विकासन्युज

रेल, पानी जहाज र स्याटेलाइटको सपना पुरा हुँदै

काठमाडौं । सरकारले पानी जहाज, रेल र स्याटेलाइटको सपना पुरा हुन लागेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा रेल, पानी जहाज र आफ्नै स्याटेलाइटको सपना पुरा हुन लागेको बताईएको हो । सरकारले समुन्द्र तथा जलमार्गमा नेपालको झण्डासहितको पानी जहाज चलाउने अवस्था सृजना भएको बताएको हो । त्यस्तै, नेपालभित्रै रेल चढ्न सकिने अवस्था पनि निर्माण गरिएको सरकारले दावी गरेको छ । सरकारले चीन–नेपाल–भारत जोड्ने विद्युतिय रेलमार्गको प्राविधिक अध्ययन सम्पन्न भएको बताएको हो । त्यस्तै, भारतको कालुघाट र साहेबगञ्जको जलमार्ग हुँदै नेपालले आफ्नै पानी जहाज चलाउनका लागि प्राविधिक अध्ययन सम्पन्न भएको पनि सरकारले बताएको छ । कालुघाट र साहेबगञ्जसम्म कोशी र गण्डकी नदिबाट पानी जहाज सञ्चालन गर्ने वातावरण तयार गरिरहेको राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालले अमेरिकाबाट आफ्नै स्याटेलाइट भने अन्तरिक्षमा पठाईसकेको छ ।

शुरु भयो संघीय संसदको संयुक्त बैठक, राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौँ । संघीय संसदसको संयुक्त बैठकमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेकी छिन् । दिउँसो ४ बजे शुरु भएको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति कार्यक्रम पेश गर्दैछिन् । नीति कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले सरकारले गर्दै आएको कामको प्रशंसा गर्दै नतिजा ल्याउने सरकार क्रियाशील रहेको बताइन् । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ । नीति तथा कार्यक्रम पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ । छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया शुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो । यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ । बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ ।

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा विशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग बैशाख १५ गते संझौता गरिएको हो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने छन् ।

गणपति माइक्रोफाइनान्सको आईपीओ बाँडफाँड, दुई लाख बढीको हात खाली

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । संस्थाले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपिओमा ३१ हजार ३०८ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । सदर भएका सेयर मध्ये २ लाख ९१ हजार ३०१ जनाको हात खाली भएको छ । उक्त आईपीओमा कूल ३ लाख २३ हजार ३०९ जनाले ६५ लाख ७१ हजार ९० कित्ताको लागि माग गरेका थिए । जसमध्ये ३ लाख २२ हजार ६०९ जनाको सेयर सदर भएको छ । बाँकी ७०० जनाले भरेको १५ हजार ९८० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई कूल ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई, १६ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

सन नेपाल र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु केसी र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अन्र्तगत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने जनाइएको छ ।

श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंक लिमिटेडले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

माछापुछ्रे बैंकले झापा र मोरङमा शुरु गर्यो १४ शाखा रहित बैंकिङ सेवा

काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । यी सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

इप्पान प्रतिनिधि मण्डलले गर्यो बंगलादेश भ्रमण, ‘जलविद्युतमा लगानी गर्न तयार’

काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को १४ सदस्यीय प्रतिनिधि मण्डलले बैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको छ । प्रतिनिधि मण्डलको नेतृत्व इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले गरेका थिए । भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलले बंगलादेशको उर्जा राज्य मन्त्री, बंगालादेश पावर डेभलेपमेन्ट बोर्डका अध्यक्ष, बंगलादेश उर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी (इड्कोल), निजी उर्जा उत्पादक कम्पनीहरु, तथा पूर्वाधार क्षेत्रमा परामर्श दिइरहेका विभिन्न कम्पनीहरुसंग भेट गरी बंगलादेशको हालको विद्युत उत्पादनको अवस्था, माग प्रक्षेपण, प्रसारण लाइनको अवस्था, लगानीका अवसर र चुनौतीहरुबारे विचार गरेको जनाएको छ । भ्रमणमा क्रममा भारतले छिमेकी राष्ट्रहरुबीच विद्युत आदान–प्रदानको लागि अङ्गिकार गरेको उदार नीतिहरुले गर्दा नेपाल र बंगलादेशबीच विद्युत ब्यापार बिस्तार गर्ने वातावरण बनेको अध्यक्ष गुरागाईँले बताए । छलफलका क्रममा नेपालमा जलविद्युतमा लगानी गर्न लगानीकर्ताहरुले चासो देखाएको अध्यक्ष गुरागाईँले बताए । नेपाली प्रतिनिधिमण्डलको बंगलादेशको भ्रमण सफल पार्न सहयोग गर्ने बंगलादेशका उर्जा राज्य मन्त्री, ढाका स्थित नेपाली दूतावास, काठमाडौं स्थित बंगलादेशका राजदूत, बंगलादेशका सरकारी तथा निजी संघ संस्था तथा अन्य सबैलाई इप्पान हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।