विकासन्युज

सांग्रिला र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धि सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त ईन्स्योरेन्स कम्पनी बाट बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हालै सञ्चालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्सको ले प्रदान गर्ने सेवा लिन सक्ने छन् । हरेक शाखाबाट बैंकिङ्ग सेवाको अतिरीक्त उक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध पोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धि सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

गगन थापाको घोषणाः भोलि संसदमा मुठभेड हुन्छ

काठमाडौं । काँग्रेस युवा नेता गगन थापाले भोलि बस्ने संसद बैठकमा मुठभेड पनि हुनसक्ने चेतावनी दिएका छन् । उनले सभामुखले तटस्थता कायम नगरे संसदमा मुडभेड निम्तिने चेतावनी दिएका हुन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे । सांसद थापाले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’ थापाले भने,‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’ सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे,‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा, यतिखेर सम्मानीय सभामुखको भूमिका त विवेकपूर्ण ढंगबाट, किन हामीले देखेका छौं नि । सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विद्येयक सदनमा पनि सम्झौता भएर आएको छ । यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा सम्पूर्ण रुपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो । यो स्विकार्य छैन । यो अस्विकार्य छ ।’ नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे । उनले भने,‘यहाँबाट फद्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर । के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो ? पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ ? यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ? पार्टीले हो ? सदन चलाउने सरकारले हो ? के सदन चलाउने सभामुखले हो ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।’ भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए । उनले थपे,‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ ।’ यद्धपी थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पारे । ‘त्यो दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने हामी अहिलेपनि चाहन्छौं’–उनले थपे । प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भने,‘फर्केर आईसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोलि व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं । किनकी प्रधानमन्त्री गैसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ । यी सबैका बीचमा, र सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो । यो कर्तव्य उहाँले निर्वाह गर्नुहुनेछ भन्ने कुराको विश्वास व्यक्त गर्छु ।’ प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने थापाको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्रीले लाचारी दोहोर्याउनु हुँदैन । मैले सम्झौता गरेकै हो, तर सदनले मान्दैन त म के गरौं ? सम्झौता भनेको यस्तै हो । कहिलेकाहीँ गरेको बेलामा गर्ने हो, बलियो भएको बेलामा उल्लंघन गर्ने हो भनेर भन्ने ? देशको प्रधानमन्त्रीले सम्झौता गरेको पालना गर्ने चिज होईन, सम्झौता भनेको गर्ने चिज हो । लेख्ने चिज हो भनेर भन्नुभयो भने यहाँभित्र थिति बस्दैन् । त्यो कारणले प्रधानमन्त्रीले यसमा पनि ध्यान पुर्याउनुहुन्छ भन्ने म अहिलेपनि अपेक्षा गर्छु ।’ उनले प्रधानमन्त्री ओलीलाई अहिले केही पनि अप्ठ्यारो नभएको भन्दै विद्येयकको सम्बन्धमा कसरी अघि बढ्ने भन्नेबारे उपायपनि सुझाए । थापाले भने,‘प्रधानमन्त्रीको पनि आत्मसम्मान राख्नको लागि बाटो छ । यो पटक डा. गोविन्द केसीसँग वार्ता गर्न गैराख्नुपनि पर्दैन् । मैले देखेको । प्रधानमन्त्री आईसकेपछि संसदीय सर्वोच्चता रहन्छ । संसदीय सर्वोच्चता भनेको समितिको सर्वोच्चता होईन । अहिले समितिले पारित गरेको हो । संसदले होईन । समितिले पारित गरेको प्रतिवेदनलाई माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मैले यो–यो सच्याउन चाहन्छु भन्नुभयो भने उहाँले जे पनि सच्याउन पाउनुहुन्छ । उहाँले सच्याएको कुरालाई सदनले स्विकार वा अस्विकार गर्ने हो ।’ प्रधानमन्त्री ओलीले संसदमा म आग्रह गर्छु भनेको कुरा सुनाउँदै थापाले भने,‘हाम्रो आग्रह छ सरकारले आग्रह गरोस न त । सरकारले भनोस डा. केसीसँग सम्झौता गरेर विद्येयक समितिमा पठाएको थिएँ, यसले केही कुरा बिगारेर लिएर आएछ । त्यसलाई फेरि सच्याईदिओस भनेर सरकारले आग्रह गर्दैगर्दा बाटो फेरि समितिमा फर्काउन सकिन्छ । त्यही सदनमा सच्याउन सकिन्छ ।हाम्रो नियमले कति बाटो देखाउँछ देखाउँछ । त्यसकारण संसदीय सर्वोच्चता भनेको हाम्रो पद्धतीमा प्रधानमन्त्रीले चाहनुभएको विद्येयक संसदको बहुमतबाट जहिलेपनि पारित हुन्छ । यदि प्रधानमन्त्रीको चाहना संसदबाट पारित भएन भने त प्रधानमन्त्री सकिनुहुन्छ । प्रधानमन्त्रीको विश्वास गयो । मैले चाहेको तर सदनले दिएन भन्ने कुरा लाचारीको कुरा हो ।’ उनले प्रधानमन्त्री ओलीलाई विदेशबाट स्वदेश फर्केर आईसकेपछि संसदमा मुठभेड नमित्याउन पनि आग्रह गरे । उनले भने,‘अस्पतालको कुरालाई (अस्ति उहाँले भन्नुभएको छ) त्यसलाई मिलाउनुहोस् । चिकित्सा शिक्षा विद्येयकको सन्दर्भमा सम्झौता भएअनुसारको सदनबाट पारित गर्ने व्यवस्था मिलाउनुहोस । सदनपनि चल्छ । र, डाक्टर गोविन्द केसी पनि आफ्नो अनशनबाट उठ्नुपर्छ । हामी पनि त्यो बेलामा उहाँलाई भन्छौं । तपाई जिद्दी गरेर नबस्नुहोस भन्छौं । तपाईको अरु विषयमा पछि छलफल हुन्छ, यो विषयसँग नजोड्नुहोस भन्छौं । हामी पनि उहाँलाई भन्छौं ।’  

ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाडौं । ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखाको विस्तार भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए । प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्ने जोड दिएका छन् । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको थियो । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डाैं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेका छन् ।

वैकल्पिक बाटोबाट मेलम्ची आयोजना सम्पन्न गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकले बहुराष्ट्रिय ठेक्कामा नगई स्थानीय ठेकेदारबाट नै मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ । समितिका सभापति दिलकुमारी रावल थापाले आयोजनामा देखिएको गतिरोध समाधान गर्न खानेपानी मन्त्रालयलाई सो निर्देशन दिएकी हुन् । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणमा इटालेली कम्पनी सिएमसीले डिसेम्बर १५ बाट नाटकीयरूपमा नेपाल छाडी काम नगर्ने बताएका कारण समितिले चाँडो वैकल्पिक व्यवस्थाबाट आयोजना निर्माण अघि बढाउन निर्देशन दिएको हो । सत्र वर्षपहिले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न नेपाल सरकारले बहुराष्ट्रिय ठेक्का प्रणालीमार्फत सिएमसीसँग सम्झौता गरेको थियो । उक्त ठेक्का औपचारिकरूपमा तोडिएको आयोजना प्रमुख सूर्यराज पौडेलले समितिसमक्ष जानकारी दिए । पछिल्लोपटक सो कम्पनीले एक अर्ब ६५ करोड थप गर्न नेपाल सरकारलाई दबाब दिएको थियो । माग भएको उक्त रकम भुक्तानी गर्न नसकिने जानकारी आयोजनाले दिएपछि कम्पनीका पदाधिकारीले नाटकीयरूपमा नेपाल छाडेका थिए । काठमाडौँका चालीस लाख जनतालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले शुरु भएको सो आयोजना निर्माणका लागि एशियाली विकास बैंकले ऋण उपलब्ध गराएको छ । सिएमसीका पदाधिकारी फरार भएपछि एशियाली विकास बैंकले आयोजनाको स्थलगत भ्रमण गरेको थियो । अवलोकनपश्चात् बैंकले आयोजनाका लागि थप ऋण उपलब्ध गराउन सक्ने बताए पनि अर्थमन्त्रालयबाट ऋण पत्र प्राप्त हुन कठिन भइरहेकाले आयोजना निर्माणमा ढिला भइरहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले समितिलाई जानकारी दिए । समितिले मेलम्ची खानेपानी आयोजनाका अतिरिक्त काठमाडौँं महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी संस्थान, काठमाडौँ, उपत्यका खानेपानी लिमिटेडका बारेमा जानकारी लिएको थियो । बैठकमा समितिका सदस्य कोमल वली, खिमलाल भट्टराई, प्रकाश पन्त, जीवन बुढा, रामचन्द्र राय लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रहरीलाई घुस नदिनुहोस्, दिनुभयो भने पक्राउ पर्न सक्नुहुन्छ

काठमाडौँ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापाले प्रहरीलाई एक हजार ५०० घुस दिन खोज्दा प्रहरीले पक्राउ गर्यो । मङ्सिर २४ गते थापाथलीमा बा८७प ४३३७ नं को मोटरसाइकलका चालक राजु घिसिङलाई ट्राफिक नियमविपरीत ‘यूटर्न’ गर्न खोजेपछि प्रहरीले समात्न खोज्दा एक हजार घुस दिन लाग्दा प्रहरीले पक्राउ गर्यो । पुस २ गते सोह्रखुट्टेमा ज१०प ६५२६ नं को मोटरसाइकल चालक रौतहटका सहजाद मिकरानीले मादक पदार्थ सेवान (मापसे) गरी सवारी चलाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई उल्टै एक हजार दिन खोजेपछि पक्राउ गर्यो । पुस १९ गते लु१ख ९४६९ नं को बसलाई जाँच गर्ने क्रममा खेलकूदका सामाग्रीको कागजात भए÷नभएको माग गर्दा बसका सहचालकले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी एक हजार ५०० दिन खोज्दा प्रहरीले पक्राउ गर्यो । माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । कार्यालयले प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने २६ चालक तथा सहचालकलाई पक्राउ गरेको बताइन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने चालक तथा सहचालकलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गर्दै आएको छ । हालसम्म कार्यालयले सात प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीमा प्रहरी नायव निरीक्षक विश्वनाथ त्रिपाठी, प्रहरी सहायक निरीक्षक हरिबहादुर खड्का, उमेश भट्टराई र फाल्गुण श्रेष्ठ, प्रहरी हबल्दार लक्ष्मण यादव र जालन्धर राय यादव तथा प्रहरी जवान लालप्रसाद सापकोटा रहेका छन् । प्रहरी प्रवक्ता सिंह अहिले सात प्रहरीलाई पुरस्कृत गरे पनि सबै प्रहरीलाई क्रमशः पुरस्कृत गर्दै जाने बताइन् । कार्यालय प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री एक÷दुई प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले उक्त अभियान सञ्चालन गरेको बताउँछन् । “घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीको वृत्ति विकासमा समेत सहयोग पुग्नेछ”, उनले भने । प्रहरीले सामाजिक मर्यादाको ख्याल रहोस् र गल्ती महसुस होस् भनेर थुनामा समेत राख्ने गरेको छ । पक्राउ परेका व्यक्ति जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटीमा छुट्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई घुस दिने व्यक्तिलाई पाँचदेखि १० हजारसम्म धरौटी माग गर्ने गरेको छ । कार्यालयले रातिको समयलाई लक्षित गरेर विशेष ‘ड्युटी’समेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ‘ड्युटी’ को व्यवस्था गरिएको हो । यसका साथै प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ । रासस

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई मन्त्री पुनको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गरेका छन् । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भेटमा मन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ । नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि सरकारले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए । मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । “नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौँ, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ”, उपमहानिर्देशक ताकामीले भने । उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरू इच्छुक रहेको बताए । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी थिए । रासस

मोरङको उर्लाबारीमा कामना सेवाको नयाँ शाखा

काठमाडौं । कामना सेवा विकास बैंकको ६४औं शाखा प्रदेश नम्बर १ को मोरङको उर्लाबारीमा  उद्घाटन  भएको छ । उक्त बैंकको उद्घाटन बैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरेका थिए ।  प्रदेश नं. १, २ र ५ का विभिन्न ग्रामिण इलाकामा एवंम उपत्यकामा गरि २३ शाखा कार्यालय रहेका छन्र । काठमाडौं नगरपालिका ३० ज्ञानेश्वर केन्द्रिय कार्यालय रहेको बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र  १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

साहित्यकार मोहनराज शर्माको निधन

काठमाडौं। वरिष्ठ साहित्यकार प्रा. मोहनराज शर्माको बिहिबार ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा बिहिबार बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ । शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा आफ्ना विद्यावारिधि गुरुसमेत रहेको स्मरण गर्दै उनले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएको बताए। । उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले शर्माको दुःखद निधन भएको खबर पाइएको उल्लेख गर्दै यसबाट नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको बताए। स्थान र उचित वातावरणको अभावमा कमलादीस्थित प्रतिष्ठानको परिसरमा दिवङ्गत स्रष्टाको शव राखिने क्रम गत वर्षदेखि रोकिएको छ । रासस