विकासन्युज

एनएलजी इन्स्योरेन्सका संचालक पाण्डेले दिए राजिनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक भुपेन्द्र पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । हालै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले मंसिर १४ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामालाई स्वीकृत गरेको हो ।

धौलागिरी यातायातको अनलाईन टिकेटिङ सुरु, अब मुस्ताङ जान काउन्टरमा धाउन नपर्ने

काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिले  टिकट अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातले बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाईनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको जनाएका छन् । यात्रायात क्षेत्रलाई पनि अब प्रविधी मैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सक्ने भएका छन् । करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका उक्त समितिमा पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने भएका छन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो । यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्ने भएका छन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गराउँनु समृद्धिको आधार : मन्त्री पौडेल

काठमाडौं । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाउने जानकारी दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि रहेको भनाई व्यक्त गरेका छन् । निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउन सक्दा विकास प्रभावकारी हुनसक्ने बताउँदै कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने जनाएका छन् । कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुने छ । प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरेको जानकारी दिएका छन् । गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ । रासस

कहाँ पुग्यो लगानीकर्ता र ब्रोकर सम्झौताको मस्यौदा ? कहिले आउँछ युजरनेम र पासवर्ड ?

काठमाडौं । अनलाइन शेयर कारोबारअघि लगानीकर्ता र ब्रोकरबीचको सम्झौताबारे सुझावका लागि ब्रोकरहरुले तयार पारेको प्रारुप सार्वजनिक भएपछि लगानीकर्तामा हलचल मच्चियो । सबै लगानीकर्ता संघका पदाधिकारीहरुले यसमा विरोध जनाए । लगानीकर्ताहरुको सहमतिविना ल्याइएको सम्झौतापत्रकाे मस्याैदा आफूहरुले कुनै पनि हातमा स्वीकार नगर्ने उनीहरुको भनाई रह्यो । तर, ब्रोकर एशोसिएसनका पदाधिकारीहरुले त्यो एउटा प्रारुप मात्र भएको र त्यसमा व्यापक छलफल गरिने बताएपछि उक्त विषय साम्य भयो । त्यसो त त्यो मस्याैदा पत्रलाई अन्तिम रुप दिने अधिकार नेपाल स्टक एक्सचेञ्जलाई छ । उसले मस्याैदा पत्रका लागि ब्रोकरले दिएको प्रारुपका सबै बुँदाहरुलाई सुक्ष्म ढंगले केलाइरहेको बताएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले यसबारे नेप्से व्यवस्थापनले छलफल चलाइरहेको बताए । उनले १/२ दिनभित्रै निर्णयमा पुग्ने समेत शुक्रबारको कुराकानीमा जानकारी दिए । कुन कुन विषयमा लगानीकर्ताको असहमति ? ब्रोकरले तयार गरेको प्रारुपका प्रत्येक बुँदाहरुले ब्रोकर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको र सबै दोष जति लगानीकर्तालाई दिन खोजेको आरोप लगानीकर्ता संघका पदाधिकारीले लगाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उक्त बुँदाहरु हुबहु आए त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए । त्यस्तै लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि उक्त मस्यौदा देख्दा आफूहरु अचम्मित भएको बताएका थिए । उक्त मस्यौदाका अधिकांश बुँदामा रहेको भाषामा ब्रोकरहरुको असहमति रहे पनि मुख्य बुँदा भनेको कालोसूचिमा नरहेको प्रमाणपत्र पेश गर्नुपर्ने भन्ने विषय प्रमुख हो । यस्तो प्रमाणपत्र पेश गर्नुपर्ने अवस्थामा शेयर बजारका १५ लाख लगानीकर्ता र थप हुने लगानीकर्ताहरुले समेत कालोसूचिमा नपरेको प्रमाणपत्रका लागि कर्जा सूचना केन्द्र धाउनुपर्ने बाध्यता रहन्छ । यसो गर्दा केन्द्रसँग पनि एकैचोटी ठूलो मात्रामा त्यस्तो प्रमाणपत्र जारी गर्न प्राविधिक, भौतिक संसाधनका साथै जनशक्तिको समेत आवश्यकता हुन्छ । अनलाइन तालिम के हुन्छ ? प्रवक्ता पराजुलीका अनुसार अनलाइन तालिमका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न उक्त सम्झौता आवश्यक छैन । यसअघि मोक ट्रेडिङका क्रममा पासवर्ड दिइएको जस्तै ब्रोकरले लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराउन सक्छन् । त्यसैका अाधारमा नेप्सेले प्रत्येक दिन गराउने तालिममा सहभागी हुन सक्नेछन् । काराेबारका लागि भने साे सम्झाैता अावश्यक पर्ने पराजुलीले बताए ।

सेञ्चुरी बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि

काठमाडाैं । पांचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएकाे छ । फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

अबदेखि त्रिविले प्राईभेट परिक्षा संचालन नगर्ने, जागिरे विधार्थीलाई समस्या

काठमाडौं। नियमित क्याम्पस जान नपाउने विधार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयले घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम  यो वर्षदेखि बन्द गरेको छ। यसबाट धेरै विधार्थीहरु प्रभावित हुने देखिन्छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। यसरी परिक्षा दिनेमा अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस कार्यक्रममा राजनीतिशास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टेसन (एमपीए) पढ्न पाइन्छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए। त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दिइने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।

अटो मेकानिक्स व्यवसायी संघकाे २४ अाैं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनमा अध्यक्ष ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिएकाे छ । आगामी दिनमा आत्म सम्मानका साथ वातावरण निर्माणका लागि सहयोग गर्ने बताए । अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् । त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरयुक्त तरिकाले मर्मत गर्नका लागि राम्रो वातावरण निर्माण गर्नु पर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए । अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

ककनीका सबै बस्तीमा जोड्ने सडकहरु पक्की गरिनेछ-सीता खतिवडा लामा

सीता खतिवडा लामा, उपप्रमुख- ककनी गाउँपालिका, नुवाकोट नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर तीन निवासी सीता खतिवडा लामा २०५९ सालदेखि विद्यार्थी राजनीतिमा लागेकी हुन् । तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वमा होमिएकी उनी अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्ष, एरिया इन्चार्ज हुँदै गत स्थानीय निर्वाचनबाट ककनी गाउँपालिकाको उपप्रमख भइन् । बीचमा उनी विभिन्न गैरसरकारी संस्थाहरूमा आवद्व भई सामाजिक विकासका काममा पनि सक्रिय थिइन् । प्रस्तुत छ ककनी गाउँपालिकाको विकाससँग केन्द्रीत भएर देशविकास लागि उपप्रमुख लामासँग गरिएको कुराकानी । संघीयतासँगै सिंहदरवार गाउँ–गाउँमा पुगेको छ । एउटा सिंहदरवारको उपप्रमुख भएर काम गर्न कति सजिलो रहेछ ? एउटा परिवार चलाउन त सजिलो छैन । परिवारको सदस्यलाई खुशी बनाउन सजिलो छैन । हामीले ककनी गाउँपालिकाका सबै जनताको भावना, चाहाना र आकांक्षालाई समेट्नु पर्ने चुनौति छ । यो काम धेरै कठिन छ । गाउँ गाउँमा सिंहदरवार पुग्यो भनिए पनि स्रोत साधनको सीमितता छ । अधिकार र जिम्मेवारीहरुको सीमितता छ । तर पनि जनताको काम गर्दा रमाईलो हुन्छ । जनताको कुरा सुन्न पाएको छु । समाजको समस्या बुझ्न पाइएको छ । सुन्ने र बुझ्ने मात्र हो कि जनताका माग पुरा गर्ने, समस्या समाधान गर्ने काम भएको छ ? काम पनि भईरहेको छ । कतिपय समस्या सम्बोधन भएका छन् । कतिपय समस्या सम्बोधन गर्न प्रयास भईरहेका छन् । केही समस्या समाधान गर्न नसकेको अवस्था पनि छन् । चुनावमा जे गर्छौ भन्नु भएको थियो, ती काम भएका छन् ? चुनावको बेलामा हामीले धेरै प्रतिवद्धता गरेका थियौ । त्यतिबेला २० वर्षपछि जनप्रतिनिधि छानिने क्रममा थियौ । संघीयता आएको, शासकीय स्वरुपमा नै परिवर्तन आएको अवस्थामा हामी चुनावमा थियौ । जनतामा पनि धेरै आकांक्षा थिए । हामी उम्मेदवारमा पनि धेरै जोस, हौसला थियो । धेरै काम गर्न सक्छौं भन्ने थियो । तर, हामी भ्रममा रहेछौं । सोचे जस्तो राम्रो र छिटो काम गर्न सकेका छैनौ । कानुनको अभावले पनि हामीले छिटो काम गर्न सकेनौ । हाम्रो आफ्नै अनुभव पनि कम भयो । हामीले ठूला विकासे कुरा गर्र्यौ तर हामीसँग स्रोत साधनको कमी भयो । व्यवस्थापकीय ज्ञानको पनि कमी भएको महसुश गरेका छौं । चुनावपछि ककनी गाउँपालिकामा विकासका काम के के भए ? यातायतको क्षेत्रमा राम्रो काम भएको छ । सबै वडामा सडक पुगेका छन्, सबै बस्तीहरुलाई सडकले जोडेका छौं । खानेपानी वितरणको काम भएको छ । गाउँ गाउँमा बाँस वा काठको पोलहरु अव्यवस्थित रुपमा थिए । त्यसलाई हटाउने क्रममा १००० भन्दा बढी विजुलीको पोल वितरण गरेका छौं । शिक्षाको क्षेत्रमा समस्या थिए । कुनै स्कूलमा विद्यार्थी धेरै, शिक्षक कम, कहीँ शिक्षक धेरै विद्यार्थी कम थिए । हामीले समूदायमा छलफल गरेर केही स्कूलहरु गाभ्ने र शिक्षालाई व्यवस्थित बनाउने काम गरेका छौं । अहिलेको आवश्यकता अनुसारको वैज्ञानिक शिक्षा दिन शिक्षकहरुलाई तालिम दिएका छौं । ८ वडा मध्ये निर्वाचन पहिले ६ वटा वडामा मात्र स्वास्थ्य केन्द्र थिए, अहिले २ वटा थपेर सबै वडामा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका छौं । ४ वटा वडामा वर्थिङ सेन्टर समेत स्थापना गरेका छौं । एउटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छौं । महिलाहरुलाई स्वरोजगार बनाउन तालिम दिने, उत्प्रेरित गर्ने, कृषि औजार वितरण गर्ने, वाली विऊ तथा अनुदान वितरण गर्ने काम भएका छन् । फर्म दर्ता गराउने, व्यवसायिक खेतीमा प्रोत्साहित गर्ने काम भएका छन् । एउटा भैंसी पाल्ने किसानले १५ वटा भैंसी पाल्न थालेका छन् । कतै तरकारी खेती, कतै अदुवा खेती, कतै सुन्तला खेतीको पकेट क्षेत्र घोषणा गरेर भइरहेको छ । त्यस्तै, ककनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजना नै बनाएर काम थालेका छौं । यसका लागि गत वर्ष हामीले २० लाख रुपैयाँ छुट्याएर काम अगाडि बढाएका छौं । सशस्त्र द्वन्द्वको बेलामा पनि बैज्ञानिक शिक्षाबारे तपाईको पार्टीले धेरै कुरा गर्दथ्यो । अहिले त सत्तामा नै हुनुहुन्छ । ककनीमा शुरु गरिएको बैज्ञानिक शिक्षा कस्तो छ ? पहिला भन्दा अहिले के फरक छ ? हामीले व्यवहारिक शिक्षामा जोड दिएका छौं । पढेका मान्छेले खेती गर्न हुन्न भन्ने भावना विद्यार्थीमा पैदा भएको छ । मुख्य कुरा शिक्षा बैज्ञानिक हुनुपर्यो । विद्यार्थीको सोचमा परिवर्तन आउनु पर्यो । सत्तामा पुगेको बेलामा यसो हुनु पर्यो, त्यसो हुनुपर्यो भनेर मात्र पुगेन नि । तपाईहरुले परिवर्तन के गर्नु भयो ? दुई वर्षअघिको शिक्षा प्रणाली र अहिलेको शिक्षा प्रणालीमा के फरक भयो ? प्रणाली कै कुरा गर्दा पाठ्यपुस्तक नै परिवर्तन गर्नुपर्छ । त्यो हामीले चाहेर मात्र हुँदैन । हामीले हाम्रो क्षेत्रमा उपयुक्त प्राविधिक शिक्षालय खोन्नुपर्छ भनेर पहल गरिरहेका छौं । हाम्रो आवश्यकता अनुसारको योजना बनाएर प्रदेश सरकार र केन्द्र सरकारसँग माग पनि राखिसकेका छौं । हिजोको दिनमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर एकदमै खस्केको थियो । त्यसको मुल कारण शिक्षकहरुले पर्याप्त मिहेनत नगरेको पायौं । अहिले हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नियमित विद्यालयहरुको अनुगमन गरिरहेका छौं । सबै शिक्षकहरुको रेकर्ड हेर्ने, व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा जोड दिएका छौं । विकाससँगै गाउँले जीवनमा खर्चको शिर्षक बढेका छन् । गाडी भाडा, मोवाईल खर्च, टिभी खर्च बढेको छ । हिजो रोटी र मकै खाजा खानेहरु अहिले चाउचाउ, विस्कुट जस्ता औद्योगिक उत्पादन किनेर खान्छन् । गर्मीमा महिको सट्टा कोकाकोला वा वियर पिउँछन् । तर आम्दानीका शिर्षक कति बढेका छन् ? धेरै गम्भिर विषय उठाउनु भयो । हामी पनि चिन्तित छौं । हाम्रो आम्दानी वृद्धि हुन सकेको छैन । युवाहरुमा धेरै विकृति पलायो । देश बनाउन खट्नुपर्ने युवाहरु विहानदेखि बेलुकासम्म चिया पसलमा हुन्छन् । काम छोडेर अरुको विषयमा आलोचना गरेर बिताएका हुन्छन् । हामीले गाउँगाउँमा युवा क्लब गठन गर्ने, सहकारी बनाउने, उनीहरुलाई विकास निर्माणमा आकर्षित गर्ने, व्यवसाय लाग्न प्रेरित गर्ने प्रयास गरेका छौं । व्यवसायिक खेती गर्नेहरुको आम्दानी बढेको छ । सडक निर्माणसँगै बजारसम्मको पहुँच सजिलो भएको छ । ककनीमा वर्षभरीको लागि सिंचाई छैन । आकाशे पानी परेपछि बारीमा तरकारी लगाउने हो । जतिबेला तरकारी फल्छ त्यतिबेला ककनीका सडकमा गाडी गुड्न छोड्छन्, हिलो र पहिलोको कारण । किसानहरु त एकदमै पीडित भएका छन् नि ? त्यो पीडा कम गर्नको लागि हामीले काम गरेको छौं । गत वर्ष बस्तीबस्तीमा सडक पुर्यायौं । हाम्राे सबै सडकको स्तरवृद्धि गर्दैछौ, सबै सडक पक्की बनाउँदै छौं । अब वर्षाको बेलामा गाडी नगुड्ने समस्या आउँदैन । ककनीको सबैभन्दा दुर्गम क्षेत्र वडा नम्बर ३ हो । त्यस क्षेत्रमा जाने सडकको लागि १ करोड बजेट विनियोजन गरेको छौं, राजेन्द्रप्रकाश सहिद मार्गका लागि । ३ नम्बर वडामा तरकारी संकलन केन्द्र र चिस्यान केन्द्र खोल्ने, किसानको उत्पादन ढुवानी गर्न छुट्टै गाडी चलाउने योजना बनाएका छौं । काठमाडौंको फोहोर ककनीको डम्पिङ साइटमा जम्मा हुँदै आएको छ । फोहोससँगै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासको लागि हरेक वर्ष करोडौ बजेट जाने गरेको छ काठमाडौंबाट । तर त्यो बजेटले स्थानीय समूदायको हित नगरी सीमित व्यक्तिलाई मात्र धनाढ्य बनाएको सुनिन्छ नि ? वास्तवमा तपाईले भनेको विषयमा सत्यता छ । फोहोर डम्पिङ साइटमा जम्मा भएको छ । त्यसले स्थानीय समूदायलाई नराम्ररी असर गरेको छ । त्यस क्षेत्रका मानिसमा क्यान्सर रोग बढेको छ । एक वर्षमा ११ जनालाई क्यान्सर रोग लागेको छ । मुटु रोगी बढेका छन् । जसले डम्पिङ साइटकाे फोहोर देख्न परेको छैन, सुँघ्न परेको छैन, उनीहरुले नै त्यस परियोजनालाई कमाउने प्राेजेक्ट बनाएका छन् । त्यही परियोजना देखाएर मानिसले काठमाडौंमा घर बनाएका छन् । गाडी चढेका छन् । व्यापार व्यवसायमा लगानी विस्तार गरेका छन् । जनप्रतिनिधि नहुँदा पनि यस्तो समस्या लामो समय रह्यो । तर त्यस क्षेत्रमा जाने सेवा सुविधा केही मान्छेको पोल्टामा मात्र परेको छ । यहाँ टाठाबाठाले मात्र राज गरेका छन् । त्यस क्षेत्रमा केही जग्गा भएका र काठमाडौंमा बसोबार गर्ने मानिसहरुले, जसले फोहोर देख्न परेको छैन, सुँघ्न परेको छैन, उनीहरुले नै त्यस परियोजनालाई कमाउने प्राेजेक्ट बनाएका छन् । त्यही परियोजना देखाएर मानिसले काठमाडौंमा घर बनाएका छन् । गाडी चढेका छन् । व्यापार व्यवसायमा लगानी विस्तार गरेका छन् । जनप्रतिनिधि नहुँदा पनि यस्तो समस्या लामो समय रह्यो । अब हामीले नयाँ सोच बनाएका छौं । यस फोहोरबाट उर्जा उत्पादन गर्ने, त्यस क्षेत्रमा ५० शैयाको अस्पताल बनाउने, स्थानीय समूदायको आयआर्जन वृद्धि गर्ने योजनाको लागि हामीले केन्द्र र प्रदेश सरकारसँग कुरा गरेका छौं ।