दुई संस्थाको ८ लाख कित्ता बोनस सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई वटा संस्थाको कुल ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै सेन्ट्रल फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सो मात्राको बोनस थपिएको हो । सो मध्ये सेन्ट्रल फाइनान्सको सबैभन्दा बढी अर्थात ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर थपिएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
ज्ञापन पत्र बुझाउन गएका व्यवसायीलाई गभर्नरको जवाफ-‘ब्याजदर घट्न समय लाग्छ, अहिल्यै हुन्न’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसंग भेट गरेको छ । यस अवसरमा ज्ञापन पत्र बुझाउंदै बैंकिङ ब्याज कम गर्न सुझाब दिइएको छ । महासंघको तर्फबाट प्रस्तुत सुझाव पत्र ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझावहरु अत्यन्त महत्वपूर्ण रहेको र समस्या समाधानको लागि परिणाम निस्कन समय लागेतापनि नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको विश्वास दिलाए । साथै, भेटवार्ताका क्रममा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनु पर्ने विषयमा पनि छलफल भएको महासंघले जनएको छ । कार्यक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको बैकिङ समितिका सभापति शौरभ ज्योति, कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह बैध, गोपाल खनाल, चन्द्रकान्त अधिकारी, रविनकुमार श्रेष्ठ र सुनिलनारायण श्रेष्ठ सहभागी थिए । महासंघको टोलीले गर्भनर समक्ष प्रस्तुत गरेका ५ बुंदे सुझाव यस्ता छन्: १. बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गरिनुपर्ने । साथै, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनु पर्ने । २. अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फण्ड घटेर वेस रेट घट्न सक्ने भएकोले यसतर्फ कदम चाल्नु पर्ने । ३. पुनरकर्जा कोषमा ६-६ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने । पूनरकर्जाका प्रक्रिया सरल गरिनुको साथै पूनरकर्जा कोषलाई बृद्धि गरी १०० अर्ब रुपैयां बनाउनु पर्ने । ४. नाफामुलक सस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम गरिनु पर्ने । ५. बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाख भन्दा कमको बचतमा केवाइसी फर्मलाई उदार गरिनु पर्ने ।
महासंघ पदाधिकारी र अमेरिकी राजदूतबीच भेटवार्ता, अमेरिकी लगानी बढाउन आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष(नेपाल) चण्डिराज ढकालको समेत सहभागिता रहेको उक्त भेटवार्तामा नेपाल अमेरिका आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भयो । महासंघको कार्यकारिणी समितिका सदस्यद्वय जयप्रसाद सिवाकोटी र आकाश अधिकारी, अमेरिकी राजदूतावासका अधिकृतहरू र महासंघ सचिवालयका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । सो अवसरमा महासंघको तर्फबाट अध्यक्ष राणाले राजदूत बेरीको महासंघ सचिवालयमा स्वागत गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर वाह्य लगानी, प्रविधि तथा विकासको मोडल समेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कुटनीतिक तवरबाट सहयोग गर्न राजदूत समक्ष अनुरोध गरिन् । मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशिल रहेको यसका लागि कतिपय ऐन कानूनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आईसकेको र बा“की ऐन कानून पनि छिट्टै ल्याउने तरखरमा रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोडसेडिङको समस्या नरहेकाले लगानीको वातावरण बनिरहेको अध्यक्ष राणाले सो अवसरमा स्पष्ट पारिन् । महासंघका विशिष्ट सदस्य ढकालले नेपाल अमेरिका बीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघका तर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गरे । सो अवसरमा राजदुत र्याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।
ग्लोबल आइएमई र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा त्रिवि, पनिकाका परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्र अनुरुप त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विधार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवम् चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।
नारी दिवसका अवसरमा कैलाश विकास बैंकले ल्यायो सुरक्षित नारी बचत योजना
काठमाडौँ । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।
हस्तकला महासंघका पदाधिकारीलाई चेम्बरको स्वागत
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा नेपाल हस्तकला महासंघका नव–निर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको छ । आज चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरे । उनले नेपाल चेम्बर अफ कमर्स अन्तर्गत निर्यातमा केन्द्रित हुने गरि नेपाल एक्सपोर्ट चेम्बर गठन गर्ने योजना रहेको कुरा बताए । नेपाल हस्तकला महासंघका नव-निर्वाचित अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकला क्षेत्रलाई नेपाल चेम्बर अफ कमर्सबाट बिगतमा पनि संरक्षकत्व प्राप्त भएको कुरा स्मरण गरे । उनले त्यस्तो खालको संरक्षकत्व र सहयोग आगामी दिनमा पनि जारी रहने बिश्वास व्यक्त गरे ।
ज्ञापन पत्र बुझाउदै ट्रेड युनियन केन्द्रले भन्यो-श्रममन्त्रीज्यू, सामाजिक सुरक्षा योजना कहाँ पुग्यो ?
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई ज्ञापन पत्र बुझाइएको छ । वर्तमान समयमा श्रमिकहरुका माग र आवश्यकता बारेमा ज्ञापन पत्र मार्फत श्रममन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष विनोद श्रेष्ठले बताए । ज्ञापन पत्रमा उल्लेखित मुख्य मुख्य माग यसप्रकार छः – श्रम ऐन २०७४ कार्यान्वय गर्न श्रम अडिट प्रतिवेदन प्रत्येक प्रतिष्ठानबाट श्रम कार्यालयहरूलाई परिचालन गरी संकलन गर्ने । – श्रम निरीक्षण प्रकृयालाई प्रभावकारी रूपमा अविलम्व थालनी गर्ने र कार्यान्वयनको अवस्था सम्बन्धी प्रतिवेदन मे दिवसको सन्दर्भमा सार्वजनिक गर्ने । – श्रम कार्यालयमा पुगेका श्रम विवाद प्रभावकारी रूपमा सम्पादन गर्न श्रम कार्यालय तथा स्थानीय तहसम्मको अनुगमन क्षमता वृद्धी गर्ने तर्फ विशेष रूपमा ध्यान दिन आवश्यक छ । त्यसैले श्रम कार्यालय प्रशासनको व्यवस्थापन र कामको अनुगमन निरीक्षण नियमित गर्ने । – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताहरूको सूचीकरण गर्ने प्रकृया अपेक्षाकृत उत्साहका साथ भएको देखिदैन । सूचीकरण प्रकृयालाई प्रभावकारी बनाउन टोली तथा अन्य विशेष अभियानका साथ सञ्चालन गर्न र आगामी वर्ष २०७६ साउनबाट योगदान शुरु गर्ने कुराको सुनिश्चितता गर्न आवश्यक सबै संरचनाहरू तत्काल निर्माण गरियोस् । – परम्परागत अनौपचारिक श्रम औपचारिक भएको परिपेक्ष्यमा साना प्रतिष्ठानहरूको सामाजिक सुरक्षा प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने र स्वरोजगार श्रमिकहरूलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल गर्ने कार्यविधि तथा संरचना आवश्यक छ । त्यसैले सामाजिक सुरक्षा कोषको कार्यालयबाट तत्काल यस कामको थालनी गरियोस् । – व्यवसाजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी नीति तथा कार्यथलोमा कमिटी निर्माणसँग सम्बन्धित सूचना संकलन तथा अभिलेख तयार गर्ने र श्रम ऐन नियम अनुसार गर्न गराउन आवश्यक निर्देशन दिने । – चिया वगान तथा चिया प्रशोधन गर्ने उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको पारिश्रमिक निर्धारण प्रकृयामा भएको ढिलासुस्तिप्रति हामी गम्भीर बनेका छौंँ । त्यसैले अविलम्व निर्णय गर्न हामी माग गर्दछौंँ । – सरकारी तथा निजी क्षेत्रमा श्रमिक आपूर्तिकर्ता मार्फत श्रम गरी रहेका श्रमिकहरूलाई २०७५ साउनबाट लागू भएको न्यूतम पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित पक्षलाई आवश्यक निर्देशन तथा अनुगमन गरियोस् । – हाल जारी रहेको राहत शिक्षकहरूको समस्या समाधान गर्न वार्ता तथा आपसी संवादको थालनी यस मन्त्रालयबाट गर्न आवश्यक छ । – सेवा क्षेत्र लगायत सम्पूर्ण श्रमिकका अधिकारहरूलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउन तथा सामाजिक सुरक्षा प्रणालीमा सम्पूर्ण श्रमिकहरूलाई समावेश गर्न विद्यमान टे«ड यूनियन ऐन तथा सम्वद्ध अन्य कानूनमा आवश्यक सुधारको प्रकृया तत्काल शूरु गरियोस् ।
आइएमई र माछापुच्छ्रेबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।