नेपाली बजारमा साढे १८ लाखसम्मका मोटरसाइकल, कुन कम्पनीले कतिमा बेच्दैछन् ?
काठमाडौं । नेपाली बजारमा मूल्य १ लाख १२ हजारदेखि १८ लाख ५० हजारसम्म मूल्यमा मोटरसाइकलहरु उपलब्ध छन् । नाडा अटोमोबाइल्स एसोशिएसनले सार्वजनिक गरेको पछिल्लो मूल्यसूची अनुसार नेपालमा बिक्री हुने मोटरसाइकलहरुमध्ये जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टीभीएसको एक्सएल–१०० को सबैभन्दा सस्तो र केटीएम इन्टरनेशनलले बिक्री गर्दै आएको टीएनटी ६०० आई (एबीएस) को मूल्य सबैभन्दा बढी अर्थात् रु १८ लाख १२ हजार ९०० रुपैंया तोकिएको हो । नाडाले आफ्ना सदस्य डिलरहरुले उपलब्ध गराएको मूल्यसूचीका आधारमा नेपाली बजारमा बिक्री हुँदै आएका मोटरसाइकलहरुको पछिल्लो मूल्य तोकेको हो । विवरण अनुसार नेपालमा १० कम्पनीका कुल १२४ मोडलका मोटरसाइकलहरु बिक्रीमा राखिएका छन् । नेपाल जनरल मार्केटिङले बेच्दै आएको हिरो मोटरसाइकलको मूल्य १ लाख ७६ हजार रुपैंयादेखि ३ लाख २८ हजार रुपैंयासम्म तोकिएको छ । हिरोको १०२ सीसीको प्लिजर न्यूको मूल्य न्यूनतम १ लाख ७६ हजार तोकिएको छ भने २२३ सीसीको करिज्मा जीएमआर डीएसएसको मूल्य ३ लाख २८ हजार तोकिएको हो । १२५ सीसीको सुपर स्प्लेन्डरको मूल्य भने १ लाख ९४ हजार तोकिएको छ । हिरोका १८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको बजाज मोटरसाइकलको १ लाख ६३ हजार ९०० रुपैंयादेखि ५ लाख ८९ हजार तोकिएको छ । १०० सीसीको प्लाटिना १०० इएसको मूल्य १ लाख ६३ हजार ९०० र डोमिनरको मूल्य ५ लाख ८९ हजार तोकिएको हो । १५० सीसीको पल्सरको मूल्य भने २ लाख ५१ हजार ९०० र १५० सीसीकै पल्सर टीडीको मूल्य भने २ लाख ५९ हजार ९०० तोकिएको छ । त्यस्तै, २२० सीसीको मोटरसाइकलको मूल्य भने ३ लाख ११ हजार ९०० तोकिएको छ । बजाजका १७ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । एमएडब्लु इन्टरप्राइजेजले आफूले बिक्री गर्दै आएको यामाहा मोटरसाइकलको मूल्य १ लाख ८५ हजार रुपैंयादेखि ९ लाख २४ हजार ९०० रुपैंयासम्म तोकेको छ । यामाहाको ११३ सीसीको आरएवाई–जी को मूल्य १ लाख ८५ हजार ९०० रुपैंया र ३२१ सीसीको आरथ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । १२५ सीसीकै एक्सटीजी १२५ को मूल्य समेत ३ लाख ९९ हजार ९०० रुपैंया तोकिएको छ । यामाहाका १९ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । सबैभन्दा महँगो मोटरसाइकल बिक्री गर्ने कम्पनी भने केटीएम इन्टरनेशनल देखिएको छ । बेनेली कम्पनीहो टीएनटी ६०० आईको मूल्य सर्वाधिक १८ लाख ५० हजार तोकिएको हो । सो सम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल भने टीएनटी १३५ छ जसको मूल्य २ लाख ७५ हजार तोकिएको छ । यामाहाका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । जगदम्बा मोटर्सले बिक्री गर्ने टीभीएस कम्पनीको मूल्य सबैभन्दा कम देखिएको छ । उक्त कम्पनीको एक्सएल–१०० को मूल्य १ लाख १२ हजार ९०० हुँदा सो कम्पनीकै अपाचे आरटीआर २०० को मुल्य ३ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । सोही कम्पनीको स्कुटरको मूल्य भने १ लाख ८४ हजार ९०० देखि २ लाख २४ हजार ९०० रुपैंयासम्म तोकिएको छ । टीभीएसका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । त्यस्तै अग्नी मोनिकले बिक्री गर्ने महिन्द्रा टु ह्विलर्सको सवारीको मूल्य १ लाख ६२ हजार देखि ५ लाख ८० हजारसम्म तोकिएको छ । कम्पनीका ३ मोडलका बाइक र ४ मोडलका स्कुटरहरु बजारमा रहेका छन् । महिन्द्रा टु ह्विलर्सका ३ ओटा मोडेलका मोटरसाइकलहरु र ४ मोडेलका स्कुटर बिक्रीमा छन् । दुगड ब्रदर्स एण्ड सन्सले बिक्री गर्दै आएको रोयल इन्फिल्डका मोटरसाइकलको भने न्यूनतम मूल्य सबैभन्दा बढी देखिएको छ । उक्त कम्पनीका बाइकहरु ४ लाख ६७ जारदेखि ८ लाख २१ हजार रुपैंया मूल्यसम्मका छन् । रोयल इन्फिल्डका ६ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । रमन जनरलले बिक्री गर्ने रुइनर मोटरसाइकलको मूल्य भने १ लाख ५२ हजारदेखि ३ लाख ८४ हजारसम्म तोकिएका छन् । रुइनरको बाइक आरटीको मूल्य न्यूनतम र डोमिनेटरको मूल्य अधिकतम तोकिएको हो । रुइनरका १४ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । सबैभन्दा कम अर्थात् ३ मोडलका मोटरसाइकलहरु बिक्री गर्ने इन्टरनेशनल माेटर्सकाे हार्टफाेर्ड ब्रान्डका मोटरसाइकलहरु भने ३ लाख ५० हजारदेखि ४ लाख ९९ हजार रुपैंयासम्मका छन् । कम्पनीकाे एचडी १५० भीआरकाे मूल्य न्यूनतम३ लाख ५० हजार ताेकिँदा एचडी २२३ एस लियाेपार्डकाे मूल्य ४ लाख ९९ हजार ताेकिएकाे हाे ।
२६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनः आवेदन माग
काठमाडौँ । सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ । रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिने छ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ । सो अन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ । गत महिना ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी रोजगार संयोजकको आवेदन माग गरिए पनि विद्युतीय परीक्षा उत्तीर्ण हुन नसक्दा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेका थिएनन् । उक्त चरणमा २३ हजार ९६८ को आवेदन परे पनि ४८५ जना मात्र छनोट हुन सफल भएका थिए ।
मेलम्चीले बाटो खनेर छोडे पछि स्थानीयले नै शुरु गरे सरसफाई
काठमाडौं । मेलम्चीले खानेपानी आयोजनले काठमाडौंको विभिन्न ठाउँमा पानीको पाइप विछ्याउन बाटो खनेर त्यसै छाडे पछि स्थानीय वासिन्दाहरुले सरसफाई थालेका छन् । बागबजारवासीहरु बाटो सरसफाईमा जुटेका हुन् । बागवजारमा मेलम्चीले बाटो खनेर छोडेको १ महिना हुँदा पनि कुनै चासो नदेखाए पछि स्थानीयहरुले नै बाटो सफा गर्न शुरु गरेका हुन् । सरसफाइमा सहभागी रेशम भुसालले भने–‘मेलम्चीले बाटो खनेर पाइप बिछ्याएको पनि १ महिना भइसक्यो, तर बाटो खने पछि त्यसको पुननिमार्ण गरेन । बाटोमा धुलो उठेर केही नदेखीने भएपछि हामी स्थानीयहरु नै मिलेर बाटो सरसफाइमा लागेका छौँ ।’ सबै कामका लागि सरकारको मुख ताक्नुभन्दा आफुले सक्ने काम आफैँ गरौँ भनेर सरसफाइ शुरु गरेको भुसालले बताए ।
प्यानबाट पछि हट्यो धितोपत्र बोर्ड, बैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा मात्रै अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो । यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै खाले सेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो । सेयर बजार सम्वद्ध सबै सरोकार वाला र अर्थमन्त्रालयको राय अनुसार ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए ।
परिवारसँगको दूरीका कारण अधिकांश कैदीबन्दीमा मानसिक रोग
ललितपुर। देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताए । अस्पतालको बहिरङ्ग विभाग र अन्तरङ्ग विभाग दुवैतिर कारागारबाट आएका बिरामी आइरहेका छन्। विभिन्न मुद्दामा जेल चलान भएपछि मानसिक रोग लागेका कैदीबन्दी उपचारका लागि यहाँ आउने गरेको उनले बताए। देशभरका विभिन्न कारागारका कैदीबन्दीलाई मानसिक रोग लागेपछि कारागार प्रशासनले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेको छ । बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन/चार सम्म कैदीबन्दी भर्ना हुने गरेका छन् । उनले भने, “अहिले नख्खु कारागारभित्रै मानसिक अस्पताल बन्न लागेकाले यो कारागारमा सरुवा भएर आउनेक्रम बढेको छ ।” अधिकारीका अनुसार कैदीबन्दीमा सबैभन्दा बढी ‘डिप्रेसन’ का बिरामी आउने गरेका छन् । कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोग पाइएको उनले बताए। उनका अनुसार परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको छ । उनले भने, “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ।” समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ। रासस
बन्दमा पनि साझा यातायातको सेवा, सुरक्षामा हतियारसहितको प्रहरी
काठमाडौं । साझा यातायातमा प्रहरीले हतियारसहित सुरक्षा दिएको छ । विब्लव समूहको नेकपाले आह्वान गरेको बन्दका क्रममा सर्वसाधारण र बसको सुरक्षाका लागि सम्पूर्ण बसहरुमा हतियारसहितको प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । हाल साझाका करिब ७५ ओटा बसहरु सञ्चालनमा छन् । ती बसहरुले उपत्यका भित्र र बाहिर समेत सेवा दिइरहेको छ । बन्दको आह्वानपछि अन्य कम्पनीहरुले सेवा बन्द गरे पनि साझाले भने नियमित रुपमा सञ्चालन गरिरहेको जनाएको छ ।
दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्
काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने, थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्। मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ। कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ? प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ। केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ। सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ। धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ। ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ : – अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु – पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी खाना पछि निन्द्रा लाग्नुको अर्को कारण -राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ। -खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ। कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ? १। थोरै मात्रामा र समय समयमा खाईरहने एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ। २। रातीको समयमा राम्रोसँग सुत्ने राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्। ३। केही समय हिंड्नुहोस् दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ। ४। दिउँसोको समय छोटो समय सुत्नुहोस्
स्कूलहरुले दशैं र तिहारको बीचमा बिदा गर्नैपर्ने, वर्षैपिच्छे किताब फेर्न पनि रोक
काठमाडौं । विद्यालयहरुले अब दशैं र तिहारको बीचको अवधिमा विद्यार्थीहरुलाई अनिवार्य रुपमा बिदा दिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागअन्तर्गत शिक्षा समितिले दशैं र तिहारको बीचमा रहने १२ दिनको अवधिमा आफू मातहतका विद्यालयहरुलाई अनिवार्य रुपमा बिदा दिने व्यवस्था गर्न भनेको हो । सो अवधिको बिदासहित विद्यालयहरुले जम्मा ४५ दिनसम्म बिदा दिन पाउनेछन् । जसमा जाडो बिदा बढीमा २४ दिन र गर्मी बिदा तोकिएको भन्दा बढी दिन बिदा नहुने गरी जाडो बिदासँग मिलान गरी दिन सकिने विभागले जनाएको हो । जसअनुसार विद्यालयहरुले २४ दिन जाडो बिदा दिए बाँकी ८ दिन मात्र गर्मी बिदा दिन पाउँछन् । महानगरले आफू अन्तर्गतका विद्यालयहरुलाई वर्षको २२० दिन विद्यालय खोल्न र कम्तिमा १९६ दिन अविनार्य रुपमा कक्षा सञ्चालन गर्न पनि भनेको छ । किताब बेच्न र फेर्न रोक विभागले विद्यालयहरुलाई आफ्नो विद्यालय हाताभित्र किताब, स्कूल ड्रेस, स्टेशनरी सामान र सन्दर्भ सामाग्रहरु बेच्न वा आफूले चाहेको पसलबाट किताब किन्न समेत रोक लगाएको छ । विद्यालयहरुले आफूले पढाउन चाहेको पुस्तकको सूची र पश्लिकेसनको नाम समेत अभिभावकले देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यालयहरुले एकपटक लागू गरेको पाठ्यपुस्तक कम्तीमा ३ बर्षसम्म फेर्न नपाउने व्यवस्था गरिएको छ । हालसम्म विद्यालयहरुले आफ्नो अनुकूलका प्रकाशनको किताब आफैं बेच्ने वा अभिभावकहरुलाई कुनै पुस्तक पसलको नाम दिएर त्यही पसलमा सबै किताब पाउने भन्दै किताब र पब्लिकेशनको नाम नदिने गर्दै आएका थिए । वर्षमा ४ ओटा परीक्षा अनिवार्य विभागले सबै विद्यालयहरुले अनिवार्य रुपमा वर्षमा ४ पटक परीक्षा लिनैपर्ने व्यवस्था गरेको छ जसअनुसार पहिलो परीक्षा असार १३ गतेदेखि २२ गतेसम्म, दोस्रो असोज १ गतेदेखि १० गतेसम्म, तेस्रो पुस ४ गतेदेखि १४ गतेसम्म र चौथो चैत १३ गतेदेखि २१ गतेसम्म परीक्षा लिनुपर्ने गरी तोकिएको छ । तर त्यसरी परीक्षा लिँदा परीक्षा शुल्क लिन पाउने कि नपाउने र पाउने भए कतिसम्म लिन पाउने भन्ने व्यवस्था भने विभागले गरेको छैन । स्कूलको नाम नेपालीमा, राष्ट्रिय गान अनिवार्य विद्यालयहरुलाई आफ्नो विद्यालयको होर्डिङ बोर्डमा अनिवार्य रुपमा नेपालीमा समेत नाम लेख्न, विद्यालय सञ्चालन हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र कक्षा सुरु हुनुअघि अनिवार्य रुपमा कक्षागत गीत समेत बजाउन समेत निर्देशन दिएको छ ।