एनआरएनकाे भवन बनाउन उम्मेदवारसँग १०/१० लाख रूपैयाँ उठाइदै, निर्वाचनबाटै २ कराेड उठ्ने
काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पुर्याइएको हो । निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ । ४२ सदस्यीय सङ्घकाे कार्यसमिति १२ जना पदाधिकारी हुनेछन् । सबै उम्मेदवारबाट रू २ कराेड भन्दा बढी संकलन हुने अपेक्षा गरिएकाे छ । उक्त रकम सङ्घको भवन बनाउन प्रयाेग हुने बताइएकाे छ । सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सङ्घकाे अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । निर्वाचनमा करीब २ हजार ४०० मतदान हुने अनुमान गरिएकाे छ ।
गाउँकाे घर टपक्कै टिपेर प्रज्ञा प्रतिष्ठानको हलमा, फुरूङ्ग भए साहित्यप्रेमी
काठमाडाै । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो । कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो । तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए । नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो । प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो । साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए । झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो । लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ । खरको छाना । पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको… यस्तैयस्तै । विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए । तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए । प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो । प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए । नेपालको सांस्कृतिक वैभव पस्केका थिए । पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो । कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ । आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ । असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । साँझ छिप्पिसकेको थियो । हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ ।”
एनआरएनहरुलाई व्यवसायी चन्द्र ढकालको आग्रह – सातै प्रदेशमा ‘चन्द्रागिरि’ बनाउनुस्
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ढकालले सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको र तीनै तहका सरकारहरुबीच लगानी भित्र्याउन प्रतिस्पर्धा नै भएको भन्दै देशमा लगानीको वातावरणमा निकै ठूलो सुधार भएको समेत बताए । उनले चन्द्रागिरि पर्यटकीय क्षेत्रको आवश्यकता हरेक प्रदेशमा आवश्यक भएको भन्दै मुख्यमन्त्रीहरुले लगानी गर्न आग्रह गर्ने गरेको भन्दै ढकालले उनीहरुलाई त्यस्तो क्षेत्रमा लगानी गर्ने विकल्प समेत भएको बताए । ढकालले आफूसँग गैर आवासीय नेपालीहरुसँग मिलेर काम गरेको अनुभव समेत भएको भन्दै २७ मेगावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुईओटा प्रोजेक्टमा एनआरएनहरुको समेत लगानी भएको उल्ल्ेख गरे । ‘यी प्रोजेक्टहरु नेपाली उद्यमशीलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै छ’ उनले भने । यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै भन्दै ढकालले भने – ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस् ।’ आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले अमेरिकामा पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा रहेको भन्दै कहिँपनि सोचेजस्तो नहुने भएकोले केही अवरोधहरुलाई व्यवसायीले सहज रुपमा ग्रहण गर्नुपर्ने समेत बताए । ढकालको विचारमा जलविद्युत, पर्यटन, कृषि लगायतमा क्षेत्रमा एनआरएनएहरुले लगानी गरेर राम्रो लाभ लिनसक्ने ठाउँ छ । ‘आफूले संसारमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालमा लगाउन सकिएमा यसले राम्रै प्रतिफल दिन सक्छ’ उनको सुझाव थियो । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले पनि चन्द्रागिरि केवलकारबाट सफलता पाएका ढकालकै उदाहरण दिँदै केवलकार एनआरएनहरुको लगानीको अर्को नाफामूलक क्षेत्र भएको टिप्पणी गरे । ढकालप्रति इगिंत गर्दै अर्थमन्त्री खतिवडाले भने –‘केवलकारमा लगानी गरेर अनुहार हँसिलो बनाउने मान्छे यहीँ हुनुहुन्छ ।’
एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक, मूल्य ३८५ हजार रुपैयाँ मात्र
काठमाडौं । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल ‘एक्सपल्स २००’ सार्वजनिक भएको छ । हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मूल्य तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अुनसार यो बाइक देशभरका नेपाल जेनरल माकेटिङल सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछन् । हिरो मोटर कर्पको यस उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ । भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुने कम्पनीले जनाएको छ ।
एनआरएनको विश्व सम्मेलन : भित्र विकासको ‘बाइनाकुलर’, बाहिर राजनीतिक गर्मी
काठमाडौं । मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा एउटा छुट्टै भीड थियो । सँधै सुनसानप्रायः देखिने होटल हायातको त्यति ठूलो स्पेसमा सवारीसाधन पार्किङ गर्ने ठाउँ समेत थिएन । नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त होटलको चउर र बाटोभरी मानिसको ओहोरदोहोर पनि उत्तिकै थियो, लाथ्यो त्यहाँ कुनै राजनीतिक दलको आमसभा हुँदैथियो । लाग्थो त्यहाँ कुनै ठूलो राजनीतिक दलको आमसभा हुँदैछ । नेपालीहरुको मानसपटलमासम्झनाको रुपमा रहेको राजनीतिक दलहरुको चुनावलाई बिर्साउनेगरी जम्मा भएको त्यो भीड वास्तवमा गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनको उद्घाटन सत्रको थियो । जसमा करिब ३ हजार सदस्यहरु प्रत्यक्ष रुपमा सहभागी रहेको अनुमान आयोजकको छ । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको औपचारिक उद्घाटन गराएसँगै चुनावी प्रचार र खाना नास्ताको लागि सहभागीहरुको भीड लाग्दैगर्दा सम्मेलनको सभाहलमा निर्धारित कार्यक्रमअनुसार अर्को सेसन सुरु भइसकेको थियो जसको विषय थियो – ‘मोबिलाइजेसन अफ रिसोर्सेज फर इकोनोमिक ट्रान्सफरमेसन’ अर्थात् आर्थिक रुपान्तरणका लागि स्रोतको परिचालन । सेसनमा कार्यपत्र प्रस्तुत गर्नेहरुको मुख्य चासो एनआरएनएहरुले नेपालको विकासमा सहभागिता कसरी जनाउने भन्ने सम्बन्धमा थियो । लामो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीसँगै देशको आर्थिक विकासको भोकलाई सम्बोधन गर्न गैर आवासीय नेपालीहरुले भूमिका कसरी खेल्न सकिन्छ भन्ने बहस भइरहँदा खालीजस्तै देखिने हलमा सहभागीहरु कार्यपत्र प्रस्तुत गरिरहेका थिए बाहिर भने प्रचारप्रसार गर्ने र ब्रोसर र भिजिटिङ कार्डहरु बाँड्नेको कमी थिएन । कार्यक्रममा सूरुमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पूर्व बैंकर तथा अर्थविद् अनलराज भट्टराईले वित्तीय स्रोतहरुको पहिचान र संकलनका सम्बन्धमा आफ्नो धारणा राख्दा डा. रामप्रसाद धितालले एनआरएनएको लागनीका लागि हाइड्रो क्षेत्र महत्वपूर्ण भएको भन्दै यसका लागि प्रोफेसनल ग्रुप र बिजिनेस ग्रुपबीचको सहकार्यमा उनले जोड दिए । त्यस्तै, सभाकै अर्का प्रस्तुतकर्ता राजेश सैंजुले नेपालको उर्जालाई हाइड्रो क्षेत्रमै सीमित गर्नुभन्दा इनर्जी मिक्समा जानुपर्नेमा जोड दिँदै सोलार, हावा र जलाशयमा आधारित उर्जाको क्षेत्रमा एनआरएनएहरुको लगानीका लागि आह्वान गरे । साइप्रसका एनआरएन रञ्जित महतोले एनआरएन शेयर बजारमा आउँन दिदैगर्दा आउनसक्ने जटिलताको सम्बन्धमा बोल्दै त्यस्तो लगानीको अतिवित्तीयकरण हुन नहुनेतर्फ जोड दिए । एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले विश्वमै डायस्पोराहरु ज्ञान र प्रविधिको संवाहक हुने गरेको भन्दै नेपाली डायस्पोराहरुले अव नेपालको कायापलट गर्ने समय आएको बताए । उनले आफ्नो संलग्नतामा नेपालमा ११६ मेगावाटको आयोजना निर्माण गरेको भन्दे यो २ वर्षभित्र सकिने बताए । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफूसँग एनआरएनसँग मिलेर काम गरेको अनुभव भएको काठमाडौंमा चन्द्रागिरि बनेजस्तै प्रत्येक प्रदेशमा चन्द्रागिरि बनाउन आग्रह गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले एनआरएनको लागानीका ५ क्षेत्रहरु पहिचान गर्दैगर्दा फरक राजनीतिक आस्था बोकेका दुई अर्थविद्हरु रामशरण महत र अर्थमन्त्री युवराज खतिवडाबीच नेपाल सरकार, नेपाली जनताले गर्नुपर्ने र समग्र एनआरएनएले नेपालको विकासका लागि खेल्नुपर्ने भूमिकाबारे एकमत देखिएका थिए । पूर्व अर्थमन्त्री रामशरण महतले चीनको विकासमा चिनियाँ डायस्पोराहरुको भूमिकाको चर्चा गरिरहँदा र अर्थमन्त्री युवराज खतिवडाले विभिन्न क्षेत्रहरु पहिचान गर्दै लगानीका लागि आह्वान गर्दैगर्दा खालीजस्तै देखिएको सभाहल बाहिर भने ‘आई एम विथ कुल’ र ‘आई एम विथ कुमार’ लेखिएका पोष्टर र ब्यानरहरु बाँड्न व्यस्त देखिन्थे । त्यही एउटा समूह जसले भोलि तिनै विकासका आकांक्षाहरु पूरा गर्ने जिम्मेवारी पाउँछ, तर आज त्यसलाई सुन्नेसम्म फुर्सद छैन ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तयारी, तिहारमा मात्र २५ लाख माला चाहिने
काठमाडौं । तिहारका लागि करिब २५ लाख फूलकाे माला आवश्यक पर्ने भएको छ । पछिल्लो समयमा ८० प्रतिशत फूल आन्तरिक उत्पादनले नै पुग्ने गरेकाे हुँदा २० प्रतिशत भारतबाट आयात हुँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरमा हुने लागेको १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी व्यवसायीलाई हौसला दिनकै लागि प्रत्येक वर्ष हुँदै आएको संयोजक शिवबहादुर खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । फूलको पर्व नजिकीएसँगै घर आँगन र बगैंचामा सजाउन तथा पाहुनाको सत्कारका लागि फूलको प्रवद्र्धन हुँदै आएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिवरि’ भन्ने नाराको साथ कात्तिक १ गते विहान ११ बजे उक्त मेलाको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन् । पछिल्लो समय फूलको महत्वको बारेमा सरकारले चासो दिएको फ्लोरिकल्चर एशोसिएसन नेपालको अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरेका छन् । हालै सम्पन्न चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा करिब १ करोड रुपैयाँ फूलमा खर्च गरेको भन्दै फूलले आत्मियता प्रदान गर्ने हुँदा हाल स्वागतका लागि फूल अनिवार्य भईसकेको हुँदा नेपाली बजारमा प्रतिवर्ष १० देखि १५ प्रतिशतको दरले फूलको माग बढी रहेको अध्यक्ष श्रेष्ठले बताए । तिहार तथा छठको अवसरलाई ध्यानमा राखि प्रत्येक वर्ष हुने मेला अघिल्लो वर्षहरुमा कृषि विकास मन्त्रालयको तथा विभागको सहयोगमा आयोजना गरिएको थियो, भने यस वर्ष फ्लोरिकल्चर एशोसिएसन नेपालले आफ्नै साधन, स्रोतमा सञ्चालन गर्न लागेको मेला संयोजक खड्काले बताए । कात्तिक एक गतेदेखि चार गतेसम्म हुने उक्त मेलामा ४४ वटा व्यवसायिक स्टल, ४ वटा सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४९ वटा प्रदर्शनी कक्ष रहने छन् । पुष्प व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान तथा व्यवसायिहरु बीचको प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो । सामान्य रुपमा वि.सं. २०११ सञ्चालन भएको पुष्प व्यवसायले आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ७ सय भन्दाबढी रहेका छन्, भने ४३ वटा जिल्लामा पुष्प खेती विस्तार भएको छ । करिब १ सय ५७ हेक्टरमा फैलिएको पुष्प व्यवसायमा आश्रित भई करिब साढे ४३ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७५/२०७६ सालमा २ अर्ब ४२ करोड रुपैयाँ वरावरको कारोबार भएको थियो ।
टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ औं साधारणसभा सम्पन्न
काठमाडौं । रुपन्देहीमा रहेको श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा संस्थाका अध्यक्ष जनार्दन शर्मा यादव र सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरुको हकहितको लागि विभिन्न नौं वटा भावी कार्यक्रमहरुको लागि प्रस्ताव पेश गरेका थिए । पेश गरेको प्रस्तावहरुमा दुग्ध उत्पादक कृषकलाई राहत देखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि बृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरु पनि अगाडी सारिएको छ । संस्थाका उपाध्यक्ष भूपराज पाण्डे २४ औं वार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुने खाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दुधको मूल्य बढाए किसानहरुलाई राहत मिल्ने भएतापनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्ने तर्फ सरकार केन्द्रित हुनु पर्ने बताएका छन् । यस सहकारीले दश लाख दुई हजार १५ रुपैयाँ सेयर पुँजी रहेको गत आर्थिक वर्षमा एक लाख ६७ हजार सात सय रुपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रुपैयाँ अर्थात दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरुको संख्यामा ५८ जना वृद्धि गरी चार सय आठ पुर्याएको छ ।
चलचित्र तथा मोडलिङमा व्यस्त बन्दै मोडल तथा नायिका अनिता गिरि
काठमाडौं । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त बन्दै गरेकी मोडल र नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्र नै चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् । युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी नायिका हुन अनिता गिरि । उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । अभिनय तथा नृत्यमा पोख्त नायिका अनिता गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । अझै मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । खोटाको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी गिरि हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभावकी छिन । नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा धमाकेदार इन्ट्री गर्न लागेकी नायिका अनिता भन्छिन यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउँछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन् मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि अनिता बताउँछिन ।