भिसा क्रेडिट कार्ड सेवा शुरु

काठमाडौं, ६ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा के्रडिट कार्डको शुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकले भिसा के्रडिट कार्डको सेवा ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने भएको छ । हालसम्ममा बैंकले ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म बैंकले कुल निक्षेप २६ अर्ब एक करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । सो अबधिमा बैंकले २३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

काबुल बिस्फोटमा १४ नेपालीको मृत्यु

काठमाडौं, ६ असार। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमाबार बिहान आतंकवादीहरुले मिनीबसमाथि बम आक्रमण गरेका थिए । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले रोकिएको बसमा बिष्फोट गराएका थिए । आक्रमणकारी समेत सोही विस्फोटमा मारिएका छन् ।

साना सवारीसाधनले मनपरि भाडा लिँदा यात्रु मारमा

उदयपुर, ६ असार । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ । कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर रु ३५० देखि ४०० सम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको यात्रु बताउँछन् । रुपाटारकाका स्थानीय मोहन राउतका अनुसार कटारीदेखि रुपाटार ओख्लेसम्मको यात्राको लागि अहिले एक सवारीसाधनले प्रति यात्रु रु ५५० देखि ७०० सम्म भाडा लिने गरेका छन् । साना यातायातका साधन जिप तथा सुमोको यातायात सङ्घको निर्णयअनुसार रु ४०० सम्म भाडादर लिन सक्ने भए तापनि सवारी चालकले बढी महँगो भाडा लिएर यात्रु ठग्ने गरेको ओख्ले–७ का भुपेन्द्र राई बताउँछन् । यस क्षेत्रमा साना सवारीका साधनमा भाडादर अनुगमन गर्ने निकाय नहुँदा र सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु बढी मारमा पर्नुपरेको रुपाटरकै अर्का स्थानीय पदम खड्का बताउँछन् । तर कटारी बेतेनी, रुपाटारसम्मका एक जिप सञ्चालक होमबहादुर मगर भने आफूहरूले समयअनुसार सवारी भाडा बढाउन बाध्य भएको बताउँछन् । साना सवारीका साधन यातायात व्यवसायी सङ्घको समेत निश्चित सवारी भाडादर निर्धारण गरेको भए तापनि यस्ता भाडादर बाहिर देखाउनको लागिमात्र निर्धारण भएको सवारी सञ्चालक नै बताउँछन् । एकातिर एउटा सवारी भाडादर निर्धारण गर्ने र अर्कातिर यात्रुबाट महँगो भाडा लिने कार्य बढ्दै गए पनि सम्बन्धित निकायको यसतर्फ उचित ध्यान नगएको यात्रुको गुनासो रहेको छ । रासस

चितवन निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व सङ्कलन

चितवन, ६ असार । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट रु ११ करोड ९३ लाख ६७ हजार २७३ राजस्व सङ्कलन भएको छ । निकुञ्ज घुम्नेमा ४२ हजार १५१ जना पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिए । रु आठ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ । चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार बढी राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आवमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ । रासस

नक्कली चिकित्सक बनेका छत्तीस सार्वजनिक

काठमाडौं, ५ असार । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेका ३६ जनालाई गत शुक्रबार १० जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाको विवरण आइतबार सार्वजनिक गर्दै प्रहरीले काठमाडौँबाट पुरुष आठ, महिला पाँच, ललितपुरबाट पुरुष दुई, झापाबाट पुरुष एक, सुनसरीबाट पुरुष एक, मोरङबाट पुरुष तीन, धनुषाबाट पुरुष दुई, पर्साबाट पुरुष नौ, चितवनबाट पुरुष दुई, महिला एक, कास्कीबाट पुरुष एक र दाङबाट पुरुष एक नक्कली चिकित्सकलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ । पक्राउपर्नेमा महोत्तरी बथ्नाहा घर भई हाल काठमाडौं बस्दै झरना फार्मेसी कपनमा कार्यरत पुनम कर्ण, स्याङ्जा कुवाकोट घर भई हाल काठमाडौं बस्दै कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल, सामाखुसीमा कार्यरत बुद्धिमान श्रेष्ठ, झापा, चारपाने गाविस वडा नं ३ घर भई हाल तिलगङ्गा आँखा अस्पतालमा कार्यरत लिली राजवंशी रहेका छन् । यसैगरी, काठमाडौं, लैनचौर स्थायी घर भई ब्राइट स्माइल डेन्टल क्लिनिकमा कार्यरत बिनिता अधिकारी, महोत्तरी, पिपरा–३ घर भई हाल सोसाइटी डेन्टल क्लिनिकमा कार्यरत रावेत रञ्जनकुमार ठाकुर, काठमाडौं बत्तीसपुतली घर भई नेपाल परिवार नियोजन सङ्घ ललितपुरमा कार्यरत गजानन्दप्रसाद भण्डारी, धनुषा सपही घर भई हाल ट्रमा सेन्टरमा कार्यरत सन्तोषकुमार झा रहेका छन् । त्यस्तै, धनुषा, जनकपुर घर भई हाल लोकहित डेन्टल अस्पताल त्रिपुरेश्वरमा कार्यरत गणेश साह, धनुषा घर भई हाल आम्दा नेपाल जोरपाटी र हेल्दी डेन्टल क्लिनिकमा कार्यरत निलिमा खड्का महत, महोत्तरी, सरपल्लो–२ घर भई हाल रेशा फर्म, चाबहिलमा कार्यरत विनिता मण्डल, रूपन्देही, सिद्धार्थनगर घर भई हाल तनहुँ सेवा हस्पिटलमा कार्यरत राहिल फाज अन्सारी रहेका छन् । त्यसैगरी, भक्तपुर, दधिकोट घर भई हाम्रो सहयात्रा हस्पिटल भक्तपुरमा कार्यरत राम घिमिरे, पर्सा, बगही घर भई शान्ति क्लिनिक, वीरगन्जमा कार्यरत कुशराज गिरी, पर्सा, भवानीपुर घर भई गण्डक अस्पताल, वीरगन्जमा कार्यरत पन्नलालप्रसाद पटेल, सर्लाही, वसन्तपुर घर भई हाल मेरी स्टोप्स सेन्टर पोखरामा कार्यरत महेश्वर राय यादव, रौतहट, सकुअवा घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत निमेषपाल रमन, रौतहट, तेजापाकड घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत मोहम्मद रूहुल्लाह, झापा, अनारमनि घर भई बजरङ्ग क्लिनिक झापामा कार्यरत रन्धीर राजवंशी रहेका छन् । यस्तै, गोरखा घर भई हाल प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य, सिरहा, मानपुर घर भई हाल विराटनगर ट्रमा अस्पतालमा कार्यरत मोहम्मद अबुल कलाम, पर्सा, वीरगन्ज घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल वीरगन्जमा कार्यरत इशादुल हक, पर्सामा कार्यरत सरोजकुमार सिंह, सुनसरी धरान घर भई हाल पुरानो मेडिकल कलेज, चितवनमा कार्यरत रजनी अग्रवाल रहेका छन् । अन्य पक्राउमा महोत्तरी पिपरा घर भई हाल केयर नरसिंह होम, जनकपुरमा कार्यरत रवीन्द्रकुमार पाण्डे, धनुषा, सिनुरजोडा घर भई पूजा मेडिकल हलमा कार्यरत रामजी यादव, बारा कलैया घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत रामकुमार प्रधान, दाङ, तुल्सीपुर घर भई हाल बीआर डेन्टल क्लिनिक तुल्सिपुरमा कार्यरत विष्णुप्रसाद भुसाल रहेका छन् । त्यसैगरी पर्सा, वीरगन्ज घर भई हाल नर्भिक अस्पताल थापाथली, बिएन्ड बि ग्वार्कोमा कार्यरत अरूणकुमार गुप्ता, सिरहा, भवानीपुर कालाबन्जर घर भई हाल राम डाइग्नोस्टिक क्लिनिक विराटनगरमा कार्यरत सञ्जयकुमार दास, पर्सा, वीरगन्ज घर भई कलेज अफ मेडिकल साइन्स भरतपुर र नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत दिनेशकुमार साह पक्राउ परेका छन् । साथै, मोरङ, विराटनगर घर भई हाल सुनसरीमा एफपानमा कार्यरत मनिष अर्याल, पर्सा, सोनवर्षा घर भई चितवन मेडिकल कलेजमा कार्यरत राजन पुरी र नवादा, विहार, भारत घर भई हाल लाइफ गार्ड अस्पताल, विराटनगर, बरगाछीमा कार्यरत जावेद अख्तर अन्सारी पक्राउ परेका छन् । अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपश्चात् उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । यसअघि पनि दुई दर्जन नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई ब्युरोले पक्राउ गरिसकेको छ । रासस

चोभारमा एनआरएनको वृक्षारोपण

काठमाडौं, ६ असार । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले चोभार डाँडामा वृक्षा रोपण गरेको छ । संघले विगत केहि वर्षदेखि नै चोभार क्षेत्रमा वृक्षारोपण गर्दै आएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३ का दिन नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर पुनः वृक्षारोपण कार्यक्रम गरेको हो । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर एनआरएनले नेपालको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गृह मन्त्री शक्ति बस्नेतले समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गरेका थिए । नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले जापानले नेपाललाई जहिले सहयोग गर्दै आएको बताएका थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको राजनीतिक अवस्थालाई स्थिर बनाई नेपालको समग्र क्षेत्रको विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ द्रुत गतिले अघि बढाउन आग्रह गरेका थिए ।

रन सुजको स्कुल कलेज अफर

काठमाडौं, ६ असार । रन सुज इण्डष्टिज प्रालिले स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर नामक उपहार योजना बजारमा ल्याएको छ । योजना अनुसार प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने छ, जसमा हातखाली नहुने गरि एक लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सकिने छ । साथै स्कुल र कलेजका विद्यार्थिलाई लक्षित गरि नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । बजारमा आएका नयाँ मोडलका स्कुल कलेज जुत्ताहरु सस्तो, बलियो र आरामदायी रहेको कम्पनिका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । रनका जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आईएसओ ९००१ः२००८ अवार्ड प्राप्त उद्योगले रन ब्राण्डका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण गर्दै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।