एक हजारले लिए आरोहण अनुमति, छ करोड १७ लाख राजस्व सङ्कलन
काठमाडाैं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । हालसम्म १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमाल आरोहणका लागि हालसम्म उनीहरूबाट करिब छ करोड १७ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ । सगरमाथा बाहेक अन्य १२ वटा अग्ला हिमालका लागि पनि अनुमति लिनेहरुको संख्या बढिरहेको विभागले जनाएकाे छ । हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहणमा आउने आरोहीहरू छन् । जसबापत प्रत्येक वर्ष नेपाल सरकारले झन्डै ४० करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ । नेपालमा आरोहणका लागि आउने पर्यटकहरू कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बस्छन् । आरोहणमा आउने पर्यटकले नेपाल बसाइको क्रममा ३५ हजार डलरदेखि ६० हजार डलरसम्म खर्च गर्ने गरेका छन् । जसमा आरोहण स्वीकृतिको लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन् । आरोहणमा एजेन्सीहरूले ३५ हजारदेखि ६० हजार डलरसम्म लिएर बुकिङ गराउने गरेका छन् । एक जना आरोहणमा जाँदा ७ जनादेखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । आरोहणका लागि जाने सहयोगीले दैनिक १ हजारदेखि २५ सय रुपैयाँ पाउने गरेका छन् ।
विद्युत् प्राधिकरणले २९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड रुपैयाँभन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २०७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए । गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट ९७ हजार ८८८, जनता मावि बाखरबाट एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट एक लाख १२ हजार ८४७, मावि पिप्राबाट ८३ हजार, मावि पडरियाबाट ६४ हजार २७५ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको छ । यस्तै हेल्थपोष्ट सीतापुरबाट ७६ हजार ७३०, हेल्थपोष्ट छपरारीबाट ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३४६, कोल्ड चेञ्जरबाट दुई लाख २८ हजार ३३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट एक लाख ८ हजार ७००, इलाका हुलाक कार्यालय भगवानपुरबाट ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट ८३ हजार ९६८, कृषि सेवा केन्द्र धनगढीबाट ७० हजार १२० रुपैयाँ बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ । विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताए ।
जनकपुरका पान पसलेले आमादब्लम हिमालको गरे सफल आरोहण
काठमाडाैं । जनकपुरका ३३ वर्षिय रन्जित साहले मंगलबार सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमादब्लम हिमालमा सफल आरोहण गरेका छन् । तराई, पहाड,हिमाल, हाम्रो मातृभूमि नेपाल भन्ने मूल नाराका साथ भ्रमण वर्ष २०२० लाई सफल बनाउन उनले मंगलबार बिहान ७ बजे हिमालकाे आरोहण गरेकाे जनाइएकाे छ । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमादब्लम आरोहण गरेका हुन् ।सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा हिमाल आरोहण गरेको रंजीतले बताए । आमादब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । जनकपुरधाम नयाँ बस पार्कमा पानपसल सन्चालन गर्दै आएका रन्जित एक साइकलयात्री पनि हुन् । उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ ।
पर्यटकको पर्खाइमा नारच्याङ ताल, पूर्वाधार र प्रचारप्रसारको अभाव
म्याग्दी । अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ । अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए । समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन । हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताइन् । “ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन ।” भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन । न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताए । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्”, उनले भने, “यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।” परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलोपटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो । यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो । निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन् । पदमार्ग पर्यटक हिँड्नलाई अझै योग्य भइसकेको छैन । स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । तालको गहिराइको मापन हुनसकेको छैन । तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउँछन् । रासस
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको अस्पताल स्रोतले विकासन्जयुलाई बताएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए। अस्पताल स्रोतले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।
धानमा फौजी कीराको प्रकोप, ३२ प्रतिशत उत्पादन घट्ने
बाँके । जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ । जिल्लामा कूल दुई लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् । “विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भने, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” रासस
राष्ट्रिय पक्षी डाँफेको संरक्षणमा जुटे म्याग्दीवासी
गलेश्वर । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलहरुमा पाइने स्थानीयवासी बताउँछन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जङ्गलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए । चराविद् कक्सले सन् १९९९ मा गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी, शिकारी र आगलागीका कारण डाँफेको सङ्ख्या घटेकामा २०६५ सालयताको एक दशकको अवधिमा यसको सङ्ख्या दोब्बरले वृद्धि भएको स्थानीयवासीले बताएका छन् । पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरुको खोज–अनुसन्धानमा लाग्नुभएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो । नेपालमा डाँफेको सङ्ख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताउनुभयो । उहाँका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । यो पक्षी विशेषगरी नेपाललगायत अफगानिस्तान, पाकिस्तान, तिब्बत र भुटानमा पाइने गर्दछ ।
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू, यस्तो छ महत्व
जनकपुर । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । उनका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । के छ सामा चकेवामा ? सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा ९ सामा० र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे १ कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग वस्न थाले । त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ । केही गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ । समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् : डालाले बहार भेली, बहिनी से पलाँ बहिनो फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी….। भाइ र उनका परिवारजनको मङ्गल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ : सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा लागि गेल पनमा दुकान..। जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट जुटमा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् : धान –धान–धान , भइया कोठी धान चुगला कोठी भुस्सा…… प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ : वृन्दावनमे आगि लागै कोइ ने मिझावे हे हमर भैया फलना भैया दौडि –दौडि मिझाबे हे…..। सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ : सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे…..। पूर्णिमा का दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन रहेको छ । रासस