भन्सार छली ल्याइएका १०७ थान मोबाइल बरामद
काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा रु ३५ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिए । “चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ”, उनले भने । ती फोनका सेटलाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाइन्स बन्याे भ्रमण वर्षको आधिकारिक वायुसेवा
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । साे सम्बन्धि निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको हो । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको निगमले बुधबार विज्ञप्तिमार्फत जनाएको छ । निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुबै संस्थाको वेभसाइटलाई ‘होम पेज’को रुपमा प्रयोग गर्नेछन् । नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ । सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ । यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ । भ्रमण वर्ष सचिवालयले यसअघि टर्किस एयरलाइन्सलाई आधिकारिक वायुसेवा घोषणा गरेको थियो । रासस
गाडीको कर घटाउने अर्थमन्त्रीको आश्वासन, व्यवसायीले महशुस गर्ने गरी सुधारका कार्यक्रम ल्याइने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी साधनमा सरकारले लिदै आएको कर घटाउने संकेत गरेका छन् । विश्व व्यापार संगठनको प्रावधानअनुसार सवारी साधनको करको दरमा पुनर्बीचार गरिने उनको भनाइ छ । नाडा अटोमोवाइल्स डिलर एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको प्रतिनिधिसँगको भेटमा मन्त्री खतिवडाले यस्तो वताएका हुन् । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेकोले संगठनको प्रावधानअनुसार पनि गाडीको भन्सार दर घटाउँदै लानुपर्ने उनले वताए । सरकारले अहिले निजी प्रयोजनका गाडीमा २ सय ४० प्रतिशतसम्म कर लिन्छ । भन्सार महसुल कम गर्दै जाने र त्यसले राजस्व असुली लक्ष्य प्रभावित भए आन्तरिक अन्य कर थप गर्ने मन्त्री खतिवडाले संकेत गरे । यस्तै, अटोमोवाइल क्षेत्रमा सरकारी नीतिका कारण परेको असर न्यूनिकरणका लागि विशेष पहल गर्ने आश्वासन पनि मन्त्री खतिवडाले दिए । अहिले अटोमोवाइल व्यवसाय सुस्ताएकोले व्यवसायीले महसुस गर्नेगरी सुधारका कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । तर, यस्ता कार्यक्रमको लागि आगामी बजेटसम्म पर्खन मन्त्री खतिवडाले आग्रह गरे । मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटसम्म कुर्न व्यवसायीलाई आग्रह गरेपनि आगामी बजेटसम्म उनी नै रहने नरहने यकिन छैन । उनको आगामी फागुनमा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिदैछ । उनी राष्ट्रियसभा सदस्यको हैसियतमा मन्त्री भइरहेका छन् । यस्तै, मन्त्री खतिवडाले गाडी खरिदमा अहिले राष्ट्र बैंकले ल्याएको व्यवस्था पुनर्बीचार गर्न लगाउने दाबी पनि गरे । अहिले बैंक तथा वित्तीय संस्थाहरुले गाडी मूल्यको ५० प्रतिशतसम्म मात्रै ऋण दिन पाउँछन् । यस्तै, गाडी खरिदमा कर तिरेर बाँकी रहेको आम्दानीको ५० प्रतिशत मात्रै किस्ता हुने गरी कर्जाको सीमा निर्धारण गरिने नियम राष्ट्र बैंकले केही साता अघिमात्रै ल्याएको छ । मन्त्री खतिवडाले यी दुबै प्रावधानमा पुनर्बीचार गर्ने आश्वासन दिएका हुन् । भारतबाट आउने भाडाका गाडीहरुको विषयमा चर्चा गर्दै उनले अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने व्यवस्था लागू गर्न सकिने वताए । उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने भन्दै मन्त्री खतिवडाले बैंकहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने वताए । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे मन्त्री खतिवडालाई विस्तृत जानकारी गराएका थिए । अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखापरेको, नाडाले भीसीटीएसका सम्बन्धमा देखापरेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको वताए । काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो अध्यक्ष दुलालको थियो । उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखापरेका समस्या तथा चुनौतिहरुबारे धारणा राखे । राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष दुलाल लगायत उपाध्यक्षद्धय चौधरी र आकाश गोल्छा, महासचिव रिजाल, केन्द्रीय कार्यसमिति सदस्यहरु मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणि पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी सहभागी थिए ।
ग्यालेक्सी हस्पिटलले शुरु गर्यो स्वास्थ्य सेवा, सबै सेवामा ३० प्रतिशत छुट दिने
काठमाडौं । ग्यालेक्सी हस्पिटल प्रा.लि.ले माघ १ गतेदेखि औपचारिक स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । हस्पिटलले आधुनिक स्वास्थ्य प्रविधिको उच्चतम प्रयोग गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । पोखराका दक्ष तथा अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित र संचालित यस हस्पिटलले शुभारम्भको अवसरमा सबै प्रकारका सेवामा ३० प्रतिशत छुट सुविधा प्रदान गरेको उनले बताए । पोखरा-१०, बुद्धचोक (उत्तमचोक) मा रहेको यस हस्पिटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, आधुनिक २ वटा अपरेसन कक्ष, १४ वटा ओपिडी, आधुनिक ल्याब, आइसियू, एनआइसियू,पिआइसियू, पोष्टअप कक्ष रहेका छन् । हस्पिटलमा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म पूर्णकालिन विशेषज्ञ डाक्टरको चेकजाँच सुविधा, बिना चिरफार(ल्याप्रोस्कोपिक) पेट सम्बन्धी सम्पूर्ण रोगको सल्यक्रिया, हाडजोर्नी तथा नसा सम्बन्धी सल्यक्रिया, आर्थोस्कोपिक सल्यक्रिया, न्यूरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौन रोग, नाक कान घाटी, मनोरोग लगायतसबै प्रकारका रोगको उपचारको सुविधा रहेको हस्पिटलका मेडिकल सुपरिटेन्डेन्टडा. ऋषीराम ढकालले बताए । हस्पिटलले प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन बिरामी, बिरामीका आफन्त र सुभेच्छुकहरुसँग सुझाव सल्लाह लिँदै पारिवारिक अस्पतालका रुपमा ग्यालेक्सी हस्पिटललाई स्थापित गराउने लक्ष्य रहेको हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए । प्रयाप्त पार्किङ सुविधा रहेको यस हस्पिटलको आफ्नै अत्याधुनिक ल्याव र फार्मेसी भएकोले बिरामीका लागि बढी लाभदायिक रहने । साथै, सबै प्रकारका स्वास्थ्य सेवामा हाल दिइएको ३० प्रतिशतको छुट सुविधाले सेवाग्राहीहरु लाभान्वित हुने बताइएको छ ।
टोयोटाले सानो साइजको एसयूभी ल्याउँदै, हाइब्रिड इञ्जिन समावेश गरिने
काठमाडाैं । टोयोटाले सानो साइजको एसयूभी उत्पादन गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको ‘टोयोटा यारिस’ को पछिल्लो जेनेरेशनमा आधारित हुने सो एसयूभीलाई आन्तरिक रुपमा टोयोटा बी-एसयूभी भनेर नामाकरण गरिएको छ । यसको आधिकारीक नाम भने कम्पनीले केहि पछि मात्र सार्वजनिक गर्नेछ । बजारमा हाल टोयोटाका र्याभ४, ल्याण्ड क्रुजर, फोर्चुनर, हाइल्याण्डर लगायतका एसयूभीहरु उपलब्ध छन् जसलाई ठुलो साइजका एसयूभीका रुपमा लिइन्छ । आजको बजारलाई हेर्ने हो भने सानो साइजको एसयूभी एकदमै लोकप्रिय हुँदै गएको पाइन्छ । सोही कुरालाई मध्यनजर गरेर कम्पिटेटिभ मार्केटमा आफ्नो हिस्सा जोगाइराख्न टोयोटाले नयाँ सेग्मेन्टतर्फ पनि आफ्नो उपस्थिती जनाउन खोजेको हुनुपर्छ । टोयोटा बी-एसयूभीमा पनि यारिसमा भएकै इञ्जिन समावेश हुनेछ । यसको मतलव हो सो कार १.०-लिटर पेट्रोल इञ्जिन र १.५-लिटर पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ । टोयोटाले जनाएअनुसार सो कार हाइब्रिड सेटअपमा समेत उपलब्ध हुनेछ । हाइब्रिड कारमा पेट्रोल अथवा डिजेल इञ्जिनसँगै इलेक्ट्रिक मोटर पनि समावेश भएको हुन्छ र उक्त दुइले संयूक्त रुपमा पावर उत्पन्न गर्दछन् । यसले गर्दा इन्धनको खपत कम हुन जान्छ र साथै प्रदुषण पनि कम उत्पन्न हुन्छ । उत्पादन पश्चात् सुरुवाती चरणमा यस कारलाई युरोपेली बजारमा मात्र उपलब्ध गराइने योजना कम्पनीको रहेको छ । केहि पछि भने यसलाई एशियाली बजारमा पनि भित्र्याइने छ । जापनिज अटोमोवाइल उत्पादक कम्पनी टोयोटा विश्वसनीय र टिकाउ गाडि उत्पादन गर्ने ब्राण्डको रुपमा प्रख्यात रहेको छ । यो ब्राण्ड आफ्नो आयका अनुसार सन् २०१९ डिसेम्वरको अन्त्यसम्म विश्वको दशौं ठुलो कम्पनीको रुपमा रहन सफल पनि भएको छ ।
स्वस्तिक लघुवित्तको संचालकमा ४ जना निवार्चित, अध्यक्षमा सत्य नारायण झा
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न संस्थाको पहिलो साधारणसभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत नारायण वस्तीका अनुसार उक्त पदमा सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन शाह निर्वाचित भएका हुन् । साथै, सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष चयन गरेको छ । सभामा संस्थाका अध्यक्ष झाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यस्तै, सभाले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पास गरेको छ । साथै, सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरको छ ।
काठमाडौंमा थारुको माघीः यूट्यूब हेरेर घुँगी बनाउदै तामाङ महिला
काठमाडौं । माघी पर्व विशेष गरी तराई-मधेशका आदिवासी थारुहरुको पर्व हो । पर्व मात्रै होइन, नयाँ वर्ष सुरु हुने दिन पनि हो । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, माघी र घुँगी दुबैको पहिचान बदलियको छ । तराई-मधेशको माघी पर्व काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइन थालेको छ भने परम्परागत थारु परिकार घुँगी अन्य जातिले पनि बनाउन थालेका छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउ छिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् । माघी पर्वको लागि काठमाडौं आउनेको संख्या बढ्दैछ । परापूर्वकालदेखि नै थारु समुदायले प्रमुख पर्वको रुपमा माघीलाई मनाउँदै आएका छन् । यसवर्ष थारु सम्वत २६४० सकिएर २६४१ सुरु भएको छ । २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै काठमाडौंमा माघी महोत्सव मनाउन थालियो । बहुजाति, बहुधर्म, बहुसंस्कृति, परम्परा तथा रहनसहन रहेको नेपालमा माघी पर्वको तयारी १ महिनादेखि हुने गर्छ । विशेषगरी दाङ, धनगढी, सप्तरी, नवलपरासी, रौतहट तथा तराईका अधिकांश जिल्लाबाट माघीकै लागि काठमाडौं आउनेको संख्या बढ्न लागेको छ । थारु समुदायका मानिसहरु एकै स्थानमा भेला भएर माघी मनाउने परम्परा छ । आफ्नो दिदी बहिनीसहित सुशिला चौधरी माघी महोत्सवका लागि यसपाली पनि काठमाडौं आइन् । योसहित माघीमा उनी काठमाडौं आएको ५ वर्ष भयो । गत सोमबार विहान काठमाडौं आइपुगेकी सुशिलाले मंगलबार अपरान्ह ४ वजे टुडिखेलमा स्टल राखेकी थिइन् । आफ्नो परम्परा र संस्कृतिलाई ध्यानमा राख्दै माघीकै लागि काठमाडौं आउने उनले थारु समुदायको परिकार घरबाटै तयार पारेर ल्याउने गरेको उनले बताइन् । उदयपुर घर भएकी सुमित्रा चौधरी भने पहिलो पटक काठमाडौंको माघी महोत्सवमा आइपुगेकी हुन् । उनले यस वर्ष पहिलो पटक माघी मेलामा स्टल राखेकी छन् । तर, टुडिखेलामा स्टल राख्न सजिलो छैन । एकदिने मेलाको लागि प्रतिस्टल ७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सुशिलाले वताइन् । भाडा महंगो भएपनि कमाइ पनि हुन्छ । गत वर्ष सुशिलाले ३५ हजार रुपैयाँ कमाएको सुनाइन् । माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ । धनगढीबाट माघी मेलाकै लागि भनेर काठमाडौं आएकी २७ वर्षीय दिपा चौधरीले विगत ४ वर्षदेखि यस मेलामा व्यापार गर्दै आएको छिन् । एक महिनासम्म तयारी गरी माघी मेला कै लागि काठमाडौं आउने गरेको उनले बताईन् । माघी पर्वमा विशेषता माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुना/टपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् । माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् । नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।
मञ्जुश्री फाइनान्सको साढे ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७५÷०७६ को लागि ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बराबरको वोनस शेयर वितरण गर्ने छ । यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले पौष मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न दुई जनालाई निर्वाचित गरेको छ । सभाले इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि संस्थाको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।