विकासन्युज

२७ अर्ब ८८ करोडको ऋणपत्र बिक्री, सात अर्बको आउँदै

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि बैंकहरुले ऋणपत्र मार्फत ठूलो रकम परिचालन गरेका छन् । हालसम्म विभिन्न वाणिज्य बैंकहरुले कूल २७ अर्ब ८८ करोड रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गरिसकेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये कुल १५ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष (आव) र चालू आवको तेस्रो त्रैमासिक अवधिसम्म सो मात्राको ऋणपत्र जारी गरेका हुन् । सो मध्ये गत आवमा १४ वटा बैंकले कूल १२ अर्ब ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका थिए । त्यस्तै, चालू आवको चैत मसान्तसम्म अर्थात ९ महिनासम्म १५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भई बिक्री भईसकेका छन् । ९ महिनामा मात्रै कूल ६ वटा बैंकले गत आवको भन्दा बढी ऋणपत्र निष्काशन गरेका छन् । कूल निष्काशित ऋणपत्र मध्ये एनआईसी एशिया बैंकले सबैभन्दा बढी निष्काशन गरेको छ । बैंकले गत आव र चालू आवको हालसम्म गरी कूल ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको छ ।   कसको व्याजदर कति ? एनआईसी एशिया बैंकः एनआईसी एशिया बैंकले चालू आवमा मात्रै दुई पटक ऋणपत्र जारी गरिसकेको छ । गत साउनदेखि हालसम्म कम्पनीले कूल ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिसकेको छ । बैंकले पहिलो पटक भदौ २१ गतेदेखि कुल एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सो मध्ये सर्वसाधारणलाई ३६ करोड ६० लाख र प्राइभेट प्लेसमेन्टलाई एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । ७ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक व्याजदर ११ प्रतिशत तोकिएको थियो । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको थियो । त्यस्तै, दोश्रो पटक एनआईसी एशिया बैंकले गत माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरको ४० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंकले चार अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत एनआईसी एशिया बैंक ऋणपत्र २०८५/८६’ ऋणपत्र जारी गरिसकेको छ । सो मध्ये १६ लाख कित्ता पब्लिकलाई र बाँकी २४ लाख कित्ता प्राईभेट प्लेसमेन्टलाई बिक्री गरेको थियो । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने व्यवस्था गरेको थियो । माघ १३ गतेदेखि ढिलोमा फागुन १३ गतेसम्म बिक्री खुला रहेको यस ऋणपत्रमा जम्मा दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको बिक्री भएको थियो । सानिमा बैंकः सानिमा बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत सानिमा डेबेन्चर २०८५’ ऋणपत्र बिक्री गरिसकेको छ । सो मध्ये सर्वसाधारणलाई ४० करोड र प्राइभेट प्लेसमेन्टलाई एक अर्ब ६० करोड रुपैयाँ गरी सो मात्राको ऋणपत्र बिक्री गरेको थियो । १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याजदर भुक्तानी गरिने बैंकले जनाएको छ । सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘१०.५ प्रतिशत एसबीएल डिबेन्चर २०८२’ ऋणपत्र जारी गरेको थियो । बैंकले साढे १० प्रतिशत व्याजदरमा पुस २३ गतेसम्म सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो । सो मध्ये सर्वसाधारणलाई ४ लाख ५० हजार कित्ता र प्राइभेट प्लेसमेन्टलाई १८ लाख कित्ता छुट्याइएको थियो । ग्लोबल आईएमई बैंकः ग्लोबल आईएमई बैंकले फागुन १५ गतेदेखि ‘१० प्रतिशत ग्लोबल आईएमई बैंक ऋणपत्र २०८०/८१’ निष्काशन गरेको थियो । बैंकले अंकित मूल्य १००० रुपैयाँको दरले एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सो मध्ये सर्वसाधारणहरुमा ६ लाख र बाँकी रहेको ९ लाख इकाई प्राइभेट प्लेसमेन्टबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो । पाँच वर्षे अवधि रहेको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले चैत १४ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सो मात्राको डिबेन्चर बिक्री गरेको थियो । एनएमबि बैंकः एनएमबि बैंकले एक हजार रुपैयाँ अंकित दरमा कुल तीन अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ऋणपत्र २०८५’ ऋणपत्र जारी गरेको थियो । बैंकले वार्षिक १० प्रतिशत व्याजमा सो मात्रा अर्थात ३० लाख कित्ता सेयर ऋणपत्र बिक्री गरेको हो । सो मध्ये ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो भने बाँकी ६० प्रतिशत अर्थात १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने कम्पनीले जनाएको थियो । फागुन ३० गतेदेखि जारी गरिएको उक्त ऋणपत्र बिक्रीमा ढिलाई भएको थियो । कम्पनीले मागेजति आवेदन नपरेकाले उक्त ऋणपत्रको बिक्री ढिलो अर्थात चैत २५ गतेसम्म खुला थियो । सनराइज बैंकः सनराइज बैंकले गत चैत २० गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । सो मध्ये बैंकले ४० प्रतिशत अर्थात ४ लाख इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात ६० लाख इकाई प्राइभेट प्लेसमेन्टबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो ।   ५ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने व्यवस्था थियो । छिटोमा चैत २५ गते बन्द हुनुपर्ने उक्त ऋणपत्रमा माग अनुसार आवेदन नपरेकाले बैंकले समय थप गरेको थियो ।  वार्षिक १० प्रतिशत ब्याजदर पाइने ५ वर्षे अवधिको उक्त ऋणपत्र छिटोमा चैत २५ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारका आवेदन नपरेपछि कम्पनीले वैशाख २९ गतेसम्म ऋणपत्र बिक्री गरेको थियो । चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नैतिक दवावको रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न दीर्घकालीन ऋणपत्र जारी गर्ने व्यवस्था लागू गरेको हो । उक्त व्यवस्था लागू गर्नु अघि नै अर्थात गत आव र चालु आवको पुस मसान्तसम्ममा झण्डै १३ वटा बैंकले ऋणपत्र जारी गरिसकेका थिए । तर व्यवस्था लागू भएपश्चात जम्मा दुई वटा बैंक(एनएमबि र सनराइज)ले जारी गरेका छन् । त्यस्तै, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट र नेपाल बङ्गलादेश गरी तीन वटा बैंक ऋणपत्र जारी गर्ने प्रकृयामा रहेका छन् । यसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा एक अर्ब २५ करोडको निष्काशन गरिसकेको थियो भने बैंकले पूनः दुई अर्ब रुपैयाँ बराबरको जारी गर्न प्रकृया अघि बढाएको छ । कूल २८ वाणिज्य बैंक मध्ये ११ वटा वाणिज्य बैंकहरुले भने हालसम्म ऋणपत्र जारी गर्ने सुरसार नै गरेका छैनन् । नेपाल, राष्ट्रिय वाणिज्य, स्ट्याण्र्डड चार्टर्ड, एनसीसी, कुमारी, प्राइम, प्रभु, जनता, मेगा, सिभिल र सेञ्चुरी बैंकले हालसम्म ऋणपत्र जारी गर्ने प्रकृया शुरु गरेका छैनन् । जसले केन्द्रीय बैंकको नीतिलाई वेवास्था पो गरेका हुन् की ? साथै, बजारमा ऋणपत्रको उपयुक्त स्तर(लेभल) कति हो र त्यसको बजारमा सकारात्मक र नकारात्मक दुबै पक्षको विश्लेषण गरेर नैतिक दवावको रुपमा नभई बाध्यकारी रुपमा लागू गर्ने आवश्यकता देखिन्छ । यसका साथै, हालसम्म निष्काशित सबै ऋणपत्रहरु पनि समयमा बिक्री नभएको अवस्था देखिन्छ । जसले सर्वसाधारणमा ऋणपत्र र यसको फाइदा बुझाउन नसकेकाले यस्तो अवस्था सिर्जना भएको हो की भन्ने बुझिन्छ । के हो त ऋणपत्र ? ऋणपत्र एक प्रकारको ऋण साधन हो जुन सरकार र कम्पनीहरुले ऋण जारी गर्नको लागि प्रयोग गरीन्छ । कम्पनीहरुले आफ्नो प्रतिष्ठाको आधारमा पुँजी उठाउनको लागि सर्वसाधारण र प्राइभेट प्लेसमेन्टमा एक निश्चित व्याजदरमा जारी गरेका हुन्छन् । ऋणपत्र जारी गर्दा कम्पनीहरुले ५ प्रतिशतभन्दा बढी ब्याज तोकेका हुन्छन् । जसको समयावधि ५ वर्षभन्दा बढी रहेको हुन्छ भने प्रत्येक वर्ष तोकिएको रकम भुक्तानी गर्दछ । ऋणपत्रहरु पनि विभिन्न किसिमका हुन्छन् । जस्तै, सुरक्षित र असुरक्षित, परिवर्तनीय र गैरपरिवर्तनीय, पहिलो र दोस्रो लगायतका आदि । किन जारी गरिन्छ ऋणपत्र ? लगानीका लागि दीर्घकालीन स्रोत संकलनका दृष्टिले ऋणपत्र जारी गर्ने गरिन्छ । साथै, कम्पनीहरुले बिना विस्तार र विकास उद्देश्यका साथ सेयर पुँजी बढाउन चाहे उक्त प्रमाणपत्र जारी गरिन्छ । जुन निश्चित समयका लागि रुचाइएको दरमा साधारण जनताबाट ऋण लिन सकिन्छ । कम्पनीलाई के फाइदा हुन्छ ? सीसीडी रेसियो गणना हुँदैन । कम्पनीले ऋणपत्रमा आफ्नो नाफा समावेश गरेको हुन्न । ब्याज भुक्तान गर्ने मिति र दर निश्चित हुन्छ । त्यस्तै, हाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार संस्थागत निक्षेप जहिले पनि ४५ प्रतिशत र व्यक्तिगत निक्षेप ५५ प्रतिशत हुनु पर्छ । यदि कुनै व्यक्ति व्यक्तिको खाताले बल्ल ५५ प्रतिशत दियो भने मात्र संस्थाहरुबाट ४५ प्रतिशत उठाउन सकिन्छ । तर ऋणपत्र जारी गर्यो भने संस्थाहरुले ऋणपत्र किन्छन् जसले ४५ र ५५ प्रतिशतको अन्तर हटाउँछ ।

हावाहुरी पीडितलाई गण्डकी बिकास बैंकको २ लाख सहयोग

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मंगलबार बारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी र असिनापानीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग दुई लाख नौ हजार नौ सय त्रियासी रुपियाँ सहयोग गरेको छ । बैंकले जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुने गरी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई उपलब्ध गराएको छ । उक्त रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले हस्तान्तरण गरेका हुन् । बैंकले सो घटनामा पीडितको सहयोगको लागि “बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामक खाता सञ्चाल नगरी उक्त रकम संकलन गरेको थियो । उक्त खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख र अन्य कर्मचारी तथा ग्राहक महानुभावहरुबाट १ लाख ९ हजार ९८३ रुपैयाँ संकलन गरेको हो । हस्तान्तरण समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व शीर्षक अन्तरगत विपतमा परेका बारा तथा पर्साका पीडितका लागि संकलन गरी विपद व्यवस्थापन समितिमा जम्मा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रमुख अधिकारीले चेक हस्तान्तरण गर्दै उक्त सहयोगले पिडितलाई केही भएपनि राहत पुग्ने बैंकले अपेक्षा राखेको बताउँदै यस्ता प्रकारका सहयोगलाई आगामी दिनहरुमा समेत निरन्तरता दिंदै जाने बताए ।

गण्डकी विकास बैंकद्वारा विपन्न बालबलिकालाई सहयोग हस्तान्तरण

काठमाडौँ । गण्डकी विकास बैंक लि. बैशाख १५ गते चितवनको भरतपुर २६ ज्योतिनगर स्थीत विअपी बाल शिक्षा केन्द्रमा अध्ययनरत विअपि अर्थात विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी १०० थान कपी तथा १०० थान लुगा धुने साबुन सहयोग गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना विअपि बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिँदै उक्त सहयोगको लागी चनौली शाखा तथा बैंक परिवारलाई धन्यवाद दिए । सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखा प्रमुख ज्ञानेन्द्रप्रसाद मैनालीले हस्तान्तरण गरे । बैंकका तर्फबाट सव क्लष्टर प्रमुख शर्माले सो सहयोग हस्तान्तरण गर्दै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए ।

कंगारु एजुकेशनको वार्षिकोत्सवका अवसरमा २० जनाले गरे रक्तदान

काठमाडौँ । अष्ट्रेलिया, न्युजिल्याण्ड, युरोप, अमेरिका, क्यानडा लगायतका देशमा वैदशिक शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई उचित परामर्श दिदैँ आएको कंगारु एजुकेशन फाउण्डेशन १२ औँ वर्षमा प्रवेश गरेको छ । १२ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाण्डौको प्राङगणमा रक्तदान कार्यक्रम गरेको बताइएको छ । संस्थाका कर्मचारी विद्यार्थीहरु र शुभेच्छुकहरु सहित गरी २० जनाले रक्तदान गरेको कंगारु एजुकेशन फाउण्डेशन संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए । वार्षिकोत्सव कै अवसरमा संस्थाले काठमाण्डौँ गहनापोखरी नक्साल स्थित हार्ट बिट संस्थाका ३० जना विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको बताइएको छ । कंगारुको “भविष्य उज्जवल छ” अभियान अन्तर्गत यो शैक्षिक सामाग्री वितरण गरिएको र भविष्यमा पनि यस किसिमका सामाजिक कार्यहरु नियमित गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेश बाबु तिमल्सिनाले बताए ।

ग्लोबल आइएमईका शाखारहित बैंकिङ सेवा १३१ वटा पुगे, ५ वटा थपिए

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अर्घाखाँचीजिल्लाको भुमिका स्थाननगरपालिका -१०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपागाउँपालिका- ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशीगाउँपालिका– ३, जमुवामा १२९औँ, लमजुङ्ग जिल्लाको राईनास नगरपालिका-५, सातबिसेमा १३०औँ र सोही जिल्लाकै राईनास नगरपालिका-६, धमिलिकुवामा १३१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उपस्थितिमा उद्घाटन भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण

काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे ।  राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ । चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो। चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्नेछन् ।

डिवि गुरुङ्को नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक

काठमाडौं । डि.वि गुरु गुरुङको नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन सर्पितको लयमा रहेको गीतमा डि.वि गुरुङको शब्द, स्वर तथा संगीत रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र सिंह दर्नाल र स्मृति गुरुङलाई देख्न सकिन्छ । विनोद सेरि विनोद सेरेङ्गको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो सुवास लिम्बुले खिचेका थिए । २०७६ साललाई मध्यनजर गरि गुरुङले पूर्वी क्षेत्रमा प्रचलित लाृेक गीत बजारमा सार्वजनिक गरेका हुन् ।