तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक
काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।
१२७ लाख काम गर्ने जनसंख्या होइन, ९ लाखमात्रै बेरोजगार: सरकार
काठमाडौं । नेपालमा ९ लाख जनसंख्या मात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा रोजगारी नपाएर ५० लाख भन्दा बढी नेपालीहरु विदेशिएको तथ्य बाहिर आउँदा संघीय सरकारको महत्वपूर्ण निकायको रुपमा रहेको श्रम मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार २ करोड ७ लाख व्यक्तिहरु काम गर्ने उमेर समूहका जनसंख्या छन् । जसमध्ये ७९ लाख ९४ हजार श्रमशक्ति र १ करोड २७ लाख ४० हजार श्रमशक्ति भन्दा बाहिरका जनसंख्या रहेको छ । श्रम शक्तिको रुपमा रहेको उक्त जनसंख्या मध्ये ११.४ प्रतिशतले हुने ९ लाख ८ हजार मात्रै बेरोजगार रहेको र बाँकी ७० लाख ८६ हजारले रोजगारी पाएको मन्त्रालयले उल्लेख गरेको हो । देशभर रहेका बेरोजगारहरुलाई रोजगारी दिने भन्दै प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापनागरेको मन्त्रालयले करिब १ वर्षसम्म लगाएर उक्त अध्ययन गरेको जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठनको श्रम तथ्याङ्कसम्बन्धी अवधारणअनुसार गरिएको उक्त सर्भेक्षणले सन्दर्भ अवधिमा कम्तीमा १ घण्टा तलब÷ज्याला पाउने काम गरेको वा नाफा/नोक्सान व्यहोर्नेगरी व्यवसायमा संलग्न भएको व्यक्तिलाई समेटेको छ ।
अर्थतन्त्रमा कुन प्रदेशको योगदान कति ? अगाडि ३ नम्बर, पुछारमा कर्णाली
काठमाडौं । मुलुकको अर्थतन्त्रमा सबै भन्दा धेरै करिब एक तिहाई योगदान प्रदेश नम्बर ३ ले गर्दै आएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा ३४ खर्ब ६४ अर्बको अर्थतन्त्रमा प्रदेश ३ को योगदान १४ खर्ब ३२ अर्ब रुपैंयाँ रहेको छ । यद्यपी सबै भन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । जीडीपीमा कर्णाली प्रदेशको हिस्सा जम्मा १ खर्ब १९ अर्ब रुपैंयाँ मात्रै छ । अध्ययन अनुसार अर्थतन्त्रमा १ नम्बर प्रदेशको हिस्सा ५ खर्ब ५ अर्बको रहेको छ । २ नम्बर प्रदेशको हिस्सा भने ४ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको रहेको छ । गण्डकी प्रदेशको हिस्सा २ खर्ब ८८ अर्ब रुपैंयाँको छ भने पाँच नम्बर प्रदेशको हिस्सा ४ खर्ब ५२ अर्ब रुपैंयाँको हिस्सा रहेको छ । अर्थतन्त्रमा सुदुरपश्चिम प्रदेशको हिस्सा भने २ खर्ब २० अर्ब रुपैंयाँको रहेको छ ।
नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ: राष्ट्रपति भण्डारी
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन् । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन् । उनले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्ट गरिन् । “अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउने होे”, उनले भनिन् । नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालकोे विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा उनले व्यक्त गरिन । उनले बिएण्डआर सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण ढाँचा भएको र आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म भएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति तथा समृद्ध सभ्यतायुक्त एशियाले समृद्ध विश्वको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले चिनियाँ राष्ट्रपति सी चीन फिङको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै भनिन्, “यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकाकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवद्र्धन गर्छ । विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।” उनले बिआरआइ विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि एक संयन्त्र भएको र बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्ने भएकाले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि यस संयन्त्रबाट सिर्जना हुने कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण भएको बताइन् । उनले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्च सक्षम हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले आफूले बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको बताउँदै कार्यक्रममा सहभागिता तथा तथा न्यानो आतिथ्यका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद ज्ञापनका साथ जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाई व्यक्त गरिन् । बैठकमा कम्बोडिया, सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड, ग्रीस, इथियोपिया र म्यान्माका नेताहरुले पनि बोलेका थिए । रासस
चितवनको हाकिम चोकमा मुक्तिनाथको नयाँ शाखा, ११४ वटा पुगे
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा शुक्रबारबाट चितवनको, हाकिमचोक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् । शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, र समाजसेवीहरुको उपस्थिति रहेको थियो । चितवन हाकिम चोकको सहति मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा सञ्चालन गरेको जनाएको छ ।
कञ्चनपुरको कलुवापुरमा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख ११, १२ र १३ गते कञ्चनपुरको कलुवापुरमा सीपमूलक तालिम संचालन गरेको छ । संस्थाले शाखा कार्यालय कलुवापुर कञ्चनपुरमा आबद्ध सदस्यहरु मध्ये ४८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुनेसर्फ, स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख उमाकान्त अवस्थीले यस्ता सीपमूलक तालिमहरुबाट विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ,स्याम्पु तथा श्रृङगार सामाग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ४५८ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
नेपालीको आम्दानी ३३ सयले बढ्यो, आर्थिक वृद्धिदर ६.८१ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षमा ६.८१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले ८ महिनाको आर्थिक अवस्थालाई समेटेर तयार पारेको प्रतिवेदनले यो बर्ष अर्थतन्त्रको वृद्धिदर ६.८१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको हो । सो आर्थिक वृद्धिदरसँगै नेपाली अर्थतन्त्र(जीडीपी)को आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैंयाँको हुनेछ । विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखा प्रतिवेदनका अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय ३० डलर अर्थात ३ हजार ३ सय ६३ रुपैंयाँले बढेर १०३४ डलर पुग्नेछ । हाल नेपालीको प्रतिव्यक्ति आम्दानी १००४ डलर रहेको छ । अब नेपालीहरुको बार्षिक औषत आम्दानी १ लाख १५ हजार ९ सय २१ रुपैंयाँ हुनेछ । जुन हालसम्म १ लाख १२ हजार ५ सय ५८ रुपैंयाँ मात्रै रहेको छ । नेपालको जीडीपी ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख पुगेको प्रतिवेदनमा उल्लेख छ । विभागले पहिलो पटक सातै प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालको अर्थतन्त्रमा प्रदेश ३ को योगदान ४० प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।
कालीमाटी तरकारी बजारमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभ् बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले शुक्रबार एक समारोहका बीच कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफुल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा एक्स्टेन्सन काउण्टर खोली सञ्चालनमा ल्याएको हो । कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको जनाएको छ । बैंकले अन्नवाली, तरकारी बाली, चिया/कफी, फलफूल तथा पुष्प खेती, पशुपालन/पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ । बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।