विकासन्युज

विश्व रेडक्रस दिवस मनाइयो, ‘मानवीय सेवा अभियान १९० देशमा’

काठमाडौं । आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९१ औं जन्म दिवस । यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मई ८ नेपालमा पनि मानविय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न ‘माया’ भन्ने नाराका साथ देशभरि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ । यस अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल अफिस प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका समन्वय प्रमुख प्रमेश पौडेलले संयुक्त रुपमा रेडक्रस झण्डाको झण्डोत्तोलन गरी कार्यक्रम सुभारम्भ गरेका हुन् । “नेपालका दुर दराजका दुर्गम गाउँदेखि आधुनिक समुदायसम्म नेपाल रेडक्रसका स्वयं सेवकहरुले सेवा दिँदै आएका छन्” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने–‘हामी स्थानीय आवश्यकताका आधारमा सेवा दिन्छौं र स्थानीय परिवेशका आधारमा दिइने सेवाका कारण पनि रेडक्रस विश्वमा परिचित छ ।’ नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करिव २५ लाख मानिस समक्ष पुगिरहेको जानकारी दिए । कार्यक्रममा रेडक्रसका सात आधारभूत सिद्धान्तहरुको पाठ आइसीआरसीका समन्वय प्रमुख प्रमेश पौडेलले गरे । साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट जापान रेडक्रस सोसाइटीका प्रतिनिधि काजियोले सुभेच्छा प्रकट गरे । रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख जुजा किमले नेपालमा रेडक्रसको काम राम्रोसँग अघि वढाउन सधैँ सहयोग गर्ने बताए । रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पुर्याइरहेको छ । १९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् ।

यूनाइटेड फाइनान्सबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

४ सय ३३ स्थानीय तहमा १० हजार कर्मचारी अभाव, ३२० तहले विवरण बुझाएनन्

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए । अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उनले दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरिएको जानकारी गराए । उनका अनुसार ती स्थानीय तहले करीब १० हजार कर्मचारीको रिक्त दरबन्दी विवरण पठाएका छन् । मन्त्रालयले रिक्त दरबन्दीको पदपूर्तिका लागि स्थानीय तहबाट विवरण माग गरेको हो । स्थानीय तहले पठाएको विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको उनले जानकारी दिए । स्थानीय तहबाट सङ्कलन गरिएको विवरणलाई मन्त्रालयले विज्ञापन गर्न लोकसेवा आयोगलाई पठाउने सहसचिव बरालले बताए । स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन गरे पनि अझै १६ हजार ११८ कर्मचारी अपुग छन् । जनताको प्रत्यक्ष सेवा जोडिएको स्थानीय तहमा कर्मचारी अभाव हुन नदिन सरकारले यसै आर्थिक वर्षभित्र स्थानीय तहमा रिक्त रहेको पदपूर्ति गर्न दरबन्दी माग गरेको हो । मन्त्रालयले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५४०, साविक जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६५० कर्मचारी समायोजन गरिएको थियो । मन्त्रालयले सङ्घमा ४८ हजार ४०९ को दरबन्दीमा ४० हजार ७६९ र प्रदेशमा २२ हजार २९७ मध्ये १४ हजार ६५९ समायोजन गरेको थियो । सङ्घमा सात हजार ६४० र प्रदेशमा सात हजार ६३८ कर्मचारी अझै अपुग छन् । रासस

गोर्खा इको प्यानलमा आगलागी, उत्पादन शुरु हुन दुई हप्ता लाग्ने

भक्तपुर । गोर्खा इको प्यानलले अबको दुई हप्ताभित्र कारखानाबाट सामान (इको प्यानल) को उत्पादन सुरु हुने जनाएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको छ । आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मत सुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । ‘हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं, ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ’, उनले भने । हाललाई आफूहरुसँंग स्टक सामानहरु रहेको पनि स्पष्ट पारे । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको कम्पनीले जनाएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तरपनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दाबी छ । कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे । रातको समयमा मेशिन नचली विद्युत खपत नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ । साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी रहेको छ ।

आइएमई जनरल र बिदुर नगरपालिकाबीच सम्झौता, पशुपन्छी तथा कृषि बीमा गरिने

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बिदुर नगारपालिका, नुवाकोटबीच बिदुर नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक मुनिन्द्रकुमार ठाकुर र बिदुर नगरापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बिदुर नगरापालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरुको दुर्घटना बीमा गराई नुवाकोट जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको जनाएको छ । सोही अवसरमा नगरपालिकाका मेयर सञ्जु पण्डितले आफूले नगरावासीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरेको बताए ।

प्रोग्रेशिभ फाइनान्सको सिइओमा विशाल हुमागाईँ पुनः नियुक्त

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा विशाल हुमागाईँ पुनः नियुक्त भएका छन् । बैशाख २२ गते बसेको संचालक समितिको बैठकले सिइओ हुमागाईँलाई थप ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । जेठ ७ गतेदेखि हुमागाईँले दोस्रो कार्यकालको सिइओ पद सम्हाल्ने छन् ।

नेशनल माइक्रो फाइनान्सको समीक्षा, ‘५० शाखाबाट ३५ जिल्लामा सेवा’

काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले चालु आव २०७५/०७६ को समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । साथै अगामी आव २०७६/०७७ को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठी पोखरामा सम्पन्न गरेको छ । संस्था संचालक समितिका अध्यक्ष केशवप्रसाद अर्चायले कार्यक्रमको उद्घाटन गरे । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हालसम्मको प्रगती र आगामी बर्षको रणनीतिका बारेमा जानकारी गराए । कार्यक्रममा संस्थाको सातै प्रदेशको सबै शाखाको प्रमुखहरुका साथै केन्द्रीय कार्यालयको सबै विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पण्डितले गरेका थिए । कार्यक्रम प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको सभापतित्वमा समापन भएको थियो । चालु आवको २०७५ चैत मसान्त सम्ममा ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच सातै प्रदेशका ३७ वटा जिल्लाका ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको जनाएको छ । संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत रु. १ अर्ब १२ करोड भन्दा वढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।

अर्थमन्त्री र बाबुराम भट्टराईको ‘पपुलारिजम’ जुहारी, सुरेन्द्र पाण्डेको प्रश्नः आकाश र पाताल कस्को ?

काठमाडौं । ‘अर्थमन्त्रीले अनपपुलर हुने आँट गर्नुस, नीति तथा कार्यक्रममा राजनीति हावी भयो, एक बर्ष सरकारको आलोचना भयो भनेर नीति तथा कार्यक्रम पपुलिष्ट खालको आयो’, यो भनाई हो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको । डा. भट्टराईले बजेटमा सुझाव दिन गठित उप समितिको प्रतिवेदन माथी सुझाव दिँदै बजेटमा राजनीति र अर्थतन्त्रलाई मिलाउन कठिन हुने, तर अर्थमन्त्रीले त्यस्तो साहस गर्नु पर्ने बताए । ‘राजनीतिक रुपमा ठिक देखिएका कार्यक्रम आर्थिक रुपमा बेठिक हुन सक्छन्, अर्थमन्त्रीले त्यस्तो कुरा मिलाउन साहस गर्नुपर्छ’, डा. भट्टराईले भने । उनले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गरेर संसोधन गर्नु पर्नेमा पनि जोड दिए । जवाफमा अर्थमन्त्री डा. युवराजखतिवडाले भने ‘बजेट भनेको पोलिटिकल पपुलरिजम र इकानोमिक रियालिजमको सन्तुलन हो, बजेट भनेको राजनीतिक अर्थशास्त्र त हो, त्यो भन्दा बढी अर्थ राजनीति हो ।’ डा. खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक श्रोतले भ्याउने हदसम्म पपुलिष्ट हुने बताए । उनले भने-‘राजनीतिक एजेण्डालाई अर्थतन्त्रले भ्याउने हदसम्म पपुलिष्ट हुने हो ।’ बैठकमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आकाश र पाताल कस्को भनि प्रश्न गरे । ‘आकाश कस्को, जमिन मुनी कति तलसम्म व्यक्तिको हक लाग्ने हो ? सुरुङ बनाउन दिन्न भन्न व्यक्तिले पाउने की नाई ?’, पाण्डेले प्रश्न गरे । उनले सिंगापुरमा जमिनको ४० मिटर तलको भागमा व्यक्तिको हक नलाग्ने कानुन रहेको जानकारी समेत गराएकाथिए । अर्थमन्त्री डा. खतिवडाले संबिधानले आकाश र पातालको बिषयमा नबोलेको बताए । ‘संबिधान मै आकाशको स्वामित्वका बिषयमा मैले लेख्नुपर्छ भनेको थिएँ, अब चाँही हामीले त्यता पनि सोच्नुपर्छ, जमिन मुनीको स्वामित्वबारे पनि स्पष्ट हुनुपर्छ’, डा. खतिवडाले भने ।