महिला सहयात्रा माईक्रोफाइनान्स ‘राजकुमारी सविका विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित
काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था “राज कुमारी सविकास विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड” बाट सम्मानित भएको छ । विभिन्न मुलुकका १८८७ का प्रतिस्पर्धीहरुकाबीच संस्थाले विभिन्न चार विधा (सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र) मा विभाजित पुरस्कारमा उक्त सम्मान पाएको हो । गत मार्च ११मा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी ६३औँ महासभायस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. सुमित्रा मानन्धर गुरुङले एक लाख डलर धनराशीको पुरस्कार ग्रहण गरेकी हुन् । संस्थाले नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजार भन्दा बढी महिलाहरुबीच लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साथै, लघुउद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा काम गरिरहेको छ । राष्ट्रिय स्तरको यस संस्थाको हाल कुल २६ वटा शाखा कार्यालयहरु संचालनमा छन् । सो मध्ये २१ वटा शाखा कार्यालयहरु अति विकट जिल्लाहरुमा रहेको छ । संस्थाले कुनै पनि लघुवित्त पुग्न नसकेका क्षेत्रमा महिला शसक्तिकरण तथा वित्तीय सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त विकट जिल्लाहरुमा शाखा विस्तार गरी संचालनमा ल्याएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थामा हाल ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको छ । संस्थापकमा नबिल बैंक, सिभिल बैंक, प्राइम बैंक र गोर्खाज फाइनान्स रहेका संस्थाकी सीईओ गुरुङले जानकारी दिएकी छिन् ।
सेञ्चुरी बैंकले गर्यो ६.५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगदसहित उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकले ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजीकाे २ प्रतिशतले हुन आउने १६ कराेड ५० लाख रुपैंया बराबरकाे बाेनस र ४.५ प्रतिशत हुन आउने ३७ कराेड १२ लाख ७० हजार बराबरकाे नगदसहित उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने बैंकले जनाएको छ ।
सुनको मूल्यमा वृद्धि, प्रतितोला रु ६० हजार २ सयमा कारोबार हुँदै
काठमाडौं । विहिबार सुनको मूल्य बढेर प्रतितोला रु ६० हजार २ सयमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला रु ५९ हजार ७ सयमा कारोबार भएको थियाे भने बुधबार सार्वजनिक विदाका कारण कारोबार बन्द रहेको थियो । त्यस्तै तेजावी सुन मंगलबार प्रतितोला ५९ हजार ४ सयमा विक्री भएको थियो भने विहिबार प्रतितोला ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । चाँदी विहिबारको तुलनामा रु १० बढेर ७४० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
ठूलो हिस्सा शेयर भएका ‘क्रस होल्डर’ सानिमा बैंकबाट बाहिरिँदै, २७ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा होल्डिङ (क्रस होल्डिङ) गर्नेे सानिमा बैंकका एकजना शेयरधनी ठूलो हिस्सा शेयर बिक्रीसँगै सानिमा बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकले एकभन्दा बढी प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थामा ठूलो शेयर होल्डिङ गर्न प्रतिबन्ध लगाएपछि सानिमा बैंकका उक्त शेयरधनीले २७ लाख १८ हजार ८३५ कित्ता शेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन् । उक्त शेयर बिक्रीका लागि उक्त न्युनतम १८० रुपैंया मूल्य र न्यूनतम २ लाख कित्ता शेयर संख्या तोकिएको छ । सानिमा बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सानिमा क्यापिटलले जारी गरेको सूचनामा उक्त शेयरमा खरिदका लागि योग्य व्यक्तिले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । जसअनुसार उक्त शेयर खरिदका लागि न्यूनतम ३ करोड ६० लाख रुपैंया तिर्नुपर्नेछ । सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष जोशीले बैंकका शेयर बिक्री गर्न चाहने संस्थापकको आग्रह बमोजिम उक्त शेयर लिलामीमा राखेको बताउँदै सम्बन्धित संस्थापक शेयरधनीले नै शेयरको न्यूनतम मूल्य र न्यूनतम कित्ता तोकेको जानकारी दिए । बिक्री गर्न लागिएको शेयरको होल्डिङ एकैजनासँग भएको बताइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि एउटै संस्थापकले २ ओटा बैंकको शेयर होल्डिङ गर्न नपाउने भएपछि शेयर बिक्रीमा राखिएको बताइएको छ । ‘नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ठूला शेयरधनीहरुले एउटा भन्दा बढी बैंकमा होल्डिङ गर्न नपाउने भएपछि शेयर बिक्री गर्न लागिएको हो । शेयर बिक्री गर्न चाहने संस्थापकको अर्को बैंकमा पनि ठूलो होल्डिङ छ ।’ स्रोतले विकासन्यूजसँग भन्यो । ८ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकको ८ करोड कित्ता साधारण शेयरमध्ये बिक्री हुन लागेको करिब २७ लाख कित्ता शेयर करिब ३ प्रतिशत बराबर हो । बिक्रीमा राखिएकाे शेयर कसले र कतिमा किन्छ वा सानिमा बैंकमा कुन प्लेयर भित्रन्छ, त्याे भने चासाेकाे विषय बनेकाे छ ।
जनताको जलविद्युत् कार्यक्रममा आवेदन शुरु, प्रधानमन्त्रीले दिए १० हजार कित्ता शेयरका लागि आवेदन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए । यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।
काठमाडौंका होटल र डेरीमा विभागले गर्यो अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा काठमाडौं उपत्यकाका विभिन्न स्थानका होटल र डेरीको अनुगमन गरी मोबाइल प्रयोगशाला भ्यानबाट परीक्षण गरेको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका चैत ४ देखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तीब्रता दिएको विभागले जनाएको छ । ्र विभागले बुढानिलकण्ठ स्थित विभिन्न होटल रेष्टुरेण्ट भोजनालय तथा डेरी पसल अनुगमन गरी सरसफाइ लगायतका अन्य विषयमा सुधार गर्न निर्देशन दिएको छ । यसै क्रममा अनुगमन गरिएका प्रशान्त डेरी प्रालि, श्रेया होटल, सेन्ट्रल मम, खाद्य भण्डार, श्रृजना स्टोर्स, गिताञ्जलि होटल, अप्सरा रेष्टुराँ, गुप्ता स्विट्स तथा ए एम एस कोल्ड स्टोरमा सरसफाइ, सुधार गर्न लेवल विवरण हेरेर उपभोग्य मिति बाँकि भएका खाद्य वस्तु बिक्रिवितरण गर्न निर्देशन दिएको छ । साथै मिठाइ पसलमा रङ्गको परीक्षण गर्दा कुनैपनि अखाद्य रङ्ग नभएको पाइएको छ । थानकोट तथा बालाजुमा दूध तथा दुग्ध पदार्थको अनुगमन गरी दूधमा न्यूट्रलाइजर, चिल्लो तथा चिल्लो बाहेकको ठोस वस्तु जाँच गरिएको छ । थानकोट नाकाबाट भित्रिएका दूधका ट्याङ्कर, बालाजु स्थित आधुनिक डेरी, सामुहिक कृषक डेरी, पुष्प डेरी तथा थानकोट स्थित थानकोट दूध दही पसल समेतको अनुगमन गरी मोबाइल प्रयोगशालामा परीक्षण गर्दा कुनै कैफियत नभएको पाइएको छ । सामुहिक डेरीलाई स्टेनलेस स्टीलको भाँडामा दही जमाउन निर्देशन दिएको छ भने दूध दही पसलमा दूधको परीक्षण गरेर मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ । ललितपूर स्थित हिमालय डेरी लगनखेल संयूक्त डेरी पाटन औद्योगिक क्षेत्र र राजधानी डेरी पाटनमा अनुगमन गरी मोबाइल प्रयोगशाला भ्यानमा परीक्षण गर्दा न्यूट्रलाइजर प्रयोग नभएको पाइएको छ । दूध उत्पादन निर्देशिका अनुसार मापदण्ड पुरा गर्न निर्देशन दिएको छ । ललितपुर खुमलटार स्थित बीग मार्ट, राम स्टोर, फेमस दूध डेरी पसल र गोर्खा स्टोरका साथै भवानी सुपर मार्केट थसिखेल, मार्ट प्रालि, झम्सिखेल तथा सानेपा डेरी सेन्टर समेतको अनुगमन गरी सरसफाइमा ध्यान दिन, लेवल विवरण हेरेर मात्र बिक्रीवितरण गर्न तथा स्टेनलेस स्टिल वा आल्मुनियमको भाँडामा दूध ढुवानी गर्न निर्देशन दिइएको छ । भक्तपूर स्थित सञ्जीवनी डेरी तथा कालिका डेरीको अनुगमन गरी दूध उत्पादन निर्देशिका अनुरुप भए नभएको अनुगमन गरिएको छ । अनुगमन गर्दा कुनै पनि कैफियत पाइएन । भक्तपूरको बागेश्वरीमा मण्डन देउपूर स्थित चिस्यान केन्द्रबाट प्लाष्टिकको ट्याङ्कीमा दूध ढुवानी गरी फर्कँदै गरेको सवारी साधनको चालकलाई अब उप्रान्त प्लाष्टिकको ट्याङ्कीमा दूध ढुवानी नगर्न निर्देशन समेत दिइएको छ । विभागले घुम्ती प्रयोगशाला परिचालन गरी स्थलगत रुपमा दूध, तेल, पानी लगायतका खाद्यवस्तुको परीक्षण गरी खाद्य ऐन अनुसार कारबाही गरिरहेको तथा आगामी दिनमा समेत काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अनुगमन कार्यलाई निरन्तरता दिने भएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका चैत ४ गतेदेखि लागू भइसकेकोले सो अनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तिब्रता दिइने भएकोले डेरी उद्योग तथा डेरी पसलहरुले निर्देशिका अनुसारको प्रावधान पूरा गर्न समेत विभागले सूचित गरेको जनाएको छ ।
महिला उद्यमशीलता विकासमा सभापति श्रेष्ठको जोड, ‘सामूहिक रूपमा लाग्नु पर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले मानव अधिकारको उच्चतम ख्याल गर्दै दक्षिण एशिया क्षेत्रमा व्यवसायिक प्रवद्र्धन र विशेषगरी महिला उद्यमशीलता विकासमा सामूहिक रूपमा लाग्नु पर्नेमा जोड दिएकी छिन् । उद्यमशीलताको विकास मार्फत महिलाहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न सकियो भने दक्षिण एशिया क्षेत्रमा महिला हिंसा र मानव अधिकार हननका घटनाहरू समेत कम हुन गई यस क्षेत्रलेनै आर्थिक समृद्धि हासिल गर्ने उनको सुझाव थियो । यूएनडीपी र यूएन वोर्किंङ ग्रुपले भारतको नया“ दिल्लीमा आयोजना गरेको यूएन साउथ एशिया अन विजनेश एण्ड ह्यूमन राइटस विषयक क्षेत्रीय कार्यक्रमको महिला, व्यवसाय र मानव अधिकार विषयक शत्रलाई हालै संवोधन गर्नुहु“दै सभापति श्रेष्ठले सो कुरा बताएकी हुन् । सार्क क्षेत्रमा महिला उद्यमशीलता विकासमा सम्पत्ति माथिको पहु“चमा कमी, पूजी अभाव, चर्को बैकिङ व्याजदर, पर्याप्त शिक्षा, तालीम, ज्ञान, शीप तथा प्रविधिको अभाव, अन्तरिक एवं वाह्य बजार प्रवद्र्धन हुन नसक्नु, विशेष गरी कार्यस्थलमा मानव अधिकारका विषयमा पर्याप्त जानकारी दिन नसक्नु मुख्य चुनौतीको रूपमा रहेकाले यस क्षेत्रका सरकारहरूले विशेष ध्यान दिनु पर्ने उनले सुझाव दिइन् ।
रभुँवाघाटबाट ६३५ मेगावाट विद्युत् उत्पादन हुने, १ खर्ब ५० अर्बको लगानी
खोटाङ । ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको बीचमा पर्ने रभुँवाघाटमा पानी जम्मा गरेर सुरुङमार्फत ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर रभुँवाघाटमै ३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले उक्त क्षमताको जलविद्युत् उत्पादन गर्न विद्युत् प्राधिकरणलाई अनुमति दिएको आयोजना प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । “आयोजना सञ्चालन गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “डिपिआर तयार भएपछि ठेक्का आह्वान गरेर यसै वर्षबाट निर्माणको काम शुरु गरिनेछ ।” रभुँवाघाटमा बाँध गरी ताल निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३.५ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावरहाउस (विद्युत गृह)मा खसालिने जनाइएको छ । करीब रु एक खर्ब ५० अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको ताल २१० देखि २३० मिटर गहिरो हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । रभुँवाघाटमा निर्माण गरिएको तालदेखि सोलुखुम्बूतर्फ दूधकोशी किनारमा दश किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए । अधिकांश भूभाग खोटाङमा पर्ने भएकाले आयोजना सञ्चालन गर्दा सबैभन्दा बढी खोटाङका जनता विस्थापित हुने र सेवासुविधा पनि खोटाङकाले नै पाउने देखिएको छ । बहुउद्देश्यीय योजनासहित सञ्चालन गर्न लागिएको दूधकोशी जलविद्युत आयोजना देशको अन्य आयोजनाभन्दा कम खर्चमा सम्पन्न हुने अनुमान गरिएको छ । सन् २०२४ सम्ममा काम सक्ने गरी शुरु गरिएको आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “दूधकोशी जलविद्युत आयोजनाका लागि ऊर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो देखाउनुभएको छ”, उनले भने, “आर्थिक वर्ष २०७५÷७६ को मध्यसम्ममा बोलपत्र आह्वान र सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि निर्माणको काम शुरु हुन्छ ।” दूधकोशी जलविद्युत आयोजना सञ्चालनका लागि एशियाली विकास बैंक (एडिबी)ले लगानी गर्ने जनाइएको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इञ्जिनीयरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र बोलपत्रका कागजपत्र बनाउन एडिबीले चालू आर्थिक वर्षमा रु ३५ करोड अनुदान दिएको थियो । आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र एडिबीका अधिकारीबीच भएको पटकपटकको बैठकमा एडिबीले लगानी प्रस्ताव गरेको जनाइएको छ । आयोजनाका लागि अहिले वातावरणीय परीक्षण, सडक निर्माण, सरोकारवालाबीच कार्यशाला गोष्ठी, मुआब्जा वितरणका लागि पहललगायतका काम भइरहेको छ । तीन जिल्लाकै सबैभन्दा ठूलो आयोजना दूधकोशी जलविद्युत आयोजनाको हालसम्मको प्रगति तथा निर्माण क्षेत्रमा देखापरेका चुनौतीका बारेमा यही चैत ४ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराइएको छ । प्रतिनिधिसभा सदस्य भट्टराईले आयोजना गर्नुभएको छलफल कार्यक्रममा ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, पूर्वसभासद समीता कार्की, राजनीतिक दलका प्रतिनिधि, आयोजना प्रमुख श्रेष्ठ, दातृ निकायका प्रतिनिधिलगायत सहभागी भएका थिए । छलफल कार्यक्रममा सहभागी सांसद तथा राजनीतिक दलका प्रतिनिधिले आयोजना सफल पार्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । उनीहरुले स्थानीय तहदेखि मन्त्रिपरिषद्को कार्यालय तथा दातृ निकायसम्म पहल गर्ने बताए । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ । सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ । आयोजना सञ्चालनका लागि गत जेठ १६ गते ऊर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूबाट विजयी प्रतिनिधिसभा सदस्य, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक, विद्युत् विभागका महानिर्देशक सम्मिलित बैठकले उक्त आयोजनाको डिपिआर गर्ने टुङ्गो लगाएको थियो । सुरुङ निर्माणका लागि गत जेठ १० गते हिमाल कन्स्ट्रक्सन–वाइबा इन्फ्राटेक जेभीले विस्फोटको काम गरेको थियो । आयोजनास्थलको प्रगतिबारे बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गत जेठ ५ गते दूधकोशीस्थित रभुँवाघाट आएका थिए । जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा दूधकोशी जलविद्युत आयोजना सञ्चालन गर्न सकिने पहिचान गरेको थियो । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गासयर, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ । जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गासयर गराउन सकिने जनाइएको छ । रासस