विकासन्युज

दशैंमा खाद्यान्न भन्दा कपडाप्रति बढ्दो आकर्षण

सुनिता पुडासैनी काठमाडौं । पछिल्लो समय दशैंका लागि खाद्यान्न भन्दा नयाँ डिजाइन तथा ब्राण्डेड कपडा प्रति युवा वर्गको बढ्दो आकर्षण देखिएको छ । दशैंलाई लक्षित गरी नयाँ पुस्तामात्र नभइ आम मानिसको ध्यान बजारमा उपलब्ध भएको कपडामा केन्द्रीत भइरहेको खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । खाद्यान्नमा मानिसहरुको झुकाव कम हुँदै आएसँगै व्यक्तित्व अनुसारको कपडा सबैको रोजाइ भएको अध्यक्ष बज्राचार्यले बताए । उपत्यकाको अधिकांश खुद्रा व्यवसायीले दशैं लक्षित सामान भन्दै बढी मात्रामा विक्री गर्न नसक्ने अवस्था रहेको छ, उनले भने ‘अधिकांश मान्छे आफ्नो घर जाने हुँदा दैनिक हुने व्यवसायमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्छ ।’ हाल मानिसले आफ्नो रुची अनुसार खाद्यान्नको उपभोग गर्ने हुँदा दशैंकै लागि भनेर मानिसहरु खाने कुरामा चासो नदेखाउने अध्यक्ष बज्राचार्यले जानकारी दिए । केही वर्ष अगाडी दशैं आयो भन्दै गर्दा छुट्टै खालको उमंग भित्रिने छाउने र मानिसको ध्यान मासु लगायत खाने कुरामा केन्द्रीत भएको पाइथ्यो भने हाल सबैको ध्यान कपडा केन्द्रित भएको छ । विकासित समाजको तयारीमा जुटेको हाम्रो समाजमा हाल डिजानदार कपडा खरिद गर्न देखि फरक फरक ठाँउ घुम्न जानेको संख्या अधिकांश रहेको फेन्सी संचालन गर्दै आएका ६५ वर्षीय हरि बोहोराको भनाइ छ । एक जोर नयाँ लुगा लगाउनका लागि पहिला दशैं नि कुर्नु पर्ने अवस्था थियो भन्दै बोहोराले समय बित्दै गएसँगै हरेक मानिसको चाहना र इच्छा परिस्थिति अनुसार परिवर्तन भएको बताए । एक महिनामा मात्र चार अर्बभन्दा बढीको कपडा आयात दशैलाई लक्षित गरी साउन महिनामा मात्र चार अर्ब २० करोड रुपैयाँको कपडा आयात छ । भन्सार विभागको तथ्यांक अनुसार गतवर्ष १० अर्ब ५५ करोड रुपैयाँको कपडा आयात भएको थियो । पछिल्लो समय चीनबाट तयारी पोसाकको आयात बढेसँगै कोरियन ब्राण्डका कपडाको पनि नेपाली बजारमा अत्याधिक माग रहेको हिमालयन सिटी सेन्टरका मामा भान्जा फ्रेडसिपका संचालक अमिर खतिवडाले बताए । प्रत्येक मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि दशैं लक्षित गरि आफ्नो क्षमता अनुसार बजारमा उपलब्ध भएका सामानहरू खरिद गर्न पछाडि हटेका छैन् । अझै पनि दशैंमा नयाँ लुगा लगाउनै पर्छ भन्ने मान्यता हराएको छैन । व्यक्तिको इच्छा अनुसारको लुगा कपडा खरिद गर्नेको मात्रा बढ्दै गएको बताए । नयाँ पुस्ताहरू हाल पश्चिमी संस्कृति अगाल्दै गर्दा नेपालमा नै उत्पादन भएका कपडालाई ध्यान नदिएको हुँदा प्रत्येक वर्ष व्यवसायीले विशेष गरी भारत र चीनबाट आयात गर्दै आएको व्यवसायीले जानकारी दिए । हाल तयारी पोसाक भने अधिकांश चीनबाट नै आयात भईरहेको भन्सार विभागले जनाएको छ । बजारमा खुद्रा व्यापारको अवस्था दशैं लक्षित बजारलाई केन्द्रित गर्दै सरकारले ७३ वटा सहुलियत पसल खोले पनि सहज एवम् प्रयाप्त मात्रामा व्यवस्थापन नभएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उपभोक्तालाई केन्द्रीत गरी अधिकांश मुख्य ठाँउमा सहुलियत पसल संचालन गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । बजारमा चाडपर्वको बेला खुद्रा सामानको मूल्यको विषयमा व्यवसायी तथा व्यापारीको विभिन्न कुरो आए मूल्य वृद्धि नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । दशैंको अवसरमा भने बजारमा खुद्रा सामानको मूल्य नबढेको बताउँदै दशैंको समयमा करिब ३० लाख मान्छे बाहिरिने हुँदा व्यापार घट्ने जानकारी अध्यक्ष श्रेष्ठ भन्छन् । सरकारले सहुलियत बजार सीमित ठाँउमा मात्र संचालन गर्दा उपभोक्ताहरूले पर्याप्त सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो आइरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताएका छन् ।  आगामी वर्षदेखि सरकारले दशैंको अवसरमा सहुलियत पसल संचालन गर्दा उपभोक्तालाई सहज हुने माध्यम अपनाउनु पर्ने उनले बताए ।

दशैं आहारमा कसरी सन्तुलन मिलाउने ?

काठमाडौं । मांसहारीहरूको पर्व समेत भनेर चिनिने दशैं को लागि उपत्यकामा मात्रै २५ हजार भन्दा बढी पशुपंछी भित्रिएका छन् । दशैंको समयमा मासुका परिकार सबैभन्दा बढी बन्ने भएको कारण पनि यसैलाई लक्षित गर्दै हजारौंको संख्यामा पशुपंछीहरू भित्रिएका छन् । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दशैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । बनाउन सजिलो, मिठो र सबैलाई मनपर्ने भएकोले पनि मांसाहारी मानिसहरूका लागि मासुको परिकार पहिलो रोजाइ हो । मासुलाई सन्तुलन मिलाएर नखाने हो भने यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । मासुमात्र नभएर जुनसुकै पनि खानेकुराहरूको सन्तुलन मिलाएर नखादा त्यसले स्वास्थ्यमा निकै नै नराम्रो असर पार्छ । प्रस्तुत छ दसैंमा के कस्तो कुरामा खान ध्यान दिने भन्ने विषयमा आहर विज्ञ मिरा शाहसँग गरेको कुराकानीको आधारमा तयार पारिएको स्वास्थ्य टिप्सः धेरै मासु खादाका बेफाईदाहरू धेरै छन् । यसले कोलेस्ट्रोल, मधुमेहको विरामी, युरिक एसिड तथा मुटुको विरामीहरूले मासुको परीकार धेरै मात्रामा खाँदा स्वास्थ्यमा अन्य मानिसको दाँजोमा बढी असर गर्दछ । मासुमा पनि खसी, भैंसी, सुगुरको रातो मासु स्वास्थ्यको लागि घातक हुन्छ । खाने कुरा खादा उमेरले पनि मानिसलाई असर गर्छ । कति उमेरको व्यक्तिले कति खानु उपयुक्त हुन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले पाहुना आयो भन्दै दिनभरी खाएको खाएकै गर्नुहँुदैन र खाए पनि हरेक पटक खाँदा २÷३ पिस खानुपर्दछ । कस्तो मासु खाने ? सकभर मासुलाई जिन्दगीबाट केही टाढा नै राखेको राम्रो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । यस्तो मासु खादा मानव शरिरलाई त्यति हानी पुर्याउँदैन । मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ त्यसैले चाडवाडमा मात्र नभएर अन्य समयमा पनि पोलेका मासुहरु खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । बरु यस्तो मासुका परिकार भन्दा ग्रेभिवाला मासु खाँदा राम्रो हुन्छ । त्यो बाहेक ‘लिङ मिट’ जुन छाला र बोसो रहित हुनेगर्छ । त्यस्तो मासु सामान्य मासुभन्दा स्वस्थकर मानिन्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा राम्रो । खाएपनि रातोमासुको तुलनामा सेतो मासु खाँदा धेरै स्वस्थकर मानिन्छ । धेरै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिदैन । स्ट्यान्डर्ड मदिरा मात्र पिउने चाडवाडमा अर्को धेरै प्रयोगमा आउने सामग्री भनेको मदिरा हो । कति मानिसहरू मदिरा सेवन गर्नकै लागि दसैं जस्तो चाडलाई कुर्ने गर्छन् । कामको तनावबाट टाढा र साथीभाइ, परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुशीको रुपमा मनाउनलाई चाडवाडमा यसको व्यापक प्रयोग हुने गर्दछ । तर, मदिरा सेवन कहिले पनि स्वास्थ्यको लागि उचित भने होईन । थोरै मदिरा पनि स्वास्थ्यको लागि फाइदाजनक नभएको अवस्थामा चाडवाडमा अत्याधिक मदिरा सेवनले मानिसहरुमा मुटुरोगको समस्या निम्ताउने गर्दछ । अझै मुटुरोगीहरूले त यसको त झन् सेवन गर्नुहुदैन । मुटुरोग भएका बिरामीहरूले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन पर्छ । सामान्य अवस्था भएका मानिसहरुले नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मले तय गरेको स्ट्यान्डर्ड ड्रिन्क्स सेवन गर्दा राम्रो हुन्छ । नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मको अनुसार १४ ग्राम मदिरा रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबेटिज एसोसिएसनका अनुसार ह्विस्की, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नलाई ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरूले दैनिक एक तथा पुरुषहरूले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने बताइन्छ । खाली पेटमा रक्सी कहिले पनि नखाने । खाली पेटमा रक्सी खाँदा बेहोस् भइने र अस्पताल नै भर्ना हुने अवस्था आउँछ । धेरै खाएर एकै ठाउँमा लामो समय नबसौं चाडवाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ । जुवातास खेल्ने मानिस लामो समयसम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन् । यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, हाई प्रेसर भएर मुटुको नलीहरू पनि फुटिएको देखिन्छ । त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । खानामा कार्बोहाईड्रेट कम गर्ने हाम्रो दैनिकको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको चामलको भात र आलु हो । तरकारीको राजा भनेर चिनिने आलुको चाडवाडमा धेरै पारिकार बन्ने गर्छन् । आलु र चामलको भातमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । जसले सुगरको बिरामीलाई सबैभन्दा बढी असार गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाउन सकिन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । खानेकुरा साँचेर नराख्ने खानेकुराहरूलाई राम्रोसँग स्टोर गरेर राख्न नसक्दा पनि मानिसहरू चाडवाडमा बिरामी पर्ने गर्छन् । सबैभन्दा पहिला सकेसम्म खानेकुराहरू जति ताजा खायो त्यति नै राम्रो हुन्छ । तर, धेरै नै भएको अवस्थामा खाना साँचेर राख्दा खानालाई हावा नछिर्ने तरिकाले छोपेर राख्नु पर्छ । राम्ररी नछोपेको अवस्थामा हावा छिरेर खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छ । पकाएको मासुका परिकार र नपाएको मासुका परिकारलाई छुट्टाछुट्टै राख्नुपर्दछ र २ दिन भन्दा बढी लामो समय खाना स्टोर गर्नु हुँदैन । धेरै स्टोर गरेको खाना खाँदा फुड पोइज हुने सम्भावना हुन्छ । खाने वित्तिकै नसुत्ने कहिले पनि खाएको वित्तिकै सुत्नु हुँदैन । खाना खाएर सुतेको अवस्थामा मुटुका धड्कहरू बन्द हुन गई मानिसको मृत्यु हुने हुन्छ । त्यसैले पनि हामी कतिपय अवस्थामा बेलुका खाना खाएर सुतेको मानिस बिहान मृत अवस्थामा भेटिन्छ । खाना खाएपछि २ घण्टासम्म सुत्न हुँदैन ।

पृथ्वी नारायणले दोहोरो कुरा गरेको विश्वास गरिने नुवाकोटको भैरवी मन्दिरः धार्मिक एवम् ऐतिहासिक थलो

काठमाडौं । वि.स. १९९७ सालमा जन्मिएका हरिनारायण सिंह धामी नुवाकोटको भैरवी मन्दिरका पुजारी हुन् । उनलाई भक्तहरूले ‘धामी’ भनेर समेत बोलाउने गर्छन । भैरवी मन्दिरको स्थापना लिच्छवी कालमा भएको हो । वि.स. १८१९ मा भैरवी मन्दिर स्थापना भएको हो । सो मन्दिरमा पृथ्वी नारायण शाहले सवारी गरेका पाइन्छ । भैरवीको मन्दिरको इतिहास लामो रहेको जानकारहरूले बताउँछन् । सोही कारण सबै कुरा थाहा पाउन गाह्रै पर्ने उनीहरूको तर्क छ । वि.स. २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्याएको छ । पुजारी धामीले उनी भैरवी मन्दिरको छेवैमा रहँदा भूकम्प गएको सम्झिए । अहिले भैरवी मन्दिर निर्माणधिन अवस्थामा रहेको छ । भैरवी मन्दिरमा ब्राम्ह्णहरूले फूलपाती भित्र्याउने गरेको स्थानीयले जानकारी दिएका छन् । धामीले भने भैरवी मन्दिरमै आफ्नो समय बिताउँदै आएका छन् । मन्दिर तथा संस्कृतिको विकासका लागि आम मानिसहरूले केही कुरामा सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । धामीको विचारमा सुधार मानिसको दृष्टिकोणमा हुन जरूरी छ । साथै, भैरवी मन्दिरको निर्माणका लागि सरकारले पहल गर्दै आएको र सो स्थानमा काम समेत विस्तारै अघि बढदै गरेको उनको बुझाइ छ । भैरवी मन्दिरमा पुरानै कला शैलीका प्रयोग गरेर मर्मत हुँदैछ । सरकारी तहबाट परम्परागत शैली अपनाएर मन्दिर बनाउने निर्णय भएको पाइन्छ । पृथ्वी नारायण शाहलाई भैरवीसँग जोडेर हेर्दा  पृथ्वी नारायण शाहले गोरखा विजय गरेपश्चात नुवाकोट विजय गरेका हुन् । उनकै पालामा साततले दरवारको निमार्ण भएको हो । यस्तै, भैरवी मन्दिरमा लाग्ने जात्राको प्रवद्र्धन पृथ्वी नारायण शाहले गरेको जानकारहरूले बताएका छन् । सोही समयमा पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेका थिए । उनले काठमाडौं विजय गरे पश्चात पुर्खा मेघराम मेधेसी शाहीलार्ई जात्रा पर्व संचालन गर्नको लागि लालमोहर गरेका थिए । चैत्र शुल्क पूर्णीमाको रातमा नुवाकोटको भैरवीको रथ देवघाटसम्म लैजाने चलन छ । यस्तै, रातको समयमा बलि भोग दिने प्रचलन छ । सो जात्रा पृथ्वी नारायण शाहको लालमोहर अनुसार मनाउँदै आएको हो । नुवाकोटमा नाग जात्रा, सिन्दुर जात्रा मनाउने चलन रहँदै आएको छ । यस्तै, विगतमा देवी घाटसम्म सुनको रथ लगिएको जानकारी पाइएको छ । लावा लस्कर सहित देवी घाट जाने लगायतका विभिन्न लामै प्रक्रियाबाट मेला समापन गरिने पाइएको छ । नुवाकोटको भैरवी मन्दिरको संस्कृतिसँग आवद्ध रहँदै आएका जानकारका अनुसार यहाँ पृथ्वी नारायण शाहलाई देवता मान्ने चलन छ ।’ पृथ्वी नारायण शाहले भैरवीसँग दोहोरो कुरा गरेको विश्वास मानिन्छ । पृथ्वी नारायण शाहको देहान्त देवीघाट भएको हो । पृथ्वी नारायण शाहको देहान्त भएको सो स्थान अहिले जालपाको रुपमा परिचित छ । हिन्दुहरुको महान चाड विजया दशमीमा नुवाकोटको भैरवी मन्दिरबाट फूलपाती भित्र्याउने गरिन्छ । यस्तै, विजया दशमीमै गोरखाबाट फूलपाती काठमाडौं लैजाने प्रचलन रहँदै आएको छ । सोही प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय तथा सैनिकहरूको समेत उपस्थिति रहने स्थानीयले जानकारी दिएका छन् । ऐतिहासिक दरवारक्षेत्रकोे खर्च केन्द्रीय बजेटबाटै गोरखा दरवार, हनुमान ढोका दरवार तथा नुवाकोट दरवारमा दशैंका बेला पूजाआजा गर्न लाग्ने खर्च केन्द्रीय बजेटबाटै हुँदै आएको छ । देश संघीय व्यवस्थामा गएयता अष्टमी, नवमी, दशमी लाग्ने खर्च स्थानीय सरकारले नै गर्नुपर्ने भएपनि यसका लागि सम्पूर्ण खर्च संघीय सरकारले व्यहोर्दै आएको छ । यति उतिभन्दा पनि आवश्यक खर्च संघीय बजेटबाट हुँदै आएको पुजारी धामी बताउँछन् ।

दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन् । सम्बोधन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनु पर्नेमा जोड दिएका छन् । उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए । दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए । अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने भनाई राखेका छन् । यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउंदै उनले दक्षिण एसियालीमुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा वताए । गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताउंदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आवहन गरे । सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए । भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ठाउँ भएको बताए । अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्य मन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना भनाई राखेका छन् । उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्वव्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ । भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराएका छन् ।

१० हजारको दशैं र २ लाखको दशैं,  ९२ वर्षीय हिमालय शम्शेरको दशैं अनुभव

काठमाडौं । दशैंको हर्ष उल्लास नै अर्कै । नवरात्री भरिनै मठ मन्दिर जानेको चहलपहल हुन्थ्यो । म अहिले पनि केटाकेटीले डम्बरु बजाएको आवाज सुन्न खोज्छु, त्यो समय कहाँ रह्यो र ? हिमालय शम्शेर झल्झली सम्झन्छन्–घटस्थापनाको दिन बिहान सबेरै बागमतीमा नुहाएर भद्रकाली, संकटा, महांकालको दर्शन गर्न गएको । उतिबेला वागमती सङ्गो थियो । घरमा धारो नभएर होइन, बगेको पानीमा नुहाउँदा पाप मोक्ष हुन्छ भन्ने आस्था थियो । वागमतीमा नुहाउनुको अनुभवनै ताजै छ मसँग । दशैं घरमा ब्राम्हणसँगै परिवारको एक जना चोखो खाएर जमरा पूजाको लागि बस्नु पथ्र्यो । महाअष्टमी र महानमवीमा गुह्ेश्वरी, शोभाभगवती, मैतीदेवी जान्थ्यौ । अहिले मानिसको चाप बढ्यो, दर्शन गर्न पनि सकिदैन । घरमै जमरा राख्ने प्रचलन थियो, ब्राम्हण राखेर । अहिले घरमा जमारा राख्न ब्राम्हण पाउनै छाड्यो । अहिले मन्दिरमा राखिन्छ । त्यसैले बच्चाहरूलाई यो संस्कारको बारेमा ज्ञान हुन छाडेको छ । नयाँ कपडा लगाउने, माछामासु खाने, मामाघर जाने प्रचलनले दशैं साना ठूला सबैका लागि अत्यन्त महत्व राख्थ्यो । घरमा काम गर्नेलाई नयाँ कपडा र जुत्ता दिने गरिन्थ्यो । तर, पनि घाँटी हेरेर हाड निल्नु पर्छ भने झै हुने खाने र हुँदा खानेले आफ्नै स्तरअनुसार दशैं मनाउँथे । दशैंका लागि धेरैले आफ्नै घरमा भएका वस्तुलाई जोहो गरेर राख्थे । अहिले नयाँ कपडा लगाउन दशैं कुर्न पर्दैन, इच्छा अनुसार जतिसुकै बेला लगाउन सक्ने गरी मानिसको आयस्तर बढेको छ । आयस्तरमा आएको परिवर्तनसँगै दशैंमा तडकभडक भित्रिएको छ । दशैंमा नचाहिने खर्च गरेर अहिले पारिवारिक बजेटमा विचलन आएको छ । जीवनको ९ दशक पार गरिसकेका हिमालय शम्शेर सम्झदै भन्छन् ‘खसीबोका, च्याङ्ग्रा÷भेडा काटेको हेर्न खुब मन पथ्र्यो । घरमै काटिन्थ्यो । त्यो अहिले छैन । मान्छेले दुःख गर्न छाडे । सबै वस्तु तयारी अवस्थामा पाइन्छ । यसले हाम्रो संस्कारलाई ओझेलमा पारेको छ । त्यतिबेला नहुनेले मात्र बजारमा किन्थे । तर, अहिलेजस्तो रोजी छाडी किन्न भने पाइदैन थियो । साउन भदौदेखि नै भारतबाट दशैंका लागि सामानहरू ल्याउने प्रचलन त्यति बेला पनि थियो । तर, ठूलो खर्च हुँदैन थियो । विशेषः दशैं केन्द्रीत नयाँ नोट राष्ट्र बैंकले साट्ने प्रचलन त्यतिबेला देखिनै थियो । पछिल्लो वर्ष नेपालीको घरायसी खर्च बढेको छ । गत वर्ष नेपालीले करिब २३ खर्ब रुपैयाँ खर्च गरेका छन् । सो खर्चमा केही बढ्यो भने पनि दशंैंमा मात्रै हुने खर्च करिब आठ खर्ब पुग्छ । ६ दशकअघिको बजार अहिले बजारमा आकाश जमिन फरक छ,’ उनी भन्छन् ‘पहिला कहाँ यस्तो थियो र काठमाडौंका अधिकांश भाग खेतैखेत थियो ।’ तर अहिले समयक्रमसँगै वस्तु तथा सेवाको उपलब्धता बढेको छ । दसैं आएसँगै बजारमा चहलपहल बढेको छ । जता हेर्यो उतै भिडभाड छ, व्यापारीदेखि सर्वसाधारणको । अन्य वर्षभरि हुने खर्च मध्ये एक तिहाइ दशैंमा हुने अनुमान सरकारले गरेको छ । किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान दशैंमा बढी नै खरिद गर्ने गरिन्छ । कसै कसैले दशंैमा गाडी किन्ने योजना समेत बनाएका हुन्छन् । यतिमात्र होइन दशैंमा होटल/रेस्टुरेन्टदेखि सार्वजनिक सवारी साधन, एयरलाइन्सको कम्पनीहरूले पनि टन्न कमाउँछन् । चाडपर्वलाई लक्षित गरी बिक्रेता तथा सेवा प्रदायकले विभिन्न ‘अफर’ ल्याएका हुन्छन् । हरेक वर्ष मूल्य बढ्दै गएको छ । पहिला दशैंमा घरबाट बाहिरिएका समेत घरमा जम्मा हुन्थे । अहिले घुम्न जाने कल्चरको विकास भएको छ । वर्षभरि पेशा व्यवसायमा लाग्नेहरूले दशैंमा स–परिवार घुम्न जाने प्रचलन बढ्दो छ । बजारदेखि मठमन्दिरसम्म व्यापार व्यवसाय बढेको छ । टोलटोलमा दुर्गाका मूर्तिहरू स्थापना गर्ने प्रचलन बढ्दो छ । यो हाम्रो कल्चर होइन । समयसँगै बजार विस्तार मात्रै होइन धर्म र संस्कृति पनि ट्रान्सफर भएर आएको हो । यद्यपि मूर्ति विसर्जन गर्दा वागमतीमा बगाइने फोहोरले वातावरणलाई समेत दूषित बनाएको छ । यो नभएको भए राम्रो हुन्थ्यो । तर, पनि परिवर्तनलाई रोक्न सकिदैन र रोक्न पनि हुँदैन । संचार माध्यमको आगमनपछि विज्ञापनले बजारलाई फराकिलो पार्दै गयो । विदेशी बजारमा बनेका सामानहरू नेपाल भित्र्न थाले । २०१३/१४ साल जतिबेला म नेपाल राष्ट्र बैंकको गभर्नर थिए । १०/१५ हजार रुपैयाँ भयो भने दशैं सकिन्थ्यो । अहिले दुई/तीन लाखले पनि पुग्दैन । पैसा महँगो थियो । वस्तुहरू सस्ता थिए । नेपालको जनसंख्यानै एक करोडको हाराहारीमा थियो । अहिले गिफ्ट कल्चर र पार्टी प्यालेसमा गएर दशैंको पार्टी दिने अध्यासले खर्च बढाएको छ । उतिबेला पनि भारतीय बजारबाट दशैंका लागि नेपाली बजारमा प्रशस्त सामान भित्र्न्थ्यो । केही सामान अन्य देशबाट पनि आउने गथ्र्यो । विदेशी मुद्रा सहज नहुँदा तेस्रो मुलुकबाट सामान ल्याउन सजिलो थिएन । डलर भनेको पन्ना, हिरा मोती जहवारत जस्तै थियो । सामान आयात गर्न आवश्यक पाउण्ड भारतीय रिजर्भ बैंकबाट लिनु पर्ने अवस्था थियो । राष्ट्र बैंक स्थापना हुुनुअघि हामीसँग वैदेशिक खाता थिएन । त्यति बेला नेपालबाट निर्यात भनेको खासमा जुटमात्रै थियो । धान, चामल, तेलमा हामी आत्मनिर्भर थियौं । कटन कपडा भारतबाट र ऊनका कपडा तेस्रो मुलुकबाट आउँथ्यो । दुई हजारमा राम्रो सुट पिस आउँथ्यो । ४/५ सयमा ब्राण्डेड जुत्ता नै आउथ्यो । अहिले किफायत गर्दा पनि १५ हजार रुपैयाँ त सुट कै पर्छ । दशैंका बेला अहिलेमात्रै होइन पहिला सामान्य अवस्थाको भन्दा अलिकति मूल्य वृद्धि हुन्थ्यो । सामानको मूल्य साउन/भदौदेखि नै बढ्न थाल्थ्यो । नाफा त महिला पनि व्यापारीले गर्थो । तर अहिले खर्च बढी भएकोले नाफा पनि बढी देखिएको हो । मान्छेले आफ्नो स्तरअनुसार १५/१६ हजार रुपैयाँ पर्ने ब्याकलेभल, रेडलेभल, ब्ल्यू लेभल, सुट पिसजस्ता उपहार दिन थालेका छन् । पहिला दशैंमा आफूले मान्नुपर्ने आफ्नै घर, मामाघर वा आफन्तसँगमात्रै टिका लगाउने प्रचलन थियो । पंचायती व्यवस्थाले राजा, प्रधानमन्त्री र आफूभन्दा उच्च ओहोदाका मानिससँग टिका थाप्ने कल्चर भित्र्यो । उतिबेला मामा घरमा टिका लगाउँदा ५ रुपैयाँ दक्षिणा पाइन्थ्यो । पहिला टिका थाप्नका लागि उर्दी नै जारी हुन्थ्यो निजामतिदेखि जंगीसम्मका अधिकृत स्तरका कर्मचारीलाई । दशैंको टिकामा पारिवारिक फेवर आउन छाडेको थियो । अहिले फेरि टिका पहिलाको जस्तै पारिवारिक बन्दै गएको छ । धर्म र राजतन्त्रसँगै थियो । दरवारमा टिका थाप्न जानु पथ्र्यो । राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसँग टिका थाप्न जान्थ्यौं । दशैं बाहुन, क्षेत्री वा हिन्दु धर्मालम्बीको मात्रै थिएन । मुसलमानले पनि दशैं मान्थ्यो ।  घटस्थापनाको दिनदेखि कोजाग्रथ पूर्णिमासम्म प्राय कार्यालयहरू पनि विदा हुन्थ्यो । अहिले सरकारले विदा कटौती गर्दै लगेको छ । यसले दशैंलाई चटारो बनायो ।

महँगाे दशैं

बडादशैं २०७६ तपाईँ हाम्रो घरआँगनमा आइसकेको छ । असोज १२ गते फूलपातिदेखि वडा दशैं शुरु भइसकेको छ । फूलपातिदेखि नवमीसम्मका नौ दिनलाई नौरथा भनिन्छ । यो नौ दिनमा देवीका विभिन्न रुपलाई विभिन्न नाम दिएर पूजा आरधना गरिन्छ र दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । परापूर्वकालमा असत्य माथि सत्यको विजय भएको, दानव माथि देवताले जीत हासिल गरेको जस्ता किवदन्तीहरु रहेका छन् । परापूर्वकालमा जे जसरी विजयादशमी मनाउन थालिए पनि पछिल्लो समय हिन्दु धर्माबलम्बीहरुकोे महान चाडका रुपमा बडादशैंलाई मनाइदै आएको छ । नेपालमा हिन्दुहरुको जनसंख्या धेरै छ, त्यसकारण पनि यो पर्वलाई नेपालीहरुले महान् पर्वका रुपमा मनाउने गरेका छन् । अहिले विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरु दशैं मनाउन घरमा भेला हुन थालेका छन् । देशभित्रै रहेका परिवारका सदस्यहरु घर फिर्ने क्रम जारी छ । बैदेशिक रोजगारीको शिलशिलामा रहेकाहरु पनि महान् चाड बडादशैं मनाउन घर आएका छन् । बसपार्क र विमानस्थलहरुमा बडादशैं मान्न घर जानेहरुको भीड देख्न सकिन्छ । एकैपटक धेरै मानिसहरु चाडपर्व मान्न घर जाने हुँदा गाडी र हवाई टिकटको अभाव हुने गर्छ । सामान्य अवस्थामा हुने भाडा भन्दा यो समयमा बढी भाडा लिएर कालोबजारी पनि हुने गरेको छ । अरु बेलाको भन्दा दोब्बर बढी गाडी भाडा तिर्नु पर्ने बाध्यात्मक अवस्था समेत सिर्जना हुने गरेका छन् । यसरी यातायातका क्षेत्रमा हुने गरेको अबैध धन्दा रोक्न राज्यले निगरानी गरिरहेको बताए पनि यात्रु ठगिनेक्रम भने उस्तै देखिन्छ । यसपटक खाद्यान्य र तरकारीको मूल्य पनि आकाशिएको छ । खसीबोका र च्याङ्ग्राको भाउ पनि बढेको छ । भारतबाट आउने प्याजको आयात बन्द हुँदा बजार भाउ आकाशिएको छ र यसपटकको दशैंको भान्सा प्याजरहित हुने संभावना छ । प्याज पाइएपनि धेरै मूल्य तिर्नु पर्ने अवस्था छ । दशैं पर्वमा नयाँ लुगा लगाउने, मीठा मीठा परिकारहरु खाने प्रचलन छ । त्यसकारण यो पर्व मनाउने नेपालीहरुलाई यस समयमा धेरै नै आर्थिक ब्ययभार पर्ने गर्छ । दुर्गा पूजा गर्ने र विजयादशमीका दिन मान्यजनहरुबाट निधारमा टीका र कानमा जमरासहित आशिष ग्रहण गरिन्छ । बडादशैंमा मान्यजनहरुबाट टीका, जमरा र आशिष ग्रहणसँग विभिन्न शिलशिलामा घरबाट टाढा रहेका आफन्तहरु भेला हुने र रमाइलो गर्ने अवसरका रुपमा समेत लिइन्छ । यो दशैं पर्वले हुने खाने भन्दा पनि हुँदा खानेहरुलाई समस्यामा पनि पार्ने गरेको छ । दशैंमा आफ्नै घरमा खसी काट्नै पर्ने, छोराछोरीहरुलाई नयाँ कपडा किनिदिनै पर्ने र समाज अनुसार चल्नु पर्ने नाममा ठूलाबडाको देखासिकी गर्दा हुँदा खानेहरुले आर्थिक ब्ययभार निकै बोक्नु पर्ने हुन्छ । तर, वर्षको एक पटक मनाइने महान् पर्वलाई हाँसीखुशी गरेर मनाउने पर्वका रुपमा मनाउनु पर्छ । अर्काको देखासिकी गरेर भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउँदा धेरै आर्थिक ब्ययभार बोक्नु पर्दैन । ‘घाँटी हेरी हाड निलौं’ भन्ने कुरालाई मनन् गर्दै आफ्नो हैसियत र क्षमता अनुसार पर्वलाई मनाउन सकियो भने पर्व मनाउँदाको आर्थिक ब्ययभारले लामो समयसम्म पिरोल्ने छैन । पछिल्लो समय बडादशैंमा हुने छुट्टीको अवसरलाई विभिन्न पर्यटकीय र धार्मिक क्षेत्रहरु घुमफिर गर्ने परिपाटी शुरु भएको छ । कत्तिले यो छुट्टीमा राम्रा किताबहरु पढेर, राम्रो सिनेमाहरु हेरेर दशैं बिदालाई सदुपयोग गर्ने गर्छन् । वर्षभरी विभिन्न काममा व्यस्त रहनेहरुले दशैं पर्व हर्षोल्लासका साथ मनाएर आफूलाई पुर्नताजगी बनाउने अवसरका रुपमा समेत लिन्छन् । बडादशैंको यो माहौलमा हामी पनि भन्छौँ, हर्षोल्लासमय वातावरणमा दशैं मनाउनु होला । यो समयमा कसैलाई दुःखद् घटनाले नपिरोलोस् हामी कामना गर्छौँ । अन्त्यमा विकासन्युज परिवारकाे तर्फबाट सम्पूर्ण पाठक, विज्ञापन दाता, शुभेच्छुकसहित सम्पूर्ण नेपालीहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ । बडादशैं सबैका लागि शुभ रहोस् ।

१२ वाणिज्य बैंककाे साढे १८ अर्बको लाभांश घोषणा, यी बैंकले लगानीकर्तालाई बनायो उत्साहित

काठमाडौं । १२ ओटा वाणिज्य बैंकहरुले साढे १८ अर्बको लाभांश प्रस्ताव गरेका छन् । दशैं बिदा शुरु हुने अन्तिम दिनसम्म आइपुग्दा सञ्चालनमा रहेका २८ मध्ये ८ वाणिज्य बैंकले कुल १८ अर्ब ६२ करोडको लाभांश प्रस्ताव गरेका हुन् । घोषणा गरिएका लाभांशमध्ये १० अर्ब ६७ करोड रुपैंयाको नगद लाभांश र ७ अर्ब ९५ करोड रुपैंयाको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । हालसम्म लाभांश घोषणा भएका बैंकहरुको औसत लाभांश १७.३७ प्रतिशत रहेको देखिएको छ । जसमध्ये ९.९५ प्रतिशत नगद लाभांश र ७.४२ प्रतिशत बोनस शेयर रहेको देखिएको छ । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा बैंक अफ काठमाडौं, सिटिजन्स, ग्लोबल आईएमई, जनता, कुमारी, माछापुच्छ्रे, मेगा, एनआईसी एशिया, सानिमा, नेपाल एसबीआई, सिद्धार्थ र सनराइज बैंक छन् । तीमध्ये सिटिजन्स, एनआईसी एशिया र कुमारी बैंकले साधारणसभाबाट लाभांश प्रस्ताव पारित समेत गरिसकेका छन् । हालसम्म लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकमध्ये सर्वाधिक लाभांश ग्लोबल आईएमई बैंकले दिएको छ । ग्लोबलले १२.७५ प्रतिशत नगद र त्यति नै बोनस शेयर दिएको हो । त्यस्तै, सिद्धार्थ बैंकले १० प्रतिशत बोनस र १५.२५ प्रतिशत नगद तथा एनआईसी एशिया बैंक र सानिमा बैंकले १० प्रतिशत बोनस शेयर ११.०५२६ प्रतिशत नगद लाभांश दिएका छन् । बाँकी ४ बैंकले भने २० प्रतिशतभन्दा कम लाभांश प्रस्ताव गरेका छन् । २० प्रतिशतभन्दा कम लाभांश दिनेहरुमा बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनससहित जम्मा १७ प्रतिशत, नेपाल एसबीआई बैंकले ६ प्रतिशत बोनससहित १६.८४ प्रतिशत, माछापुच्छ्रे बैंकले ५ प्रतिशत बोनससहित १६ प्रतिशत, सनराइजले १० प्रतिशत बोनससहित १५.८ प्रतिशत, सिटिजन्स बैंकको ३ प्रतिशत बोनससहित १५ प्रतिशत, जनता बैंकको ६ प्रतिशत बोनससहित १२ प्रतिशत, मेगा बैंकको ११ प्रतिशत नगद लाभांश र कुमारी बैंकको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांशको प्रस्ताव गरिएको छ । यी मध्ये बैंक अफ काठमाण्डू बाहेक बाकी सबै बैंकले लगानीकर्तालाई गत वर्षकोभन्दा बढी लाभांश प्रस्ताव गरेर खुसी बनाएका छन् । गत वर्ष ५.२७ प्रतिशत लाभांश(३.६३ प्रतिशत बोनस र १.६४ प्रतिशत नगद) दिएको सिटिजन्स बैंकले यस वर्ष लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिएकाे छ। जुन अघिल्लो वर्षको भन्दा करिब १० प्रतिशत बढी हो । त्यस्तै, ग्लोबल आईएमई बैंकले अहिलेसम्मकै उच्च अर्थात २५ प्रतिशत लाभांश(१२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले १६ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो । जनता बैंकले सेयरधनीलाई गत वर्ष ८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । तर यस आर्थिक वर्षमा बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश(६ प्रतिशत बोनस र ६ प्रतिशत नगद) दिने प्रस्ताव गरेको छ । गत वर्ष ८.५ प्रतिशत बोनस मात्रै दिएको कुमारी बैंकले यो पालि १०.२५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद) वितरण गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब २ प्रतिशत बढी हो । त्यसैगरी, माछापुच्छ्रे बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । जसले यस वर्ष १६ प्रतिशत लाभांश(११ प्रतिशत नगद र ५ प्रतिशत बोनस) दिने घोषणा गरिसकेको छ । मेगा बैंकले गत वर्ष सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश(६.८५ प्रतिशत नगद र १ प्रतिशत बोनस) दिएको थियो । जुन यस वर्षकोभन्दा घटी हो । बैंकले यस वर्ष सेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । बैंकले बोनस नदिएको सेयरधनी केही निरास देखिएपनि गत वर्षको भन्दा बढी नगद लाभांश घोषणाले उनीहरुमा केही हदसम्मको खुसी छाएको देखिन्छ । त्यस्तै, एनआईसी एशियाले यस वर्ष गत वर्षकोभन्दा दोब्बर लाभांश घोषणा गरेको छ । गत वर्ष १०.५३ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.५३ प्रतिशत) वितरण गरेको बैंकले यस आवमा २१.०५ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) दिएकाे हाे । सानिमा बैंकले गत वर्ष १४ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यस वर्ष बैंकले २१.०५ प्रतिशत लाभांश(११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस) प्रस्ताव गरी सेयरधनीहरुमा खुसी ल्याएको छ । एसबिआई बैंकले चालु आवमा गत वर्षको एक प्रतिशत बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चालु आवमा १६.८४ प्रतिशत लाभांश(१०.८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस) वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ बैंकले पनि गत वर्षको भन्दा बढी लाभांश घोषणा गरेको छ । १३.१६ प्रतिशत लाभांश(८.१६ प्रतिशत नगद र ५ प्रतिशत बोनस) वितरण गरेको बैंकले यस वर्ष २५.२५ प्रतिशत लाभांश(१५.२५ प्रतिशत नगद र १० प्रतिशत बोनस) दिर्ने प्रस्ताव गरेको छ । गत वर्ष बोनस नदिई ११.५ प्रतिशत नगद लाभांश मात्रै दिएको सनराइज बैंकले यस वर्ष बोनस र नगद दुबै दिने घोषणा गरेको छ । बैंकले यस वर्ष सेयरधनीहरुलाई ५.८ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।

काठमाडौंमा सनराइज बैंकको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ ?

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ । “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् । साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।