आरबिबि मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पूँजी २० करोड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभालसंचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ । साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् । साथै, दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने प्रतिवद्धता गरेका छन् । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए । सभामा आरविवि मर्चेन्ट बैंंकिङ्गका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देबेन्द्ररमण खनाल, सिए एकराज सिग्देल लगायतकोे उपस्थिती रहेको थियो ।
जुम्लामा भारी हिमपात, यातायात र हवाई उडान ठप्प
खलङ्गा । जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए । मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताएका छन् । जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए । हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनकारी दिए । जुम्लामा बिहानदेखि अहिलेसम्म करिब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ । रासस
भ्रमण वर्षलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला सुरु
काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला काठमाडौंमा सुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा) र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि कार्यशाला सुरु भएको हो । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने उद्देश्यले कार्यशाला सुरू गरिएकाे बताइएकाे छ । चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको बीआरआई ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा)ले नेपालको नासा फाउन्डेसनसँगको सहकार्य गरेको हो । कार्यशाला शनिबार सम्म चल्ने जनाइएकाे छ । उक्त कार्यशालाले नेपाल भ्रमणा वर्षलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषय र नेपालकाे यातायात क्षेत्रलाई सुरक्षित बनाउनका लागि कार्यशाामा प्रस्तुति रहने कार्यक्रम संयाेजक आशिष गजुरेलले बताए । कार्यक्रममा नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगको पार्टनरशिप, चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्य रहेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटीजस्ता विषयमा सम्बन्धित विज्ञहरुको १६ वटा पेपर प्रस्तुत गरिने बताइएको छ ।
चितवनकाे भण्डारामा बस पल्टँदा १३ जना घाइते
चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।
डा.खनाल र शिवाकोटी गभर्नरका बलिया क्याडर, सेबाेनमा ढुंगाना र डा.अधिकारी लाइन मिलाउँदै
काठमाडौं । पछिल्लो समय वित्तीय क्षेत्रका दुई नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड(सेबाेन)को दुई महत्वपूर्ण पदका लागि बलिया आकांक्षीहरू शक्ति केन्द्र रिझाउने काममा लागिपरेका छन् । कार्तिक १ गतेबाट खाली रहेको सेबाेन अध्यक्ष पदका लागि सरकारले आवेदन माग गरेसँगै उनीहरूले शक्ति केन्द्र धाउने काम गरिरहेका हुन् । सेबाेन अध्यक्षकाम लागि आठ जना आकांक्षीले आवेदन दिइसकेका छन् भने गभर्नर पदका लागि लाइन लागेर बसिरहेका छन् । राष्ट्र बैंकमा गभर्नर र सेबाेनमा अध्यक्षको पद शक्तिशाली र महत्वपूर्ण मानिन्छ । यी दुबै कार्यकारी प्रमुखको पद हो । यद्यपि यी दुबै नियामक निकायमध्ये अझ आकर्षक मानिने राष्ट्र बैंक गभर्नर पदका लागि बलिया दावेदारका रुपमा अर्थ सचिव डा.राजन खनाल र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी देखिएका छन् । त्यस्तै सेबाेन अध्यक्षमा आवेदन दिएका आठमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र सेबाेनका उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारी बलिया दावेदारका रुपमा देखिएका छन् । बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्ड कै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी डा. रेवतवहादुर कार्की बोर्डका अध्यक्ष हुने बेलामा समेत पछिल्लो प्रतिस्पर्धीका रुपमा रहेका थिए । अर्थ सचिवको हैसियतले हाल राष्ट्र बैंक सञ्चालक समेत रहेका खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाह छ भने डेपुटी गभर्नर शिवाकोटीलाई राष्ट्र बैंक बुझेका खास पात्रका रुपमा लिइएको छ । डा.खनाललाई प्रम ओलीले राष्ट्र बैंकको गभर्नर बनाउने बचन समेत दिइसकेको कुरा बाहिर आएको छ । अर्का बलिया दावेदार शिवाकोटी प्रम तथा अर्थमन्त्री डा. युवराज खतिवडाको गृह जिल्लाकै हुनुका साथै बैंकिङ क्षेत्र बुझेका बलिया दावेदार मानिदै आएका छन् । डा. खनाल हाल नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव) मा कार्यरत छन् । आगामी माघ २२ गतेबाट उनले अवकास पाउँदैछन् । वि.सं २०४९ मा सरकारी सेवामा प्रवेश गरेका डा. खनालले ‘नेपालको कर नीति’ मा विद्यावारिधी गरेका छन् । प्रधानमन्त्रीको नजिक मानिने शिवाकोटी आफू लामो समयदेखि यहि क्षेत्रमा कार्यरत भएकोले राष्ट्र बैंक राम्रोसँग बुझेको र यस क्षेत्रमा राम्राे गर्न सक्ने विश्वासका अघि बढेका छन् । शिवाकोटी २०४४ साल चैत ७ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् । अहिले उनी राष्ट्र बैंकमा सिनियर डेपुडी गभर्नर भएर कार्य सम्पादन गरिरहेका छन् । राष्ट्र बैंक गभर्नरका लागि अर्का बलिया दावेदारका रुपमा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पनि लिइन्छ । अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा र प्रमले समेत रुचाइएका खास पात्र हुन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडालाई सफल गभर्नर बनाउन अधिकारीको बलियो हात रहेको बताइन्छ । डेपुटी गभर्नरबाट अवकाश पाएपछि अधिकारीलाई ओली नेतृत्वको सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । उनी सीईओ बनेपछि सुस्त बनेको लगानी बोर्डले गति लिन थालेको छ । ठूला लगानी भित्र्याउने महत्वपूर्ण पोष्टमा अधिकारी भएकाले उनलाई आउटपुट निस्कने गरी त्यहिको कार्य सम्पादन गर्न लगाउने तयारी सरकारले गरेको बुझिएको छ । उता सेबाेनमा भिष्मराज ढुंगाना सबैभन्दा बलिया देखिएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । अहिले उनलाई बोर्ड संचालकमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको छ । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रयोजनले ढुंगानालार्ई बोर्डमा विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको हो । ढुंगाना पनि राष्ट्र बैंक गभर्नरमा क्याडर नमिल्ने भएपछि सेबाेन सम्हाल्न तयार देखिएका हुन् । सेबाेन अध्यक्षका अर्का बलिया दावेदार डा.अधिकारी प्रचण्डका नातेदार समेत हुन् । धितोपत्र बजारकै विषयमा विद्यावारिधी गरेका अधिकारीले बामदेव गौतमदेखि बिष्णु पौडेल र महेश बस्नेतसम्म पुगेर आफ्ना लागि अनुकुल वातावरण बनाइदिन आग्रह गरिरहेका छन् । बोर्ड अध्यक्षमा अर्का दावेदार बोर्डकै कार्यकारी निर्देशक निरज गिरी हुन् । उनी पनि बाजी मार्ने दौडधूपमा छन् ।
‘कामचोर’ प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्री यादवको निर्देशन
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिएका हुन् । “नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उनले भने, “नेपाल सरकारको नीति नियम र कानूनभित्र बसेर स्वतन्त्र, निश्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।” मन्त्री यादवले भने, “अहिलेको सरकारलाई जनताले दुई तिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईहरुको साथ सहयोग जरुरी छ । त्यसैले तपाईहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईहरुको साथमा रहनेछ ।” रासस
डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगित
डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो । बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्याधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुन सक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिएका छन् । प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले जानकारी दिए । भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए । “विद्यालयमै बाग्लो हिउँ जमेको छ, हिमपात जारी छ, अत्याधिक चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीले पनि लेख्नसक्ने अवस्था छैन”, लक्ष्मी मावि थरगाउँका विज्ञान शिक्षक हरिस जोशीले भने । उनले कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्न नसकिने कुरा नगर शिक्षा शाखा, जिल्ला समन्वय समिति सबैलाई जानकारी गराएपछि परीक्षा स्थगन भएको बताएका हुन् । भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करिब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन् । नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा शुरु भएको थियो । बिहीबार विद्यार्थीले अङ्ग्रजी विषय दिएका थिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । रासस
भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा, कम खर्चिलो र दिगो हुने
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँटा उद्योगबाट अहिलेसम्म दश हजार गोटा इँटा बिक्री भइसकेका जनाइएको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उद्योगमा उत्पादित इँटाले बजारको माग धान्न हम्मे परेको छ । प्रतिगोटा रु ५७ पर्ने इन्टरलक इँटा बहुउपयोगी हुने भएकाले सबैले प्रयोग गर्न थालेका सञ्चालक बजिमयले बताए । “जिल्लामा भूकम्पपछिको पुनः निर्माणको काम धमाधम भइरहेको छ”, उनले भने, “पाँच कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।” उद्योगमा काम गर्ने कामदारलाई प्रतिव्यक्ति रु दशदेखि बाह्र हजारसम्म तलब दिने गरिएको जनाइएको छ । दुई हाते यन्त्र जडान गरेर शुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नु नपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताए । “सामान्य इँटा प्रयोग गर्दा लाग्ने सिमेन्ट र बालुवाको मात्रामा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा चार भागको एक भागमात्र लाग्छ”, उनले भने, “कम खर्चिलो र दिगो हुने भएकाले इन्टरलक ब्रिक अर्थात् भूकम्प प्रतिरोधात्मक इँटा सबैको रोजाइमा परेको छ ।” अहिले हाते यन्त्र प्रयोग गरिँदै आएको उद्योगमा केही दिनभित्रै इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको सञ्चालक बजिमयले बताए । “हातले चलाइने यन्त्रबाट अहिले दैनिक ४५० गोटा इँटा उत्पादन हुने गरेका छन्”, उनले भने, “बजारको मागअनुसार उत्पादन दिन नसक्ने भएपछि बजारको मागलाई सम्बोधन गर्न इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको हो ।” सिमेन्ट, बालुवा र चिप्स (सानो आकारको गिट्टी) प्रयोग गरिने भूकम्प प्रतिरोधात्मक इँटा मेशिनबाट झिकेर २४ घण्टासम्म सेटिङ गर्न र २० दिनसम्म क्युरिङ गर्न समय लाग्ने जनाइएको छ । उद्योगमा प्रयोग हुने कच्चापदार्थ (बालुवा र गिट्टी) स्थानीय साप्सुखोलाबाट ल्याउने गरिएको सञ्चालक बजिमयले बताएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण घरविहीन बनेका पीडितमध्ये पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । उनीहरुमध्ये अधिकांशले भूकम्प प्रतिरोधी घर निर्माण गर्न आवश्यक इँटाका लागि उक्त उद्योगमा सम्पर्क गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा यसअघि पुनः निर्माणका लागि आवश्यक इँटा राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट ल्याउने गरिएको थियो । जिल्लामा यसअघि सञ्चालन गरिएका सामान्य प्रविधि (माटो प्रयोग) गरेर उत्पादन गरिने इँटा गुणस्तरहीन भएको गुनासोपछि बन्द भएका थिए । रासस