विकासन्युज

क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार क्यानले नेपाल एयरलाइन्सलाई लिखित पत्रचार गर्दै  लामालाई उडानमा रोक लगाउने निर्देशन दिएको हो । लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेको भन्दै प्रतिबन्ध लगाइएको क्यानले पत्रमा उल्लेख गरेकाे  छ। क्यानले लामासँगै क्याप्टेन सोनी राणालाई पनि उडानमा रोक लगाइएको छ । पछिल्लो समय क्याप्टेन लामाले आकाशमा जहाज उडाउने क्रममा फोटो/भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दै आएका छन् ।   

पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतले पुस्तकको लोकार्पण गरे ।  कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण गरे ।  उनले उक्त पुस्तकमाथि टिप्पणी राख्ने क्रममा जनयुद्धकालमा जाजरकोटमा बिताएको तीन वर्ष स्मरण गर्दै पुस्तकले त्यही कालखण्डलाई जीवन्तता दिएको बताए ।  ‘हामीले दिल्लीबाट ‘नेपाल आवाज’ पत्रिका निकाल्थ्यौं । जाजरकोटका विकट पहाडमा रेडियो गणतन्त्रको एन्टेना २५–३० मिटर रूख चढेर राख्थ्यौं,’ अध्यक्ष दाहालले स्मरण गरे, ‘लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोल, त्यसको रिजल्ट युद्ध हो भनिन्थ्यो । त्यसैको जगमा गणतन्त्र आयो भन्दा मलाई गर्व लाग्छ ।’ पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पुस्तक इतिहासको साक्षी भएको बताइन् ।  उनले भनिन्, ‘युद्धमा कलम समात्ने पत्रकारले भोगेका जोखिम, चुनौती र सफलतालाई लेखकले दस्ताबेज बनाउनुभएको छ । यो इतिहासको दस्ताबेजीकरण हो ।’ प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले पुस्तकलाई नेपालको ऐतिहासिक कालखण्डको महत्त्वपूर्ण कृतिका रूपमा टिप्पणी गरे । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिनुभएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।  पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकहरूले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक संघर्ष र जनयुद्धका गतिविधिहरूको दस्तावेज पुस्तकले समेटेको छ ।  लेखक शर्माको पुस्तकमा तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र संघर्ष, द्वन्द्व र जोखिमपूर्ण अवस्थाबाट समाचार संकलन गर्ने पत्रकारहरूको भूमिकाबारे लेखिएको छ । ‘युद्ध पत्रकारिता’ शर्माको दोस्रो पुस्तक हो । यसअघि उनको ‘जुनीदेखि पिलीसम्म’ प्रकाशित छ । 

४३ करोड नयाँ नोट छाप्न २ अर्ब ४३ करोड रुपैयाँ लागत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गरेको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । पौडेलले राष्ट्र बैंकको गभर्नरको पदभार ग्रहण गर्दै गत जेठ ७ गते ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णय गरेका थिए ।  पौडेलको पहिलो निर्णय बमोजिम राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४३ करोड थान र २१ अर्ब रुपैयाँ बराबरको ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको हो । दुबै दरका नयाँ नोटमा हालका गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १ हजार रुपैयाँ दरका ४३ करोड नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् पछिल्लो विनिमय दर अनुसार २ अर्ब ४३ करोड रुपैयाँ लागत लाग्नेछ । उक्त लागतका आधारमा एउटा १ हजार रुपैयाँको एउटा नोट छाप्न ५.६५ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।  यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डरल अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ लागत लाग्ने विभागले जनाएको छ । सो लागतका आधारमा एउटा ५० रुपैयाँको नोट छाप्न ३.५२ रुपैयाँ लागत लाग्ने राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता भएको छ ।  ५० रुपैयाँ दरका नयाँ नोट छाप्न गत कात्तिक २५ गते र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न मंसिर ११ गते चाइना बैंकनोट प्रिन्टिङसँग सम्झौता भएको विभागले जनाएको छ । विभागका अनुसार ५० रुपैयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि गत साउन ९ गते र १ हजार रुपैयाँका नोटका लागि भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । 

प्रधानमन्त्री कार्कीको निर्देशन– आगामी निर्वाचनमा एक थोपा पनि रगत नबगोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।  साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताइन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास उनले व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा एक थोपा पनि रगत पनि बग्न नहुने र कोही पनि घाइते हुने अवस्था नआउनेगरी सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिइन् । साथै उनले सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नसमेत निर्देशन दिइन् । जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न पनि उनले निर्देशन दिइन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

साताको सेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबर रुपैयाँमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर  छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्‍यो ।  त्यस्तै, सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो । मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो । कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।  त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।  सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो । बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ ।  साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् । 

‘२ खर्ब बराबरको होल्ड सम्पत्ति’ चलायमान बनाउन भूमि अध्यादेश पारित

काठमाडौं । मन्त्रिपरिषदबाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौं संशोधनले ‘२ खर्ब बराबरको होल्ड सम्पत्ति’ चलायमान बनाउन सहयोग गर्ने नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ । महासंघका अध्यक्ष विष्णु घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमि सम्बन्धी अध्यादेशको नवौं संशोधनलाई भर्खरै मन्त्रिपरिषदबाट पारित गरी राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएकोमा सरकारलाई धन्यवाद दिए ।  ‘नेपाल सरकारले भूमि सम्बन्धी अध्यादेश, नवौं संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट भर्खरै पारित गरेर सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  हदबन्दीको कारण देखाउँदै सम्पत्ति बिक्रीमा रोक लगाउँदा व्यवसायीको करिब २ खर्ब बराबरको सम्पत्ति ‘होल्ड’ भएको महासंघले बताएको छ । हदरबन्दीका कारण व्यवसायी, ग्राहक र व्यवसायीमाथि लगानी गर्ने बैँकहरू समेत समस्यामा परेको महासंघले जनाएको छ।  जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमिसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत पुग्ने विश्वास महासंघले लिएको छ ।  अध्यक्ष घिमिरेले अध्यादेश जारी भएसँगै व्यवसायीले जग्गा हदबन्दीका कारण विक्रि हुन नसकेको हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने र खरिदकर्ताले आफ्नो नाममा पास गरी लालपुर्जा पाउने बाटो खुल्ने बताए । महासंघले घरजग्गा क्षेत्र ‘उद्योगको पनि उद्योग’ भएकाले यस क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएको छ । घरजग्गा क्षेत्र चलायमान हुँदा सिमेन्ट उद्योग, रड उद्योग, इँट्टा उद्योग, काठ उद्योग, आल्मुनियम उद्योग, गिट्टी उद्योग, बालुवा उद्योग राम्रोसँग चल्ने, युवाहरूले रोजगार पाउने र शिथिल रहेको मुलुकको अर्थतन्त्रसमेत चलायमान हुने महासंघको भनाइ छ ।  महाससंघले जग्गा वर्गीकरणको जिम्मा स्थानीय सरकारले लिए पनि स्थानीय सरकारले समयमै जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट समेत खोल्ने र रोकिने क्रम रहेकाले स्थायी रुपमा यसको समाधान गरिदिन सरकारलाई आग्रह गरेको छ ।  वर्तमान सरकारले व्यवसायीको समस्या बुझेर ल्याउन खोजेको यस अध्यादेशले व्यवसायीमात्र नभई समग्र राज्यलाई नै फाइदा पुग्ने विश्वास महासंघले लिएको छ ।

एनपीएल क्रिकेटः काठमाडौंको चितवनलाई १४३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ ।  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो। यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।  बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनौट गरेको हो ।  मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ । राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ ।