विकासन्युज

चैत १४ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, ३ सय भन्दा बढी स्टल रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल नारा सहित आयोजना गरिएको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । महासंघकी अध्यक्ष भवानी राणाले ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न मेलाले सघाउ पुग्ने बताइन् । मेला आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ । महासंघको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । सार्क मुलुकका देशहरु सहित चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ । मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने जनाइएको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन, शिक्षा तथा निर्माण सम्बन्धी छुट्टाछुट्टै स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भैसकेको आयोजकले जानकारी दिएको छ ।

बजारमा एनआईसी एशियासहित ६ कम्पनीको करोडौंको कारोबार, कसको कति ?

काठमाडौं । साताको पहिलो दिनको बजार दोहारो अंकले ओरालो लागेको छ । आइतबारको बजारमा नेप्से परिसूचक १०.७५ अंकले ओरालो लागेर ११०२.३२ अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९७ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको बजारमा पनि ६ वटा कम्पनीको एक करोड बढीको सेयर कारोबार भएको छ । सो दिन एनआईसी एशिया बैंक, नबिल बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको करोडौंको सेयर कारोबार भएको हो । यी मध्ये एनआईसी एशियाको सबैभन्दा बढी अर्थात एक करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ रहेको छ ।त्यस्तै नबिल बैंककाे एक कराेड २३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । बैंककाे सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ रहेको छ । समग्रमा आइतबारको बजारमा कुल १६६ कम्पनीको २० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल ६३५६ करोबारमा ६ लाख ९८ हजार ५४२ कित्ता सेयर बिक्री भएका छन् । त्यस्तै, उत्पादनमूलक समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६९ अंकले ओरालो लागेको छ । सो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ७.५४ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा यूनिलिभर नेपालका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ४.०३ प्रतिशत कमाएका छन् ।

ट्वीटरका सहसंस्थापक इभानको राजीनामा, अब अरु नै काम गर्ने

क्यालिफोर्निया । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफू अरु नै काम गर्न लागेको बताए । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए । कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् । रासस/एएनआई

भारतीय गोलभेडाले नेपाली किसान मारमा, ‘१० रुपैयाँमा पनि बिक्न छाड्यो’

वीरगञ्ज । सरुहठ्ठा-९ रौतहटका किसान मो. उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष आर्थिक मारमा परेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भएपनि भारतीय गोलभेडाको आयातका कारण उनलाई प्रत्यक्ष असर परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भएपनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ । गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भएपनि भारतीय गोलभेडा भित्रिएपछि नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यसवर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातले नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको हो । घिसिंग भन्छन्, “गत वर्षको तुलनामा यस वर्ष दुईगुणा बढी गोलभेडा फलेपनि सस्तोमा बेच्नुपर्ने बाध्यताले खर्च धान्नै गाह्रो परेको छ ।” सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रुपमा गोलभेडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य शहर काठमाडौँ, नारायणघाट, हेटौँडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ । भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धा गर्न समस्या भएको छ । किसान बासुदेव महतो भन्छन्, “हामीले उत्पादन गरेका गोलभेडाले उचित मूल्य नपाउँदा यसपालि घाटा खाएर पनि बेच्नुपरेको छ । काठमाडौँ उपत्याकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडौँमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतो भन्छन्, “यसपालि गोलभेडा राम्रो उत्पादन भएकाले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।” लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरु व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरुहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् । गोलभेडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेडाले कब्जा जमाएपछि किसानहरु गोलभेडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेको हुन् । दैनिक एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेडाको कारण नेपाली गोलभेडा प्रतिकिलो ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ । रासस

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी, २०० विरामी

आसाम, भारत । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ । गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताए । अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए । गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए । अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ । राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ । त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । रासस/एएफपी

पूँजीगत बजेट खर्च निराशाजनक, १२.३४ % बजेट मात्रै खर्च

म्याग्दी । म्याग्दीस्थित प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहमा चालु आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको पूँजीगत बजेट खर्चको अवस्था निराशाजनक छ । गण्डकी प्रदेशअन्तर्गत म्याग्दीमा रहेका आठ कार्यालयले पूँजीगततर्फ विनियोजन भएको मध्ये १२.३४ प्रतिशत बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)ले जनाएको छ । छ स्थानीय तहमध्ये धेरैले खर्चको फाँटबारीसमेत नबनाएकाले विवरण सार्वजनिकनै गरेका छैनन् । प्रदेश कार्यालयमा ६० करोड नौ लाख १५ हजार बजेट विनियोजन भएकामा माघ मसान्तसम्म रु सात करोड ४२ लाख पाँच हजार ६२२ खर्च भएको कोलेनिकाका सूचना अधिकारी विकास पौडेलले जानकारी दिए । कोलेनिकाका अनुसार प्रदेशका कार्यालयमा चालुतर्फ विनियोजन भएको १८ करोड ८६ लाख ८२ हजारमध्ये हालसम्म चार करोड ५५ लाख १४ हजार ३८६ मात्र खर्च भएको छ । जिल्लामा पूँजीगततर्फ सबैभन्दा धेरै बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयको पूँजीगततर्फ ५२ करोड ४४ लाख ६६ हजारमध्ये सात महीनाको अवधिमा सात करोड २७ लाख ४४ हजार ९४७ खर्च भएको छ । सङ्घीय सरकार मातहतका २४ कार्यालयले पूँजीगततर्फ १७ करोड ८८ लाख ३६ हजार बजेट आएकोमा आठ करोड पाँच लाख आठ हजार ९५९ खर्च गरेका छन् । यो ४५ प्रतिशत भन्दा बढी हुनआउँछ । पूँजीगततर्फ १६ करोड २३ लाख १३ हजार विनियोजन गरेको बेनी नगरपालिकाले सात महीनाको अवधिमा २८ प्रतिशत बजेट खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । करीब ३४ करोड कूल बजेट रहेको धौलागिरि गाउँपालिकाले कूल २८ प्रतिशत र पूँजिगततर्फ १३ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पूर्वाधारतर्फको १२० योजनामध्ये ४५ सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । प्रदेशका कार्यालय स्थापना र अख्तियारी आउन ढिलाइ हुँदा पूँजीगत बजेट खर्च न्यून भएको कोष तथा लेखा नियन्त्रक शेखरचन्द्र सापकोटाले बताए । दरबन्दीअनुसारका जनशक्तिको अभाव र कर्मचारी समायोजनको अन्योलले पनि बजेट परिचालनमा समस्या देखिएको उनको भनाइ छ । रासस

४८ हजार चालकलाई प्रशिक्षण दिइने, घट्ला त दुर्घटना ?

काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७-८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको बताउँछन् । “सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिन्छौँ, जसले गर्दा दुर्घटनामा कमी आओस्”, उनी भन्छन् । सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदूर सङ्गठनमध्ये प्रत्येक महिना एकपटक न्यूनतम २० जना चालक तथा सहचालकलाई जम्मा गरेर ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने भएको छ । अभियानअन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु लगायतका वाक्यहरू प्रयोग गरिएका छन् । यस्तै, यातायात मजदूरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५०० देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताउँछन् । “सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुनेछ”, उनी भन्छन् । सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने उनको भनाइ छ । यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । रासस

चैत ४ गते एलआईसी नेपालको साधारणसभा, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)(नेपाल)को १६औँ वार्षिक साधारणसभा आगामी चैत ४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बस्दै छ । सो प्रयोजनका लागि फागुन २१ गतेदेखि चैत ४ गतेसम्म इस्योरेन्सको बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने इन्स्योरेन्सको संचालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात इन्स्योरेन्सको पुँजी बढेर एक अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्दै छ ।