अब केही समयमै मेलम्चीको प्रशोधन केन्द्रको काम सकिने
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गरेकी छिन् । खानेपानी मन्त्री मगरको नेतृत्वमा मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको हो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै मन्त्री मगरले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरिन् । दोस्रो प्रशोधन केन्द्रको कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न मन्त्री मगरले विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । उनले अब केही समयमै दोस्रो प्रशोधन केन्द्रको काम सकिने जानकारी दिए । सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भईसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम करिब करिब सकिन लागेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाईनेछ । सम्पन्न हुन बाँकी रहेको पानी प्रशोधन केन्द्रको काम आउँदो पुस महिनामा सकिने मेलम्ची विकास समितिले जनाएको छ । एउटा प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आईसकेको छ । प्रशोधन केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो । सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुर्याइने छ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ । यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ । यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रिया सहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ । यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुन सक्छ । सम्पन्न भईसकेको प्रशोधन केन्द्रबाट प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन भईरहेको छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताए । सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाईएको हो ।
यस कारण नेपालमा सफल छ ‘सिएफ मोटो २५० एनके’
चाइनिज मोटरसाइकल उत्पादक कम्पनी ‘सिएफ मोटो’ को नेपालका लागि आधिकारिक विक्रेता अन्ना इन्टरनेश्नल प्रा.लि.ले ‘२५० एनके’ मोडेललाई लगभग दुई वर्ष अघि नेपाली बजारमा भित्र्याएको थियो ।यो मोटरसाइकल यती छोटो अवधिमै नेपालका सडकमा धेरै संख्यामा गुडिरहेको देख्दा नेपालमा यसले राम्रै पकड जमाउन सफल भएको सहजै अनुमान लगाउन सकिन्छ । २५० एनकेलाई हरेक एङ्गल बाट हेर्दा उत्तिकै आकर्षक देखिन्छ । यसमा रहेको स्लिम र ब्याकवार्ड टिल्टेड हेडलाइटले यस बाइकको शोभालाई थप बढाएको छ । एउटा पर्फेक्ट स्ट्रीट फाइटरको लुक्स पाएको एनके २५० हेर्दा एकदमै एग्रेशिभ पनि देखिन्छ । ६–स्पिड गियरबक्स दिइएको २५० एनकेमा २४९.२ सीसी सिङ्गल लिक्विड कुल्ड इञ्जिन समावेस गरिएको छ । यस फ्युल इन्जेक्टेड इञ्जिनले ९००० आरपीएममा २७ बीएचपीको पावर र ७५०० आरपीएममा २२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको यस बाइकमा ‘स्पोर्ट्स्’र ‘रेन’ गरी दुईओटा राइडिङ्ग मोडहरु दिइएका छन् । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा डुअल च्यानल एबीएस पनि समावेस गरिएको छ जसले अकस्मात् ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ । कम्पनीले नेपाली बजारमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । स्पोर्टी र एग्रेशिभ लुक्सका कारण युवापुस्ताको मन जित्न सफल भएको यस बाइकले नेपाली बजारमा २०० ड्युक र २५० ड्युकसँग ठाडो प्रतिष्पर्धा गरिरहेको छ । यसको आकर्षक लुक्स, ब्रेकिङ्ग सेफ्टी,एफआई इञ्जिन र टीएफटी कन्सोलजस्ता आधुनिक फिचरहरु, र साथै उचित मूल्यको कारण पनि यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्दा फरक नपर्ला । कम्पनीले जनाए अनुसार अहिले यस बाइकको खरिद गर्दा अफरको रुपमा स्क्र्याच कुपन मार्फत् पाँच हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिनेछ ।
नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा, सदस्यमा ९ जना निर्वाचित
काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । साथै, सभाले आगामी २ वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति पनि सर्बसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा ९ जना निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरुमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल तथा सुनिल केसी रहेका छन् । संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने छन् । धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राणाले नेपालमा पछिल्लो समय विदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भएता पनि आगामी दिनहरुमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताएकी छिन् । त्यस्तै, भारतबाट नेपालमा लगानी ल्याउने सम्बन्धमा नेपाल-भारत उद्योग वाणिज्य संघले पहल गरी रहेको पुनरावलोकनको क्रममा रहेका दुई देशबीच २४ वर्ष अघि भएको वाणिज्य सन्धीका साथै पारवहन सन्धी, रेल सेवा सम्झौता, जल यातायत, रक्सौल-काठमाडौं रेलमार्ग, नेपाल र भारत बीचका विभिन्न विद्युतीय प्रशारण लाईनका कामहरू सम्पन्न गर्ने उनले बताइन् । साथै, नेपाल भ्रमण वर्ष २०२० समेतलाई दृष्टिगत गरी नेपाल-भारत उद्योग वाणिव्य संघको तर्फबाट सकृय योगदान जारी राखी आगामी दिनहरुमा पनि सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडी बढ्ने राणाले जानकारी दिएकी छिन् । सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् । भारतबाट नेपालमा लगानी भित्र्याउन नेपाल–भारत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विकास निमार्णलाई द्रुत गतिमा अघि बढाउन विदेशी लगानी आवश्यक रहेको उनले बताएका छन् ।
मेडिकल माफियालाई बल पुग्ने गतिविधि किमार्थ स्वीकार्य हुँदैन: विद्यार्थी नेता सुदेश पराजुली
काठमाडौं। प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरेको प्रती रुष्ट हुँदै अनेरास्ववियु नेता सुदेश पराजुलीले माफियालाई बल पुग्ने गरि सरकारले कदम चालेको टिप्पणी गरेका छन्। एमबिबिएसको परिक्षा बहिस्कार गरि हिडेको आरोपमामा गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थी प्रहरीले गिरफ्तार गरेको प्रती टिप्पणी गरेका हुन्। चर्को शुल्क वृद्धिको चपेटामा परेका विद्यार्थीको पक्षमा आन्दोलन गर्दै आएका विद्यार्थीको भावना माथी कुठाराघात गर्दै सरकारले विद्यार्थीलाई गिरफ्तार गरेको उनको आरोप छ। आम विद्यार्थीको सबालमा बोलेका विद्यार्थीलाई प्रहरि नियन्त्रण राख्नु निन्दनीय कदम भन्दै बिना सर्त रिहाइ तथा शुल्क वृद्धि घटाउनु पर्ने उनले बताए। परीक्षाको शुल्क समायोजनको विषयलाई लिएर परीक्षा बहिष्कार गरेका हुन्। चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागी नहुने बताएका छन्। शुल्क फिर्ता र समायोजनका विषयमा मंसिर १० गते सरकार र मेडिकल कलेज सञ्चालकबीच २ बुँदे सहमति भएको थियो। तर, विद्यार्थीहरुले कलेज सञ्चालकको हितमा भएको सहमति मान्य नहुने भन्दै विरोध गरिरहेका छन्।
बस्तुगत समूहकाे उपाध्यक्षमा अन्जन श्रेष्ठकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । नेपाल उद्याेग वाणिज्य महासंघकाे बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी घाेषणा गरेकाे छन् । विहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घाेषणा गरेका हुन् । तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका श्रेष्ठले अन्तिम समयमा उमेशलाल श्रेष्ठलाई समर्थन गरेका थिए । गत चुनावमा उमेशलाल बस्तुगत समूहमा उपाध्यक्षमा निर्वाचित भएका थिए । पाेखराबाट उदाएका युवा उद्यमी अन्जन श्रेष्ठ उद्याेग वाणिज्य महासंघमा ५ पटक कार्यकारीणि सदस्य र विभिन्न समितिमा सभापति, उपसभापति भसकेका छन् । महासंघकाे चुनाव आगामी चैतकाे अन्तिम साता हुँदैछ ।
गण्डकी विकास बैंकले टाडीको अस्पताललाई दियो दुई थान तीन सिटे कुर्चि
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ । कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) देवेन्द्रकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख सुरज शर्मा, टाडी शाखाका प्रमुख प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाडी, पर्सा, भरतपुर, भोजार्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कुर्चि हस्तान्तरण गर्दै सुरज शर्माले बैंकको वर्तमान वित्तीय स्थिति, संस्थागत उत्तरदायित्व अन्तरगतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी दिए ।
के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ?
के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी बढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन । ‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो । अहिले कमर्शियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् । नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ । बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलव्ध गराउँदै आएको छ । वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्छन् “ उत्पादनका क्षेत्रमा लगानी गर्न कमर्शियल बैंक उत्साहित हुनुपर्छ ।” वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको बताउँछन् । राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै रहको छ । वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिदैन । बैंकले अनाज (अन्न), तरकारी, चिया/कफी, सुर्ती, जुट, नगदेबाली, फलफूल, पूष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ । राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वध्यक्ष उद्धव अधिकारी भन्छन् “कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन् ।” नेपालको छैठौँ कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो । चालु आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै रु ३१ खर्ब लगानी गरेका छन् । अनुत्पादक क्षेत्र मानिएको घर घडेरी, सवारीसाधन, मेशिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउछ । धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करीब रु पाँच अर्बमा सीमित छ । बैंकले कृषिका अन्य क्षेत्र- तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन् । केहीवर्ष अघिसम्म रुपैया बचत गर्न मानिस बैंक धाउने गर्थै । आजभोलि वित्तीय पहुँच सहज भएकाले बैँक आकर्षण नारा दिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन् । उनीहरुले आफ्नो संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन् । यसबाट बैंकप्रतिको विश्वास बढ्दै गएको भए पनि साना तथा मझौला किसान भने खुशी रहेका छैनन् । विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्ष भन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको जनाइएको छ । कृषकले भने समयमा कर्जा प्राप्त गर्न सकेका छैनन् । रासस
एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा
काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मंसिर १९ गतेबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त रानीनगर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।