अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, नेपालमा यथावत
काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि नेपालमा यथावत राखेकाे छ । निगमले सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको हाे । गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो । अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।
किष्ट मेडिकल कलेजकाे मातहतबाट“सन्ध्याकालिन विशेषज्ञ सेवा” प्रदान
काठमाडौं । किष्ट मेडिकल कलेज मातहतको शिक्षण अस्पतालमा “सन्ध्याकालीन विशेषज्ञ सेवा” पूर्णकालिन रुपमा सञ्चालन भएको गरेको छ । १२ बर्षको अवधिमा यस कलेजले पाँच सयभन्दा बढी चिकित्सक छन् । जनशाक्ति उत्पादनका लागी आवश्यक पर्ने ठूलो मात्राको विशेषज्ञ जनशाक्ति रहेको यस शिक्षण अस्पतालको पकड क्षेत्रका सर्वसाधारण जनताहरुको कठिनाईलाई महसूुस गरेका छन् । जनसमुदाय एवम् विद्यालय÷कलेज जाने विद्यार्थी वर्गहरुलाई समेत लक्षित गरि आफूसँग भएको ठूलो साधन र स्रोतलाई ती समूदायको हितमा प्रयोग गर्ने उद्देश्यले आफ्नो सेवालाई विस्तार गरि “सन्ध्याकालीन विशेषज्ञ सेवा”कार्यक्रम सञ्चालन गरेको छ । गतमंसिर एकगते वाङम्य शाताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा शुरु भयो । कार्यक्रम उद्घाटनका क्रममा वाङम्य पुरुषले विशेषज्ञ सेवा नैतिक जिम्मेवारीका साथ उपलब्ध गराउन स्वास्थ्य विशेषज्ञहरुलाई सुझाव दिए । डा.जोशी यस अघि यस शिक्षण अस्पतालमा विरामी पर्दा आउने गरेर करिव १ दशक अगाडि उनको हर्निया सम्बन्धि समस्याको शल्यक्रिया सो अस्पतालमा भएको थियो । अस्पतालको सेवाबाट आफू खुशी रहेको र हाल अत्याधुनिक प्रविधियूक्त विभिन्न विधाका विशेषज्ञहरुको सलंग्नता रहेको बताए । सोहि कार्यक्रममा वाङम्य शाताब्दी पुरुष डा.जोशीलाई समाज र संस्कृतिप्रति पुत्याएका योगदानका शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष ई.आशिष थापाले प्रशंसा गर्दै सम्मानपत्र प्रदान गर्याे । अस्पतालले सबै रोगका समस्यालाई सहजिकरण गर्दै आएको अस्पताल स्रोतले जनाएको छ । यस कार्यक्रमले ललितपुरको विशेष गरि यातायातको असुविधा भएको पूर्वी र दक्षिण भेगका बासिन्दाहरुलाई विशेष सेवातथा सहयोग पुर्याउने नै छ, भने ललितपुरको सहरी क्षेत्रका बसिन्दाहरुलाई अझ बढी सहजताका साथ सेवाप्रदान गर्ने लक्ष्य रहेको छ । कार्यक्रम उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायत दश वटै वडाका अध्यक्ष एवं स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
अब मेसिनबाटै चेक डिपोजिट हुने, सिद्धार्थ बैंकले ल्यायो आधुनिक सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट शुरु गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने छ । यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्धारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्तरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । बैंकले देशभर १७२ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आईडीपी आईएलटीएसद्वारा अल्फाबिटा सम्मानित
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा चर्चित अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान बिजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो । आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागीहुने भएका कारणले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ । अल्फाबिटा नेपालमा पहिलो पटक ब्रिजकोर्स सुरुवात गर्ने संस्था हो । संस्थाले विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदानगर्दै आएको छ । अल्फाबिटाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाहरु समेत आयोजना गर्दै आएको छ । अल्फाबिटाका अध्यक्ष तथा सीईओ द्विराजशर्मा संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए ।
पोखराको फूलबारी रिसोर्टले नेपाल बैंकको साढे ३ अर्ब ऋण तिर्दै, होटल सञ्चालन गर्न अघि बढे अमात्य
काठमाडौं । पोखराको फूलवारी रिसोर्टले साढे दुई दशक अघि नेपाल बैंकबाट लिएको कर्जा भुक्तान गर्ने भएको छ । बैंक र रिसोर्ट सञ्चालकबीच गत कार्तिक १ गते आगामी १० वर्षभित्र सम्पूर्ण कर्जा चुक्ता गर्ने गरी सम्झौता भएको हो । सम्झौताअनुसार रिसोर्टले १ वर्षसम्म कर्जाको ब्याजमात्रै तिरे पुग्छ । त्यसपछिका वर्षमा भने ऋणीले साँवा र ब्याज दुबै भुक्तान गर्दै जानु पर्ने गरी ऋणको पुनः संरचना गरिएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले जानकारी दिए । २०५०/५१ मा लिएको रिसोर्टको ऋणको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । उतिबेला फूलबारीले करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । २ अर्ब १६ करोड ब्याज सहित अहिले सो कर्जा साढे ३ अर्ब पुगेको हो । नेपालीको गहनाको रुपमा लिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालकको ३० प्रतिशत लगानी रहेको थियो । फूलबारी रिसोर्टलाई कालोसूचीमा राखे पनि होटल र त्यसले चर्चेको जमिनलाई लिलामीमा लैजान भने सकेको छैन । यदि उक्त जमिनलाई लिलामीमा लैजाने हो भने कर्जा चुक्ता गर्न अमात्यलाई त्यति आपत पर्दैन । अहिले पेनाल ब्याज मिनाह गर्ने गरी कर्जाको पुर्नसंरचना गरिएको हो । होटल सञ्चालन भए बैंकले पेनाल ब्याज तिर्नु पर्दैन । साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो,’ सीईओ अधिकारीले भने । केही वर्ष होटल राम्रै चल्यो । ब्याज र साँवा पनि तिर्यो । विदेशी खर्चालु पर्यटकलाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्ट एक दशक लामो द्वन्द्वको चपेटामा पर्यो । त्यति नै बेला आतंककारीले इन्डियन एयरलाइन्स अपहरण गरेपछि रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र रिसोर्ट विस्तार संकटतिर धकेलिदै गयो । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो रिसोर्टको रुपमा लिइन्थ्यो । अहिले रिसोर्ट बन्द भएको २ वर्ष बितिसकेको छ । अहिले त्यहि रिसोर्ट सञ्चालन गर्न अमात्यले आफ्नो जमिन बिक्री गरेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । उक्त रकमबाट १० करोड रुपैयाँ कर्जाको साँवा र ब्याज भुक्तान गरिने सहमति बैक र सञ्चालकबीच भएको छ । ३० करोड रुपैयाँ खर्च गरेर होटल पुनःसंचालन गर्न लागिएको हो ।
कोलम्बियाको सिमा नाका बन्द गर्ने निर्णय
बोगोटा । कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाकाबन्द गरिएको हो । राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको उच्च अधिकारीहरुको भनाई छ । नाकाबन्दीका बेला कुनै पनि अकल्पनीय अप्रिय घटनाहरु हुन नदिनका लागि सीमा क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिएका छन् । बिहीबार हुने कार्यक्रममा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ संगठनलगायत सहभागी हुने भएका छन् । रासस
केपी ओलीले पुरै पाँच वर्ष सरकार चलाउने, कार्यकारी अध्यक्षमा प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै पाँच वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो । “अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएको छ”, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्षको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने छन् । अध्यक्षबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए । यस अगाडि प्रधानमन्त्री ओलीले नै कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस
काठमाडौं । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा. डा. रमेशप्रसाद आचार्य, प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. दिलीप शर्मा र प्रा. डा. आरती साह रहेका छन् । आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो । ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ । तीमध्येबाट चारजनाको सिफारिस भएको बताइएको छ तर यसबारे आयोगले केही सार्वजानिक गरेको छैन । राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचनामा निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनेको थियो । ती चार निर्देशनालयमा मापदण्ड तथा प्रत्ययन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । ती पदका समयावधि चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्षसमक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’ भन्ने ऐनको प्रावधान रहेको छ । प्रावधानअनुसार आयोगका सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । निर्देशक पदको नियुक्ति प्रक्रिया शुरु गरिएको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्षसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले कात्तिक १८ गते पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकामा उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायत आधिकारिक पेशागत सङ्गठनका अध्यक्षमध्येबाट अध्यक्ष एशोसियशन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ सङ्घ छन् । यसैगरी, आयोगका सदस्यमा नागरिक समाजका लब्धप्रतिष्ठित कम्तीमा एक महिलासहित दुईमा डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तका आधारमा कम्तीमा दुई महिलासहित तीन जनामा प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. शैली प्रधान र प्रा. डा. जगदीश अग्रवाल रहेका छन् । रासस