विकासन्युज

सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५९ प्रतिशत बढी हो । गत बिहीबार नेप्से परिसूचक १२३२ अंकमा पुगेर बजार बन्द भएको थियो । त्यस्तै, आइतबार कुल १७१ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा २६ करोड ९२ लाख रुपैयाँ बढी हो । गत बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ७.२२ र ११.९२ अंकले ओरालो लागेका छन् ।

सिटिजन्स बैंकको वार्षिकोत्सवमा सिइओ पोखरेलसहित ५६६ जनाले गरे रक्तदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गणेशराज पोखरेल सहित कुल ५६६ जनाले रक्तदान गरेका छन् । बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम गरिएको हो । केन्द्रीय कार्यालय नारायणहिटी पथमा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ जनाले रक्तदान गरेका हुन् । उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ गरी कुल ५६६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । सिटिजन्सले २०६४ बैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भई बैंकिंग सेवा पुर्याउँदै छ ।

राष्ट्रिय भर्ना अभियानमा संस्थागत विद्यालयकाे असहयाेग: महँगाे शुल्क, बैशाख नलाग्दै भर्ना बन्द

काठमाडौं । काठमाडौं सबैभन्दा धेरै विद्यार्थी भएको र राम्रो विद्यालयमा गनिने हात्तीवन स्थित लिटिल एन्जल्स स्कुलले २०७६ को भर्ना कार्यक्रम चैत ३० गते बन्द गर्यो । ललितपुर जिल्लाकै रातो बंग्ला स्कुलले पनि आफ्नो भर्ना केही दिन अघि मात्र बन्द गरेको छ । काठमाडौंका ठूला र महँगा मानिने चाँदबाग स्कुल, द एक्सिलेसर स्कुल, रुपिज इन्टरनेशनल स्कुल लगायतले पनि आफ्नो भर्ना कार्यक्रम सकिएको भन्दै नयाँ विद्यार्थी र अभिभावकलाई फर्काउने गरेका छन् । यी त उदाहरण मात्रै हुन् । तुलनात्मक रुपमा राम्रा भनिएका ‘क’ वर्गका अधिकांश विद्यालयहरुको भर्ना कार्यक्रम चैत नलाग्दै सुरु हुन्छ । यसबाहेक काठमाडौंका धेरै विद्यालयहरुले २०७६ को लागि भर्ना बन्द गरिसकेका छन् । तर सरकारले भने आफ्नो भर्ना सत्र सुरु पनि गरेको छैन । सरकारले बैशाख २ गतेदेखि राष्ट्रिय भर्ना अभियान सुरु गरेको हो। सरकारले घोषणा गरेको उक्त मितिदेखि काठमाडौंका सबै स्थानीय तहले भर्ना गरिरहेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका यो अभियानमा सामिल छन्। काठमाडौंले “हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पुर्याउँ” भन्ने नाराको साथ २ गतेदेखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन भईरहेको र विद्यालयबाहिर रहेका बालबालिकालाई पढाइको पहुँचमा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको कामपाको शिक्षा विभागले जनाएको छ । त्यस्तै ललितपुर जिल्लाको शिक्षा विभाग तथा समन्वय ईकाइले पनि ललितपुरमा भर्ना अभियान चलिरहेको बताएको छ। तर संस्थागत विद्यालयहरुले आफ्नो मर्जी गरिरहेका छन् । विद्यालयहरुले भर्ना कहिले खुल्ने र बन्द हुने समयको बारेमा धेरै अभिभावक अलमलमा छन् । सबैले एकै समयमा सँगै भर्ना सत्र सुरु नगर्दा धेरै विद्यार्थीले आफु पढ्न चाहने विद्यालयमा पढ्न पाएका छैनन् । संस्थागत विद्यालयहरु भने समयावधि भन्दा अगाडि भर्ना सुरु गरेर बन्द गर्ने विद्यालयहरुमाथि राज्यप्रतिको उत्तरदायि नभएको र नाफामुखी मात्र भएको आरोप लाग्न थालेको छ । संस्थागत र सामुदायिक विद्यालयहरु एक अर्काका परिपुरक भए पनि र देशको शिक्षाको उनीहरुको पनि उत्तिकै योगदान हुने भएकोले सरकारी अभियानलाई असहयोग गर्ने सरकारी विद्यालयलाई कारबाही हुनुपर्ने माग समेत सरोकारवालाहरुले गरेका छन् । सरकारले कारबाही गर्नसक्छ ? बैशाख नलाग्दै भर्ना बन्द गर्ने विद्यालयलाई सरकारले कारबाही हुने महानगर शिक्षा विभागले जनाएको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौं महानगर क्षेत्रभित्र रहेका विभागको नियमन क्षेत्रभित्र पर्ने विद्यालयहरुले बैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना सञ्चालन गर्नुपर्ने भन्दै तोकिएको समयभन्दा अघि भर्ना बन्द गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले विद्यालयहरुले समय नै नभई भर्ना कार्यक्रम सञ्चालन गर्न र भर्ना बन्द गर्न नपाउने भन्दै त्यस्तो देखिए कारबाही गर्ने बताएकी हुन् । ‘विभागले बैशाख २ देखी बैशाख १४ गतेलाई भर्ना सत्र तोकेको छ। विद्यार्थीहरुको भर्ना सोही समयभित्र गर्नुपर्छ । त्यसभन्दा अघि कुनैपनि क्रियाकलापलाई विभागले मान्यता दिँदैन । त्यस्तो भेटिए कारबाही हुन्छ । त्यस्तो कारबाही २५ हजार रुपैंया जरिवानादेखि विद्यालयको दर्ता खारेजीसम्म हुनसक्छ ।’– प्रमुख केसीले भनिन् । त्यस्तै ललितपुरका शिक्षा विभाग तथा समन्वय प्रमुख गुणराज पोखरेलले पनि यदी विद्यालयहरुले बैशाख अगाडी विद्यालयको भर्ना बन्द गरेको पाईएमा सरकारी नियम अनुसार कारबाही हुने बताएका छन् ।

बैंक अफ काठमाडौँमा खाता खोल्दा ज्योतिलाईफको बीमा सेवा पाइने

काठमाडौँ । बैंक अफ काठमाण्डौले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्ससँग सम्झौता भएको छ । उक्त सेवाअन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च बीमाङ्क वापतको रकम भुक्तानी गरिने छ । सम्झौताबाट बैंक अफ काठमाण्डौका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा निःशुल्क प्राप्त गर्ने छन् ।

समाज कल्याण परिषद्मा ५० हजार संस्था दर्ता, एकैवर्ष थपिए २ हजार

काठमाडौं । समाज कल्याण परिषद्मा २०७५ साल भित्र २ हजार २ सय २७ संस्था दर्ता भएका छन् । परिषद्मा वि.सं. २०३४ साल कार्तिक ११ गते नेपाल रेडक्रस सोसाइटी गैर सरकारी संस्थाका रुपमा पहिलो पटक दर्ता भएको थियो । परिषद्को तथ्याङ्ग अनुसार २०७६ साल बैशाख ६ गतेसम्म ४९ हजार ९ सय ४१ गैरसरकारी संस्था दर्ता भएका छन् । दर्ता भएका ती संस्थामध्ये करीब ३ हजार मात्र सक्रियरुपमा कार्यरत रहेको परिषद्ले जनाएको छ । संघसंस्था दर्ता ऐन २०३४ को अनुसार संस्था दर्ता भएपनि सो संस्था बन्द गर्न पाउने व्यवस्था नरहेकाले दर्ता संख्या धेरै देखिएको जनाइएको छ ।

यूनाईटेड फाइनान्सको सीईओमा मिश्र नियुक्त

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा नर्स मृत फेला

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको जनकपुर स्थित निजी अस्पतालमा कार्यरत एक नर्स मृत अवस्थामा फेला परेकी छिन्। जनकपुर स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको शौचालयमा उही अस्पतालमा कार्यरत नर्स झुण्डिएको अवस्थामा फेला परेको हो। महोत्तरी स्थायी घर भएकी नर्सको नाम रक्षा आले बताईएको छ। आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ। अस्पतालले घटनालाई आत्महत्या गरेको बताए पनि परिवारले घटना रहस्यमय बनेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्।

लुम्बिनी इन्स्योरेन्स आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुईदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो आमन्त्रित गल्फ प्रतियोगिताको उपाधि फिन्टसो लामाले हात पारेका थिए । । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले अर्वाड हस्तान्तरण गरेका थिए । वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर अण्डरराइटिङ, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ मान्यता प्राप्त गर्न सफल भएको छ ।