विकासन्युज

जन्मदिनमा चन्द्रागिरि जानुस्, सित्तैमा केवलकार चढ्नुस्

चन्द्रागिरि । आफ्नो जन्मदिनको अवसरमा चन्द्रागिरिको केवलकार सित्तैमा चढ्न पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएसँगै सित्तैमा केवलकार चढ्न पाइने भएको हो । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

देउराली जनताको ३० वर्षे यात्राः डेढ अर्बकाे लगानी, ३ सय ५ प्रकारका उत्पादन, ५ सयलाई रोजगारी

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले औषधी उत्पादन सुरु गरेको २९ वर्ष पूरा भएको छ । यो बीचमा कम्पनीले ३ सय ५ प्रकारका औषधी उत्पादन गरिरहेको छ । कम्पनीले एक वर्षमा ९५ प्रकारका नयाँ औषधीको थप उत्पादन सुरु गरेको छ । अघिल्लो वर्षसम्म करिब २ सय १० प्रकारका औषधी उत्पादन गरेको कम्पनीले ३०औं वर्षमा प्रवेश गर्दासम्म ३ सय ५ थरीका औषधी बजारमा ल्याएको हो । ३० वर्षको अवधिमा आइपुग्दा कम्पनीले अत्याधुनिक उपकरणमार्फत औषधिहरु उत्पादन गरिरहेको छ । लामो अनुभवसँगै विदेशबाट ल्याउन समस्या हुने औषधी उत्पादनमा जोड दिएको कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । ‘आफ्नो उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गरिरहेका छौं, आयात गर्न अप्ठेरो पर्ने अति आवश्यक औषधी उत्पादन हाम्रो पहिलो रोजाइमा पर्ने गरेको छ,’ कार्यकारी निर्देशक शर्माले भने । एक लाख १० हजार बर्गफिट क्षेत्रफलमा फैलिएको यो उद्योग पूर्णतया वातानुकुलित रहनुका साथै विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधी उत्पादन प्रकृया पूरा गरेको शर्माको भनाइ छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग, पेट रोग लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधीको उत्पादन गरिरहेको छ । पछिल्लो समय भने विदेशबाट ल्याउन समस्या पर्ने औषधीहरु उत्पादनमा जोड दिइएको कार्यकारी निर्देशक शर्माले जानकारी दिए । अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत कम्पनीले गर्दै आएको छ । कुल उत्पादन क्षमताको करिब ७० प्रतिशत मात्र उपयोग गर्न सकेको कम्पनीले ३० प्रतिशत उत्पादन क्षमतालाई विकासको चरणमा रहेका विभिन्न अत्यावश्यक औषधि, नशारोग, मनोचिकित्सा लगायतका औषधीहरु उत्पादन गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा करिब ५० वटा उद्योगहरुले विभिन्न रोगका औषधी उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधीको कुल मागको करिब ४५ प्रतिशत हिस्सा ओगटेका छन् । पछिल्ला समय औद्योगिक असुरक्षालगायतका समस्याबाट अन्य उद्योगहरु जस्तै औषधी उद्योगहरु पनि गुज्रिनु परेको कम्पनीका कार्यकारी निर्देशक शर्माको गुनासो छ । विदेशी कम्पनीहरुले आफ्ना उत्पादनलाई नेपाली बजारमा बिक्री वितरण गरिरहेको अवस्थामा स्वदेशमै गुणस्तरीय औषधी उत्पादन गरी आत्मनिर्भर बनाउने प्रयत्न जारी रहेको शर्माले भनाई छ । कम्पनीले एक दशकभन्दा अगाडिदेखि नै नेपालमा पहिलो पटक आइएसओ १४००१, आइएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठनको निर्माण प्रकृया (जीएमपी) लगायतका प्रमाणिकरण गराई औषधिको गुणस्तर कायम गरेको छ । देउराली जनताले हाल वार्षिक २९ करोड युनिट टाबलेट, १ करोड ६० लाख युनिट तरल औषधी, १४ करोड ५० लाख युनिट क्याप्सुल, ६० लाख युनिट ड्राइ सिरफ तथा १ करोड युनिट सेमिसोलिड औषधी उत्पादन गर्दै आएको छ । कम्पनीमा करिब ५ सयले प्रत्येक्ष रोजगारी पाइरहेका शर्माले जानकारी दिए । कम्पनीमा करिब १ अर्ब ५० कराेड रूपैयाँ लगानी भएकाे छ ।

संस्कृत विश्वविद्यालय वेलझुण्डीमा पिएचडी कक्षा शुरु

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर बुधबारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो । अनुसन्धान केन्द्रका प्रमुख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै विद्यावारिधी शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन शुरु भएको जानकारी दिएका थिए । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका बारेमा जानकारी गराएका थिए । दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा भएको समेत बताए । विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुनेछ ।

मेगा बैंकद्वारा धापासीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए । कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।

राष्ट्रिय बीमा संस्थानको सुर्खेत शाखा उद्घाटन, व्यवसाय विस्तारमा अग्रसर बन्दै

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बुधबार सुर्खेतमा शाखा कार्यालयको उद्धघाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्धघाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् । ‘नीतिगत, कानूनी तथा व्यवहारिक रुपमा केही समस्या रहदै आएका छन्, सो समस्या सुल्झाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ, सङ्घीयताका कारण गाउँ-गाउँसम्म आर्थिक गतिविधि बढेको छ, अब कर्णालीबासीलाई बीमा संस्थानले बीमाको पहुँचमा ल्याउन सहयोग गर्नुपर्छ’-कार्यालय उद्घाटनकै क्रममा योजनामन्त्री ज्वालाले भने । यस्तै, संस्थानका अध्यक्ष गंगाराम कंडेलले शाखा विस्तारलाई तिव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा पुयाउँने बताए । बीमाले आर्थिक जोखिमको व्यवस्थापन मात्र नभई मानसिक सुरक्षा दिनेसमेत हुँदा संस्थानले नीतिगत अस्पष्टता अन्त्य गरी सहजीकरण गर्नेमा कंडेलले जोड दिए । साथै, राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल ग्राहस्थ उत्पादन जिडिपीमा बीमाको ३ प्रतिशत योगदान रहेको बताए । संस्थानले चालु आर्थिक वर्षमै जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जानकारी दिएको छ ।

फागुन १४ गते स्ववियुको चुनाव हुने, कस्ले मार्ला बाजी ?

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्ने प्रस्ताव गरेको छ । निर्वाचनको मिति टुंग्याउन अहिले किर्तिपुरस्थित विश्वविद्यालयमा अहिले विद्यार्थी संघ संगठनहरुसँग बैठक भइरहेको छ । विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गेसम्म मतदाता नामावली टु‌ग्याएर प्रकाशन गर्नु पर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ । यसअघि पुस २८ गते उपकुलपति धर्मकान्त बाँस्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले क्याम्पस प्रमुखहरूलाई डाकेर फागुन १४ गते निर्वाचन गर्नेगरी तयारी थाल्न भनेका हुन् । बैठकमा क्याम्पस प्रमुखहरू निर्वाचन गराउन सकारात्मक भएका थिए । उनीहरुले स्ववियु निर्वाचनको तयारी र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि निर्वाचन तयारी थाल्न निर्देशनालयले मुलुकभरका क्याम्पसलाई परिपत्र गरेको थियो । मिति घोषणा भएपछि विद्यार्थी संगठन पनि निर्वाचन गराउन सकारात्मक देखिएका थिए । ०७३ मा निर्वाचित स्ववियु पदाधिकारीको म्याद ०७५ फागुनमा सकिएको थियो । त्यसपछि ६/६ महिनाका लागि दुई पटक थपिएको म्याद आगामी फागुन १३ बाट सकिँदै छ । ०७३ मा अधिकांश आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविले विद्यार्थी भर्नालगायतका काम समयसीमाभित्रै सक्न भनेको छ । यतिबेला स्नातकोत्तर तहको भर्ना चलिरहेको छ । त्रिविले एक साताभित्रै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर थप प्रक्रिया अघि बढाउने थापाले जनाए । निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकिएको छ ।

आफ्नै साथीको हत्या गरी फरार रहेका फिरोज मिया राईन चार वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका पर्साको विरगंज महानगरपनलिका वडा नं १५ का फिरोज मिया राईन बिहिबार पक्राउ परेका छन् । चार वर्ष अगाडि आपसी विवाद भई साथीको हत्या गर्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नं। ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको निमित्त बसेका ३०वर्षका सुरेश कुमार साह कानुलाई उनले वि.स २०७१ माघमा २९ गते राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरेका थिए । त्यो समयदेखि नै उनी फरार रहि भारतमा लुकिछिपी बसेका थिए । हाल काठमाण्डौं आएको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको बिशेष टोलिले खोजतलास गर्दा बुधबार काठमाडौंको किर्तिपूर नगरपालिका वडा नं २ देबढोकाबाट नियन्त्रणमा लिएको हो । उनलाई बुधबार नै कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।

कामना सेवाले ल्यायो डबल डिपोजिट मुद्दती खाता, ७ वर्षमै दोब्बर रकम पाइने

काठमाडौं । कामना सेवा विकास बैंकले डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै माघ १४ गतेदेखि उक्त खाता सञ्चालनमा ल्याएको हो । डबल डिपोजिट मुद्दती खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् । यस प्रकारको मुद्दती खाता खोल्नका लागि न्यूनतम १ लाख रुपैयाँ हुनुपर्नेछ । यसैगरी, बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । बैंकले हाल ११७ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।