तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण, कुन ठाउँमा कति ?
दमौली । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् । “विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो”, उनले भने । सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापन र खोज उद्धारकार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने उल्लेख गरेको थियो । सोही निर्णयबमोजिम जिल्लास्थित भिमाद नगरपालिकामा सात, आँबुखैरेनी गाउँपालिकामा ६, व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भानु नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४ र बन्दीपुर गाउँपालिकामा ६ ठाउँमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिए । उनका अनुसार भिमाद नगरपालिका–२ को थुम्सिङ, करङश्वारा, खोराकी, ८ को कोखे, ४ को पार्वती मावि, १ को काउले र ५ को घारुङभञ्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि, २ को ढकालटार, ३ को रामशाह मावि, ४ को पावरहाउस मावि, ५ को भुजुवा सतिडाँडा र ६ को हिलेखर्कमा हेलिप्याड निर्माण गरिएको छ । त्यस्तै, व्यास नगरपालिका–१४ को केशवटार उमावि, ७ को बोटेटार, १२ को कर्लुङ, ११ को धानगोदाम, ८ को वडा भवन र पुलिमराङ, ६ को शिशाघाट, ३ को जिल्ला प्रशासन कार्यालय अगाडि, ५ को कृष्णदल गण चापाघाट व्यारेक र १ को निर्मल मावि प्राङ्गणमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को गैछीश्वारा र अन्तरराष्ट्रिय युवा वर्ष प्रावि, १२ को जनप्रेमी उच्च मावि, ११ को आधारभूत मावि, ४ को नगरपालिका प्राङ्गण, श्री नं ३ बाहिनी अड्डा, ५ को झरौटा र २ को एक्लेखेतमा हेलिप्याड निर्माण गरिएको छ । भानु नगरपालिका–२ को मनकामना गण, १ को भन्सार खेलमैदान, ९ को काउरेटार र कालिका बहुमुखी क्याम्पस, ८ को मनोहर मावि प्राङ्गण, ७ को वसन्तपुर, १३ को ठूलोढुङ्गा खेलमैदान, ११ को मायाकु राष्ट्रिय मावि, १२ को अर्चले खेल मैदान र १ को हात्तीचौर व्यारेकमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी, देवघाट गाउँपालिका–४ को पार्वती मावि, ३ को वडा कार्यालय नजिक, ५ को केरीफाँट र पिपलटार, २ को कोटवैदी र डिही, रिसिङ गाउँपालिका–१ को शुक्ला मावि र शहीद गङ्गा मावि प्राङ्गण, ७ को पोखरीभञ्ज्याङ, ४, ८ को बडगाउँ र ५ को सुशेभञ्ज्याङ, घिरिङ गाउँपालिका–१ को अत्रौली, ५ को वडा भवन, ४ को गड्यौलीमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिएका हुन् । त्यस्तैगरी, म्याग्दे गाउँपालिका–४ को गणेश मावि, ७ को तिलाटार, २ को पिपलडिही र ३ को सुरौदीखोला तट र बन्दीपुर गाउँपालिका–४ को टुँडीखेलमा हेलिप्याड निर्माण गरिएको उनले बताएका छन् । रासस
मेरो माइक्रोफाइनान्सले गठन गर्यो ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति
काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो । मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा राजा अर्याल, बद्रीप्रसाद पुडासैनी र सदस्य सचिवमा कम्पनीका सिईओ रामहरी दाहाल रहेका छन् ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकको सिइओमा प्रदीपकुमार श्रेष्ठ नियुक्त
काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा सम्पनी सचिवमा प्रदीपकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गरेको बैंकका प्रबन्धक सुदर्शन थैवले बताए ।
९२१ उजुरी विस्तृत अनुसन्धानमा, करोडभन्दा माथिका २८ मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२१ वटा उजुरीलाई विस्तृत अनुसन्धानमा राखेको छ । आयोगले छानविन तथा अनुसन्धान गरेर करोडभन्दा माथिका २८ वटा मुद्दा भने अदालतमा दायरा गरेको छ । अदालतमा दर्ता विगो सहित दर्ता गरिएका मुद्दामा सबैभन्दा बढी विगो सिक्टा सिँचाइ आयोजना निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको छ । उक्त आयोजनामा संलग्न २१ जनालाई दुई अर्ब १६ करोड लाख विगो सहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर गत आवमा गरेका काम कारवाही सार्वजनिक गरेको हो । अयोगले अनुसन्धानको क्रममा गत आवमा २ सय जना राष्ट्रसेवक कर्मचारीलाई रंगेहात पक्रिएको छ । सोमध्ये विशिष्ठ श्रेणीका दुई जना, सहसचिव वा सो सरहको दुई जना, उपसचिव तहको १० जना र शाखा अधिकृत तहको ३२ जनालाई कार्यस्थलबाट संगेहात पक्रिएको हो । रंगेहात पक्रियका अन्य कर्मचारी भने शाखा अधिकृतभन्दा तल्लो तहका रहेका छन् । रंगेहात कारवाहीमा परेका कर्मचारीमा सबैभन्दा बढी २७ जना गृह मन्त्रालयका कर्मचारी रहेका छन् । आयोगले गएको आवमा तीन सय ५१ वटा मुद्दा दर्ता गरेको छ । अघिल्लो आव २०७४/७५ मा यस्तो १९४ वटा मुद्दा दर्ता भएका थिए । आयोगले दर्ता गरेका मुद्दामा गत आवमा ८८.५ प्रतिशत र अघिल्लो आवमा ६७.८२ प्रतिशत मुद्दाले सफलता पाएका छन् । गत आवमा आयोगमा २४ हजार २८ वटा उजुरी परेका थिए । सो उजुरीमध्ये १५ हजार ६ सय ११ वटा फट्र्यौट भएृका छन् । अघिल्लो आवमा आयोगमा १९ हजार ४ सय ८८ वटा उजुरी परेकोमा १२ हजार चार सयमात्रै फट्र्यौट भएको थियो ।
सिटिजन लाइफको प्रथम बीमा शुल्क १०० करोड नाघ्यो, ७५ करोडको आईपीओ आउने
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमा शुल्क रु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद दिए । साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गरे । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम् समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दाअझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए । यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सहयोग पुर्याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ताहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु एवम् यो उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले रु. ७५ करोडको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साउनकाे आगमनसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरिद गर्न भ्याइनभ्याइ भएको छ । हिन्दू महिलाले साउन महिनालाई विशेष महिनाका रुपमा लिने गरेको पाइन्छ । त्यसैले, उक्त महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने परम्परा रहेको महिलाहरुको भनाइ छ । विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ । साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेकाले बजारमा यी सामानहरुको खरिद–बिक्री पनि बढेको पाइएको छ ।
पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् । तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
दश वर्षदेखिको अलपत्र माडीपुल एघार महिनामै सम्पन्न
रोल्पा । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महिनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा पाएको थियो । अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महिनामा सम्पन्न भएको हो । रू तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिएका छन् । “सम्झौता अनुसारको मेरो जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु”, ‘प्रोपाइटर’ घर्तीले भने । सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिने छ । ०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुआती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयवासीले आरोप लगाएका थिए । निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक सङ्घसंस्थाको टोली सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए । दुई वटा पिलर ठड्याएर रू एक करोडभन्दा बढी रकम भुक्तानी पनि निर्माण व्यवसायी दशौदीले निर्माणका क्रममा आफ्नो निर्माण सामग्री हराएको भन्दै क्षतिपूर्तीको माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियोे । स्थानीय राजनैतिक दल र नागरिक समाजको दबाबका कारण दोस्रो गरिएको बोलपत्र पछि उक्त पुल निर्माण भएको हो । वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या हुँदै आएकामा पुल निर्माणसँगै सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताएका छन् । पुल निर्माण स्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमासमेत निकै चुनौती व्यहोर्दै आएका थियौँ अब सो समस्या समाधान हुने भयो व्यवसायी थापाले भने । रासस