सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता, ३ बुँदे सहमतिमा के छ ?
काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् । मन्त्रालयले ती शिक्षकसँग ‘राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने’ सहमति भएको हो । सहमतिमा आन्दोलनका क्रममा भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने पनि उल्लेख छ । ती शिक्षकले यही फागुन २१ गते आन्दोलनका क्रममा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरी विद्यालय बन्दको घोषणासमेत गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच यही फागुन ९ गते भएको ३१ बुँदे सहमतिमा ‘हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक, बाल कक्षाका शिक्षकको शिक्षक पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्षभित्र शिक्षक सेवा आयोगबाट आन्तरिक र खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि प्रबन्ध गर्ने’ उल्लेख भइसकेको थियो ।
प्रतितोला ५ सयले घट्यो सुनको भाउ, ६० हजार २ सयमा कारोबार
काठमाडौं । बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला रु ५ सयले घटेको छ । बुधबार प्रतितोला ६० हजार ७ सयमा बिक्री भएको सुन बिहिबार प्रतितोला ६० हजार २ सयमा बिक्री भईरहेको छ । तेजावी सुन बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भएको थियो भने बिहिबार प्रतितोलामा ५ घटेर ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५रुपैयाँ घटेर ७ सय ३५ कारोबार भईरहेको छ ।
निक्षेपकाे वृद्धि कर्जा लगानी भन्दा ११४ प्रतिशतले बढी, मुद्दती निक्षेपको ‘ब्याजदर’ झन् बढ्यो
काठमाडौं । निक्षेप संकलन र कर्जा विस्तारमा सन्तुलन कायम गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशनविपरित वाणिज्य बैंकहरुले उच्च दरमा कर्जा विस्तार गरेका छन् । माघ महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलनको वृद्धिभन्दा कर्जा विस्तारको वृद्धि दोब्बर भन्दा बढी देखिएको छ । पुस मसान्त र माघ मसान्तको बैंकहरुको निक्षेप र कर्जा विस्तारको अवस्था हेर्दा उक्त अवधिमा बैंकहरुले २१ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा प्रवाह गरेका छन् । यो करिब २१४ प्रतिशतको वृद्धि हो । उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन २६५० अर्बबाट २६७१ अर्ब पुग्दा कर्जा प्रवाह २३४४ अर्बबाट २३८९ अर्ब पुगेको हो । मध्य माघ र मध्य फागुनको कुलना गर्दा भने बैंकहरुको निक्षेप र कर्जा प्रवाह बराबर देखिएको छ । माघ १८ गते २६६० अर्ब रहेको बैंकहरुको निक्षेप फागुन १७ मा २६७७ अर्ब पुग्दा कर्जा २३८१ अर्बबाट २३९८ अर्ब पुगेको हो । यो १७÷१७ अर्बको वृद्धि हो । बचत खाताको ब्याजदर मात्रै घट्यो अर्थ मन्त्रालयको निर्देशनमा नेपाल राष्ट्र बैंकको आदेशमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाए पनि त्यसको प्रभाव बचत खातामा मात्रै देखिएको छ । माघ महिनामा बैंकहरुको बचत खाताको भारित औसत ब्याजदर ४.४६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झरेको छ । त्यस्तै कल डिपोजिटको भारित औसत ब्याजदर ३.९८ प्रतिशतबाट घटेर ३.८९ प्रतिशतमा झरेको छ । मुद्दती खातामा भने पुस मसान्तमा १०.२८ रहेको भारित औसत ब्याजदर माघ मसान्तमा १०.२९ प्रतिशत पुगेको छ । मंसिर महिनामा मुद्दतीको यो दर १०.११ प्रतिशतबाट १०.२८ प्रतिशत पुगेको थियो । बैंकहरुले मंसिर महिनामा १३ प्रतिशतमा दिएको मुद्दती निक्षेपको प्रभावस्वरुप यस्तो अवस्था देखिएको हो ।
कालिकोटको रास्कोट नगरमा श्रम बैंक, ५० वर्ष पुगेपछि पेन्सनसहित अवकाश
कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले मानवीय श्रम रोजगार बैंकको अवधारणा ल्याएको छ । ‘युवाको सान श्रमको सम्मान, नगर निर्माणको पहिचान’ भन्ने नाराका साथ नगरपालिकामा श्रम रोजगार बैंकको स्थापनासँगै औपचारिक रुपमा बुधबार उद्घाटन गरिएको छ । नगरपालिकामा वेरोजगार युवाहरुलाई रोजगार दिन आयोजित एक कार्यक्रमका बिच श्रम रोजगार बैंकको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले नगरपालिकाबाट कामकै लागि भारत र खाँडी जाने दिनको अन्त्य गर्ने उद्देश्यसहित कार्यक्रम ल्याएको बताए । उनले युवा शक्ति विदेश पलायनले नकारात्मक प्रभाव परेको बताउँदै त्यसको अन्त्य गर्ने बताए । प्रमुख बरालले भने, “नगरपालिकाको बिकासको लागि आजकै दिनबाट दुई सय ६० जनालाई औपारिक रुपमा श्रममा लाग्नेछन् ।” स्थानीय तहको निर्वाचनभएको झण्डै दुई वर्ष पुग्नैलाग्दा नगरपालिकाको विकाशसँगै बेरोजगार युवाहरुलाई रोजगार दिन र नगरपालिकालाई समृद्धिको यात्रामा लैजान श्रम बैकको स्थापना गरिएको बरालले बताए । सुरुवातमा दुई सय ६० जनालाई १३ समूहमा विभाजन गरी काममा लगाउने कार्यविधि नगरपालिकाले बनाएको छ । प्रमुख बरालका अनुसार यो संख्यमा बिस्तारै सख्या बृद्धी गर्दै तीनहजार बनाउने लक्ष्य छ । “युवाहरुको समूहले नगरपालिकाभित्र जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । श्रम बैकमा रहेका युवाहरु ५० वर्ष पुगेको बेला प्यान्सेनसहित अवकास गर्ने कार्यबिधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले जानकारी दिए । श्रम रोजगार बैकमा पुरुष–महिला दुबैको सहभागिता छ । नगरपालिकाभित्रको आय श्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैकमा सहभागीता जनाएका छन् । बैकको अध्यक्षमा पदमवहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै समुह व्यवस्थापकमा १२ जना खटिएका छन् । श्रम रोजगार बैकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाबाट सिफारिस भइआएको आवेदक सदस्यहरुबाट छनोट गरिएको नगरपालिकाले जनाएको छ । धेरै जनसंख्या भएका वडाले ३२ जनासम्म छनोट गरेका छन् । नगरका वडा नं १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ ज्ना छनोट गरेर श्रम रोजगार बैकमा समावेस गरिएको छ । श्रम रोजगार बैकमा भाग लिने युवाहरुको उमेर १८ वर्ष पुगेका र ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । उनिहरुले नगरका निर्माण,उत्पादन,सामाजिक विकृती, विपद व्यवस्थापन र सामाजिक सुरक्षाका बिभिन्न काममा भाग लिनेछन् । कुराकानीको क्रममा नगर प्रमुख बरालले साधारण लेखपढदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई कामको सुनिश्चितता गरेर ५० वर्ष पुगेपछि अवकाश हुने गरी १० प्रतिशत रकम बचत गर्न लगाएर थप एक सय प्रतिशत नगरपालिकाले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको बताए । श्रम बैंकले काम दिने र मूल्यांकन पनि गर्ने र सोही आधारमा काम दिने कार्यविधिमा बनाइएको बरालले बताए । उनीहरुको श्रमको ज्याला बैंक खातामार्फत भुक्तानी गरिने बरालले बताए । श्रम बैंकमा काम गर्ने हरेक सदस्यको १० लाखको दुर्घटना बिमा नगरपालिकाले गर्ने र बिमाको प्रिमियम पनि नगरबाट भुक्तानी हुने छ । कुराकानीको क्रममा प्रमुख बरालले समाजवादी मोडेलको पहिलो खुट्किलो भएको बताए । उनले समाजवाद मुखले भनेर मात्रै हुँदैन अब योजनामा व्यक्त गर्नुपर्छ । “यो समाजवादी मोडेलको पहिलो खुड्किलो हो । यसलाई अझ परिस्कृत गर्दै लिन्छौं” बरालले भने । त्यसैगरी उपप्रमुख मिमसरा बमले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने लक्ष्य लिएर श्रम रोजगार बैंकको स्थापना गरिएको बताइन् । पहिलो चरणमा नगरपालिकाभित्रका दुई सय साठी जना युवा तथा युवतीलाई श्रम बैंकमार्फत पहिलोपटक रोजगारी दिइएको छ । घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का नेता जगतबहादुर शाहीले यो ब्यवस्थापनमा सबैलाई सहयोग गर्न आग्रह गरे । समाजिक बिकास समितिका संयोजक दयाराम सिम्खाडाले गरिब परिवारमा जन्मेर बेरोजगार युवाहरुको मनोभावनालाई मध्यनजर गरी नगरपालिकाले श्रम बेंकको अवधारणा ल्याएको बताए । चुनावदेखि अहिलेसम्म जनप्रतिनिधिले समाजवादको नारा लगाएपनि रास्कोट नगरपालिकाले कार्यक्रम सुरु गरेको छ । मानवीय श्रम बैंकको अवधारणा लागु गर्ने रास्कोट नगरपालिका पहिलो नै हो । यो तत्कालिन माओवादीले जनयुद्धको क्रममा छलफलमा ल्याएको थियो ।
धितोपत्र बोर्डलाई ब्रोकरको पत्रः बकबक गर्न छाडेर हाम्रा माग पुरा गर्नु
काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले धितोपत्र बोर्डलाई जथाभावी बोल्ने काम बन्द गर्न भनेको छ । बुधबार ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधीहरुले हस्ताक्षर गरेको पत्र बोर्ड सञ्चालक समितिलाई बुझाउँदै जथाभावी नबोल्न भनेका हुन् । उनीहरुले ब्रोकर डिलर, प्रोपराइटर ट्रेड, शुल्क सहितको परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापनको काम गर्न पाउनुपर्ने माग पनि अघि सारेका छन् । ब्रोकरहरुले कुनै गल्ति गरेमा पहिलो पटक सुधारात्मक प्रक्रिया अपनाउनुपर्ने र अन्तिममा मात्रै दण्ड जरिवाना गर्नुपर्ने भनेका छन् । प्रदेशमा खोल्न लागिएका ब्रोकर कम्पनी र बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने तर्कको पुष्टि गर्नुपर्ने माग पनि अघि सारेका छन । इन्ट्रा डे कारोबारको सुबिधा दिनुपर्ने, दुई वटा मात्रै डिम्याट खाता खोल्न पाउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । ब्रोकरहरुले धितोपत्र बोर्डका अध्यक्षलाई नभएर सञ्चालक समितिलाई पत्र लेखेका छन् । विभिन्न २८ बुँदे माग समेटिएको पत्रमा उनीहरुले एक हप्ताभित्र माग पुरा गरेर आफुहरुलाई जानकारी गराईयोस भनेर आदेशात्मक अनुरोध समेत गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीसँग असन्तुष्ठ बनेका ब्रोकरहरुले सञ्चालक समितिलाई पत्र लेखेका हुन् । तर धितोपत्र बोर्डको सञ्चालक समिति अध्यक्ष भने कार्की नै हुन् । पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्स र प्रदेशमा ब्रोकर कार्यालय खोल्ने लगायतका कामबाट कार्की र ब्रोकर कम्पनीहरुका बिचमा दुरी बढिरहेको छ ।
गर्भनर नेपाल र इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गरायो । इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउने इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको छ । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेषगरी पाठकहरुसम्म छिटोछरितो सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेका अनलाइन मिडियाहरुको आवश्यक र महत्व बढेकोले यस्ता मिडियामैत्री सरकारी नीति बन्नुपर्नेमा जोड दिएको छ । पाठकहरु अनलाइन मिडियातर्फ केन्द्रीत हुँदै गएकोले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सूचना एवं सन्देशहरु अनलाइन मिडियाहरुमा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनले माग गरेको छ । वित्तीय साक्षरता वृद्धि गर्न, वित्तीय बजार विस्तारमा सघाउन इकोनोमिक मिडियाको ठूलो भूमिका रहेकाले यस्ता कार्यक्रम संचालन गर्दा बैंक तथा वित्तीय संस्था र इकोनोमिक मिडियाबीच सहकार्य हुनुपर्नेमा इम्सनले जोड दिएको छ । साथै, अनलाइन मिडिया डोमेन दर्ता तथा नविकरण गर्दा, होस्टिङ गर्दा लाग्ने विदेशी मुद्रा उपयोगमा भइरहेको असुविधाप्रति ध्यानाकर्षण गराएको छ । भेटघाटको क्रममा गर्भनर नेपालले इकोनोमिक मिडियाहरुको आवश्यक र महत्व आफूले बुझेको बताउँदै यस्ता मिडियाहरुको समस्या समाधानका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए । उनले मिडियाहरुमा आधार र प्रमाणविना सत्यहिन समाचार प्रकाशित गर्ने प्रवृत्ति रहेको सुनाउँदै यसमा सुधार गरी स्वस्थ र व्यवसायिक ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
एनसीसी बैंकको ब्रान्ड एम्ब्यासडरमा आरिफ शेख र रोहितकुमार नियुक्त, मासिक २५ हजार दिने घोषणा
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ । बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख र रोहितकुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द्ध गराउन पाउँदा खुशी लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख र रोहित कुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । साथै बैंकले यी खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५ हजार दिने जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख र रोहितकुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सराहनीय कार्य गरेको मन्तब्य दिए ।
‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । फागुन २२ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधापनि प्राप्त गर्न सक्ने छन् । १ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याज दर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बीमा(अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबीभुक्तानीगर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।