बंगलादेशी विमान अपहरणको प्रयास गर्ने व्यक्ति ‘प्रधानमन्त्रीसँग कुरा गर्न चाहन्थे’
काठमाडौँ । आइतवार साँझ बंगलादेशको सरकारी वायुसेवा कम्पनीद्वारा सञ्चालित एउटा यात्रुवाहक विमान अपहरणको प्रयास भएको समाचार आयो । विमान अपहरण गर्ने खोज्ने एक व्यक्तिलाई पछि गोली हानेर मारिदिएको सेनाले पुष्टि गरेको छ । एक सय ४२ जना यात्रु र चालक दलका छ सदस्यसहित राजधानी ढाकाबाट दुबई उडेको सो विमानलाई चटगाउँमा आकस्मिक रूपमा ओरालिएको थियो । आफूसँग पेस्तोल भएको दाबी गर्ने एक युवकले व्यक्तिले विमान अपहरण गर्ने प्रयास गरेको बताइएको छ । आत्मसमर्पण गर्न नमानेपछि ती व्यक्तिलाई सेनाले विमानभित्रै गोली हान्यो । पछि उनको मृत्यु भयो । ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन । को हुन् उनी ? पच्चीस वर्षको उमेर भएको ठानिएका ती व्यक्ति बंगलादेशी नागरिक हुन् । पहिला उनी मानसिक रोगी भएको ठानिएको थियो । उनको नाम मेहदी भएको बताइएको छ। उनले शङ्कास्पद गतिविधि गर्दै विमान अपहरण गर्न खोजेको सङ्केत दिएपछि विमानका कर्मचारीहरू चनाखो भएको अधिकारीहरूले बताएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ। त्यसपछि विमानलाई तुरुन्तै शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालियो र सुरक्षाकर्मीले त्यसलाई घेरा हाले । आकस्मिक अवतरण गरेपछि सुरक्षाकर्मीहरू विमानभित्र छिरेका थिए र विमानमा भएका सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए । ती व्यक्तिले प्रधानमन्त्री शेख हसिना र आफ्नी पत्नीसँग आफ्नो कुरा गराउन विमान चालकलाई भनेका थिए । बीबीसी बंगलामा प्रकाशित एउटा विवरणका अनुसार उनले विमानचालकको टाउकोमा पेस्तोल ताक्दै पत्नीसँग खटपट भएको र त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न खोजेको बताएका थिए । मेजर जनरल मोतिउ रहमानले भने,–हामीले उनलाई पक्राउ गर्न वा आत्मसमर्पण गराउन खोज्यौँ। तर उनले मानेनन् र हामीले गोली हान्यौँ । ती सन्दिग्ध व्यक्तिको शरीरबाट एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।
गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते
धादिङ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उपत्यकामा सवारी चालकले जथाभावी हर्न बजाउन छाडेनन्, एकैदिन १७१ सवारीसाधन कारवाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । “ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरैमात्रामा लागू भए पनि पूर्णरुपमा भने लागू भएको छैन । महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कारवाही गरिसकेको छ । महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।
बन्दीपुर हाइटमा केबुलकार र होटल बन्दै, पत्रकार र समाजसेवीलाई वार्षिक १/१ लाखकाे पुरस्कार
काठमाडौं । तनहुँको बन्दीपुरमा एक वर्षभित्रै केबलकार सञ्चालनमा आउने भएको छ । १६ सय मिटर लम्बाइको केबलकार र पर्यटकीय स्तरीय होटल एक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे छ । बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकार र होटल निर्माणको काम धमाधम भैरहेको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको करिब ९० करोड लगानीमा केबलकार निर्माणको काम भैरहेको छ । बन्दीपुर केबलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले १६ सय मिटर केबलकारको आउन जान ५ सय रुपैंयाँ तोकिएको जानकारी दिए । कम्पनीले बन्दीपुर आसपासका जनतालाई सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणा समेत गरिसकेको छ । पृथ्वीराजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ । ५६ करोडको लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् । करीब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । अहिले केबलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको छ । कम्पनीलाई पब्लिक कम्पनीका रुपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । कम्पनीले केबलकारमा स्थानीयका लागि ११ करोड २० लाखको शेयर छुट्याएको छ । उनका अनुसार पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन जना पत्रकारलाई वार्षिकरुपमा एक/एक लाखको शेयरमार्फत सम्मान गरिनेछ । त्यस्तै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत एक जना समाजसेवीलाई समेत प्रत्येक वर्ष एक लाख शेयरले सम्मानित गर्ने कम्पनीको योजना छ ।
पाँचखालमा सिर्जनको रोबोट शैक्षिक प्रदर्शनी मेलामा आकर्षण बन्दै
काठमाडौं । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् । सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् । अवलोकन कर्ताले ‘ह्वाट इज योर नेम रु’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ । रोबोट बनाउन एक महीना लाग्यो, स्कुलमा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि रोबोट बनाउन शुरु गरेँ”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । सिर्जनले मेलामा आएका विद्यार्थीलाई रोबोटको बनावट, उसले गर्ने क्रियाकलापका विषयमा जानकारी दिन्छन् । साथै उनले रोबोटलाई हिडाउँछन्, हात मिलाउन लगाउँछन् भने मेलामा आएका विद्यार्थीले सोधेको जवाफ रोबोटले दिन्छ । स्थानीय दुग्धेश्वर माध्यमिक विद्यालयकी छात्रा समिता दनुवारले आफूलाई प्रदर्शनीमा रोबोट मन परेको बताइन् । उनले भनिन् “मैले अहिलेसम्म प्रत्यक्षरुपमा रोबोट देखेको थिइनँ, यहाँ देख्न पाएँ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । उनका अनुसार प्रदर्शनी अवलोकन गर्न आफ्नो विद्यालयका र पाँचखाल उपत्यकाभित्रका करीब ४३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा अविभावकलाई निमन्त्रणा गरिएको छ । प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् । पच्चीस वटा कक्षमा परम्परागत भाँडावर्तन, वेषभूषा र लोप हुँदै गएका दैनिक प्रयोगमा ल्याइने घरायसी सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ । रासस
समृद्धिको उल्टो बाटो : आधुनिक युगमा कुटो कोदालोले विकास
काठमाडौं । ‘उत्पादन र विकासका काममा प्रविधिको उपयोग बिना उत्पादन बढाउन सकिन्न । पुरानो प्रविधिले खेतमा उत्पादन बढाउन सकिन्न । उत्पादन बढाउन उत्पादकत्व बढाउनु पर्छ र त्यसका लागि प्रविधि आवश्यक पर्छ ।’, यो प्रधानमन्त्री केपी ओलीको भनाई हो । तर उनै ओलीले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ओलीकै भनाई विपरिदको व्यवस्था अघि सारेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिकामा एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरणको प्रयोग निरुत्साहित गर्ने उल्लेख गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले केहि विकासका काममा उपकरणहरुको प्रयोगलाई निस्तेज पारेर २ लाख ५० हजार रोजगारी बढाउन सकिने प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राखेका थिए । तर प्रधानमन्त्री ओलीले बैठकमै मन्त्री बिष्टलाई कुटो कोदालोको युगमा फर्कन नसकिने स्पष्ट जवाफ दिएका थिए । त्यतिबेला ओलीले भनेका थिए–यो कुटो कोदालोको युग होइन, आज प्रविधिको उपयोग अनिवार्य छ, जति सक्दो आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्नुपर्छ, प्रविधिले विस्थापित गरेको जनशक्तिका लागि रोजगारीको नयाँ अवसर खोज्नु पर्छ तर अब ढुंगे युगमा फर्कन सकिन्न ।’ तर उनै ओली अर्थात प्रधानमन्त्री रोजगार कार्यक्रममा भने विकासमा प्रविधिलाई निषेध गर्ने प्रयास गरिएको छ । इञ्जिनियरिङ पृष्ठभूमिका पूर्व सचिव भीम प्रसाद उपाध्याय पनि प्रविधिको उपयोगलाई घटाउने कार्य गर्न नहुने बताउँछन । ‘आजको युगमा प्रविधिको उपयोगलाई नै प्रोत्साहन दिनुपर्ने हो, प्रविधिले लागत घटाउँछ, काम चाँडो हुन्छ र गुणस्तर बढाउन पनि सघाउँछ, त्यसकारण प्रविधिको उपयोग घटाउने कुरा ठिक होइन’, पूर्व सचिव उपाध्यायले भने । उनले गाउँमा कामदार पाउनै छाडिएको र प्रविधिको उपयोग अनिवार्य सर्त भैसकेको बताए । उनले निश्चित ठाउँका निश्चित काममा भने मानव जनशक्तिको उपयोग अझै पनि हुन सक्ने तर प्राथमिकता भने उपकरणमै दिनुपर्ने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले एक करोड भन्दा कम लागतका विकास आयोजनाहरुमा उपकरण प्रयोग गर्ने वा नगर्नेबारे प्राविधिकले सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिको संकल्प पुरा गराउन विज्ञान र प्रविधिले उपलब्ध गराएका आधुनिक उपकरणहरुको उपयोग अनिवार्य सर्त भएको बताउँदै आएका छन् । उनले प्रविधिको उपयोगद्धारा द्रुतगतिमा विकासको काम गर्नु अनिवार्य भैसकेको समेत बताईरहेका छन् । तर उनै ओलीको नेतृत्वमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमले भने उपकरणको उपयोगलाई निरुत्साहित गरेर कुटो कोदालोको युगमा फर्काउने प्रयास गरिरहेको छ ।
आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा उठाउने अवसर !
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ । आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।
नाडेप लघुवित्तको ऋण परिचालनमा समस्या, प्रोभिजनमा ३ करोड छुट्याउँदा नाफा आधा भन्दा कम
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा ५० प्रतिशत भन्दा बढीले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ करोड ६ लाख रुपैंया खुद नाफा कमाउन सफल नाडेपले यो वर्षको सोही अवधिमा १ करोड ४२ लाख रुपैंया मात्र नाफा आर्जन गर्न सफल देखिएको छ । यो करिब ५३ प्रतिशतको गिरावट हो । नाडेपको नाफा घट्नुको पछाडि ऋणको सम्भावित जोखिमबापतको प्रोभिजन मुख्य कारण रहेको छ । नाडेपले अघिल्लो त्रैमासमा रहेको ऋणको जोखिमबापतको २५ लाखबाट बढाएर ३ करोड ३३ लाख पुर्याएपछि नाफामा यस्तो गिरावट देखिएको हो । नाडेपको निष्क्रिय कर्जा अनुपात पनि अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले बढेर ४.३४ प्रतिशत पुगेको छ । नाडेपले कर्जा प्रवाहको आकार भने उल्लेखनीय वृघि गरी २ अर्ब ३१ करोडबाट बढाएर ३ अर्ब २८ करोड पुर्याएको छ । त्यस्तै सदस्य संख्या पनि अघिल्लो त्रैमासभन्दा करिब ५ हजार जनाले बढाएर साढे ६८ हजार पुर्याएको छ । धादिङको गजुरी मुख्य कार्यालय भएको नाडेपले अघिल्लो वर्ष मात्र सर्वसाधारणलचई आईपीओ जारी गरेको थियो ।